Successfully Copied

सजावटमा वालपेपर

बजारमा विभिन्न डिजाइन एवं रंगमायी उपलब्ध छन् । मुड र कोठाको हिसाबले जुनसुकै डिजाइन रोज्न सकिन्छ ।

घर र कोठा सजाउने शैली पुरानै हो । परम्परागत घरमा कमेरो वा रातोमाटोले पोत्ने चलन थियो । यो परम्परा गाउँघरमा अहिले पनि छ । तर, सहरतिर पछिल्लो समय सजावटको शैली परिमार्जन हुँदै ‘वालपेपर’ लगाउनेहरू बढेका छन् । घरको आन्तरिक सज्जाका लागि यसको प्रयोग गरिन्छ । घर, अफिस र रेस्टुराँका भित्तामा वालपेपर टाँस्ने गरिन्छ । भित्तामा रंगरोगन गर्न झन्झटिलो हुने भएर त्यसको विकल्पमा ‘वालपेपर’ प्रयोग गरिन्छ । पेन्ट्स भन्दा यो केही सस्तो पनि हुन्छ । ‘वाल आर्टिस्ट्री बाइ इम्पेरियो’ को प्रमुख बजार प्रबन्धक प्राचि जैनले वालपेपरबाट आफ्नो ‘क्रिएटिभिटी’ देखाउन सकिने बताउँछिन् । उनी थप्छिन्, ‘वालपेपर’को मुख्य विशेषता भनेको भित्तालाई आकर्षक देखाउनु हो ।’ यसबाट जुनसुकै कोठाको भित्ता पनि सजाउन सकिन्छ । प्रायः बैठक कोठा सजाउन यसको प्रयोग गरिए पनि पछिल्लो समय बालबालिकाको कोठा, शयन कक्षको भित्ता सजाउने चलन बढ्दो छ ।

त्यसो त ‘वालपेपर’ कोठाको भित्ता सजाउनका लागि मात्र प्रयोग गरिँदैन । भित्तासँग म्याच हुने गरी कोठामा राखिएको फर्निचर, दराज, सिलिङमा यो टाँस्न सकिन्छ । ‘वालपेपर’ विभिन्न डिजाइनमा उपलब्ध हुन्छन् । प्राचि भन्छिन्, ‘आफ्नो इच्छाअनुसार पनि ‘वालपेपर’मा बुट्टा भर्न सकिन्छ ।’ अहिले पारिवारिक 

फोटो प्रिन्ट गरेर राख्ने चलन पनि बढेको छ । त्यस्तै रंग, बुट्टामा विविधता पाइन्छ । प्रकृतिप्रेमीहरूले प्राकृतिक दृश्य भएको राख्न सक्छन् । यसले कोठालाई ठूलो पनि देखाउँछ । ‘वालपेपर’ टाँसिएको 

पृष्ठभूमिले सबैको ध्यान खिच्छ । 

 

कहाँ लगाउने ?

सादा पृष्ठभूमि भएको जुनसुकै कोठाको भित्तामा ‘वालपेपर’ लगाउन सकिन्छ । यो टाँस्ने भित्ता पुटिन लगाएको हुनुपर्छ । काठले पार्टेसन गरेको भित्तामा पनि ‘वालपेपर’ टाँस्न सकिन्छ । फर्निचरहरूमा पनि आफ्नो रुचिअनुसार डिजाइन दिन सकिन्छ । त्यस्तै सिलिङमा लगाउन सकिन्छ । ‘वालपेपर’ टाँस्ने ठाउँ भने सुख्खा, धूलो नभएको, सफा हुनुपर्छ । 

कसरी लगाउने ?

‘वालपेपर’लार्ई फेबिकलको सहायताले भित्तामा सजिलै टाँस्न सकिन्छ । पेपर टाँस्दा नखुम्चियोस् भन्ने कुरामा ध्यान दिनुपर्छ । त्यसका साथै पेपर कटिङ गर्दा बुट्टा मिल्नुपर्छ । जोडेको ठाउँ नदेखियोस् भन्ने कुराको पनि विचार गर्नुपर्छ । त्यसका साथै वालपेपर टाँस्न प्रयोग गरिने ग्लु वा फेबिकल गुणस्तरीय हुनु जरुरी छ । 

छनोट कसरी गर्ने ?

‘वालपेपर’लाई त्यति हेरचाह गर्नुपर्दैन । राम्रो गुणस्तरको ‘वालपेपर’ छ भने लामो समयसम्म टिक्छ । त्यसैले ‘वालपेपर’को छनोट गर्दा विशेष ख्याल गर्नुपर्ने हुन्छ । कम गुणस्तरको ‘वालपेपर’को रंग जाने, गन्ध आउने हुन्छ । ‘वालपेपर’ लगाउँदा ‘वाटरप्रुफ’ रोज्नुपर्छ । यो फोहोर भएमा कुनै दाग–धब्बा लागेमा कपडाले पुछ्न सजिलो हुन्छ र टिकाउ पनि हुन्छ ।

बजारमा विभिन्न डिजाइन एवं रंगमायी उपलब्ध छन् । मुड र कोठाको हिसाबले जुनसुकै डिजाइन रोज्न सकिन्छ । बालबालिकाको कोठामा कार्टुन प्रिन्ट भएको ‘वालपेपर’ टाँस्न सकिन्छ । घरको लोकेसन र लाइटअनुसार ‘वालपेपर’को छनोट जरुरी हुन्छ । कुन कोठामा कस्तो डिजाइन र रंगको ‘वालपेपर’ टाँस्न उपयुक्त हुन्छ भन्नेबारे एक्सपर्टसँग सल्लाह लिन सकिन्छ । 

उप्काउनुपरे के गर्ने ?

‘वालपेपर’ एकपटक राम्ररी टाँसेपछि हत्तपत्त उप्किँदैन । पुरानो ‘वालपेपर’ हटाउनैपरे पानीको सहायता लिन सकिन्छ । त्यसका लागि पहिले मनतातो पानीले ‘वालपेपर’लाई राम्रोसँग भिजाउनुपर्छ । त्यसपछि धारिलो हतियारले माथिबाट तलतिर उप्काउँदै जानुपर्छ । 

बाँकी भएको ‘वालपेपर’ कसरी प्रयोग गर्ने ?

‘वालपेपर’ टाँसेर धेरै भएको छ भने त्यो ‘वालपेपर’लाई फाल्नुको सट्टा दराज वा टेबलमा लगाउन सकिन्छ । बुक र्‍याक, जुत्ताको र्‍याक सजाउन सकिन्छ । यसले घरलाई नयाँ र आकर्षक त देखाउँछ नै बचेको ‘वालपेपर’ पनि प्रयोगमा आउँछ । अर्को भित्तासँग पनि संयोजन मिल्छ ।

 Image