Successfully Copied

घुमफिरमा राष्ट्रपति

राष्ट्रपति आउने पक्कापक्की भएपछि चन्द्रागिरिका सेफ हवल लामाको टोलीले छुट्टै मेनु बनाएको थियो ।

दसैंअघिका राजनीतिक उथलपुथलको साक्षी बनेकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘कामको चाप र काठमाडौंको कोलाहल’ बाट केही दिनका लागि छुट्टी चाहिएको थियो । 

कोराना संक्रमण दर घट्ने क्रममा रहेको बेला घटस्थापनाको दुई दिनअघि प्रथम महिला राष्ट्रपति विद्यादेवी एक रात दुई दिनका लागि चन्द्रागिरि जाने कार्यक्रम तय भयो । असोज १८ मा दिउँसो साढे २ बजे राष्ट्रपति जेठी छोरी उषाकिरण, कान्छी निशा कुसुम, दुई नातिनी, भाइ डेगेन्द्र पाण्डे, देवर डा. कैलाश, भाइबुहारीका साथ चन्द्रागिरि पुगिन् । नितान्त पारिवारिक भ्रमण भनिएको यो यात्रामा छोरीतर्फका दुई नातिनी, छोरीज्वाईं उमेश थापा र कान्छा ज्वाईं अभिषेक यादवसहित भतिजा–भतिजी गरी १२ जना थिए । 

चन्द्रागिरि डाँडामा यसअघि दुईपटक भ्रमण गरिसकेकी राष्ट्रपतिको रिसोर्टमा पहिलो बसाइ थियो । लठ्ठामा फन्को लगाउँदै चलायमान केवलकारमा सर्वसाधारणले हतारिँदै चढेझैं राष्ट्रपतिलाई चढाइएन । सर्वसाधारणले प्रयोग गर्ने सिँढीमा रातो कारपेट टेक्दै उनी केवलकार सामुन्ने आइपुग्दा रिसोर्ट व्यवस्थापनले उनका लागि ३८ वटा केवलकार ५ मिनेटका लागि रोकेको थियो । उनी चढ्ने २७ नम्बरको केवलकार (गोन्डाला) लाई सेनिटाइज गरिएको थियो । जब उनी बसिन् अनि केवलकार ‘स्टार्ट’ गरियो । 

जसमा राष्ट्रपतिसहित उनका अंगरक्षक, चन्द्रागिरिकी अध्यक्ष चन्द्र ढकाल र निर्देशक हेमराज ढकाल गरी चार जनामात्रै सवार भए । उनी चढेको केवलकारमा रातो झन्डा टाँगिएको थियो । ‘भीभीआईपी गेस्ट चढ्ने केवलकारमा सम्मान र संकेतका लागि रातो झन्डा राख्ने चलन छ,’ चन्द्रागिरिको व्यवस्थापनले भन्यो । 

उनीपछिका केवलकारमा राष्ट्रपतिको सचिवालयका कर्मचारी, परिवारका सदस्य र सुरक्षाकर्मी थिए । राष्ट्रपतिको त्यो निजी भ्रमणमा एक जना सैनिक चिकित्सक, सचिवालयका प्रमुख स्वकीय सचिव भेषराज अधिकारी, स्वकीय सहसचिव शिव भट्टराई, प्रेस सचिव सोम राई र स्वकीय उपसचिव राजकुमार राई तथा १० जना सुरक्षाकर्मी थिए । 

त्यसदिन काठमाडौंमा मौसम अदलबदल भइरहेको थियो । बेस–स्टेसनबाट टप–स्टेसनमा जाँदै गर्दा केवलकार बाक्लै बादलभित्र छिर्‍यो । १५/१५ मिनेटमा बदलिरहने मौसम र तापक्रमबारे उनले केवलकारमा जिज्ञासा राखेकी थिइन् । अढाई किलोमिटरको केवलकारको यात्रापछि उनी टप स्टेसनबाट रिसोर्टसम्मको १७ सय मिटर सडकमा टोयटाको हायस भ्यान चढेर गइन् ।

बर्खा निख्रिनै लाग्दा दसैं आसपासमा मकवानपुर र काठमाडौंको सीमामा पर्ने कीर्तिपुरमाथिको चम्पादेवी वनमा स्थानीयले कोइला निकाल्न लालीगुराँसका रुख ढलाएर आगो लगाउँछन् । भालेश्वर मन्दिरबाट रिसोर्टतर्फ सडक यात्रा गरिरहेकै बेला यो दृश्य राष्ट्रपतिका आँखाले पनि देख्यो । ‘त्यो धूवाँ केको हो ?’ उनले हायसमा सोधिन् । ‘कोइला पोल्न आगो लगाएको हो हजुर,’ गाडीभित्र रहेका संचालकमध्ये कसैले उनको जिज्ञासा मेटाइदिएका थिए । बाक्लो र हरियाली वन, सफा वातावरण देखेपछि उनले वन्यजन्तुबारे पनि सोधिन् । केवलकारबाट उक्लिदै गर्दा संचालकहरूले बीच–बीचमा जंगलमा वन्यजन्तुका लागि राखिदिएका पानीका भाँडाबारे पनि भनिरहेका थिए । 

राष्ट्रपतिका लागि चन्द्रागिरि रिसोर्टको सबैभन्दा महँगो ‘प्रेसिडेन्ट सुइट’ बुक गरिएको थियो । काठमाडौं सहरतर्फ फर्किएको सगरमाथा बिल्डिङको ३१२ नम्बरको ‘प्रेसिडेन्ट सुइट’ मा एक रातको ३० हजार रुपैयाँ पर्छ । त्यहाँ रहेका मनास्लु, गौरीशंकर र गणेश नाम दिइएका अरु तीनवटा एनेक्सका ९९ वटा डिलक्स र एक्जुकेटी रूमभन्दा यो महँगो सुइट हो । नेपाली कलायुक्त ह्यान्डमेड फर्निचरको सजावट भएको त्यो सुइटमा १० दिनअघि पुष्पकमल दाहाल र ४३ दिनअघि नयाँ पार्टी बनाउन चन्द्रागिरि पुगेका माधव नेपाल पनि एक रातका लागि बसेका थिए । 

राष्ट्रपतिका लागि बुक गरिएको रूमको साँचो एक दिनअघि नै सुरक्षाकर्मीले लिइसकेका थिए । निगरानीका लागि एक दिनअघि नै त्यहाँ सुरक्षाकर्मी पुगेका थिए । राष्ट्रपति बास बस्ने दिन सगरमाथा कम्प्लेक्समा अरु गेस्टलाई राखिएन । त्यस बिल्डिङमा उनकै परिवारका सदस्य, सुरक्षाकर्मी बसे । राष्ट्रपति बसेकै चौथो फ्लोरको ३०९ र ३१० नम्बर रूममा दुई छोरी थिए । यी सुइट नभई नौ हजार रुपैयाँ पर्ने डिलक्स रुम थिए । 

राष्ट्रपति आउने पक्कापक्की भएपछि चन्द्रागिरिका सेफ हवल लामाको टोलीले छुट्टै मेनु बनाएको थियो । जसलाई राष्ट्रपति कार्यालयबाट स्वीकृत गराइएको थियो । रिसोर्टको डाइनिङमुनि भुइँतलामा ‘बैठक’ नाम दिइएको नेपाली रेस्टुरेन्ट छ । जहाँ उनले पुगेकै दिन दिउँसो हाई–टी लिएकी थिइन् । हाई–टीमा स्यान्डबीच, चीज पपकर्न, गार्लिक प्राउन, चिकेन नगेट, मुस्ताङ आलु, फ्रेस फ्रुट, मसला चिया आदि थियो । उनले मसला चियाको प्रशंसा गरेकी थिइन् । 

डिनर खाने बेलामा पानी परिरहेको थियो । उनी आफै छाता ओढेर बैठक हल पुगिन् । उनका लागि त्यहाँ पोखेरेली जेठो बूढो र मार्सीको भात, कर्णाली सिमीको दाल, चित्लाङबाट झिकाइएको सिस्नोको सुप र खसीको भुटन बनाइएको थियो । रात्रि भोजनमा त्यही चौरमा दाना नदिई पालेका अनि विशिष्ट अतिथिका लागि मात्रै राखेका दुईवटा लोकल कुखुराको मासु पनि खुवाइएको थियो । 

राष्ट्रपतिको पारिवारिक स्रोतका अनुसार, त्यही हलमा भएको हाई–टी र डिनरमा उनले साना नातिनीहरूसँग पनि समय बिताएकी थिइन् । खाना खाइसकेपछि उनले सेफ लामालाई बोलाई खानाको प्रशंसा गर्दै उनीसँग पाककला र पेसागत विषयमा जिज्ञासा राखेकी थिइन् । 

डिनरपछि उनी रिसोर्टको डिलमा रहेको स्वीमिङ पुलमा गइन् । अनि रातको काठमाडौं उपत्यकालाई हेरिन् । त्यहाँबाट अरूलाई धरहरा देखाइन् । भोलिपल्ट बिहान उनलाई ब्रेकफास्ट (ब्राउन ब्रेड, टोस्ट र कालो चिया) सुइटमै सर्भ गरियो । ब्रेकफास्टपछि उनले परिवारका सदस्यका साथ चन्द्रागिरि डाँडामा रहेको भालेश्वर मन्दिरमा आरतीमा सहभागी भइन् । पुजारीले चन्दन लगाइदिए । दानपेटीमा दक्षिणा चढाइन् । अनि त्यहाँ रहेको पृथ्वीनारायण शाहको सालिक नजिकै पुगेर उनले आफ्ना परिवारका सदस्यलाई नेपाल एकीकरण, पृथ्वीनारायण शाह र काजी कालु पाण्डेका वीरगाथा, दिव्य उपदेशका बारेमा आफूले जानेका कथा सुनाइन् । त्यहाँ उनले छोरीज्वाईं र नातिनीसँग फोटो खिचिन् । 

मन्दिरको पूजा सकिएपछि उनी हिँड्दै सेमिनार हलसम्म अवलोकन गर्दै आइन् । त्यहाँ बुद्धको मूर्ति देखेपछि उनले ‘राम्रो ठाउँमा राख्नुभएको रहेछ,’ भनी प्रशंसा गरिन् । राष्ट्रपतिलाई खाना दिनुअघि उनका सुरक्षाकर्मीले चाख्थे अनि मात्रै उनलाई दिइन्थ्यो । त्यहाँ राष्ट्रपतिले खाएका सबै खानाको नमुना जाँचका लागि पहिल्यै  छुट्याइन्थ्यो । 

छिनछिनमा बदली भइरहने चन्द्रागिरि डाँडामा राष्ट्रपति भण्डारीले सर्वाधिक चासो राखेको विषय मौसम र सफा वातावरणबारे थियो । रिसोर्टको दक्षिणमा रहेको हेलिप्याडमा पनि उनी घुम्न निस्किन् । त्यहाँ उनले मकवानपुरको फाखेल, चखेल र चित्लाङ जाने हाइकिङ रुटबारे जिज्ञासा राखेकी थिइन् । ‘सहरको कोलाहलभन्दा यहाँ आएर फ्रेस भएँ,’ उनले चन्द्रागिरिमा धेरैपटक यसो भनिरहिन् ।

सचिवालयका एक कर्मचारीका अनुसार, त्यहाँबाट फर्केपछि उनले आफ्ना कर्मचारीहरूमा ‘चन्द्रागिरिको बसाइले फ्रेस बनाएको’ बताएकी थिइन् । यो भ्र्रमण उनकै इच्छानुसार तय गरिएको निजी भ्रमण थियो । 

 Image