Successfully Copied

परम्परागत खानपानमा नाराङ्ग हस्पिटालिटी

जीर्ण हुँदै गएका व्यवसायको पुनरुत्थान गरी नेपाली मौलिक स्वादलाई ब्रान्डिङ गर्नु कम्पनीको मुख्य उद्देश्य हो । 

रैथाने र परम्परागत खानासम्बन्धी व्यवसायमा नाराङ्ग हस्पिटालिटीले लगानी गर्दै आएको छ । व्यवसाय नाफामा गए केही प्रतिशत रकम कम्पनीले लिने र त्यो रकमबाट त्यस्तै खाले अन्य व्यवसायमा लगानी गर्नुका साथै सामाजिक कार्यमा समेत खर्च गर्छ । जीर्ण हुँदै गएका व्यवसायको पुनरुत्थान गरी नेपाली मौलिक स्वादलाई ब्रान्डिङ गर्नु कम्पनीको मुख्य उद्देश्य हो । 

त्यसो त यसले सीप, अनुभव र एकल स्वामित्व भएको जुनसुकै व्यवसायलाई पनि माथि उकास्ने काम गर्छ । यस्ता व्यवसायमा लगानी गरिदिएर नाराङ्ग हस्पिटालिटीले नेपालीको घर–घरमा स्थानीय स्वाद पुर्‍याउने काम गरिरहेको छ । यसका लागि कम्पनीले भोज, फुडमाण्डु र पठाओसँग सहकार्य गरेको छ । खानपान व्यवसायका साथै अन्य सामाजिक काममा समेत हात बढाएको नाराङ्ग हस्पिटालिटीले सदर चिडियाखानामा सारस पालिरहेको छ भने उदीयमान कलाकारका चित्रलाई बजारीकरण गर्ने कामसमेत गरिरहेको छ । कोरोनाले व्यापार ठप्प भएपछि बेरोजगार बनेका धेरै युवायुवतीलाई रोजगार प्रदान गरेको छ । कम्पनीका संस्थापक केरल पोख्रेलले आफूहरूको उद्देश्य भनेकै स्वरोजगार सिर्जना गरी युवालाई आर्थिक सशक्तीकरणतर्फ डोर्‍याउनु रहेको बताए । ‘कुनै पनि व्यवसायमा हामी हिस्सा लिने गरी साझेदारी गर्दैनौं तर लगानी भने हामी गर्छौं’ उनले भने, ‘सम्पूर्ण अधिकार व्यवसाय सञ्चालकको हुन्छ । लगानी गरिसकेपछि व्यवसायलाई स्थापित गर्ने र त्यसबाट आएको नाफाको केही प्रतिशत हामीले लिइसकेपछि त्यस्तै प्रकृतिका अन्य व्यवसाय वा नवीन सोच र रहर भएर पनि केही गर्न नसकेर समस्यामा परिरहेका व्यवसायीमा लगानी गर्छौं ।’ 

पोखरामा समेत व्यवसाय सुरु गर्ने तयारीमा कम्पनी छ । मुलुकका अन्य स्थानमा पनि व्यवसाय संचालनको योजना रहेको कम्पनीले जनाएको छ । ‘परम्परागत पकवान र मौलिक स्वाद हाम्रा पुँजी हुन् । यिनको संरक्षण र सम्बर्द्धन गर्नु हाम्रो कर्तव्य हो’ केरलले भने, ‘रैथाने खानपानलाई स्ट्यान्डर्ड बनाउँदै नयाँ ब्रान्ड सिर्जना गरी व्यवसायीलाई नाफा उपलब्ध गराउनु यसको मूल उद्देश्य हो ।’ 

कम्पनीले पोखरामा स्यान्डबीचमा काम गर्दैछ भने दाल, भात, तरकारी, थकाली खानाका साथै यमरी, बारालगायतका पुरातन खानपानलाई ब्रान्डिङ गर्ने योजना बनाएको छ । उपाय कार्गोसँग मिलेर यसले हाल किरण दाइको मःमलाई टोल–टोलमा डेलिभरी दिइरहेको छ । करिब ४० वर्षदेखि मम व्यवसायलाई निरन्तरता दिइरहेका किरण दाइको मःम पसलमा नाराङ्ग हस्पिटालिटी आइसकेपछि यसको मुहार मात्रै फेरिएको छैन राम्रो ब्रान्डिङसमेत भइरहेको छ । 

 

किरण श्रेष्ठ

संस्थापक सञ्चालक, किरण दाइको मःम पसल

मैले आठ वर्षको उमेरदेखि मःम बनाउन थालेको हुँ । अहिले म ५९ वर्षको भएँ । पहिले नारान दाइको मःम पसलमा काम गर्थें । पछि दुःख गरेर आफै खोलें । मेरो मःममा लोकल स्वाद छ । खाँदा मीठो छ र पनि यतिका वर्षसम्म मैले आफ्नो व्यवसायलाई ब्रान्ड बनाउन सकेको थिइन । जब नाराङ्ग हस्पिटालिटी जोडिन आयो मेरो रेस्टुरेन्टको सरसफाइदेखि खानाको स्तरमै परिवर्तन आयो । उतिबेला दैनिक २ सय ५० प्लेट मःम बेच्थें भने अहिले ४ सय ५० प्लेट मःम सहजै बिक्री भइरहेको छ । यो संस्थासँग जोडिएपछि मेरो मःम सबैले चिने, सफा र फरक स्वरूपमा फेरि यो विस्तार हुँदैछ । अहिले किरण दाइको मःम पसलमा नेता, अभिनेतालगायत नाम चलेका कलाकार समेत आउँछन् । कतिलाई त फर्काउनु परेको छ मःम नपुगेर । फुड इन्टस्ट्रिजमा सबैभन्दा ठूलो कुरा हाइजिन र स्वाद नै रहेछ । जुन कुरा मैले चार दशकमा पनि भेउ पाउन सकेको थिइन । अहिले मेरा तीन छोरा र श्रीमती यही व्यवसायलाई अगाडि बढाइरहेका छन् । थप १२ जनालाई रोजगार दिइरहेका छौं । सुरुमा कसैसँग सहकार्यमा जाने इच्छा थिएन नाराङ्ग हस्पिटालिटी आएपछि सम्पूर्ण स्वामित्व मेरैमा निहित हुने भएकाले सहकार्य गर्न हौसिएँ । यससँग जोडिएपछि मेरो मःमको स्ट्यान्डर्ड निकै बढेको छ । उहाँहरूकै लगानीमा बसेर खाने ठाउँ पनि फेरियो । अहिले यो निकै सफा र आकर्षक भएको छ । मेरा नियमित ग्राहक त आउने भइहाले अहिले नयाँ नियमित ग्राहक पनि थपिएका छन् । 

 Image