Successfully Copied

बदलिँदो फर्निचर शैली 

भित्ताको रंगअनुसार फर्निचर छनोट गर्न सके कोठालाई थप आकर्षक बनाउँछ । 

कोठाको सजावट र सुन्दरतामा फर्निचरको महत्वपूर्ण भूमिका हुन्छ । अझ आधुनिक जीवन शैलीमा फर्निचर एउटा अपरिहार्य वस्तुझैं बनेको छ । त्यसैले समयसँगै यसको डिजाइनिङ स्वरूपमा पनि परिवर्तन भइरहेको छ । नेपाली समाजमा पनि नयाँ–नयाँ फर्निचर प्रयोग गर्नेहरू बढेका छन् । अहिले आधुनिक डिजाइनसहितका फर्निचरको मागमा पनि वृद्धि भएको छ । यस्तो अवस्थामा स्वदेशी उत्पादनले मात्रै उपभोक्ताहरूको माग पूर्ति नहुन सक्छ । त्यसैले नेपालका फर्निचर व्यवसायीहरूले जापानी, भारतीय र चिनियाँलगायतका फर्निचरहरू भित्र्याइरहेका छन् । उनीहरू भन्छन्, ‘सिसौ, सल्ला एवं साल आदिका परम्परागत र बलिया फर्निचरमा मात्रै नेपालीहरू अब सीमित रहेनन् । प्लास्टिक, बेत र ‘सलिड उड’ बाट बनेका फर्निचर प्रयोग गर्ने नेपालीहरू बढेका छन् । ’पहिले–पहिले पसलमै गएर तयारी फर्निचर खरिद गर्ने चलन थियो । पछिल्लो समय यो प्रवृत्तिमा विस्तारै परिवर्तन हुँदै गएको छ । नयाँ बन्ने घरहरूमा ‘इन्टेरियर डिजाइन’ गरी भित्ताको कलर तथा फर्निसिङका सामग्रीसँग मिल्ने गरी फर्निचर खरिद गर्नेहरू बढेको पनि व्यवसायीहरूको भनाइ छ । 

नेपाली उपभोक्ताहरूका लागि ‘आरोन फर्निचर’ ले जर्मनी प्रविधिमार्फत नेपालमा आधुनिक फर्निचर डिजाइनिङ गरिरहेको छ । ‘सलिड उड’ उत्पादनमा जोड दिँदै आएको कम्पनीले देशभर आफ्नो बजार विस्तारको क्रममा छ । कम्पनीले सात वर्षयता नेपाली बजारमा आफ्ना उपत्पादन उपलब्ध गराउँदै आएको छ । कम्पनीले वेडरुम, किचन, डाइनिङ रुम, अफिस सेटिङ, मोडुलर कोकरी, मोडुलर फोई, मोडुलर बार, दराज, कस्टमाइज वार्डरक्सलगायतमा जोड दिएको कम्पनीका सञ्चालक शालिकराम अग्रवालले बताए । उनका अनुसार पुराना घरहरूमा पनि पुरानै फर्निचर मर्मत–सुधार (रिनोभेसन) र नयाँ थप गर्ने चलन बढेको छ । 

‘इम्पेरियल फर्निचर’ का सञ्चालक प्रकाशजंग राणाको भनाइ पनि उस्तै छ । उनका अनुसार उपभोक्ताहरू नयाँ डिजाइन, मोडल र प्रविधिबाट बनेका फर्निचर रुचाउन थालेका छन् । बजारमा अधिकांश भारतीय फेब्रिकहरू बढी चलेका छन् । त्यसमा पनि ‘डि डेकोर डि सिटेक्स’ को माग बढी छ । ‘सलिड उड’ का रूपमा उपभोक्तहरूको माग पनि उत्तिकै छ । कम्पनीले फर्निचर मात्रै बिक्री नगरी रिपेयरिङ पनि गर्छ । अस्पताल, विद्यालय, सरकारी तथा गैरसरकारी संस्थाका कार्यालय, व्यापारिक प्रतिष्ठानको डेकोरेसनमा कम्पनीले काम गर्दै आएको छ । 

थाइल्यान्डको ‘फ्रेन्चाइज’ मार्फत नेपालमा फर्निचर बिक्री गर्दै आएको ‘इन्डेक्स फर्निचर’ले आठ वर्षदेखि युरोपेली शैलीका फर्निचर बिक्री–वितरण गर्दै आएको छ । ‘इन्डेक्स ब्रान्ड’मा कम्पनीले आफ्ना फर्निचरहरू बजारमा उपलब्ध गराइरहेको हो । फर्निचरसँगै उसले ‘इन्टेरियर डिजाइन’ का सबै सेवा पनि उपलब्ध गराएको कम्पनीका बिजनेस डेभलपमेन्ट प्रमुख अविनाश ताम्राकारले बताए । ‘इन्डेक्स ब्रान्ड’ अन्य उत्पादनका तुलनामा केही महँगा छन् । यसमा अफिस, अपार्टमेन्टका साथै मोडुलर किचनका लागि सबै प्रकारका फर्निचरहरू उपलब्ध गराएको उनले बताए । फर्निचरको बिक्री दिनहुँ बढेसँगै उपभोक्ताहरू गुणस्तरप्रति सचेत हुन थालेको भनाइ उनको छ । उनले भने, ‘पछिल्लो समय ग्राहकहरू फर्निचरमा पनि ब्रान्ड खोज्न थालेका छन् । यो सकारात्मक पक्ष हो ।’

नेपालमा चीन, मलेसिया, थाइल्यान्ड, टर्कीलगायतका मुलुकबाट फर्निचर तथा फर्निसिङका सामान आयात भइरहेका छन् । वार्षिक करिब ६० अर्बको फर्निचरको व्यापार भइरहेको फर्निचर तथा फर्निसिङ संघका अध्यक्ष सुवेन्द्र जोशीले बताए । उनका अनुसार नेपाली बजारमा करिब ५० प्रतिशत स्वदेशी उत्पादनले नै धानेको छ । पछिल्लो समय नेपाली उत्पादनलाई नै प्रवर्धन गर्ने क्रम पनि सुरु भएको छ । ‘बढी टिकाउ उत्पादन खोज्नेहरू नेपाली फर्निचर बढी रुचाइरहेका छन्’ उनले भने, ‘तर, मागअनुसारका फर्निचरका लागि भने व्यवसायीहरूले केही समस्या झेल्नुपरेको छ ।’ उनका अनुसार नेपाली बजारलाई प्रवर्धन गर्न जनशक्ति र कच्चापदार्थको अभाव छ । नेपाली फर्निचरको मुख्य चुनौती भनेकै विदेशी बजारसँग प्रतिस्पर्धा गर्नु हो । नेपाली व्यवसायीहरूले चिनियाँ फर्निचरबाट सबैभन्दा बढी चुनौतीको सामना गरिरहेको उनको बुझाइ छ । चुनौतीका बाबजुद कार्पेट, डोरम्याट, म्याट्रेस, पर्दा आदि नेपाली उत्पादनमा आत्मनिर्भर अवस्थामा रहेको सुवेन्द्रले बताए । 

थरीथरीका फर्निचर 

धेरैको रोजाइ बेत

सानो र थोरै ठाउँमा सहज रूपले सजाउन सकिने र चिटिक्क देखिने भएकाले बेतका फर्निचरहरू पछिल्लो समय धेरैको रोजाइमा परेका छन् । बेतका फर्निचरहरू वातावरणीय दृष्टिकोणबाट पनि राम्रा मानिन्छन् । बजारमा बेतका टेबल, कुर्सीदेखि ल्याम्पपोस्ट र दराजसम्मका सामग्री उपलब्ध छन् । त्यस्तै, सोफासेट, पलङ, जुत्ता र्‍याक, डाला, नानीहरूका खेलौना राख्ने बाकस, पिर्का आदि सामग्री पनि बेतकै पाइन्छन् । 

फलाममा आकर्षण 

पछिल्लो समय काठका फर्निचरको खुट्टाका रूपमा फलामको प्रयोग गरिन्छ । पानी, कीरा तथा अरू प्राकृतिक विपत्तिले असर नपार्ने भएकाले फलामबाट बनेका फर्निचरहरूप्रति धेरैको आकर्षण रहेको पाइन्छ । 

सस्तो प्लास्टिकमा रुचि 

कम मूल्य, हलुका, रंगीचंगी तथा टिकाउपनले पछिल्लो समय प्लास्टिकका फर्निचरको प्रयोग गर्नेहरू बढेका छन् । नेपाली बजारमा कफी टेबल, डाइनिङ टेबल, स्टल तथा चेयर बढी बिक्री हुन्छन् । यी पोर्टेवल भएकाले धेरैको रुचि प्लास्टिकका फर्निचरमा परेको हुनसक्छ । 

 

फर्निचर छनोट गर्दा......    

- कोठाको आकार तथा आवश्यकता आँकलन गर्नुपर्छ । 

- भित्ताको रंगअनुसार फर्निचर छनोट गर्न सके कोठालाई थप आकर्षक बनाउँछ । 

- डिजाइनमा आफ्नो रोजाइलाई प्राथमिकतामा राख्नुपर्छ । 

- कोठामा उपयुक्त ठाउँ छनोट गर्नुपर्छ । 

- फिनिसिङलाई पनि ध्यान दिनुपर्छ । 

 

 Image