Successfully Copied

चर्चामा अन्निटा र ममता

साइप्रसमा ६१ वर्षको इतिहासमा पहिलो पटक सभामुखमा महिला चयन भएकी छन् । उक्त सौभाग्य पाउनेमा ३५ वर्षीया अन्निटा डिमेट्रिओ हुन् ।

नारीको यो अंकमा साइप्रसको ६१ वर्ष इतिहासमा पहिलो पटक मुलुककै दोस्रो शक्तिशाली पदमा पुगेकी ३५ वर्षीया अन्निटा डिमेट्रिओ र भारतमा लगातार तेस्रो पटक मुख्यमन्त्री बन्न सफल भएकी

ममता बनर्जीको विषयवस्तु समेटेका  छौ ।

पैंतीस वर्षमै सभामुख

साइप्रसमा ६१ वर्षको इतिहासमा पहिलो पटक सभामुखमा महिला चयन भएकी छन् । उक्त सौभाग्य पाउनेमा ३५ वर्षीया अन्निटा डिमेट्रिओ हुन् । त्यहाँको कुल ५६ सदस्यीय संसद्मा अन्निटाले २५ मत पाएर सभामुख बन्न सफल भइन् । सन् १९६० मा बेलायती उपनिवेशबाट स्वतन्त्र भएको साइप्रसमा राष्ट्रपतिपछि सर्वाधिक शक्तिशाली पदका रूपमा सभामुखलाई लिइन्छ । सभामुख बनेलगत्तै प्रतिक्रिया दिँदै अन्निटाले आफूले प्राप्त गरेको जिम्मेवारी पूर्णनिष्ठाका साथ पूरा गर्ने बताइन् । भनिन्, ‘संसद्मा म निष्पक्ष भूमिका निर्वाह गर्छु ।’ उनको विजयप्रति साइप्रसका राष्ट्रपति निकोस अनास्तासियाडेसले खुसी व्यक्त गर्दै देशको सर्वाधिक शक्तिशाली राजनीतिक पदमा महिला चुनिनु मुलुककै लागि गर्वको विषय भएको प्रतिक्रिया दिएका थिए । वर्षौंसम्म निकोसले नेतृत्व गरिसकेको पार्टी ‘मध्य–दक्षिणपन्थी डेमोक्रेटिक पार्टी’ बाटै अन्निटा सांसद हुन् । बेलायती उपनिवेशमा मुक्त भएयता धेरै महिला सदस्यले अन्य राजनीतिक पद प्राप्त गरे पनि शक्तिशाली जिम्मेवारी भने पाएका थिएनन् । त्यहाँको राजनीतिमा महिलाको सहभागिता पुरुषको तुलनामा धेरै कम छ । साइप्रसको ५६ सदस्यीय संसद्मा आठ जना सांसद र पछिल्लो १५ सदस्यीय मन्त्रिमण्डलमा तीन मात्र महिला मन्त्री छन् ।

ग्रीक साइप्रसेली राजनीतिज्ञ अन्निता २०१६ यता डेमोक्र्याटिक र्‍याली पार्टी (डीआईएसवाई) को ब्यानरमा लारनाका निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद हुन् । सुरुमा पार्टीका प्रवक्ता

प्रोड्रोमोस प्रोड्रोमाले चुनाव लड्नु भनेको ‘सौन्दर्य प्रतियोगिता नभएको’ भन्दै उनको नाम उम्मेदवारको सूचीबाट हटाएका थिए । पछि पार्टी सदस्यहरूको दबाबपछि उनको नाम पुनः समावेश गरियो र उनले चुनाव पनि जितिन् । १० जून २०२१ मा साइप्रसको संसद्को १२ औं कार्यकालका लागि उनी सभामुखमा निर्वाचित भएकी हुन् । सन् २०१६–०२१ सम्म कलर्कको भूमिकामा रहेकी उनी संसद्को स्थायी समितिको शैक्षिक मामिला तथा संस्कृति समिति र मानव अधिकार तथा पुरुष र महिलाका लागि समान अवसरका लागि क्रियाशील समितिकी उपाध्यक्ष थिइन् । त्यस्तै, विकास परियोजना र सार्वजनिक खर्च नियन्त्रण तथा पर्यावरणसम्बन्धी समितिको सदस्यका रूपमा समेत कार्य गरेको अनुभव उनीसँग छ ।

साइप्रस विश्वविद्यालयमा जनसम्पर्क अधिकृत र अन्तर्राष्ट्रिय सम्बन्ध विषयको अध्यापक भई काम गरेको अनुभव उनीसँग छ । उनले स्थानीय क्यापिटल टेलिभिजनमा सेन्ट्रल न्युज बुलेटिनको विशेष प्रस्तोताका रूपमा समेत काम गरेकी थिइन् । उनी २०१२–२०१६ सम्म ट्राउलोई सामुदायिक परिषद्मा प्रथम महिला सदस्य भएर काम गरिन् । १८ अक्टोबर १९८५ मा ट्राउलसमा जन्मिएकी उनको पालनपोषण पनि त्यहीँ भएको हो । ग्रीक र अंग्रेजी भाषामा दख्खल भएकी उनले साइप्रस विश्वविद्यालयबाट समाजशास्त्र तथा राजनीति विज्ञान पढेकी छन् । त्यसपछि बेलायतस्थित केन्ट विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्ध र युरोपेली अध्ययन विषयमा स्नातकोत्तर उपाधि हासिल गरेकी छन् ।

आइरन लेडी

भारतको केन्द्रीय सत्ताले साम, दाम, दण्ड र भेदसहित सबै शक्ति लगाउँदा पनि उनको आत्मविश्वासलाई चुनौती दिन सकेन । एक्लो भए पनि हार मानेकी छैनन्, आफ्नो पथमा अडिग छिन् । केन्द्र सरकारले उनको नेतृत्वमा रहेको राज्य सरकारलाई कोरोनाको खोप कम उपलब्ध गराएर होस् वा राज्यपाल (गभर्नर) लाई गलत बयान दिन लगाएर होस्, कमजोर पार्ने प्रयासमा छ । उनले चुनावपछि राज्यमा हिंसा मच्चाएको आरोपको सामनासमेत गरिरहेकी छन् । यी सबको सामना भारतीय राज्य पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले गरिरहेकी छन् ।

एक्लै, थोरै संसाधन र कार्यकर्ताको फौजको सहयोगमा पछिल्लो निर्वाचन जितिन् । यो जितले ममतालाई भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको प्रतिद्वन्द्वीका रूपमा उभ्याइदिएको भारतीय विश्लेषकहरूले भन्न थालेका छन् । हुन पनि हो, धेरै मुद्दामा मोदीको तुलनामा फरक शैलीकी राजनेता हुन्, ममता । जुझारु, सादा र किफायत जीवन मात्र होइन, राजनीतिक अभियान चलाउने विचार र नीतिहरूमा पनि उनी पृथक् छिन् । आजको मितिमा उनी विचार र जीवन शैली वा प्रशासनिक नीतिहरूमा मात्रै होइन राजनीतिक कदको हिसाबमा पनि धेरै माथि पुगेकी छन् ।

सन् १९७७ यता ३४ वर्षसम्म पश्चिम बंगालमा जनताको विश्वास जित्दै आएको वाम मोर्चालाई पछिल्लो निर्वाचनमा शून्यमा झार्न सफल भइन् । भारतीय जनता पार्टी (भाजपा) ले उनीमाथि तुष्टीकरणको आरोप लगाउँदै धार्मिक ध्रुवीकरण गर्ने प्रयास गर्‍यो, ‘जय श्रीराम’ को नारालाई राजनीतिक प्रयोग गर्‍यो । उसले आफ्नो सबै शक्ति लगायो, डबल इन्जनको नारा पनि दियो, आफ्नो सुविधाअनुसार आठ चरणमा त्यहाँ चुनाव गरायो । चुनाव आयोग, सीबीआई, ईडी, आयकर, केन्द्रीय सुरक्षा बललाई समेत उनीविरुद्ध प्रयोग गर्‍यो । यति मात्रै होइन भाजपाले उनीविरुद्धको प्रचारमा मिडियाको पनि खुबै प्रयोग गर्‍यो । यतिका बाबजुद पनि अन्तिम समयसम्म डटिरहिन्, राज्यमा आफ्नै नेतृत्वमा सरकार बनाउन सफल भइन् । भनिन्छ, राजनीति गर्नेहरू निर्मम, कठोर र निष्ठुर हुन्छन् । तर ममता यसमा भिन्न छिन् । पीडा र संतापको समय उनी आफ्ना करविरोधीहरूप्रति समेत माया भाव प्रकट गर्छिन् । केन्द्र सरकारसँग लगातार तिक्तता जारी रहे पनि उनले प्रधानमन्त्री मोदीलाई मीठो बंगाली आँप कोसेली रूपमा पठाउन बिर्सिनन् ।

ममता बनर्जी पश्चिम बंगालकी नवौं र राज्यकै प्रथम महिला मुख्यमन्त्री हुन् । अविवाहित उनी लगातार तीन पटक मुख्यमन्त्री बन्ने रेकर्ड पनि बनाएकी छन् । विद्रोही स्वभावकी उनी सन् १९९७ मा भारतीय राष्ट्रिय कंग्रेसबाट अलग भइन् र पछि उनले अखिल भारतीय तृणमूल कंग्रेस स्थापना गरिन्, जसलाई टीएमसी या एआईटीएमसी नामले समेत चिनिन्छ । सन् २०११ को विधानसभा चुनावमा भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) नेतृत्वमा रहेको वाम मोर्चाको ३४ वर्ष पुरानो सरकार ढाल्न सफल भएकी थिइन् । बंगालमा ‘दिदी’ का रूपमा लोकप्रिय ममता भारतकै इतिहासमा प्रथम महिला रेलमन्त्री बन्न सफल भइसकेकी छन् । अझ यो मन्त्रालय दुई पटकसम्म सम्हालेकी थिइन् । मानव संसाधन विकास राज्यमन्त्री, कोयला मन्त्री, महिला तथा बालविकास मन्त्री र युवा मामिला तथा खेल विभाग मन्त्रालयको जिम्मेवारी पनि सम्हालिसकेकी छन् ।

ममता बनर्जीको जन्म ५ जनवरी १९५५ मा कोलकाताको एउटा निम्न वर्गीय परिवारमा भएको हो । नौ वर्षकै उमेरमा तिनले बुबा गुमाएकी थिइन् । उनले कोलकातास्थित जोगोमाया देवी कलेजबाट इतिहासमा स्नातकको उपाधि र कोलकाता विश्वविद्यालयबाट इस्लामी इतिहासमा स्नातकोत्तर गरेकी छन् । त्यस्तै, कोलकातास्थित श्री शिक्षायतन कलेजबाट शिक्षामा डिग्री र जोगेशचन्द्र चौधरी ल कलेजबाट कानुनमा डिग्री हासिल गरेकी छन् ।

स्कुले जीवनबाटै उनी राजनीतिमा सक्रिय भएकी हुन् । त्यसताका कंग्रेस (आई) मा समावेश भई सन् १९७६ देखि १९८० सम्म महिला कंग्रेसको महासचिव भई काम गरिन् । सन् १९८४ मा ८ औं लोकसभा सदस्यका रूपमा निर्वाचित भएकी थिइन् । सन् १९८८ मा कंग्रेस संसदीय दलको कार्यकारी समिति सदस्य बनिन् । सन् १९९१ मा उनी १० औं लोकसभा सदस्यमा फेरि जितिन् र विभिन्न मन्त्रालयको जिम्मेवारी पाउन सफल भइन् । उनी १९९६ मा तेस्रो, सन् १९९८ मा चौथो, १९९९ मा पाँचौं पटक, २००४ मा छैठौं पटक र २००९ मा सातौं पटक लोकसभा सदस्य निर्वाचित हुन सफल भइन् । २०११ मा लोकसभा सदस्यबाट राजीनामा दिई उनी पश्चिम बंगालको कमान सम्हाल्ने प्रथम महिला बनिन् । त्यसपछि २०१६ र २०२१ मा समेत चुनाव जितेर मुख्यमन्त्री पदमा आफूलाई स्थापित गराउन सफल भइन् । ममताले बंगालीमा १३ र अंग्रेजीमा ४ सहित १७ वटाजति पुस्तक लेखेकी छन् । सन् २०१२ मा ‘टाइम पत्रिका’ ले तिनलाई विश्वको सबैभन्दा प्रभावशाली व्यक्तित्वको सूचीमा समावेश गरेको थियो । ‘ब्लूमबर्ग मार्केट्स’ पत्रिकाले सन् २०१२ मा ‘वित्तीय संसारमा ५० जना सबैभन्दा प्रभावशाली’ व्यक्तित्वमा पनि चयन गरेको थियो ।

(एजेन्सीहरूको सहयोगमा)

 Image