Successfully Copied

ध्यान ‘बहुउपयोगी’

मन हल्काफुल्का, शान्त वा आनन्दित भएको महसुस हुनु ध्यानको अनुभूति हो । अनियन्त्रित विचार वा छटपटीले घेरिरहेको अवस्था छ भने त्यो ध्यानको स्थिति होइन ।

मञ्जुला कुँवर ठाकुर

ध्यान भनेको के हो ?

आँखा चिम्लिएर बस्नुमात्र ध्यान होइन । हामी जुन कुरा गर्छौं त्यसलाई एकाग्र भएर गर्नु पनि ध्यान हो । हरेक कर्म गर्दा होशपूर्वक गर्नु वा मनलाई कर्ममा केन्द्रित गर्नु नै ध्यान हो । चाहे त्यो खाना खाँदा, पकाउँदा वा हिँड्दा होस् । ध्यान सचेतना पनि हो । नियमित ध्यानले आन्तरिक रूपमा शान्ति अनुभव गराउँछ । सुरुवाती अवस्थामा केही बेर भए पनि हाम्रो तनाव र चिन्ता हटेर जान्छ । मनमा सकारात्मक प्रभाव पर्छ ।

ध्यान कसरी गर्ने ?

सबैभन्दा पहिले शारीरिक व्यायाम वा योगाभ्यास गर्नुपर्छ । त्यसपछि प्राणायामका क्रिया गर्दै आँखा बन्द गरी सहज आसनमा बस्नुपर्छ । शरीरमा भएको सजिलो, असजिलो, जमिनको स्पर्श, चिसो–तातो, अनुभव गर्नुपर्छ । बाहिरका आवाजहरू, श्वासप्रश्वासमा आएका गन्धहरू, जे महसुस भइरहेको छ वर्तमानमा भइरहेको शरीर र मनका संवेदनालाई नियाल्नुपर्छ । मनमा चलिरहेका राम्रा–नराम्रा विचारलाई होशपूर्वक निष्पक्ष बनी हेर्ने अभ्यास गर्नुपर्छ । यो अभ्यासबाट आफूभित्रको गहन शान्ति र आनन्दको क्षेत्रमा वा ध्यानको स्थितिमा सहजताका साथ प्रवेश गर्न सकिन्छ ।

ध्यानको अनुभूति कसरी गर्न सकिन्छ ?

मन हल्काफुल्का, शान्त वा आनन्दित भएको महसुस हुनु ध्यानको अनुभूति हो । अनियन्त्रित विचार वा छटपटीले घेरिरहेको अवस्था छ भने त्यो ध्यानको स्थिति होइन । सुरुमा १५ मिनेटसम्म र त्यसपछि ४५ मिनेटसम्म ध्यान गर्न सकिन्छ । आफ्नो उमेर कति वर्ष छ त्यति मिनेट बराबर ध्यान गर्नु भन्ने विकसित र मनोवैज्ञानिक मान्यता हाल प्रचलनमा रहेको छ ।

यसका फाइदा के–के छन् ?

मानवका लागि ध्यान बहुउपयोगी हुन्छ । यसका अनेकौं फाइदा छन् । यसले शारीरिक तथा मानसिक रूपमा फाइदा पुर्‍याउँछ । विचारलाई शान्त बनाउँछ । अनियन्त्रित विचारले हामीलाई दुःख दिइरहेको हुन्छ । नियमित ध्यानको अभ्यासले अनियन्त्रित विचार मनमा लामो समयसम्म आउन पाउँदैन । यसबाट मनभित्रको नकारात्मकता हट्दै जान्छ । ध्यानको माध्यमबाटै बिस्तारै आफूभित्रको शक्तिलाई चिन्न सकिन्छ । ‘म सक्छु, म गर्छु , मैले गरेपछि अवश्य हुन्छ भन्ने आत्मबल बढ्न थाल्छ । ध्यानको माध्यमबाट आफूभित्रको सम्भावनालाई उजागर गर्न सकिन्छ । आफूभित्र भएको सम्भावना र प्रतिभालाई चिन्ने एउटै मात्र र निर्विकल्प माध्यम हो, ध्यान ।

व्यस्तताका कारण धेरैलाई प्रायः शरीर स्वस्थ र मन शान्त राख्न गाह्रो हुन्छ । शरीर थाके पनि मन शान्त रह्यो भने सदैव स्वस्थताको महसुस गर्न सकिन्छ । शरीर र मन दुवैलाई शान्त एवं स्वस्थ राख्न ध्यान उपयोगी हुन्छ ।

(ठाकुर जीवन विज्ञानकी योग प्रशिक्षक हुन् ।)

 

 Image