Successfully Copied

बैठक कोठा ठूलो देखाउन

बैठक कोठामा सोफासँगै एक साइडमा कुर्सी राख्नुपर्छ । ब्याक रेस्ट वा आर्म चियर, रकिङ चियर वा पुरानो मेटलको चियरलाई बैठक कोठाको हिस्सा बनाउनुपर्छ ।

चाडपर्वका बेला घर–घरमा पाहुना आउने/जाने क्रम चलिरहन्छ । पाहुना आउँदा बस्ने ठाउँ भनेकै बैठक कोठा हो । घर सानो छ र धेरै मानिस एकैसाथ भेला भएको अवस्थामा बस्ने ठाउँको अभाव हुनु स्वाभाविकै हो । कोठा सानो भए पनि बस्ने ठाउँ बनाउन सकियो भने कोठा आकर्षक देखिन्छ । बैठक कोठालाई धेरैजना अटाउने कसरी बनाउने त ? यस विषयमा केही जानकारी प्रस्तुत छ :-

भुइँको प्रयोग

बैठक कोठा सानो हुँदा भुइँको प्रयोग गर्नुपर्छ । कोठाको कुनै एउटा कुनामा बस्ने ठाउँ बनाउनुपर्छ । खाली भुइँमा म्याट्रेस वा मोटो गद्दा राख्नुपर्छ । त्यसमाथि बेड कभर ओछ्याउनुपर्छ । यो ठाउँलाई अझ आकर्षक बनाउन रंगीबिरंगी वा आफूलाई मनपर्ने कुसन राख्न सकिन्छ । त्यसको दायाँ–बायाँ इन्डोर प्लान्ट राम्रो हुन्छ । यसरी भुइँमा पाहुनाहरूलाई बस्न पनि सहज हुन्छ ।

सोफाको छनोट

धेरै जना बस्न मिल्ने खालको सोफा छनोट गर्नुपर्छ । यस्तो सोफा भए कोठामा अतिरिक्त फर्निचर राख्नुपर्दैन । यसले कोठा पनि ठूलो देखिन्छ । बैठक कोठा पहिलेदेखि नै साँघुरो छ भने धेरै भद्दा देखिने फर्निचर राख्नुहुँदैन । यस्ता फर्निचरले तपाईंको कोठा झनै सानो देखिन्छ । त्यसैले हल्का तर धेरै जना बस्न मिल्ने फर्निचरको छनोट नै उत्तम हुन्छ ।

कुर्सीको प्रयोग

बैठक कोठामा सोफासँगै एक साइडमा कुर्सी राख्नुपर्छ । ब्याक रेस्ट वा आर्म चियर, रकिङ चियर वा पुरानो मेटलको चियरलाई बैठक कोठाको हिस्सा बनाउनुपर्छ । कुर्सी पुरानो भए वा डिजाइन पनि पुरानो भए त्यसलाई रंगरोगन गरी नयाँपन दिन सकिन्छ । यसमाथि कुसनले सजाउन पनि सकिन्छ । कुसन कभर कस्तो लगाउने भन्ने कुरा कोठाको रंग वा पर्दाको रंगअनुसार छनोट गर्न सकिन्छ । यसले तपाईंको बैठक कोठाको रौनक बढाइदिन्छ अनि कोठा पनि ठूलो देखिन्छ ।

पुफ

पुफ वा ओटमेन्स एक जनामात्र बस्नका लागि सही विकल्प हुनसक्छ । यसले बैठक कोठाको धेरै ठाउँ पनि ओगट्दैन । यसको प्रयोग नभएको बेला यसलाई टेबलमुनि राख्न सकिन्छ । त्यत्तिकै राख्दा पनि बैठक कोठालाई आकर्षक देखाउन मद्दत गर्छ । पुफको रंग भने उज्यालो रोज्नुपर्छ वा कोठाको कन्ट्रास्टिङ सेड रोज्दा राम्रो हुन्छ ।

झ्यालको छेउ

बैठक कोठाका झ्याल ठूला भए त्यही छेउमा बस्नका लागि ठाउँ बनाउन सकिन्छ । त्यहाँ बसेर गफ गर्दै बाहिरको वातावरण पनि नियाल्न सकिन्छ । हावा पनि ओहोरदोहोर हुने भएकाले यहाँ बस्न एकदमै आनन्ददायक हुन्छ । यहाँ बस्न बनाउनका लागि धेरै पैसा पनि खर्च गर्नुपर्दैन । गद्दा वा म्याट्रेस, कुसन राखेर बस्ने ठाउँ बनाउन सकिन्छ । यसो गर्दा कोठामा धेरैजना बस्न सक्छन् ।

 Image