Successfully Copied

‘सन्तुलन मिलाएर खाए तेलले फाइदा गर्छ’

शरीरलाई चाहिने सबै कुरा उचित मात्रमा खानुपर्छ । पूरै बन्द गर्ने होइन ।

सबैका घरमा दिनहुँ तेलको प्रयोग गरिन्छ । अझ चाडपर्वका बेला सबैका घरमा मीठो–मसिनो परिकार पाक्ने हुँदा यतिबेला शरीरलाई चाहिने भन्दा बढी चिल्लो पदार्थको सेवन गरिन्छ । तेलको अत्यधिक सेवनबाट उच्च रक्तचाप मात्र होइन मोटोपनको समस्या पनि निम्तिन सक्छ । बोसोयुक्त खानेकुरा र तेलको अनियन्त्रित सेवन नै रोगको मूल कारण भएको चिकित्सकहरूको भनाइ छ । उनीहरूले उच्च रक्तचाप भएका वा मुटुका रोगीहरूलाई चिल्लो वा बोसोयुक्त खाना कम खान सुझाव दिन्छन् । एक स्वस्थ मानिसले तेल वा बोसोयुक्त खानेकुरा कति खाँदा ठीक हुन्छ ? यसले हाम्रो स्वास्थ्यलाई कति फाइदा पुर्‍याउँछ ? यसै विषयमा केन्द्रित भई पोषणविद् इन्द्रप्रसाद सिटौलासँग गरेको कुराकानीको सम्पादित अंश :

इन्द्रप्रसाद सिटौला, पोषणविद्

मोटोपन, उच्च रक्तचापलगायत समस्याका कारण धेरैले बोसोयुक्त खानेकुरामा कटौती गरेका छन्, यसमा तपाईंको भनाइ के छ ?

शरीरलाई चाहिने सबै कुरा उचित मात्रमा खानुपर्छ । पूरै बन्द गर्ने होइन । सैद्धान्तिक रूपमा १३–२५ प्रतिशत चिल्लो, ४०–६० प्रतिशत कार्बोहाइड्रेट र अरु २०–२० प्रतिशत खानुपर्छ । तर पछिल्लो समय यसमा परिवर्तन आएको छ । फलफूल, गाजर, मुला, सागसब्जीको मात्रा बढी र कार्बोहाइड्रेटको मात्रा कम हुनुपर्छ । एउटा थालीमा चार भागमा एक भाग फलफूल र अरु गेडागुडी, मासु, थोरै चिल्लोको मात्रा हुनुपर्छ । हाम्रो शरीरलाई फ्याट चाहिन्छ तर धेरै बोसोयुक्त खानाले हाम्रो शरीरलाई फाइदा हुँदैन । मधुमेह भएकाहरूले पनि गुलियो खान सक्छन् तर थोरै खानुपर्छ । 

शरीरलाई आवश्यक चिल्लो पदार्थको आपूर्ति के–कस्ता खानेकुराबाट गर्न सकिन्छ ?

माछा, कुखुराको मासु, ओखर, हाडे बदाम आदिबाट चिल्लो पदार्थ आपूर्ति गर्न सकिन्छ । तर, माछा–मासुमा फ्याट पाइन्छ भन्दैमा धेरै तारेर (डिप फ्राई), धेरै मरमसला हालेर खाँदा स्वाद त बढाउँछ तर यस्तो खानाले शरीरलाई फाइदा गर्दैन । 

बोसोयुक्त मासु शरीरका लागि हानिकारक नै हुन्छ ?

मासु प्रोटिनको राम्रो स्रोत हो । शरीरमा दिनभरिमा एकदेखि डेढ ग्राम प्रोटिनको आवश्यकता पर्छ । तर उमेर, तौल, श्रमअनुसार घटबढ हुन सक्छ । कुनै पनि कुरा खाँदै नखाने होइन सही मात्रामा खानुपर्छ । कुनै एक खानाको परिपूर्ति अर्को खानाले गर्दैन । त्यसैले सबै खानेकुरा मिलाएर खानुपर्छ । बोसोजन्य मासु धेरै खानु हुँदैन । मासु उसिनेर खाँदा राम्रो हुन्छ । सेतो बोसोले शरीरलाई क्षति पुर्‍याउनुका साथै मोटोपन बढाउँछ । 

घिउ–तेल उचित मात्रामा खानुपर्छ भनिन्छ । यसको मात्रा कति हो ?

घिउ–तेल मात्र नभई सबै खानेकुरा उचित मात्रामा खानुपर्छ । फ्याटको मात्रा सागसब्जीमा पनि पाइन्छ । उमेरअनुसार एक दिनमा एकदेखि तीन चम्चासम्म खान सकिन्छ । 

कतिपय तेलको विज्ञापनमा यसले मुटु बलियो बनाउँछ भनिन्छ तर चिकित्सकहरू यसले मुटुरोग लाग्छ भन्छन् । के तेल हानिकारक नै हो ?

फ्राई गरेको तेल, पटक–पटक तातेको तेल र केमिकल मिसिएको तेल मुटुका लागि हानिकारक हुन्छ । तेल पटक–पटक तताउँदा विषाक्त बन्छ । यस्तो तेल डढेर अर्कैमा रूपान्तरण हुन्छ र क्यान्सर हुने सम्भावना बढाउँछ । तर शुद्ध तेलले शरीरलाई फाइदा पुर्‍याउँछ । 

बजारमा जैतुन, सूर्यमुखी, भटमास, तोरीलगायत धेरै किसिमका तेल पाइन्छन्, यसमध्ये सर्वोत्तम कुन हो ?

सबै प्रकारको तेलले हाम्रो स्वास्थ्यलाई फाइदा गर्छ । सबैभन्दा उत्तम उपाय भनेको सबै तेल मिलाएर खान सके अझ राम्रो हो । बिहान सूर्यमुखी तेल खाए बेलुकी तोरी वा जैतुनको तेल खानु उपयुक्त हुन्छ । त्यसैगरी अर्को दिन भटमास तेल प्रयोग गर्न सकिन्छ । अखाद्य वस्तु मिसावट नभएको तेल शरीरका लागि उपयोगी हुन्छ । तेलमा भिटामिन ‘ए’, ‘बी’, ‘डी’, ‘ई’ जस्ता तत्व पाइन्छन् । 

 Image