पर्यटनमा महिला

  लक्ष्मी भण्डारी

कार्तिक १५, २०७८ विश्वभर पर्यटन क्षेत्रमा ५४ प्रतिशत महिला सहभागिता रहेको अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को प्रतिवेदनमा उल्लेख छ । तर, यो क्षेत्रको आयस्तरमा पुरुषको तुलनामा महिलाको १५ प्रतिशतले कम छ । पुरुषले सय रुपैंयाँ पाउँदा महिलाले ८५ रुपैंया मात्रै पाउँछन् । सन् २०१८ मा केन्द्रीय तथ्यांक विभागले गरेको श्रम शक्ति सर्वेक्षण (लेबर फोर्स सर्भे) ले नेपालको पर्यटन (फुड तथा एकोमोडेसन) क्षेत्रमा ४५ प्रतिशत र होमस्टे संचालनमा ५७ प्रतिशत महिला सहभागिता रहेको देखाएको छ । 

पछिल्लो समय विश्वका हरेक क्षेत्रलाई कोरोना महामारीले गाँजेको छ । पर्यटन क्षेत्र पनि यसबाट अछुतो रहने कुरै भएन । यो क्षेत्रमा प्रत्यक्ष काम गरिरहेका तीन लाख र अप्रत्यक्ष रूपमा जोडिएका १० लाख मानिस प्रभावित भएका छन् । यसमा महिलाको संख्या उल्लेख्य छ । त्यसैले ३३ प्रतिशत महिला हुनैपर्ने प्रावधानसहित संयुक्त राष्ट्रसंघ र नेपाल पर्यटन बोर्डको सहकार्यमा ‘सर्ट टर्म इम्प्लोइमेन्ट कार्यक्रम–२०२०’ ल्याइयो । त्यस्तै, नेपाल सरकारद्वारा सञ्चालित ‘जीविकोपार्जन पुनर्स्थापनाका लागि दिगो पर्यटन’ कार्यक्रमले पनि ३३ प्रतिशत महिला सहभागितालाई सुनिश्चित गरेको छ ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) धनञ्जय रेग्मीका अनुसार हिमाली क्षेत्रको पर्यटनमा महिलाको सहभागिता बढी छ । उच्च हिमाली क्षेत्रका महिला झनै बढी सक्रिय छन् । पर्यटनले महिला सशक्तीकरणमा ठूलो भूमिका खेलेको उनको दाबी छ । ‘यसले हिमाली क्षेत्रमा महिला शिक्षा दर बढ्दो छ’ धनञ्जयले भने, ‘व्यवसाय गर्दा हिसाब–किताब राख्नुपर्ने बाध्यताले पनि महिला शिक्षा दर बढेको हुनुपर्छ ।’ पर्यटनले महिलाको चौतर्फी विकासमा टेवा पुर्‍याइरहेको समेत उनले बताए । 

काठमाडौं ठमेलकी पश्मिना व्यवसायी इन्दिरा गौतम भन्छिन्–‘व्यवसाय धान्ने बाटो भनेकै टुरिस्ट थिए तर अहिले त फिटिक्कै छैनन् । यस्तो भएपछि अब पसल नै बन्द गर्नुपर्ने स्थिति आइसक्यो ।’ कोरोनाका कारण थलिएको पर्यटन व्यवसाय पुनः उही अवस्थामा आइपुग्न बाह्य उडान खुल्नैपर्ने उनको धारणा छ । सुरक्षा सावधानी अपनाएर सतर्कताका साथ संचालनमा ल्याइयो भने केही राहत हुने तर्क इन्दिराको छ । 

‘यति होल्डिङस’ की प्रवन्ध निर्देशक चन्दा शेर्पाका अनुसार पर्यटनमा महिलाको भूमिका अतुलनीय छ । इमान्दारीपूर्वक व्यवसाय सम्हाल्न आवश्यक पर्ने धैर्यता पनि महिलामा हुने भएकाले यो क्षेत्रमा उनीहरूको योगदान उतिबेलादेखि उत्तिकै रहँदै आएको उनले बताइन् । ‘तर हरेक क्षेत्रमा जस्तै पर्यटनमा पनि महिला उच्च ओहोदामा कमै छन् । त्यसलाई बढाउन राज्यको नीति, कानुन र संयन्त्रमै परिवर्तन आउनुपर्छ’ चन्दाले भनिन्, ‘राज्यले महिलाको योगदानलाई मूल्यांकन गर्दै उचित स्थान दिनु आवश्यक छ । महिलाका लागि सुहाउँदो क्षेत्र भएकाले यसमा महिला सहभागितालाई नै बढी जोड दिनुपर्छ ।’

पोखराकी पर्यटन व्यवसायी लक्की क्षेत्री पर्यटनमा कोरोनाले धेरै असर पारेको बताउँछिन् र पनि पछिल्लो समय यस क्षेत्रमा महिला उत्साहित भएर लागेको उनको अनुभवले बताउँछ । पर्यटन व्यवसायी महिला संघकी संस्थापक अध्यक्षसमेत रहेकी लक्कीले भनिन्, ‘अहिले महिलाको अवस्थामा धेरै सुधार भएको हो, पहिला त यस किसिमको व्यवसायमा लाग्नेलाई बिग्रिएको भन्थे तर अहिले केही परिवर्तन आएको भने पक्कै हो ।’ यति हुँदाहुँदै पनि व्यवसाय र सम्पत्तिमा महिलाको स्वामित्वमा नरहेको उनको भनाइ छ । राज्यले महिलाको कोटा पुर्‍याइदिन मात्रै खोजेको उनी बताउँछिन् । ‘महिलाले आफ्नै गुणस्तर र सीप विकास गरेर देखाउनुपर्छ’ लक्कीले भनिन्, ‘यो क्षेत्रमा ड्यासिङ पर्सनालिटी भएका महिला आउनुपर्छ । एक/दुई महिला प्रतिकार गर्ने खालका पनि हुनुपर्छ तब मात्र सबै महिलाको भलो हुन्छ । कति दिन हामी यत्तिकै यसरी मात्रै बसिरहने ?’

पर्यटन बोर्डका वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले नेपालको सुदूर र पश्चिमी भूभागका धेरै महिला होमस्टे संचालनमा सक्रिय रहेको बताइन् । ‘त्यसैले उक्त क्षेत्रलाई समेत पर्यटकीय स्थलका रूपमा विकास गर्न बोर्डले विभिन्न कार्यक्रम अघि सारेको छ ।’ उनका अनुसार सुदूर र पश्चिमका महिलाहरू स्वयं आर्थिक रूपमा सशक्त हुँदैछन् । अन्य क्षेत्रको तुलनामा पर्यटन क्षेत्रमा महिलाको संख्या बढी छ । तर फेरि कुरा निर्णायक तहकै आउँछ । पर्यटन क्षेत्रको उच्च तहमा महिला निक्कै कम छन् । यसको मूल कारण अवसरको कमी, हाम्रो रिवाज र संस्कार तथा सरकारी नीति भएको उनको तर्क छ । नेपाल सरकारसँगको सहकार्यमा बोर्डले महिलालाई पर्यटनमा सशक्त बनाउन विविध खाले तालिम, कार्यशाला संचालन गर्ने गरेको छ । यसले पनि महिलाको चौतर्फी विकासमा टेवा पुग्नुका साथै उनीहरूको जीनवस्तरमा सुधार भएको नन्दिनीको भनाइ छ । 

 

धनञ्जय रेग्मी

सिइओ, नेपाल पर्यटन बोर्ड

पर्यटनकै कारण हिमाली क्षेत्रका महिला शिक्षा र अर्थतन्त्रमा सशक्त भएका छन् । पर्यटनले नारी सशक्तीकरणमा ठूलो भूमिका खेलेको छ । महिला इमान्दार, दृढ र सरकारको नीति–नियम पालनामा अत्यन्त अनुशासित हुने हुँदा उनीहरूका लागि पर्यटन क्षेत्र उपयुक्त र उत्तम छ । तसर्थ अहिले सरकारी स्तरबाटै पर्यटनमा ३० प्रतिशत सुनिश्चित गरिएको छ । 

 

चन्दा शेर्पा

प्रवन्ध निर्देशक, यति होल्डिङस

पर्यटनमा महिलाको संख्या उच्च छ तर निर्णायक तहमा महिला निक्कै कम छन् । यसलाई बढाउन उनीहरूको क्षमतासँगै गुणस्तरीयता बढाउने खालका कार्यक्रम ल्याइनुपर्छ । सरकारले यसका लागि विशेष नीति र योजना बनाई यसको संबर्द्धनमा गम्भीर भएर लाग्नुपर्छ । यसले देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने र विदेशी मुद्रा भित्र्याउने मात्र होइन राष्ट्रलाइ तिर्ने करमा पनि ठूलो टेवा पुर्‍याइरहेको छ । 

 

नन्दिनी लाहे थापा

वरिष्ठ निर्देशक, नेपाल पर्यटन बोर्ड

यो क्षेत्रमा काम गर्न धेरै महिला लालायित छन् र काम गरिरहेका पनि छन् । हस्पिटालिटी बिजनेसमा त महिलालाई पुरुषले जित्न सक्दैनन् । संख्याको हिसाबले पनि महिला बढी नै देखिन्छन् तर निर्णय गर्ने ठाउँमा यो क्षेत्रमा पनि पुरुष नै बढी छन् । यो क्षेत्रमा लाग्ने महिलालाई तालिम दिएर हुन्छ वा सहुलियत–सुविधा दिएर संख्या र गुणस्तर वृद्धितर्फ लाग्नुपर्ने देखिन्छ । अवसरको कमी, हाम्रा संस्कार र सोचका कारण पनि महिलालाई हरेक क्षेत्रमा समस्या पारिरहेको छ तर महिलाले आफूलाई प्रमाणित गर्दैछन् ।

 

लक्की क्षेत्री

पर्यटन व्यवसायी

पर्यटन व्यवसायमा लगानी धेरै हुन्छ । महिलाको स्वामित्वमा सम्पत्ति नहुँदा 

अप्ठ्यारो पर्छ । चलेका व्यवसायमा पनि महिलाको सहभागिता धेरै छ तर उच्च ओहोदामा पुरुष छन् । त्यसैले दुई/चार जना प्रतिकार गर्न सक्ने वोल्ड पर्सनालिटी भएका महिला पनि आउनु जरुरी छ । ताकि यो क्षेत्रमा भोलि आउने पुस्तालाई सहज होस् । 

 

यात्रा बिदाले पर्यटनमा टेवा 

सृष्टि ढकाल र सीताराम ढकाल, पर्यटन विशेषज्ञ

 नेपाल सरकारले ०७८/७९ को बजेट तथा कार्यक्रममा सबै सरकारी कर्मचारीलाई १० दिनको यात्रा बिदा/पर्यटन बिदाको व्यवस्था गरेको छ । यो प्रावधान पर्यटन व्यवसायलाई पुनर्जिवित गर्न सरकारको स्वागतयोग्य कदम हो । यो व्यवस्थाअनुसार सरकारी कर्मचारीहरूले देशका विभिन्न भूभागको यात्राका लागि १० दिनको तलब बिदा पाउने भएका छन् । यसले पर्यटन व्यवसाय फस्टाउनुका साथै कर्मचारीहरूको प्रदर्शनमा समेत गुणात्मक सुधार हुनेछ । किनभने यात्रा बिदाले कर्मचारीमा उत्प्रेरणा प्रदान गर्नुका साथै उनीहरूलाई तरोताजा समेत बनाउनेछ । 

 पछिल्लो समय महामारीले हरेक क्षेत्रमा गम्भीर असर पारेको छ । लकडाउनको समयमा अफिस गई काम गर्दा कर्मचारीको मानसिक स्वास्थ्यमा गम्भीर असर परेको छ । अझैपनि उनीहरू कोभिडको त्रासमै रहेर काम गरिरहेका छन् । यात्रा बिदाले कर्मचारीहरूलाई असामान्य ठाउँहरूमा यात्रा गर्न बाध्य पार्नेछ । यसले उनीहरूलाई ताजा हुन मद्दत गर्नेछ ।

यसैगरी, यात्रा बिदाले कर्मचारीहरूलाई विभिन्न ठाउँ, संस्कृतिहरू, जीवनशैली र देशका विभिन्न समुदायका व्यञ्जनहरूको अन्वेषण गर्न मद्दत गर्नेछ । कर्मचारी र उनीहरूका परिवारका सदस्यको पैतृक स्थानबाहेक अन्य ठाउँको यात्रा गर्दा कर्मचारीहरूलाई नयाँ अनुभव गर्नमा सहयोग पुग्नेछ । 

कोरोना महामारीका कारण अन्य क्षेत्रजस्तै पर्यटन व्यवसाय बन्द हुँदा नेपालमा २५ करोड रुपैंयाँ बराबरको घाटा बेहोरेको तथ्यांकहरूमा उल्लेख छ । सरकारी बिदा नीतिले कोरोनाको कहर र त्यसपछिको लकडाउनका कारण लामो घर बसाइको पट्यारलाग्दो दिनचर्याबाट केही क्षण भए पनि टाढा रही रिफ्रेस हुन सहयोग पुग्ने निश्चित छ । यसले आन्तरिक पर्यटकहरूलाई घुमन्ते बन्न सहयोग पुग्नेछ ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>