Successfully Copied

२०७८ साल असोज महिनाको राशिफल

मेष समय आफू अनुकूल रहनेछ । अधूरा काममा सफलता मिल्नेछ । सोचेअनुरूप सबै काम पूरा हुँदै जानेछन् ।

मेष

समय आफू अनुकूल रहनेछ । अधूरा काममा सफलता मिल्नेछ । सोचेअनुरूप सबै काम पूरा हुँदै जानेछन् । विशेष कार्यका लागि यात्रा हुनसक्छ । व्यक्तिगत कार्य एवं खुसीका लागि समय निस्कनेछ । आफ्नो कार्यक्षेत्रबाट राम्रो सम्मान मिल्नसक्छ । कुनै पनि प्रतियोगितामा विजयी हुने अवसर प्राप्त हुनेछ । पारिवारिक खुसी एवं स्वास्थ्यका लागि केही समय छुट्याउनुपर्नेछ । दाम्पत्य जीवन सुखमय रहनेछ ।

वृष

आफूले सोचेजस्तो काम गर्न केही खट्नुपर्नेछ । आफ्नो काम, इच्छा र आराम यी सबै कुरालाई सन्तुलनमा राखी कार्य गर्नुपर्नेछ । छोराछोरीको खुसीको ख्याल राख्दै काम गरेमा तिनले पनि तपाईंको इच्छाको कदर गर्नेछन् । दाम्पत्य जीवनमा एक–अर्काले राम्ररी खुलस्त रूपले आफ्नो भाव व्यक्त गर्न सके दुवैलाई सहज हुनेछ । स्वास्थ्य र खानपानमा विशेष ध्यान दिनुपर्ने बेला छ । आफूलाई के गर्दा अनुकूल र सहज हुन्छ त्यो विचार गरेर काम गरे निकै सजिलो हुन्छ । सकेसम्म कसैबाट कुनै कुराको अपेक्षा नगर्नु नै राम्रो हुनेछ ।

मिथुन

व्यावहारिक कार्य गर्दा एवं बोल्दा सजग रहनुपर्नेछ । आफन्त एवं मित्रवर्गसित भेटघाट गर्ने मौका जुट्नेछ । पारिवारिक वातावरण सुखमय रहनेछ । आर्थिक पक्ष सुदृढ रहनुका साथै व्यावसायिक क्षेत्रबाट लाभ हुनेछ । दाम्पत्य जीवनमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ । परिवारमा कसैलाई सन्तान लाभ हुनेछ । कुनै सभा–समारोहमा सहभागी हुने मौका मिल्नेछ । छोराछोरीबाट सन्तोष मिल्नेछ । सकारात्मक सोचका साथ काम गरे हरेक कार्य सहज र सफल हुँदै जानेछन् ।

कर्कट

काम गर्ने जाँगर बढ्नुका साथै शरीर पनि स्वस्थ रहनेछ । तनाव हटेर जानेछ । कुनै कामको सिलसिलामा कतैको यात्रा हुनसक्छ । आर्थिक पक्ष सुदृढ रहनेछ । नयाँ एवं पुराना मित्रहरूसित भेट्ने मौका जुट्नसक्छ । मनमा कुनै नयाँ काम गर्ने विचार आउनसक्छ । काम गर्दा विभिन्न माध्यमबाट सहयोग पाइनेछ । आफ्नो इच्छानुसार कुनै कुराको किनमेल हुनेछ । व्यक्तिगत कार्यका लागि समय निस्कनेछ । घरमा कुनै सर–सामग्रीमा हेरफेर हुनसक्छ । सोचेअनुसार काममा सफलता मिल्दा मन प्रसन्न रहनेछ ।

सिंह

पारिवारिक सुख मिल्नेछ । काम गर्ने पराक्रम बढ्नुका साथै शरीर पनि स्वस्थ रहनेछ । कुनै विशेष कामले कतैको यात्रा हुनसक्छ । कसैकसैलाई यो महिनामा कतैबाट मान–सम्मान प्राप्त गर्ने मौका मिल्नसक्छ । आफ्नो इच्छाअनुसारको काम गर्ने एवं समय बिताउने समय निस्कनेछ । कहिलेकाहीँ सामान्य कुराले पनि मनमा तनाव हुनसक्छ । सकेसम्म आफूलाई धैर्य र सकारात्मक राख्ने प्रयास गर्नुहोला । अनावश्यक खर्च हुनसक्ने भएकाले कुनै पनि सामानको किनमेल गर्नुपूर्व राम्रोसित विचार गर्नुपर्ने बेला छ ।     

कन्या

व्यस्तताले भरिपूर्ण महिना रहेको छ । साना–साना कुरामा पनि आफैंलाई खट्नुपर्नेछ । सोचेअनुसारको नतिजा प्राप्त गर्न काममा अलिक मेहनत गर्नुपर्नेछ । पेट एवं मुटुका बिरामीहरूले आफ्नो स्वास्थ्य र खानपानमा विशेष ध्यान दिनुपर्नेछ । परिस्थितिअनुरूप प्राथमिकतालाई आधारमा राखेर काम गर्दा निकै सहज हुनेछ । पारिवारिक खुसीका निमित्त केही खर्च हुनेछ । दाम्पत्य जीवनमा श्रीमान्बाट अपेक्षित सहयोग र सद्भाव प्राप्त हुनेछ ।

तुला

पारिवारिक सुख मिल्नेछ । आफ्नो इच्छानुसार काम गर्ने मौका मिल्नेछ । व्यक्तिगत कार्यका लागि समय निस्कनेछ । कुनै कुराले गर्दा मनमा प्रसन्नता बढ्नेछ । दाम्पत्य जीवनमा श्रीमान्बाट तपाईंको सुखदुःखको ख्याल गरी कार्य गर्ने प्रयास हुनेछ । काम गर्दा कहिलेकाहीँ आकस्मिक तनाव हुनसक्छ । सकेसम्म धैर्य, शान्त र सकारात्मक रही कार्य गर्नु नै राम्रो हुनेछ । तनावका बेलामा कसैले गरेको राम्रो काम–कुरा पनि नराम्रो लाग्नसक्ने हुँदा राम्ररी विचार गरेर मात्र प्रतिक्रिया दिनु राम्रो हुनेछ ।

वृश्चिक

यो महिना राम्रो छ । कुनै विशेष कार्यमा सफलता मिल्नेछ । मनमा भएको तनाव हट्न जाँदा शरीर र मन दुवै स्वस्थ र फुर्तिलो रहनेछ । सोचेअनुरूप सबै कार्य सम्पन्न हुँदै जानेछन् । धार्मिक क्षेत्रप्रति अभिरुचि बढ्नेछ । आर्थिक एवं व्यापारिक क्षेत्र दुवै सबल रहनेछन् । कतै घुमघाम गर्न जाने मौका मिल्नसक्छ । प्रतियोगितात्मक क्रियाकलापमा सफलता मिल्नेछ । तपाईंको इच्छा र चाहनाको ख्याल गरिनेछ । साथै सबैले तपाईंको वाकपटुता र कार्यदक्षताको खुलेर प्रशंसा गर्नेछन् ।

धनु

सबै समस्याको समाधान हुनेछ । साथै सबै कुराहरू क्रमशः योजनानुसार पूरा हुँदै जानेछन् । कुनै विशेष कार्यमा सफलता मिल्नेछ । घरमा कुनै सर–सामग्रीमा हेरफेर हुनसक्छ । माइतीपक्षसित भेटघाट गर्ने अवसर मिल्नेछ । दाम्पत्य जीवनमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ । कतैबाट कुनै कुराको लाभ हुनेछ । कुनै प्रतिस्पर्धात्मक कार्यमा सफलता मिल्नेछ । मित्रवर्गसित पनि रमाइलो भेटघाट हुनसक्छ । व्यक्तिगत कार्य एवं खुसीका लागि समय निस्कनेछ । आफ्नो इच्छानुसारको कार्यमा समय बित्नेछ ।

मकर

अनावश्यक खर्च हुनसक्ने भएकाले किनमेल गर्दा विचार पुर्‍याउनुपर्नेछ । साथै नजानिँदो ढंगले मनमा कुनै कुराको तनाव हुनसक्छ । सकेसम्म आफ्नो व्यक्तिगत कार्यका लागि केही समय छुट््याउनुका साथै धैर्य र शान्त रहने प्रयास गर्नुहोला । आफूलाई मन लागेको कुरामा केही समय खर्चिएमा पनि मन र शरीर तरोताजा हुनेछ । सकेसम्म आफ्नो कार्यमा सक्रिय रही सीमित बोली बोल्नु नै लाभदायक रहनेछ । बेलाबेलामा हुने साथीसंगीसितको वार्तालापले मन प्रसन्न गराउनेछ ।

कुम्भ

पारिवारिक सुख एवं समृद्धि बढ्नेछ । धार्मिक कार्यतर्फ मन बढी अग्रसर रहनेछ । आर्थिक एवं व्यापारिक पक्ष दुवै सुदृढ रहनेछन् । सबैबाट तपाईंको इच्छा र चाहनाको ख्याल गरी कार्य गर्ने प्रयास हुनेछ । प्रायः सबै कार्य तपाईंकै निर्देशनानुसार सम्पन्न हुनेछन् । कतैबाट आकस्मिक कुराको लाभ हुनेछ । रक्तचापका बिरामीहरूले आफ्नो स्वास्थ्य र खानपानको राम्रो ख्याल गर्नुहोला । कुनै कुराले गर्दा मनमा दोधार हुनसक्छ ।

मीन

कामविशेषले कतैको यात्रा हुनसक्छ । पारिवारिक वातावरण सुखमय हुनेछ । माइतीपक्षसित पनि रमाइलो भेटघाट हुनेछ । मित्रवर्गसित पनि कुनै बहानामा कतै घुम्न जाने मौका मिल्नसक्छ । पेटसम्बन्धी समस्या हुने सम्भावना भएकाले पेटका बिरामीहरूले आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने बेला छ । दाम्पत्य जीवनमा कुनै कुरालाई लिएर वैचारिक मतभेद हुनसक्छ । सकेसम्म जोडीले एक–अर्काको भावना र चाहना बुझी काम गर्ने प्रयास गरेमा सम्बन्धमा मधुरता छाउनेछ ।

 Image