Successfully Copied

‘महिलालाई जिम्मेदारी बराबरी’ 

विद्यार्थी राजनीति गरेको मान्छेलाई जहिले पनि राजनीतिप्रति चाख त भइ नै रहन्छ नि ।

राष्ट्रियसभा सदस्य विमला राई पौड्यालको जन्म ५५ वर्षअघि बर्मामा भएको हो । दोस्रो विश्वयुद्ध ताका त्यहाँबाट नेपाली भाषी लखेटिने क्रममा उनी आमासँगै भारत हुँदै मोरङको बरदङ्गा पुगेकी हुन् । सानै छँदा उनका बुवाको निधन भएको थियो । उनलाई आमाले दुःख गरी हुर्काएकी/पढाएकी हुन् । छोराले नपढे पनि गरिखान्छन्, छोरीलाई पढाउनुपर्छ, आत्मनिर्भर बनाउनुपर्छ भन्ने सोच भएकी आमाका कारण विमलाले राम्रो शिक्षा पाइन् । चिया पसल गरेरै सन्तानलाई उचित शिक्षा दिएको विमला गर्वका साथ सुनाउँछिन् । उनले विभिन्न गैरसरकारी संस्था र राष्ट्रिय योजना आयोगमा काम गरिसकेकी छन् । विमलासँग समसामयिक विषयमा गरिएको कुराकानीको सम्पादित अंश :

तपाईंको शिक्षाबारे बताइदिनुस् न । 

मैले मोरङस्थित सरस्वती माविमा ७ सम्म पढें । ८ कक्षा संखा मावि र ठूला दाजु विराटनगर आएर काम गर्न थालेपछि विराटनगरको मिल्स माविबाट एसएलसी दिएँ । डाक्टर पढ्ने इच्छा भए पनि आर्थिक अभावका कारण महेन्द्र आदर्शमा विज्ञान विषय लिएर पढें । पढ्ने क्रममा कृषि पढ्ने महिलालाई छात्रवृत्ति दिइन्छ भन्ने सुनेपछि कृषि क्याम्पस रामपुरमा परीक्षा दिन गएँ । हेटौंडास्थित फरेस्ट्री क्याम्पसको पनि इन्टर्न परीक्षामा नाम निस्केको थियो । फरेस्ट्री पढ्दा जंगलमा हिँड्नुपर्छ, कृषि पढ्दा राम्रो हुन्छ भन्ने दाइको सल्लाहबमोजिम रामपुरबाट कृषि अर्थशास्त्रमा ब्याचलर गरें । त्यसपछि धनकुटास्थित पाख्रीबास कृषि केन्द्रमा काम गरें । कामकै सिलसिलामा म्यानचेस्टर युनिभर्सिटीबाट विकास प्रशासनमा–पोस्ट ग्रयाजुएट डिप्लोमा गरें । ग्रामीण अर्थशास्त्रमा मास्टर्स गरें । यसैगरी नेदरल्यान्डको इन्स्टिच्युट अफ सोसियल स्टडी हेगबाट छात्रवृत्तिमै विकास शास्त्रमा पीएचडी पनि गरें ।

 

विवाह कहिले र कसरी भयो ? 

समाजशास्त्री उद्धव राई र मेरो भेट पाख्रीबासस्थित कृषि केन्द्रमा भएको केही समयपछि हामी प्रणयसूत्रमा बाँधियौं । बाहुन परिवारको राईसँग विवाह गर्न मेरो घरबाट नमानेपछि सीमित साथीभाइका माझ हाम्रो विवाह भयो । 

कृषि पढेको मान्छे राजनीतिप्रति रुचि कसरी भयो ?

म विद्यार्थी राजनीतिमा पहिलेदेखि नै सक्रिय थिएँ । ३६ सालको जनमत संग्रहका बेला आठ कक्षा पढ्दै थिएँ । पहिलेदेखि नै अतिरिक्त क्रियाकलापमा (एक्स्टा करिकुलम एक्टिभिटी) अगाडि भएकाले स्कुलमा पहिलोपटक स्ववियु निर्वाचन हुँदा मलाई उठ्न भने । त्यतिबेला राजनीति बुझेर भन्दा पनि वामपन्थीमा वर्गीय, जातीय तथा लैंगिक विभेद हुँदैन भन्ने थियो । कम्युनिस्ट सरकार आएमा धनी र गरिबबीच भेदभाव हुँदैन भन्थे । त्यसैले यसमा झुकाव बढ्यो । अनेरास्वयिुबाट उठें, सबैभन्दा बढी भोट ल्याएर जितें । रामपुर क्याम्पस पढ्दा पनि स्ववियुमा उठें, जिल्ला कमिटीसम्म पुगें । 

राजनीतिमा लागेका बेला पढाइमा कुनै वाधा पुग्यो कि पुगेन ?

राजनीति गर्दा पढाइ बिग्रन्छ भन्ने लाग्दैन मलाई । 

पढाइ अर्कै, काम पनि अन्त फेरि पुनः राजनीतिमा कसरी झुकाव भयो ?

विद्यार्थी राजनीति गरेको मान्छेलाई जहिले पनि राजनीतिप्रति चाख त भइ नै रहन्छ नि । 

राष्ट्रिय योजना आयोगमा कति वर्ष काम गर्नुभयो ?

१६ महिना काम गरें । त्यसपछि संविधान आयो । नयाँ सरकार गठन भएसँगै हामीले राजीनामा दियौं । 

राष्ट्रिय सभामा अहिले तपाईंको कार्यक्षेत्रमा के–कस्ता विषयले प्राथमिकता पाउँछन् ?

त्यहाँ आफ्नो विशेषज्ञता हेर्ने हो । धेरै सामाजिक विकास तथा सवालका कुरा उठाउँछु । जीविकोपार्जन, जनताका जनजीवन, सामाजिक विभेदविरुद्ध, जातिप्रथा, अपाङ्गगताका कुरा पनि उठाउँछु । राजनीतिभित्र पनि महिला हिंसा हुन्छ भन्ने कुरा उठाउँछु । 

तपाईंको कुरा सुनुवाइ हुने गरेको छ त ?

म अलि भोकल मान्छे छु । कसैले मलाई देखेन र मेरो कुरा सुनेन भने पनि म यहाँ छु भनेर अवगत गराउँछु । कतिपय अवस्थामा काम गर्ने सिलसिलामा कहिलेकाहीँ प्राथमिकतामा नपारेको जस्तो महसुस भएको छ । म राष्ट्रिय योजना आयोगमा काम गर्दा आयोगको ६० वर्ष पुगेको रहेछ । ६० वर्षमा सदस्यका रूपमा काम गर्ने म चौथो महिला रहेछु । म भन्दा पछि भने एक जना महिला राखिँदै आएको छ । म आयोगमा भएका बेला रामशरण महत अर्थमन्त्री हुनुहुन्थ्यो । त्यतिबेला बजेटमा के–के राख्ने भन्ने छलफल भइरहेको थियो । मिटिङमा सबै पुरुष सदस्यलाई सोध्नुभयो, मेरो पालोमा मलाई कुरा नसोधी मन्त्री आफैं बोल्न थाल्नुभयो । मन्त्रीज्यू मेरो पनि कुरा थियो भनेर आफैंले भनेपछि ए, विमलाजी भन्नुस् भन्नुभयो । त्यसपछि सधै मेरो कुरा सुनिन थाल्यो । काम गर्दै गएपछि मान्छेले नोटिस गर्छन् र सोध्न, सल्लाह लिन आउँछन् । महिला भएकै कारण मेरो कुरा नमानिने, नसुनिने भएको छैन, किनभने म चर्को बोल्छु । सबैलाई समेटेर बोल्छु । 

राष्ट्रिय सभामा गएपछि कार्यान्वयन भएका कामहरू ?

धेरै भएका छन् । कति कुरा प्रस्ट रूपमा देखिने गरी हुन्छन्, कति कुरा हेर्दा साना तर तत्कालै कार्यान्वयन हुन्छन् । मैले संसद्को शून्य समयमा संसद् भवनमा प्लास्टिकको गिलासको साटो कागज वा सिसाका गिलास राख्नु भनेर माग गरें । त्यसको तत्कालै कार्यान्वयन भयो । सिंहदरबार दक्षिण गेटमा गाडीबाट जाने मानिस र हिँडेर जानेको बाटो अलग छ । फर्किदा त्यस्तो छैन । धेरैपटक दुर्घटना होला–होला जस्तो देखें । मैले संसद्मा कुरा उठाए । । केही समयपछि त्यहाँ मेरो मागको सम्बोधन भयो । कोभिडको विषयमा, महिलाको प्रजनन स्वास्थ्यलाई इमरजेन्सी हेल्थमा राख्नपर्ने विषय उठान गरे । त्यसको पनि सम्बोधन भयो । अपाङ्गता भएका र वृद्ध राखेका ठाउँमा आफैं गएर पिसिआर टेस्ट गर्न, लाइनमा राखेर खोप लगाउन भन्दा पनि सेन्टरमै गएर खोप लगाउने र पिसी आर टेस्ट पनि भयो । मान्छेलाई प्रत्यक्ष रूपमा छुने विषय, जनजीवन र जीविकाको विषय उठाउँदा सुनुवाइ र कार्यान्वयन हुन्छ । भएन भने कराउनुपर्छ, सुनुवाइ नभए पनि फेरि फलो गर्नुपर्छ । 

राजनीतिक विचलन देखिनुका कारण के होला ?

राजनीतिक संस्कार नै बिर्सिएको हो । धेरै राजनीतिक पार्टीमा सहनशीलता कम, आफ्नो सिद्धान्तप्रति दृढता छैन । आफ्नो फाइदाका लागि जोसँग पनि मिल्ने गर्छन् । आफ्नो फाइदाका लागि सैद्धान्तिक दृढता हराइरहेको छ । संस्कार बिर्सिएर गाली संस्कारको वृद्धि भएको छ । आ–आफ्नो गुट, दलको फाइदा र स्वार्थमा लागेका छन् । राजनीतिक संस्कार हराएको छ, एक–अर्कालाई गर्ने सम्मान पनि छैन । फाइदामुखी र स्वार्थका कारण विचलन आएको हो । 

राजनीतिले महिला विकास र सशक्तीकरणमा के–कस्तो भूमिका खेल्छ ?

महिला विकासमा राजनीति महत्वपूर्ण छ । राजनीतिक एउटा निर्णयले पनि ठूलो महत्व राख्छ । 

आरक्षण कत्तिको प्रभावकारी छ ?

समान रूपमा उही स्थानमा पुरुषसरह काम गर्ने अवस्था अझै आएको छैन । अहिले ठूलो ग्याप छ, त्यसलाई पूरा गर्न आरक्षण चाहिन्छ । 

निर्णायक तहमा महिला कसरी पुग्न सक्छन् ?

केही समयका लागि आरक्षण जरुरी छ । महिलासँग विशेष क्षमता छ, राम्रो गर्न सक्छन् भनेर सोच्नुपर्‍यो । काममा बराबरी जिम्मेवारी दिनुपर्‍यो । आवश्यकतानुसार क्षमता विकासका तालिम दिई विश्वास पनि गर्नुपर्‍यो । महिलालाई प्रोफेसनल रूपमा स्वीकार गर्ने वातावरण कतिपय ठाउँमा छैन । मर्यादित रूपले काम गर्ने वातावरण बनाउनुपर्छ । पहिलेभन्दा धेरै सुधार भएको छ तर पर्याप्त छैन ।

महिला नेतृत्व विकासका लागि के सुझाव दिनुहुन्छ ?

आत्मविश्वास जगाउनुपर्छ । ‘तिमी गर्न सक्छौ’ भनेर बाटो खुल्ला गरिदिनुपर्छ ।

तपाईंको भावी योजना के छ ?

सार्वजनिक जीवनलाई नै निरन्तरता दिने योजना छ । कतिपय कुरामा आफ्नो अध्ययन, अनुसन्धान गर्ने पेसा पनि छोडेकी छैन । क्षमताअनुसार आफ्ना काम गर्छु । नीतिगत अध्ययन र अनुसन्धान गर्छु । 

 Image