Successfully Copied

शैली पुरानै, लुक्स नयाँ

दसैंमा भारी साडीको सट्टा हल्का लेस बोर्डर भएको साडी लगाउँदा राम्रो हुन्छ । साडीको छनोट गर्दा रंगको संयोजनलाई ध्यान दिए फेसनेबलका साथै आकर्षक पनि देखिन्छ ।

दसैं पारिवारिक मेलमिलापको चाड हो । परिवार र आफन्तसँगै बसेर रमाइलो गरी यो चाड मनाइन्छ । त्यसैले यो चाडमा विशेष पहिरन नै लगाउनुपर्छ भन्ने छैन । आफूलाई सजिलो हुने र रहर लागेको पहिरन लगाएर चाड मनाउन सकिन्छ । फेसन डिजाइनर सोनम सुब्बा यो सोचसँग सहमत छन् । ‘कतिपयले स्टाइलिस देखिने चक्करमा आफूलाई असहज र भद्दा देखिने पहिरन लगाउँछन््’ सोनमले भने, ‘जुन गलत हो । चाडपर्वमा सजिलैसँग पूजाआजा गर्न सकिने, सबै रीतिरिवाज सुगमतापूर्वक मनाउन सकिने र घरको काम गर्न पनि सजिलो हुने फेसनेबल पहिरन छनोट गर्नुपर्छ ।’ यस पटकको दसैंमा बढी रंगहरू समावेश गरी डिजाइन गरिएका पहिरन लगाएर स्टाइलिस देखिन सकिन्छ ।

सदाबहार साडी

साडी सदाबहार पहिरन हो । साडीले नारीको सुन्दरता थप आकर्षक हुन्छ । प्राचीन समयदेखि नै महिलाले साडी लगाउँदै आएका हुन् । त्यसैले यो फेसन कहिल्यै पुरानो हुँदैन । तर, समयानुसार यसको रंग, डिजाइन एवं फेब्रिकमा भने परिवर्तन आइरहन्छ । कुनै पनि विशेष अवसर, पर्वमा महिलाको पहिलो रोजाइ साडी नै हुन्छ ।

ढाकाको बोर्डर भएको पहेंलो साडीसँग ढाकाकै ब्लाउजको संयोजन खुबै आकर्षक देखिन्छ । नेपाली उत्पादनलाई प्रश्रय दिन पनि ढाकाको साडी रोज्न सकिन्छ । गाढा रंगको साडी भन्दा हल्का हरियो, पहेंलो, पिंक एवं नीलो रंगको लगाउँदा सुन्दर देखिन्छ । दसैंमा भारी साडीको सट्टा हल्का लेस बोर्डर भएको साडी लगाउँदा राम्रो हुन्छ । साडीको छनोट गर्दा रंगको संयोजनलाई ध्यान दिए फेसनेबलका साथै आकर्षक पनि देखिन्छ ।

ट्रेन्डी अनारकली सेट

अनारकली सेट पनि कहिल्यै पुरानो हुँदैन । यो पहिरनले सहजताका साथै स्टाइल प्रदान गर्छ । अनारकली सेट आफ्नो उचाइ, वर्ण र शारीरिक तौलअनुसार रोज्न सके अझ सुन्दर देखिन सकिन्छ । उचाइ कम र मोटो शरीर भएकाले कालो वा गाढा रंगको पहिरन लगाउनुपर्छ । त्यतिमात्र नभएर माथिल्लो भागको चोलीमा वर्क गरिएको र मुनिको भाग सादा हुनुपर्छ । त्यस्तै, मुनिको भाग बोर्डर नभएको रोज्नुपर्छ, जसले गर्दा अग्लो देखिन्छ । उचाइ कम र शारीरिक वनावट ठिक्क छ भने सादा चोली भएको अनारकली सेट रोज्न सकिन्छ । ‘पोल्का डट’ भएको अनारकली सुटले अग्लो देखाउनुका साथै ‘ग्ल्यामरस लुक’ पनि दिन्छ । त्यस्तै, शरीर अग्लो छ र शारीरिक वनावट पनि राम्रो छ भने जस्तोसुकै सेटले पनि आकर्षक देखाउँछ । अझ ‘फुल स्लिभ’ भएको सेटसँग कम्मरमा बेल्ट बाँध्दा स्टाइलिस देखिन्छ ।

स्टाइलिस गाउन

‘टिनएजर्स’ का लागि गाउन ‘बेस्ट अप्सन’ हुन सक्छ । फेसन डिजाइनरहरूले पछिल्लो समय विभिन्न डिजाइनका गाउन बजारमा ल्याएका छन् । यी विभिन्न फेब्रिक, डिजाइन एवं रंगमा उपलब्ध छन् । आफूलाई मन पर्ने डिजाइन छनोट गर्न सकिन्छ । इम्ब्रोइडरी गरेको गाउन रोज्न सकिन्छ । यसले आकर्षक लुक दिन्छ । पछिल्लो समय ‘अफ सोल्जर’, ‘सिंगल सोल्जर’, र ‘बोट नेक गाउन’ चल्तीमा छन् । ‘स्टाइलिस लुक’ का लागि यी गाउन रोज्न सकिन्छ ।

सजिलो कुर्ता–सलवार

दसैंमा धेरै भागदौड गर्नुपर्ने भए कुर्ता–सलवार लगाउन सकिन्छ । कुर्ता निकै हल्का र हिँड्न वा काम गर्न पनि सजिलो हुन्छ । पछिल्लो समय लामो कुर्तीसँग पाइन्ट स्टाइलको सुरुवाल लगाउने ‘ट्रेन्ड’ चलेको छ । साधारण कुर्तामा ‘इम्ब्रोइडरी’ गरेको सलसँग लगाएर ‘स्टाइलिस’ देखिन सकिन्छ । त्यस्तै, उचाइ कम छ भने लामो कुर्ता लगाउनुपर्छ । यसले अग्लो देखाउँछ । पाखुरा मोटो छ भने ‘स्लिभ’ बाहुला भएको कुर्ता नलगाउनु नै बेस हुन्छ । साथै मोटो शरीर भएकाले ‘स्लिभ’ को सट्टा हल्का वा पूरा बाहुला भएको लगाउनुपर्छ । कालो वर्ण भएकाले मरुन, रातो, नीलो रंग र गोरो वर्ण भएकाले हरियो, पहेंलो रंगको लगाउँदा अझ आकर्षक देखिन्छ ।

 Image