Successfully Copied

संस्कृति, भोजन र स्वास्थ्य

मानिसलाई गर्भावस्थादेखि नै स्वस्थ रहन, शारीरिक, मानसिक वृद्धि र विकास गर्न तथा ऊर्जाका लागि खानाको आवश्यकता पर्छ ।

खानाको गुणस्तरप्रति मानिस उति गम्भीर बनेको पाइँदैन । अझ अस्वस्थकर जीवनशैलीका कारण मानिसको स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्ने गरेकै छ । चाडपर्वका बेला ‘मीठो खाने’ भनेर अनेकौं परिकार बनाएर खाइन्छ । सुन्दर हुन अनेक सौन्दर्यका सामग्रीहरू र लुगा किनिन्छ तर खानपान र स्वास्थ्यमा अनेक समस्या भएको वास्ता गरिँदैन । चाडपर्वका बेला स्वस्थकर खानपिनमा त झनै ध्यान दिनुपर्छ ।

मानिसलाई गर्भावस्थादेखि नै स्वस्थ रहन, शारीरिक, मानसिक वृद्धि र विकास गर्न तथा ऊर्जाका लागि खानाको आवश्यकता पर्छ । शारीरिक श्रम गर्दा मात्र होइन मानसिक कार्य गर्दा पनि ऊर्जाको आवश्यकता पर्छ ।

हाम्रो शरीरको सम्पूर्ण भागको तुलनामा मस्तिष्क जम्मा दुई प्रतिशत हुन्छ तर मस्तिष्क सञ्चालन हुन भने २० प्रतिशत ऊर्जा आवश्यक पर्छ । शारीरिक काम नगरेको बेलामा पनि मुटु, मिर्गौला, फोक्सो, कलेजो, मस्तिष्कलगायतका अंगहरूले काम गरिरहेका हुन्छन् । यी अंगहरूलाई चाहिने ऊर्जा दैनिक खानाबाटै प्राप्त हुन्छ ।

नेपालका स्वास्थ्य चौकी तथा अस्पतालहरूमा प्रायः स्वस्थकर खानेकुराका बारेमा छलफल गरिँदैन । काठमाडौंदेखि अछामसम्मका विभिन्न १० वटा जिल्लाका केही अस्पताल, मेडिकल कलेज, जिल्ला अस्पताल, स्वास्थ्य चौकीहरूमा पुगेर मैले अध्ययन गर्दा ती स्वास्थ्य संस्थामा गर्भवतीको जाँच गर्दा आइरन चक्की, क्याल्सियम, फोलिक एसिड त दिने गरिएको पाइयो, तर आना घरवरिपरि पाइने खानामा कस्ता पोषक तत्वहरू छन्, स्थानीय खानाबाट स्वस्थकर खाना कसरी बनाउनुपर्छ भन्ने बारेमा कुनै जानकारी दिइएको पाइएन । महिलालाई केवल चक्कीहरू मात्र दिनुभन्दा सागपात, गेडागुडीलगायत अन्नका बारेमा जानकारी दिनुपर्छ । स्थानीय खानाहरूबाट नै लौहतत्व, क्याल्सियम आदि पर्याप्त पाइन्छ ।

पछिल्लो समय युवती र महिलाहरूले परम्परागत स्वस्थ खाना छोडेर चाडपर्वमा जंकफुडको बढी प्रयोग गर्न थालेका छन् ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार सन् १९९६ मा दुई प्रतिशत नेपाली मोटा थिए । तर २०१६ मा यो २२ प्रतिशत पुगेको छ । तीमध्ये महिला नै बढी मोटा छन् । मोटोपन भएपछि उच्चरक्तचाप, मधुमेह, घुँडा दुख्ने, कलेजोमा बोसो जम्मा हुन सक्छ । मधुमेहको समस्या भएपछि मिर्गौला र आँखामा समस्या पर्न सक्छ । यस्तो नहोस् भनेर नै स्वस्थ जीवन शैली, भोजन र योगासन, हिँडाइमा धेरै ध्यान दिनुपर्छ । महिलाहरूले युवावस्थामा जति खाए पनि हुन्छ, पछि स्वास्थ्यका बारेमा ध्यान दिउँला भन्नु उचित होइन ।

 युवावस्थामै बजारका पाकेट बन्द तयारी खाना, होटलहरूमा खुवाइने चिल्लो बढी राखिएका खाना खाँदा पहिलेदेखि अनेक समस्या देखिन्छन् । किनभने यस्ता खानामा नुन, चिनी र चिल्लो बढी हुन्छ तर शरीरलाई आवश्यक पर्ने सूक्ष्म पौष्टिक तत्व, भिटामिन र रेसादार पदार्थ हुँदैन ।

रेसादार पदार्थ नखाँदा कब्जियत हुन्छ र बल गरेर दिसा गर्नुपर्दा हर्षा हुने, पाठेघर खस्ने समस्या हुनसक्छ । गाउँघरतिर पाठेघर निस्कने समस्या कुपोषणले पनि हो । कुपोषण भएपछि पाठेघरलाई ठीक ठाउँमा अड्याएर राख्ने मांसपेशीहरू कमजोर हुन्छन् । यसरी स्वस्थकर खाना नखाँदा प्रजनन अंगसँग सम्बन्धित अनेक समस्यामा पर्न सकिन्छ ।

चाडपर्वका बेला पाहुना आउँदा पनि स्वस्थकर खाजा खान दिनुको सट्टा चाउचाउ, कुरमुरे, चिप्स, चीजबल्स, दालमोठजस्ता पत्रु खाना दिइन्छ । यस्ता खानामा बाहिरको खोलमा लेखिएको खानामा भन्दा नुन ३७ देखि २ सय प्रतिशतसम्म बढी हुन्छ भन्ने कुरा स्वास्थ्य मन्त्रालयको अध्ययनबाट प्रमाणित भएको छ । यसरी पत्रु खाना थोरै–थोरै खाँदा पनि धेरै नै नुन शरीरमा जाने भएकाले चाडपर्वमा न आफू खाने न अतिथिलाई दिने बानी विकास गर्न सकिन्छ ।

पौष्टिक तथा सन्तुलित खाना

हामीले दैनिक खाने दालभात, रोटी, ढिंडो, हरियो तरकारी, अचार फलफूल आदि नै पौष्टिकताले भरिपूर्ण स्वस्थकर खाना हुन् ।

तर सही तरिकाले पकाइएको र सकेसम्म ताजा हुनु जरुरी छ । धेरैजसो नेपाली महिलामा रगतको कमी छ । शरीरमा रगतको कमी भयो भने बिस्तारै रोगसँग लड्ने क्षमता कम हुन्छ । गर्भवतीलाई रगतको कमी भयो भने त भ्रूणलाई पनि रगतको कमी हुन्छ, जन्मिदा सानो जन्मने, कमजोर हुने सम्भावना हुन्छ ।

रगतको कमी नहोस् भनेर हाम्रो परम्पराअनुसार फलामको भाँडामा पकाइएको खाना नियमित खाने हो र खाँदा अचार वा कागतीको प्रयोग गर्दा रक्तअल्पता कम हुने सम्भावना हुन्छ । स्थानीय रूपमा पाइने कर्कलो, सिस्नो, फर्सीको मुन्टा, कर्कलो आदि सागपातले पनि रगत बढाउन मद्दत गर्छन् । यस्तै घरवरिपरि नै पाइने विभिन्न गेडागुडी, दलहन, सागपात, फलफूल, माछा, मासु, अण्डा, दूध, दही, ठाउँअनुसार पाइने विभिन्न अन्न जस्तो मकै, गहुँ, कोदो फापर, उवा, जौ, चना आदि महिला, युवती, गर्भवती र सुत्केरीलाई पर्याप्त मात्रामा खुवाउन सके समुदायको नै स्वास्थ्य राम्रो हुन्छ ।

परम्परागत खाना स्वस्थकर

हाम्रो चाडपर्वसँग जोडिएका खानाहरू स्वस्थकर मात्रै छैनन् ऋतु परिवर्तनसँगै कस्तो भोजन गर्ने भन्ने ज्ञान पनि दिन्छन् । यिनमा भिटामिन, कार्बोहाइड्रेड, प्रोटिन सूक्ष्म पोषण तत्व पर्याप्त रहेको हुन्छ ।

लसुन, प्याज, अदुवा, बेसार, खुर्सानी, धनियाँ, जिरा, मरिच, दालचिनी, टिम्मुर, जिम्बु, कागती आदि औषधीय गुणहरू भएका वस्तुहरूको प्रयोग गरेर पकाउनु नेपाली परम्परागत खानाका विशेषता हुन् । यी वस्तुमा रोगसँग लड्ने शक्ति छ भन्ने अध्ययनबाट पनि प्रमाणित भइसकेको छ ।

 चामल, दाल, गहुँ, कोदो फापर, जुनेलो, उवा, तरुल, चुकन्दर, सखरखण्डका साथै चेपाङहरूले खाने गिठा, भ्याकुर आदि पनि ऊर्जाका स्रोत हुन्, यिनमा रेसादार पदार्थका साथै सूक्ष्म पोषक तत्वहरू पनि हुन्छन् ।

हाम्रा वर्षभरिका परम्परागत चाडपर्वहरू पनि प्रायः पौष्टिक भोजनसँग जोडिएका छन् । भदौ महिनामा हामीले जनैपूर्णिमा मनायौं, क्वाँटी खायौं । वैशाखको अक्षयतृतीयामा जौको सातु र सर्बत खाने चलन नै छ । यसले शीतलता दिन्छ । असार पन्ध्रमा हामी दही–चिउरा खान्छौं । त्यसैगरी साउने संक्रान्ति, साउन १५, ठूली एकादशी, दसैं, तिहार, छठ, लोसार, माघे संक्रान्ति आदि पर्वमा खाइने भोजनमा समयानुसार आवश्यक पर्ने पौष्टिक तत्व सहजै पाइन्छ । यस्तै विभिन्न जातजाति तथा समुदायले चाडपर्वमा खाने खाना पनि समयानुसारका पौष्टिक छन् । हामीले हाम्रा पुर्खाहरूले यस्तो चलन किन चलाएका होलान् भनेर विचार गर्‍यौं भन्ने अनुभव हुन्छ कि उनीहरूलाई परम्परागत रूपमा कुन बेलामा के फल्छ, त्यहीअनुसार खानुपर्छ भन्ने ज्ञान थियो । हामीले त्यो ज्ञानलाई आत्मसात् गरेर, आनो सहजताअनुसार विभिन्न स्वस्थ परिकारहरू बनाउन सक्छौं । यसले गर्दा हामीले थोरै स्वस्थकर खाना प्रयोग गर्न सक्छौं । उदाहरणका लागि जाडोको बेलामा कोदोका विभिन्न परिकार जस्तो पकौडा, सुप आदि अन्य परिकारसँग खाँदा शरीरमा पौष्टिक तत्व पर्याप्त पुग्छ ।

कृषि मन्त्रालयले नेपालमा पाइने खाना र तिनमा पाइने पौष्टिक तत्व सबैको सूची प्रकाशित गरेको छ, तर यो जानकारी समुदाय तहसम्म पुर्‍याउन नसकेकाले यसबारेमा आममानिसलाई जानकारी छैन ।

पहिले कर्णालीका गेडागुडी, फापर, जौ, कोदो आदि अपहेलित थिए अहिले त कोदोमा विभिन्न पीठो मिसाएर बनाइएको मःमः, रोटी, पिज्जा, चाउमिन खोजेर खान थालेका छन् । कोदो, फापर त मधुमेहका बिरामीहरूका लागि स्वस्थकर हुन्छ । अहिले त पाँचतारे होटलमा पनि कोदोको सुप बनाइन्छ, ठूला मलहरूमा पनि कोदो वा फापर पाइन थालेको छ । चाडपर्वमा हामीले कोदोको मःमः र तिलको अचार खाँदा स्वाद र स्वास्थ्य दुवै पाइन्छ ।

त्यसैगरी महिला स्वास्थ्यका लागि हाम्रो संस्कृतिमा विभिन्न भोजनको व्यवस्था गरिएको छ । गर्भवती तथा सुत्केरी अवस्थामा खुवाइने मसला पनि विशेष किसिमले बनाइन्छ । यस्तो खानामा शरीरलाई चाहिने पर्याप्त सूक्ष्म पोषक तत्वहरू हुन्छन् । त्यसैगरी यो सुत्केरीमा खुवाइने ज्वानोको झोलमा पनि क्याल्सियम हुन्छ । ज्वानोको झोलले दूध पनि बढी आउँछ । यो सुत्केरीमा खुवाउने धेरै राम्रो खाना हो । तर ज्वानोको झोल जाडोको बेलामा अन्य व्यक्तिले पनि खाँदा हुन्छ । जाडोमा क्वाँटीको झोल खाने चलन पनि एकदम राम्रो हो । टुसा उमारेको भोजनले शरीरमा ऊर्जा दिन्छ । यसका साथै क्वाँटीमा रेसादार तत्व पनि पाइन्छ । यसले गर्दा कब्जियत हुन पाउँदैन । क्वाँटीको झोलले पनि सुत्केरी आमाको दूध बढाउँछ । क्वाँटी खान विशेष दिन छ, तर अन्य बेलामा विशेषगरी जाडोको बेलामा खाँदा स्वाद र स्वास्थ्य दुवै पाइन्छ । त्यसैगरी जाडोको बेला मेथीको खिर खाने चलन छ । सुत्केरी भोजनमा मेथीको लड्डु ख्वाउँदा सुत्केरीको शरीरमा रगत बढ्छ ।

सुदूरपश्चिममा महिनावारीमा हरियो खाना, दूध खानु हुँदैन भनेर छाउपडीमा बसेकालाई खान दिँदैनन् यो नराम्रो चलन हो । कतिपय समुदायमा गर्भवतीले केरा खानु हुँदैन यसले बच्चा ठूलो हुन्छ र बच्चा निस्कन गाह्रो हुन्छ भन्ने विश्वास रहेको छ ।

तर यस्ता फलफूलले ‘एलर्जी’ हुँदैन भने कुनै पनि गर्भवती महिलाले खानु राम्रो हो । किशोरावस्थामा शरीर हलक्क बढ्ने, महिनावारी सुरु हुने भएकाले र गर्भवती तथा सुत्केरी अवस्थामा रगतको कमी नहोस् भनेर उनीहरूलाई बढी तथा विशेष प्रकारको खाना दिनुपर्ने हुन्छ । यस्तो बेला कुनै पनि बहानामा खाना कटौती गर्नु हुँदैन ।

खाना कसरी पच्छ, कहिले कसरी खानुपर्छ भन्ने ज्ञानको पनि महत्व छ । महिलाको जीवन महिनावारी, गर्भावस्था, सुत्केरी, महिनावारी सुक्ने अवस्थाका बेलामा विभिन्न किसिमका स्वस्थकर खाना खानुपर्छ ।

उमेर र परिस्थिति हेरेर हाम्रो परम्परागत ज्ञानअनुसार व्रत, उपवासको महत्व पनि छ । अहिले त वैज्ञानिक अध्ययनले शरीर स्वस्थ राख्न उपवास राम्रो तरिका भन्ने प्रमाणित भएको छ । इन्टरमिटेन्ट फास्टिङ (२४ घण्टामा ८ घण्टाभित्र खाने, १६ घण्टा नखाने) बाट हुने फाइदाको अध्ययन गरेर प्रमाणित गरेकाले सन् २०१६ को नोबल पुरस्कार नै प्रदान गरिएको थियो ।

 कतिपय भिक्षुले परम्परागत रूपमै इन्टरमिटेन्ट फास्टिङ गर्ने गरेका छन् । यस्तो उपवासले शरीरको तौल घट्ने मात्र होइन, कतिपय साधारण समस्या पनि कम हुन्छन् । साताको एकदिन पानी मात्र खाएर बस्दा युरिक एसिडले भएको दुःखाइ घट्ने र तौल पनि कम हुने सम्भावना हुन्छ ।

पोषण भनेको मनलाई आनन्द दिने हुनुपर्छ, संस्कृतिसँग मिल्ने खालको हुनुपर्छ । मन नपरी नपरी खाएको खानाले फाइदा गर्दैन । मानसिक तनाव भएका बेला खाना खाएमा खान स्वस्थकर नै भएपनि पाचन राम्रो हुँदैन, पेट गडबडी हुन्छ ।

 स्वस्थ वातावरणमा खुसी भएर खाएको खानाले सकारात्मक ऊर्जार् दिन्छ भने रिसाएर पकाएको र खाएको खानाले नकारात्मक ऊर्जा दिन्छ । त्यसैले स्वस्थ वातावरणमा खुसी मनले घरमै पकाएको ताजा र सन्तुलित खाना खाई नियमित व्यायाम गरेर जीवनलाई स्वस्थ र आनन्दमय बनाउन सकिन्छ ।

 Image