Successfully Copied

सबैको साझा तीज

परम्परादेखि चलिआएका पर्वहरू संरक्षण र सम्वर्द्धन गर्नु हाम्रो प्रमुख कर्तव्य हो । जस्तोसुकै परिस्थितिमा पनि आफ्नो परम्परासँग कुनै सम्झौता महिलाले गरेका छैनन् ।

चाडपर्व भित्रिसकेका छन् तर अवस्था उस्तै छ । कोरोना भाइरसका कारण संसार अझै त्रसित छ । हाम्रा संस्कार–संस्कृतिको जगेर्ना र सम्वर्द्धन गर्ने चुनौती अर्कोतर्फ छँदैछ । पछिल्लो समय हामीले मनाउने पर्व अब कुनै जाति र धर्म विशेषको मात्र नभई सर्वमान्य भइसकेको अवस्था छ । तीजकै सन्दर्भमा पनि यो ब्राह्मण–क्षत्री समुदायमा मात्र नभई अन्य जातजातिको पनि ‘एडप्टेड’ पर्व बनिसकेको छ । त्यसैले सबैजना समानान्तर रूपमा समान हर्षोल्लासका साथ यी पर्वहरु मनाइरहेका छन् । अहिलेको अवस्थामा तीज कसरी मनाउने भन्ने विषयमा केन्द्रित भई विभिन्न क्षेत्रका महिलाहरूसँग गरिएको कुराकानी यहाा प्रस्तुत छ ।  

रश्मि पन्त, बैंकर्स

परम्परादेखि चलिआएका पर्वहरू संरक्षण र सम्वर्द्धन गर्नु हाम्रो प्रमुख कर्तव्य हो । जस्तोसुकै परिस्थितिमा पनि आफ्नो परम्परासँग कुनै सम्झौता महिलाले गरेका छैनन् । सबै धर्म/संस्कृति सबै जातजातिको साझा फूलबारी भनेर नेपाललाई त्यसै भनिएको होइन ।

हरेक जातजातिका धर्म, संस्कृति र पर्व एकापसमा सहजै स्वीकार गर्ने र त्यसैमा रमाउने अनि एक–अर्काको संस्कृतिलाई सम्मान गर्ने भएकाले यसो भनिएको हो । यसैगरी, तीज पछिल्लो समयमा अन्य जातजातिका महिलाले पनि धुमधामका साथ खुसीपूर्वक

मनाइरहेको पाइन्छ । यसले हरेकमा

सद्भाव बढाई आपसमा भातृत्व पैदा गर्छ । यो महामारीको समयमा पर्वलाई निरन्तरता दिऔं तर सजग र सचेत भएर ।

दुर्गा थापा, शोधकर्ता तथा अर्थशास्त्री

तीजलाई म ब्राह्मण–क्षत्री मात्रै नभएर हरेक जातजातिका महिलाको स्वतन्त्रताको दिन भन्न रुचाउँछु । स्वतन्त्र हुने यो समयमा महामारीले अंकुश लगाइदिएको छ । यसपटकको तीज घरैमा परिवार जम्मा भएर मनाउनु उचित छ । पूजा–आराधना, व्रत एवं उपवास घरमै बसेर पनि सम्भव हुने कुरा हो । यसका लागि भीडभाड गरिराख्नु जरुरी छैन । विगतका वर्षहरूमा जस्तै धेरै मान्छे जम्मा भई भीडभाड गरी तीज मनाउनु अहिले उचित हुँदैन । आफ्ना श्रीमान्, बालबच्चा तथा परिवार एकत्रित भई खुसी साटेर तीज मनाउँदा उत्तम हुन्छ ।

सपना शर्मा, व्यवसायी

यसपालीको तीज गतवर्षको जसरी मनाउने पक्षमा म छैन । स्वास्थ्य ठूलो कुरा हो । यसपटक १५ देखि २० जना मात्रै भेला भएर तीज मनाउने योजनामा छु । म त भारतीय मान्छे, नेपाल आएको १४ वर्ष भयो । उता करवा चौथ मनाइन्थ्यो जुन अत्यन्त कडा हुन्थ्यो तर तीज मलाई करवा चौथभन्दा अलिक लचिलो लाग्यो । करवा चौथकै झल्को दिने भएकाले नेपाल आएको केही वर्षपछि तीज मनाउन थालें । अहिले त म व्रत बसेर मज्जाले तीज मनाउँछु तर फलफूल खाई, पानी पिएर व्रत बस्ने गरेकी छु । तीज म दुई कारणले मनाउँछु, पहिलो धर्ममा आस्था भएकाले र दोस्रो राता–हरिया पहिरन र मेहन्दीमा सजिन पाउने भएकाले । त्यस्तै तीजमा निकै रमाइलो र ऊर्जावान् महसुस हुने भएकाले पनि म यो पर्व मनाउन लालायित हुन्छु । केही समययता तीज सबै जातजाति र धर्म संस्कृति मान्नेहरुले समेत खुसीका साथ मनाएको देख्दा राम्रो लाग्छ ।

पुष्पा ठकुरी, फेसन डिजाइनर

एउटा डिजाइनरको हैसियतले पर्व आयो कि पहिरनको मौसम भनेर यसै पनि मन खुसी हुन्छ । राता, पहेंला र हरिया रंगीन पहिरन बनाउन पाइने र लगाउन पनि पाइने हुनाले तीज मलाई असाध्यै मन पर्छ । त्यसमाथि हातभरि मेहन्दी र चुरा । मेरा मुमा, हजुरमुमाहरू पानी नपिई व्रत बसेको देखेर यसअघिका तीजसम्म म पनि पानी नपिई व्रत बस्थें । एकैपटक बेलुका पूजा सकेपछि मात्रै पानी पिउँथें । शरीरले सकेसम्म गर्ने हो तर शरीरले नसकेको खण्डमा बाध्यता छैन । यसपटकको तीजको व्रत भने पानी पिएर बस्छु । अहिले कोरोना महामारी बढेको छ, स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो । तर हाम्रा संस्कृति र पर्वलाई जसरी, जुन अवस्थामा जहाँबाट सकिन्छ त्यसरी नै त्यही अवस्थामा रहेर निरन्तरता दिनुपर्छ ।

तेसाङ वाङमो कर्मारोङ, विद्यार्थी

म बुद्धिष्ट परिवारकी हुँ । तर अरुले तीजमा राता–पहेंला पहिरनमा सजिएर, हातभरि चुरा र मेहन्दी लगाएको देख्दा मन अत्यन्तै खुसी हुन्छ । मलाई पनि यस्तै गर्ने मन लाग्छ । तीज भनेकै परिवारका सदस्यहरू एकै ठाउँमा भेला भई मनाउने पर्व हो । खुसी साट्ने अवसर पनि हो । विवाहितहरू श्रीमान् र सन्तानका लागि तथा अविवाहितहरू योग्य वर पाऊँ भनेर तीजमा व्रत बस्छन् भन्ने ज्ञान मलाई छ । मलाई फरक संस्कृति पछ्याउन रहर लाग्छ । अहिले कोभिडका कारण त्रासमय अवस्था भएकाले भीडभाड नगरी परिवारसँगै बसेर पर्व मनाउन आग्रह गर्छु ।

मनीषा निरौला बस्नेत, बजार प्रबन्धक

मलाई धर्मप्रति अत्यन्तै आस्था छ । यो ब्रह्माण्ड ईश्वरीय शक्तिले चलेको हो भन्ने कुरामा म पूर्ण सहमत छु । हरेक मंगलबार त्यसै पनि व्रत बस्ने गरेकी छु । तीजको व्रत त अझ निष्ठाले बस्छु । दिनभरि व्रत बसी बेलुकाको पूजापाठ सकिएपछि मात्रै पानी पिउँछु । श्रीमान्, छोराछोरी र परिवारको कल्याणका लागि वर्षको एकपटक बसिने तीजको व्रतको विशेष महत्व छ । यो व्रतले परिवारमा राम्रो भएको पाइन्छ । अरु जात र संस्कृतिको पर्व आफूले स्वीकार गर्दा धेरै कुरा सिकिन्छ । यस अर्थमा बाहुन–क्षत्रीबाहेक अन्य जातजातिकाले पनि तीज मनाउनु राम्रो हो । म पनि नेवारको जात्रामा सरिक हुँदा धेरै नयाँ कुरा सिक्ने अवसर पाएकी छु । यसपटकको तीजमा दरको मात्रा कम र भीडभाडबाट टाढा रही घरै बसेर परिवारसँगै तीज मनाउने योजना छ ।

रीतिका कपाली, विद्यार्थी

तीजलाई बाहुन–क्षत्रीले मनाउने पर्वका रूपमा बुझिन्छ । नेवारले खासै मनाउँदैनन् र पनि मेरो परिवारमा अन्तर जातीय विवाह गरेकाहरू प्रशस्त भएकाले तीज मनाइन्छ । मेरा ममी, ठूला ममीहरू तीजको व्रत बस्नुहुन्छ । त्यो दिन घरमा खासै नुन प्रयोग नहुने हुनाले म पनि फलफूललगायत नुन नराखिएका खानेकुरा खान्छु । कतिपयले तीज भनेको त बाहुन–क्षत्रीले मात्रै मनाउने पर्व हो भन्छन् तर यसमा मेरो फरक मत छ । राम्रा कुरा र संस्कार जसले जहाँबाट सिक्दा पनि हुन्छ, यसमा कुनै घाटा छैन, फाइदै फाइदा छ । नयाँ कुरा एडप्ट गर्दा आफूलाई थाहा नभएका नयाँ–नयाँ कुराहरू सिक्न पाइन्छ । जसले जीवनमा नयाँ तरंग र उल्लास ल्याउँछ । अहिलेको समय जटिल भएकाले घरैमा बसेर परिवारसँगै तीज मनाउँदा पर्व पनि मनाइने, रमाइलो पनि हुने र कोरोना सर्ला भन्ने डर पनि नहुने । त्यसैले तीजलाई यसपटक सिक्रेट पर्वका रूपमा मनाऔं ।

 Image