Successfully Copied

बुटिकमा भर्चुअल बजार

‘पछिल्लो समय भर्चुअल मात्रामा मार्केटिङ प्रभावकारी भएको छ, यसले गर्दा धेरै मानिससम्म बुटिक पुग्छन् ।’

अफर ! अफर ! तीज र दसैंको

अफर ! ४० प्रतिशतसम्म छुट । ललितपुर कुपन्डोलस्थित बुटिककी सञ्चालिका रेश्मा श्रेष्ठ हिजोआज यसैगरी फेसबुक र टिकटकमा भिडियो हाल्ने गर्छिन् । उनी चाडपर्वलाई लक्षित गर्दै पहिरनहरूको मार्केटिङ गर्ने नयाँ प्रविधिको अभ्यास गरिरहेकी छन् । फेसबुक, इन्स्ट्राग्राम टिकटकमार्फत उनले बुटिकका पहिरनहरूको पहिचान गराइरहेकी छन् । उनी आफै पहिरन लगाउँछिन् र सामाजिक सञ्जालमा भिडियोहरू पोस्ट गर्छिन् । भर्चुअलमा उनी जति सक्रिय छिन् त्यहीअनुसार नै उनकोमा ग्राहकहरू आउने क्रम पनि बढ्दै गएको छ । ग्राहकहरूले टिकटक र फेसबुकमा हेरेर तपाईं बुटिकसम्म आइपुगेको भनिरहेका हुन्छन् । भर्चुअल रूपमा धेरै मानिसमा पुग्ने भएकाले भिडियोमार्फत मार्केटिङ गर्न सहज भएको उनले बताइन् । यसले गर्दा ग्राहकहरूमा कम मूल्यमा पनि सामान पाउन सक्ने र कालिगडहरूले पनि निरन्तर काम पाउन सक्ने भएकाले पनि छुट निकै प्रभावकारी भएको उनको भनाइ छ । उनले भनिन्, ‘पछिल्लो समय भर्चुअल मात्रामा मार्केटिङ प्रभावकारी भएको छ, यसले गर्दा धेरै मानिससम्म बुटिक पुग्छन् ।’ चाडपर्वलाई लक्षित गर्दै उनले पहिरनहरूमा ४० प्रतिशत छुट दिएकी छन् । पहिरनमा दिएको छुटले ग्राहकहरूलाई आकर्षित गर्नुका साथै उनीहरूले कम मूल्यमा समेत खरिद गर्न सक्ने बताइन् ।

कोरोना महामारीले थलिएको बुटिक बजारमा पछिल्लो समय चहलपहल बढ्दै गएको छ । भक्तपुर गठ्ठाघरस्थित बुटिककी सञ्चालिका राधा आचार्यले दुई वर्ष थलिएको बुटिक बजार तीज र दसैं सुरु हुनासाथ चहलपहल बढेको बताइन् । महामारीका कारण स्वदेशमा व्यापार ठप्प भएपछि उनले विदेशमा पहिरनहरू डेलिभरि गरिन् । ‘महामारीका कारण स्वदेशमा बजार नभए पनि विदेशमा राम्रो सेल गरें’ उनले भनिन् । पछिल्लो समय उनले चाडपर्व लक्षित गर्दै गाउन, साडी सेट, कुर्था–सुरुवाल, सरारा सेटमा विशेष छुट दिएकी छन् । हेभी गाउनमा ५० प्रतिशतसम्म छुट दिएकी छन् । अन्य पहिरनमा पनि २०–३० प्रतिशतसम्म छुटको व्यवस्था छ । चाडपर्वमा बुटिकमा छुट दिनाले पुराना पहिरनहरू बिक्री हुने र नयाँ डिजाइनहरू बनाउन सहज हुने भएकाले पनि सेल दिन आवश्यक रहेको उनले बताइन् । उनले भनिन्, ‘चाडपर्वमा छुट दिँदा धेरै मात्रामा बिक्री हुन्छ यसले गर्दा नयाँ काम गर्ने ऊर्जा र उत्साह आउँछ ।’

पूर्वमिस नेपाल उषा खड्कीले पनि दसैंलाई लक्षित गर्दै अफर र छुट दिएकी छन् । उनले आनो बुटिकमार्फत रेडिमेट पहिरनहरू साडी, कुर्ता, लेहेंगा र क्याजुअलमा छुट दिएकी छन् । चाडपर्वमा यसरी छुट र अफरहरू लागू गर्दा धेरै मात्रामा ग्राहकहरूले किन्न सक्ने उनको भनाइ छ । उनले भनिन्, ‘अफर र छुटले कम मूल्यमा धेरै मात्रामा ग्राहकहरूले पहिरनहरू किन्न सक्नेछन् ।’ उनी बुटिकको अफर र छुटलाई सामाजिक सञ्जालमार्फत प्रवर्द्धन गर्ने गर्छिन् । प्रविधिको विकास सँगसँगै बजार प्रवर्द्धनमा पनि सामाजिक सञ्जाल उनका लागि निकै उपयोगी भएको छ । देशका विभिन्न स्थानमा मात्र होइन विदेशमा समेत उनी अनलाइन डेलिभरि गर्छिन् । पछिल्लो समय बुटिकको भर्चुअल बजार बढ्दै गएको उनको भनाइ छ ।

ललितपुर पाटनढोकास्थित बुटिककी सञ्चालिका उमा नेमकुलले बुटिकका लागि भर्चुअल माध्यम निकै उपयोगी हुँदै गएको बताइन् । बुटिकले अनलाइनमार्फत नै विदेशसम्म पहिरनहरू पठाउन सम्भव भएको उनको भनाइ छ । चाडपर्व आउनासाथ उनको बुटिकमा सेल र अफर सुरु हुन्छ । यसरी छुट र अफरका कारण बुटिकमा स्टकमा रहेका पहिरन सेल हुनाले पनि बुटिकहरूले अफर सेल दिने गरेको उनले बताइन् । सामाजिक सञ्जालमार्फत प्रवर्द्धन गर्दा बुटिकबारे धेरै मानिसहरूलाई थाहा हुने उनले बताइन् । उनले पुराना स्टकहरूमा ५० प्रतिशतसम्म छुट दिएकी छन् । अन्य पहिरनहरूमा २०–३० प्रतिशत छुट रहेको उनले बताइन् । उनका अनुसार बुटिकमा महँगो हुन्छ भन्ने धारणाले पनि सेल र छुटमा ग्राहकहरू आकर्षित हुन्छन् ।

लकडाउनका कारण ललितपुर कुपन्डोलस्थित अर्को बुटिक सञ्चालिका रोजिना ढंगोलले दसैंलाई लक्षित गर्दै बुटिकमा बम्पर सेल लगाएकी छन् । उनले रेडिमेड पहिरनहरूमा ५० देखि ६० प्रतिशतसम्म छुट दिएकी छन् । यसले उनको स्टक क्लियरेन्स भएको छ । ‘सेल र अफरले स्टक क्लियरेन्समा सहयोग पुग्छ’ उनले भनिन् । कोरोना महामारी र लकडाउनका कारण अहिले हरेक बुटिकमा अफर र सेल लगाउनुपर्ने बाध्यता रहेको उनले बताइन् ।

 Image