Successfully Copied

केशको प्राकृतिक उपचार

बदलिँदो मौसम र खराब जीवनशैलीले हाम्रो केशमा नकारात्मक असर देखिन थालेको छ । केश रुखो र अस्वस्थ देखिनु नकारात्मक असर हो । यसबाट छुटकारा पाउन सही खानपान र केशको हेरचाहमा ध्यान दिन आवश्यक छ ।

बदलिँदो मौसम र खराब जीवनशैलीले हाम्रो केशमा नकारात्मक असर देखिन थालेको छ । केश रुखो र अस्वस्थ देखिनु नकारात्मक असर हो । यसबाट छुटकारा पाउन सही खानपान र केशको हेरचाहमा ध्यान दिन आवश्यक छ । हामीले प्रशस्त मात्रामा पानी पिउनुपर्छ । साथै आनो केश कुन प्रकारको हो भन्ने कुराको सामान्य जानकारी राख्नुपर्छ । सोहीअनुसार हेरचाह गर्न सके अपेक्षा गरेजस्तो परिणाम आउन सक्छ । केशलाई बाक्लो, लामो, स्वस्थ र आकर्षक बनाउन घरमै तयार पारेको प्याक पनि प्रयोग गर्न सकिन्छ । 

चिल्लो केश

चिल्लो केशलाई हेरचाह गर्न अलिक बढी गाह्रो छ । केशमा छिट्टै चिल्लो आउने भएकाले ‘फ्रेस’ देखिँदैन । केश चिपिक्क भएर हेयर स्टाइल दिन पनि अप्ठ्यारो हुन्छ । यस्तो केशलाई हेरचाह गर्न माइल्ड स्याम्पुको प्रयोग गर्नुपर्छ । नियमित रूपमा धोइरहनुपर्छ । तर, स्काल्पमा धेरै स्याम्पु प्रयोग गर्नुहुँदैन । केश सधै चिसो वा मनतातो पानीले पखाल्नुपर्छ । केशको मसाज तताएको तेलबाट गर्नुपर्छ । चिल्लो केशमा कन्डिसनरको प्रयोग गर्नुहुँदैन । केश कोर्दा तैलीय ग्रन्थि सक्रिय हुन्छन् र तेल बढी उत्पादन गर्न थाल्छन् । अतिरिक्त तेलबाट छुटकारा पाउन केश कोर्नबाट बच्नुपर्छ । केश धुँदा पानीमा कागतीको रस मिसाएर धोए चिल्लो केश भएकाहरूलाई फाइदा हुन्छ । केशलाई ब्लो डाई गर्नुहुँदैन । गर्नैपरे कम तापक्रममा ५–६ इन्चको दूरीमा राखेर गर्नुपर्छ । 

सुख्खा केश

धेरै घाम र पसिनाका कारण केश सुख्खा हुन्छ । साथै केश रंग्याउने, कर्ली वा स्ट्रेट गर्ने वा धेरै रसायन भएको उत्पादनको प्रयोग गर्नाले केशको प्राकृतिक तेल नष्ट हुन पुग्छ । यसले पनि केशलाई सुख्खा बनाउँछ । केशलाई सुख्खा हुनबाट बचाउन सही खानपान आवश्यक पर्छ । प्रशस्त मात्रामा पानी पिउनुका साथै स्वस्थ आहार नै केशलाई सुन्दर बनाउने राम्रो उपाय हो । चिसो केश कोर्नु हुँदैन । यस्तो अवस्थामा केश टुक्रने सम्भावना बढी हुन्छ । केश कोर्दा ठूलो काइँयोको प्रयोग गर्नुपर्छ । यस्तो केशमा दैनिक स्याम्पु गर्नुहुँदैन । यसले स्काल्पको प्राकृतिक तेल नष्ट गरिदिन्छ र केश झनै सुख्खा र रुखो बन्न थाल्छ । प्रोटिनयुक्त स्याम्पु छनोट गर्नुपर्छ । कन्डिसनरको प्रयोग सधैं गर्नुपर्छ । यसले केश मुलायम र चम्किलो बनाउँछ । सातामा एकपटक ट्रिटमेन्ट गर्नुपर्छ । नुहाइसकेपछि जरामा नरिवलको तेलले मसाज गर्दा फाइदाजनक हुन्छ । केशलाई मुलायम राख्न सनफ्लावरको तेल प्रयोग गर्न सकिन्छ । जैतुनको तेल मनतातो बनाएर लगाउन सकिन्छ । केशमा आइरन, डायर, रयासनको प्रयोगबाट टाढै रहनुपर्छ । 

सामान्य केश

सामान्य केशका लागि अतिरिक्त हेरचाहको आवश्यकता पर्दैन । सामान्य स्याहारले पुग्छ । सातामा एकपटक माइल्ड स्याम्पु र कन्डिसनरको प्रयोग गर्नुपर्छ । महिनामा एकपटक केशलाई हल्का ‘ट्रिम’ गर्नुपर्छ । केश धुनका लागि चिसो वा मनतातो पानीको प्रयोग गर्नुपर्छ । महिनामा एकपटक हेयर मास्क लगाउनुपर्छ । केशलाई सही पोषण दिनका लागि सातामा दुई पटक मनतातो तेलले मसाज गर्नुपर्छ । केशलाई बढाउनका लागि क्यास्ट्रोल तेलको प्रयोग गर्नुपर्छ । 

घरमै तयार पार्न सकिने केही प्याक 

मेहन्दी र अण्डा

मेहन्दी पाउडर एक कप, अण्डा दुईवटा, बदामको तेल एक चम्चा, जैतुनको तेल एक चम्चा, क्यास्ट्रोलको तेल एक चम्चा र सिकाकाई पाउडर एक चम्चा मिसाएर पेस्ट तयार पार्न सकिन्छ । यो पेस्ट ३० मिनेटसम्म केशमा राखेर पानीले पखाल्दा केश बाक्लो, नरम र चम्किलो बन्छ । 

जैतुनको तेल र दही

जैतुनको तेलमा थोरै दही मिसाएर केश र स्काल्पमा लगाउँदै मसाज गर्ने र केही समय राखेर केशलाई माइल्ड स्याम्पुको प्रयोग गरेर राम्रोसँग पखाल्न सकिन्छ । यसले केशलाई मुलायम र चम्किलो बनाउँछ । 

अमला र मेथी

आधा कप दहीमा दुई चम्चा मेथी, थोरै करीपत्ता र दुई वटा अमला राखेर रातभरि भिजाउने र बिहान यसलाई पिसेर पेस्ट बनाई केशमा लगाउन सकिन्छ । केशमा लगाएको १–२ घण्टापछि पखाल्दा केश मुलायम बन्छ । 

अण्डा र मेथी

एक चम्चा मेथी रातभरि भिजाएर राख्ने र बिहान पिसेर पेस्ट बनाई त्यसमा चार चम्चा दही र एउटा अण्डाको सेतो भाग मिसाएर बनाएको पेस्ट केशमा लगाएर ३० मिनेटपछि पखाल्न सकिन्छ । यसले केशलाई पोषण प्रदान गर्छ ।

दूध र मह

एक भाग काँचो दूधमा आठ भाग मह मिसाएर पेस्ट तयार पारेर सफा केशमा सबैतिर मज्जाले हल्का मसाज गर्दै लगाउन सकिन्छ । यसरी मसाजपछि केशलाई सावर क्यापको सहायताले केहीबेर ढाकेर राख्ने र मनतातो पानीले पखाल्नुपर्छ । यो प्याक केशका लागि राम्रो मानिन्छ । 

अण्डा र कागतीको रस

एउटा अण्डामा थोरै कागतीको रस मिसाएर पेस्ट तयार पार्ने । उक्त पेस्टलाई केशको जरामा लगाउँदै मसाज गर्नुपर्छ । त्यसलाई केही बेर राखेर मनतातो पानीले पखाल्ने र माइल्ड स्याम्पुको प्रयोग गर्न सकिन्छ । यसले केशको जरा बलियो बनाउनुका साथै केश झर्नबाट रोक्छ । 

अण्डा र नरिवलको तेल

केशको तत्कालै चमक बढाउन अण्डामा नरिवलको तेल मिसाएर प्याक बनाई केशमा लगाउन सकिन्छ । त्यसपछि मनतातो पानीमा टाबल भिजाएर केशलाई २० मिनेट कभर गरेपछि माइल्ड स्याम्पुले केश धुनुपर्छ । यो प्याकले केशलाई पोषण दिनुका साथै बलियो र चम्किलो बनाउन सहयोग गर्छ । 

 Image