Successfully Copied

घरैमा जडीबुटी

धार्मिक महत्व बोकेका कारण तुलसी हरेकको घर–आँगनमा रोप्ने चलन छ । यो बिरुवा औषधीय गुणले भरिएको बहुउपयोगी वनस्पति हो ।

कोरोना फैलिएसँगै त्यसका केही सकारात्मक प्रभाव पनि देखिए । सुरुवाती दिनमा कोरोनाको कुनै औषधि र खोप तयार भैसकेको थिएन । त्यसैले चिकित्सकहरूले लक्षणअनुरूपको उपचार गरिरहेका थिए । उनीहरू भनिरहेका थिए, ‘कोरोनालाई जित्न रोग प्रतिरोधात्मक क्षमता बलियो हुनुपर्छ । यसका लागि उचित खानपान, व्यायाम एवं मनोबल जरुरी छ ।’

सम्भावित रोगको जोखिमबाट बच्न मान्छेले नयाँ–नयाँ उपायहरूको खोजी गरे । त्यसैको एक नतिजा थियो, घरेलु जडीबुटी । हाम्रै घर–आँगनमा त्यस्ता औषधीय गुणका जडीबुटीहरू पनि छन्, जसले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउँछन् । हामीले दिनहुँ प्रयोग गर्ने बेसारदेखि स्वादका लागि खाने पुदिनासम्म यसका लागि उपयोगी हुन्छन् ।

हुन त हामीकहाँ परम्परादेखि नै घर आसपासमा यस्ता वनस्पति रोप्ने संस्कार छ । तुलसीलाई त विशेष रूपमा रोप्ने गरिन्छ । यो वनस्पतिलाई पूर्वीय संस्कारमा पूज्य र अनमोल मानिन्छ । किनभने यसमा धेरै रोग निको बनाउने गुण हुन्छ । यसैगरी हाम्रा घर–आँगनमा घिउकुमारीदेखि पुदिनासम्म रोप्ने गरिन्छ । यी वनस्पतिहरू औषधीय गुणले भरिपूर्ण हुन्छन् ।

तुलसी

धार्मिक महत्व बोकेका कारण तुलसी हरेकको घर–आँगनमा रोप्ने चलन छ । यो बिरुवा औषधीय गुणले भरिएको बहुउपयोगी वनस्पति हो । यसमा भिटामिन र खनिज प्रशस्त मात्रामा पाइन्छ । तुलसीको बिरुवाले वायु शुद्धीकरणको काम गर्छ । यो हरेक रोगका लागि उत्तिकै उपयोगी मानिन्छ । तुलसीको पात नियमित रूपमा सेवनगर्ने हो भने धेरैजसो रोगबाट बच्न सकिन्छ । यसलाई चूर्ण बनाएर अदुवा, मरिच आदिको सम्मिश्रण गरी चिया बनाएर पिउन सकिन्छ । यसले दम र श्वास–प्रश्वाससम्बन्धी रोगबाट छुटकारा दिन सहयोग गर्छ । त्यसका साथै माइग्रेन, डिप्रेसन, स्नायु प्रणालीसम्बन्धी रोगका लागि लाभदायक मानिन्छ । यसको हेरचाह गर्न त्यति गाह्रो हुँदैन ।

गुर्जो

पछिल्लो समय गुर्जो निकै चर्चा पाएको जडीबुटी हो । महामारीको समयमा यसको प्रयोग बढेको हो । विज्ञहरू कोभिड–१९ बाट बच्न गुर्जो उपयोगी हुने दाबी गर्दै आएका छन् । यसको सेवनले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्छ । पिसाबसम्बन्धी समस्या, जोर्नीको दुखाइ, मधुमेह, उच्च रक्तचाप, मोटोपन, रक्त विकार हटाउन गुर्जो निकै लाभदायक मानिन्छ । यसमा शीतल बनाउने गुण भएकाले गर्मीका कारण हुने समस्याबाट छुटकारा दिलाउँछ । त्यसका साथै बान्ता रोक्न, कब्जियत हुनेहरूका लागि गुर्जो फाइदाजक हुन्छ ।

घिउकुमारी

घिउकुमारी स्वास्थ्य र सौन्दर्यका लागि उपयोगी वनस्पति हो । यसमा भिटामिन ‘ए’, ‘बी–१’, ‘बी–२’, ‘बी–६’, ‘बी–१२’ र ‘ई’ का साथै फोलिक एसिडजस्ता पोषक तत्व हुन्छन् । यसको जेलमातामा, फलाम, क्याल्सियम, जिंक, पोटासियम, क्रोमियम, म्याग्नेसियमजस्ता तत्व पाइन्छन् । घिउकुमारीको नियमित प्रयोगले छाला र केशलाई सुन्दर बनाउँछ । कब्जियत र मोटोपनमा लाभदायक मानिन्छ । यसले वायु शुद्ध गर्छ । यो बिरुवालाई गमलामा सहजै रोप्न सकिन्छ । यसलाई पानीको आवश्यकता कम पर्छ तर सूर्यको किरणको बढी आवश्यकता पर्छ । धेरै पानी भए बिरुवा मर्न सक्छ ।

लेमन ग्रास

लेमन ग्रास चियाका रूपमा पिइन्छ । यसको सुगन्ध र स्वाद असाध्यै मीठो हुन्छ । यसलाई विभिन्न परिकारमा मिसाएर खाने गरिन्छ । यो औषधीय गुणले भरिपूर्ण हुन्छ । लेमन ग्रासमा एन्टिअक्सिडेन्ट, एन्टिइम्पलामेन्टरी र एन्टिसेप्टिक गुण पाइन्छ । यसमा पाइने पौष्टिक तत्वले टाउकोको दुखाइ, माइग्रेन कम गर्छ । यसको नियमित सेवनले कोलस्टेरोलको मात्रा नियन्त्रण गर्छ । यसमा भिटामिन ‘सी’ प्रशस्त मात्रामा पाइने भएकाले शरीरमा भएको विषाक्त पदार्थ बाहिर निकाल्न मद्दत गर्छ । दैनिक लेमन ग्रासको चिया पिउनाले छालामा निखार आउँछ ।

रोजमेरी

रोजमेरीको प्रयोग खानाको स्वाद र सुगन्ध बढाउन गरिन्छ । तर यो औषधीय गुणले भरिपूर्ण भएकाले विभिन्न स्वास्थ्य समस्याका लागि पनि लाभदायक मानिन्छ । यसमा पोटासियम, कार्बोहाइड्रेट, क्याल्सियम, म्याग्नेसियम, भिटामिन आदि प्रशस्तमात्रामा पाइन्छ । रोजमेरीको नियमित सेवनले क्यान्सरबाट बचाउँछ । स्मरण शक्ति बढाउनुका साथै मानसिक रोग, अल्जाइमर, माइग्रेन, अल्सरजस्ता समस्यामा लाभदायक मानिन्छ । शरीरको प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ । रोजमेरीको तेलले दुखाइ कम हुन्छ । दुखेको भागमा यसको तेलले मालिस गर्दा आराम मिल्छ ।

पुदिना

पुदिनाको नियमित सेवनले विभिन्न खालका स्वास्थ्य समस्याबाट छुटकारा दिन्छ । साथै सौन्दर्य निखार्नमा पनि उत्तिकै उपयोगी मानिन्छ । डन्डिफोर वा अन्य खटिरा आएको बेला पुदिनाका पातमा थोरै कागतीको रस मिलाएर लगाए त्यसबाट छुटकारा पाइन्छ । ज्वरो आएका बेला पुदिनाको रस निकै उपयोगी मानिन्छ । अपच भएको, ग्यास्ट्रिकको समस्या भए पुदिनाको जुस बनाएर खान सकिन्छ । दैनिक पुदिनाको सेवनले दाँत सड्ने, गिजा सुन्निने, सास गन्हाउने समस्या हराएर जान्छन् ।

घोडताप्रे

घोडताप्रे पहाडी क्षेत्रमा पाइन्छ । सानो कुर्पो आकारमा पाइने यो झार भुइँमा जताततै हुन्छ । ज्वरो आएको, घाँटी दुखेको बेला यसलाई माडी रस निकालेर पिउँदा राहत मिल्छ । यसमा एन्टिअक्सिडेन्ट गुण भएकाले शरीरमा भएको विषाक्त पदार्थलाई बाहिर निकाल्छ । निमोनियाँ हुनबाट बचाउँछ । बच्चाहरूका लागि पनि उपयोगी घोडताप्रेको नियमित सेवनले श्वासप्रश्वाससम्बधी रोगबाट छुटकारा दिलाउँछ । स्मरणशक्ति बढाउन सहयोग गर्छ । यसमा शीतलता दिने गुण भएकाले गर्मीमा यसको सेवनले फाइदा पुर्‍याउँछ । मन शान्त, चिन्तामुक्त राख्छ । थकान र अल्छी हटाउँछ । निद्रा

नलाग्ने समस्या भए यसको सेवनले फाइदा गर्छ ।

 Image