Successfully Copied

मनसुन शैली

पोलिनाइलोन र कटन यो मौसमका लागि उपयुक्त फेब्रिक हुन् । यसबाहेक सिल्क र रेयनजस्ता फेब्रिक पनि यो मौसमका लागि विकल्प हुन सक्छन् ।

फेसन शैली परिवर्तनका कारक तत्वमध्ये मौसम पनि एक हो । तर, मनसुन मौसममा स्टाइलिस्ट देखिन रुचाउने फेसनपारखीहरू कमै भेटिन्छन् । वातावरणीय आर्द्रता र हिलो/मैलोका कारणले यो मौसममा फेसन र स्टाइल मामिलामा त्यति धेरै विविधता पाइँदैन । जे पाइन्छ, सीमित मात्र छन् ।

मनसुनका लागि रंग

यो मौसमका लागि ‘डार्क सेड’ रंग बढी शोभनीय हुन्छ । प्याजी, नीलो, सुन्तला र पहेंलो रंग पनि प्रयोग गर्न सकिन्छ । तर, कालो र न्युट्रल रंगमा मात्रै केन्द्रित हुनु ठीक होइन । हिलो/मैलो र पानीको दाग लाग्ने भएकाले सेतो पहिरन उचित हुँदैन । ग्रीन कलरका डार्क सेडदेखि पर्पल तथा लेमन एलोसम्म सुहाउँदा हुन सक्छन् । यसबाहेक पिन्क, ओरेन्ज तथा पिच कलरका सफ्ट सेडहरू पनि प्रयोग गर्न सकिन्छ । यसैगरी न्युट्रल सेडहरूका साथमा पिन्क, ब्लु, ओरेन्ज र एलो कलरको कम्बिनेसन पनि उत्तिकै उपयोगी हुन्छ । ब्ल्याक र ब्राउन कलर भने फर्मल वेयरमा शोभनीय हुन्छ । ब्ल्याक, ग्रे र बेजको बोरिङपनबाट बाहिर आउन यो मौसममा नियन ब्लु, नियन ओरेन्ज, एलो र रेडजस्ता फ्लुरोसेन्ट कलरबाट फेसनेबल लुक प्राप्त गर्न सकिन्छ ।

 

मौसमअनुसार फेब्रिक

पोलिनाइलोन र कटन यो मौसमका लागि उपयुक्त फेब्रिक हुन् । यसबाहेक सिल्क र रेयनजस्ता फेब्रिक पनि यो मौसमका लागि विकल्प हुन सक्छन् । फेब्रिक छनोट गर्दा पानीले भिजेमा चाँडै सुक्ने, भिजेपछि धेरै गह्रौं हुने वा चाँडै मैलो देखिने, भिजेपछि कोमलता र चमक हराउने खालका फब्रिक (जस्तै क्रेप र सिफन) अनुपयुक्त हुन्छन् । नाइलन, सिफन, जर्जेट र कटन मिस्क फेब्रिक चयन गर्नु बढी उपयुक्त हुन्छ । सिल्क र रेयन पनि प्रयोग गर्न सकिन्छ । व्हाइट कलरको सौकिन हुनुहुन्छ भने लाइक्रा फेब्रिकको ड्रेसमा यो इभिनिङ वेयरका लागि च्वाइस बन्न सक्छ ।

स्टाइलमा विविधता

मनसुनमा रनेकोट हरेकका लागि अत्यावश्यक हुन्छ । दुई पाङ्ग्रे सवारीमा प्रयोग गरिने एक वा दुई जनाको आवश्यकतानुसार विभिन्न डिजाइन तथा आकारमा रेनकोटहरू बजारमा पाइन्छन् । छाता बोक्न वा ओढ्न नरुचाउनेहरूले रेनकोट/रेनसुट प्रयोग गर्छन् । विभिन्न कलर, डिजाइनसँगै अहिले बजारमा ट्रान्सपरेन्टका खालका, फ्लोरल प्रिन्टदेखि विभिन्न प्रिन्ट तथा प्याटर्नसहितका रेनकोट बजारमा पाइन्छन् । पुरानो डेनिम तथा ट्राउजरको उपयुक्त विकल्पका रूपमा क्युलोट्सको प्रयोग पनि यो मौसममा गर्न सकिन्छ । क्युलोट्ससँग बेसिक टि–सर्ट, सर्ट कुर्ती वा क्रप टपको जोडालाई प्रयोग गर्नु मौसम सुहाउँदो हुन सक्छ । लगाउँदा आरामदायक तथा लुकको दृष्टिकोणले पनि स्टाइलिस देखिने प्लेसुट्स यो मौसमका लागि उपयुक्त विकल्प हुन सक्छ । दिक्कलाग्दो रेगुलर पहिरनबाट छुटकारा पाउन प्रिन्टेड ड्रेसको प्रशस्तै विकल्प पाइन्छ । विभिन्न डिजाइनका स्कर्ट जस्तै ए–लाइन वा मिडी स्कर्ट यो मौसममा साथी हुन सक्छन् । यदि जिन्स प्रेमी हुनुहुन्छ भने रेगुलर जिन्सभन्दा स्लिम डिजाइनमा पाइने ब्वाइफ्रेन्ड जिन्स पनि यो मौसमका लागि उपयुक्त हुन्छ । यसैगरी प्लेन वा प्रिन्टेड सोटर््स, सिगरेट पाइन्ट यो मौसमका लागि अन्य विकल्प हुन् । सिगरेट पाइन्टले फर्मल र क्याजुएल दुवै खालको मुडका लागि काम गर्छ । यो शैली पुरानो ट्राउजरको राम्रो विकल्प पनि हो ।

न लामो न छोटो तर चिटिक्क र सुहाउँदो देखिने मिडी ड्रेस पनि मनसुन ड्रेसकोडका लागि उपयोगी छ । एसिमेट्रिक कुर्ती र ए–लाइन टप्सलाई पलाजोसित कम्बाइन गर्न सकिन्छ । सुविधा र आरामका लागि र्‍याप टिसर्ट र स्कर्टको जोडा पनि जमाउन सकिन्छ । प्लेन टिज्का साथमा स्लिम पाइन्ट, फिट पाइन्ट वा मिडी स्कर्टको कम्बिनेसन प्रयोग गर्न सकिन्छ । वाटर प्रुफ ज्याकेट, हुडिज् र ट्रेन्चकोटबाट रेगुलर रेनकोटलाई रिप्लेस गर्न सकिन्छ ।

रिमझिमको यो समयमा ट्याङ्क टप पनि उपयुक्त विकल्प हो । सर्ट लेन्थ लेगिङ, केप्री, रोल्ड बटम डेनिमका साथमा टि–सर्ट वा सर्ट लेन्थ ड्रेस पनि सुहाउँदो हुन्छ । त्यस्तै, ट्याङ्क टपका साथमा पलाजो पाइन्टको जोडाबाट फ्युजन स्टाइल अंगाल्न सकिन्छ । म्याक्सी ड्रेस, जम्पसुट, अफ सोल्डर टप, रफल्स टप, कोल्ड सोल्डर टप पनि यो मौसममा उपयोगी हुन्छन् । मनसुन वार्डरोबमा सर्ट हेम्ड पहिरनहरू पनि उत्तिकै उपयुक्त हुन्छन् । क्रप टप्स, सोर्टस्, सर्ट टू मिडियम लेन्थ स्कर्ट, मिडी ड्रेस, म्याक्सी ड्रेस, सर्ट ड्रेस, र्‍याप वेस्ट ड्रेस, फ्लान्स ड्रेसदेखि किमोनो स्लिभ भएका सर्ट ड्रेस, ट्युनिक्स आदि पनि मनसुन स्टाइलका मौसम फ्रेन्डली विकल्प हुन् ।

सुहाउँदा एक्सेसरिज

मनसुनको फेसन शैलीलाई अझ बढी आकर्षक र मनमोहक बनाउन रंगीन एक्सेसरिजको साथ भयो भने सुनमा सुगन्ध हुन्छ । यो मौसमम मेटल र लेदरलाई प्रयोगमा नल्याएको राम्रो हुन्छ । अक्वा रंगका ग्लास विड्स, फन्की डिजाइनका पारदर्शी चुराहरू, मल्टी कलर्ड र सेमी पारदर्शी जेली स्यान्डल, प्लास्टिक, रबर तथा एक्राइलिकबाट बनेका सुन्दर डिजाइनका ट्रेन्डी देखिने ब्रासलेट, इयररिङ तथा नेकपिसहरू यो मौसममा म्याचिङ हुन्छन् । हल्का खालका र छालालाई आराम महसुस गराउने कटनजस्ता फेब्रिक यो मौसमका लागि पहिलो रोजाइ हुनुपर्छ । सिन्थेटिक फेब्रिक यो मौसम प्रतिकूल हुने भएकाले यसको उपयोग नगर्नु उपयुक्त हुन्छ ।

फुटवेयरको कुरा

यो मौसममा भाइब्रेन्ट रंगका फ्लीप फ्लप तथा स्यान्डल बढी उपयोगी हुन्छन् । हिलो/मैलो तथा पानी जम्ने सडक भएकाले आवतजावतका लागि यस्तो खालको फुटवेयर नै राम्रो हुन्छ । यसबाहेक जेली स्यान्डल, पिभिसी ब्यालेरिनाज्जस्ता फुटवेयर पनि बजारमा छन् । कलरफुल स्लिपर्स, गमबुट तथा म्याकक्विन हिल्स पनि यो मौसममा फ्रेन्डली हुन्छन् ।

मेकअपमा सजगता

मनसुन मेकअपमा सबैभन्दा महत्वपूर्ण पाटो भनेकै वाटर प्रुफ मेकअप हो । यसले मेकअप बग्ने समस्याबाट छुटकारा दिलाउँछ । फाउन्डेसनको प्रयोगलाई सकेसम्म कम गर्नुपर्छ भने त्यसको स्थानमा फेस पाउडर उपयुक्त हुन्छ । ब्लसर सकेसम्म कम प्रयोग गर्नु उपयुक्त हुन्छ । गर्नैपर्ने भए पाउडरका स्थानमा क्रिम ब्लसर वा अन्य प्रकारको ब्लसर प्रयोग गर्नुपर्छ । पानीमा भिज्दा पनि टिस्यु पेपरको प्रयोग गरी ड्याब मात्र गर्नुपर्छ, अनुहार पुछ्नु भने हुन्न । ब्लसका सम्बन्धमा ब्लेन्डिङ महत्वपूर्ण हुन्छ । गालामा प्रयोग गर्दा यसको ब्लेन्डिङ बाहिरपट्टि हुनुपर्छ । नेचुरल लुकलाई प्राथमिकता दिनुपर्छ । यो मौसममा पेस्टल सेड बढी उपयुक्त हुन्छ । आइस्याडो पनि सब्टल कलरहरू जस्तै बेज, ब्राउन, पिन्कलाई प्राथमिकता दिनुपर्छ भने आइस्याडो पनि क्रिमको साटो पाउडर्ड हुनुपर्छ । यो मौसममा मस्काराको प्रयोगबाट भने बच्नुपर्छ । आवश्यक परेको अवस्थामा मात्रै वाटरप्रुफ मस्काराको प्रयोग गर्नुपर्छ, जुन पानी पर्दा पनि तत्कालै बग्ने वा लत्पतिने नहोस् ।

यो मौसममा लिक्विड लाइनर भन्दा पेन्सिल लाइनर प्रयोग गर्नुपर्छ । पर्फेक्ट लुकका लागि भने अपर आइलिडमा थोरै मात्रामा आइस्याडो प्रयोग गरेपछि काजलको पातलो लाइन एप्लाइ गर्नु उचित हुन्छ । लिपिस्टिक पनि यो मौसममा म्याट नै उपयुक्त विकल्प हुन्छ । लिपग्लसको प्रयोगबाट भने बच्नुपर्छ । डार्क सेडको लिपिस्टिक नै यतिबेला ठीक हुन्छ ।

मनसुन मौसममा आर्द्रता भए पनि मेकअपका लागि मोइस्चराइजर प्रयोग गर्नुपर्छ । कारण यो मौसममा पनि स्किन ड्राई हुने समस्या हुन्छ । वाटर बेस्ड मेकअप बढी उपयुक्त हुन्छ । क्रिम वेस्ड सौन्दर्य प्रसाधनहरू प्रयोग गर्नु हुँदैन । बदलामा पाउडर वेस्ड प्रसाधन प्रयोग गर्नु उचित हुन्छ, यसले म्याट इफेक्ट प्रदान गर्छ । यो मौसममा पाउडर वेस्ड फाउन्डेसन लामो समयसम्म कायम रहन्छ । मेकअप प्रयोग गर्नुपूर्व प्राइमर गर्नु पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।

लिप मेकअपका लागि म्याट टिन्ट उपयुक्त हुन्छ । बोल्ड र ब्राइट रेडभन्दा यतिखेर सफ्ट म्याट, पिन्क सेड्स वा सफ्ट ब्राउन उपयुक्त हुन्छ । ग्लस र क्रिम लिपिस्टिक भन्दा म्याट फिनिस लिप नै सुहाउँदो हुन्छ ।

आईमेकपका लागि वाटरप्रुफ मस्कारा र आइलाइनर प्रयोग गर्नु उचित हुन्छ । लाइनरका सम्बन्धमा लाइनर प्रयोग गर्नुअगाडि आइलिडलाई हाइड्रेट गर्नुपर्छ । ब्लसर र आइस्याडोको सम्बन्धमा भने ब्लसर पाउडर बेस्ड र आइस्याडो भने क्रिम वेस्ड प्रयोग गर्नुपर्छ । यो मौसममा क्रिमी पिन्क, लाइट ब्राउन, पेस्टल तथा बेज कलरका आइस्याडोलाई उपयुक्त मानिन्छ ।

 Image