Successfully Copied

पुराना सामग्रीको पुनः प्रयोग

घरमा भएका पत्रिका वा म्याग्जिनबाट भास, पेन्सिल होल्डर, फोटो फ्रेम, बास्केट आदि बनाउन सकिन्छ । यसलाई रंग गर्‍यो भने अझ आकर्षक देखिन्छ ।

हाम्रो घरभित्र काम नलाग्ने धेरै वस्तुहरू हुन्छन् । टुटेर, फुटेर, भाँचिएर, च्यातिएर बिग्रिएका सर–सामानले घरको भण्डार ओगटेको हुन्छ । वास्तुविज्ञानलाई विश्वास गर्ने हो भने यस्ता बेकामे सामान घरमा राख्नु अशुभ हो । फुटेको कप, घडी, ऐना, भाँचिएको फर्निचर, च्यातिएको कपडा जस्ता डस्बिनमा मिल्काउनुपर्ने सामग्रीलाई पुनः प्रयोग गर्न सकिन्छ ।

भारतमा यस्ता सामान अनलाइन वा अन्य माध्यमबाट बिक्री गरिन्छ । कतिपयलाई दोस्रो प्रयोजनका लागि पुनः निर्माण र प्रयोग गर्ने प्रवृत्ति बढ्दै गएको छ । यसले अनावश्यक वस्तुको उचित व्यवस्थापनमा सहज भएको छ । यो एक रचनात्मक काम हुनुका साथै रोजगारी पनि हो । कतिपयले त यसमै करियर बनाएका छन् ।

यति मात्रै होइन, चाहे त्यो पुरानो बोतल होस् वा किताब, पुरानो कपडा होस् वा फर्निचर । सग्लो नरहेका यस्ता वस्तुलाई फरक प्रारूपमा सजाएर भिन्न प्रयोजनका लागि प्रयोग गर्न सकिन्छ । च्यातिएको कपडालाई टालेर वा सिलाएर नयाँ स्वरूप दिन सकिन्छ । त्यसलाई टुक्रा बनाएर घर–भान्सा सफा गर्ने रुमालका रूपमा पनि उपयोग गर्न सकिन्छ ।

यसैगरी, घरमा काम नलाग्ने बोतललाई रंगरोगन गरी सजाबटका सामग्री बनाउन सकिन्छ, यसमा फूल सजाउन सकिन्छ । टुटेफुटेका भाँडामा मसिना रंगीन ढुंगा भरेर सजावटका वस्तु बनाउन सकिन्छ । यस्ता थुप्रै काइदा छन्, जसमा बिग्रिएका, टुटे–फुटेका सामानलाई पुनः अर्को स्वरूपमा ढालेर प्रयोग गर्न सकिन्छ ।

पेय पदार्थको बोतल

धेरैको घर–भान्सामा चिसो पेय पदार्थको बोतलले भरिएको हुन्छ । खासगरी कोकाकोला र फेन्टाका प्लास्टिकका बोतल अधिकांशको भान्सामा भेटिन्छन् । यी बोतललाई गमलाकै रूपमा प्रयोग गर्न सकिन्छ । खासगरी ह्याङ्गिङ् प्लान्ट एवं फूल रोप्नका लागि यो उपयुक्त हुन्छ । यसैगरी यसलाई पेन होल्डर पनि बनाउन सकिन्छ । यसलाई फ्लावर भास बनाए हुन्छ । यसका लागि खाली बोतललाई राम्ररी सफा गर्ने र आवश्यकतानुसार आकार दिई काट्ने, फेब्रिक रंगले राम्रोसँग सजाउने ।

पुराना किताब

किताबको थुप्रो त हरेकको घरमा हुन्छ । खासगरी बालबच्चाले पढेर सकाएका पुस्तक र कपीहरू घर–घरमा पाइन्छन् । यस्ता किताब बालबच्चाले पुनः पढ्नका लागि प्रयोग गर्दैनन् । त्यसैले घर ओगटेर रहेका थोत्रा किताब कवाडीलाई दिइन्छ वा कतै कुनामा थुपारिन्छ । यी त्यसै सडेर वा गलेर नष्ट हुन्छन् । किताबलाई घर खासगरी कोठाको भित्ता सजावटमा पनि प्रयोग गर्न सकिन्छ । यसलाई टुक्रा–टुक्रा गरेर भित्तामा सजाउन सकिन्छ, वाल पेपरकै शैलीमा । काठको भित्तामा किताबका टुक्राहरूलाई मिलाएर टाँस्दा आकर्षक देखिन्छ, साथै यसले नयाँपन पनि दिन्छ । किताबकै पानाहरूबाट फ्लावर भास बनाउन सकिन्छ ।

टुटे–फुटेका प्लेट

सायदै यस्तो घर होला, जहाँ फुटेका भाँडाहरू नहून् । कति त थोत्रा भएर पनि त्यसै थन्काइएको हुन्छ । टुटे–फुटेका प्लेट वा पुराना भएर प्रयोग नगरिएका प्लेटलाई सजावटका सामग्री बनाएर राख्न सकिन्छ । प्लेटको ढाँचा वा बनोट हेरेर सोहीअनुसार कुन कामका लागि प्रयोग गर्ने भन्ने टुंगो गर्न सकिन्छ । यस्ता प्लेटलाई रंगरोगन गरी त्यसमाथि स –साना रंगीन ढुंगा राख्ने, स–साना सजावटका सामग्रीहरू सजाउने गर्न सकिन्छ ।

पत्र–पत्रिका

घरलाई नयाँ–नयाँ तरिकाले सजाउने उपाय अपनाउन सकिन्छ । घरलाई एन्टिक पिसले सजाउन सकिन्छ । घरमा भएका पत्रिका वा म्याग्जिनबाट भास, पेन्सिल होल्डर, फोटो फ्रेम, बास्केट आदि बनाउन सकिन्छ । यसलाई रंग गर्‍यो भने अझ आकर्षक देखिन्छ ।

प्लास्टिकका बट्टा

घरमा प्रशस्त खाली प्लास्टिकका बट्टा हुन्छन् । तिनलाई विभिन्न डिजाइन दिएर घरको सजावटी सामानका रूपमा प्रयोग गर्न सकिन्छ । यस्ता बट्टालाई विभिन्न रंगरोगन गरी सजावटका सामग्री बनाउन सकिन्छ । धागोले बेरेर बनाउँदा पनि युनिक देखिन्छन् । भास वा पेन्सिल होल्डर बनाउन सकिन्छ ।

सिसाका बोतल

काम नलाग्ने सिसाका बोतलमा रंगीबिरंगी ढुंगा र पानी राखी त्यसमा वाटर प्लान्ट प्रयोग गरी कोठा सजाउन सकिन्छ । सिसाका बोतललाई रंग गरेर भास वा पेन्सिल होल्डरका रूपमा पनि प्रयोग गर्न सकिन्छ ।

 Image