Successfully Copied

व्यवस्थित खानपान : स्वस्थ जीवन

खानपानको डिसअर्डरले मानिसलाई ‘मेटाबोलिजम सिन्ड्रोम’ हुन्छ ।

पछिल्लो समय मानिसमा मोटोपना, उच्च रक्तचाप, कोलेस्टोरल र मधुमेहलगायतका स्वास्थ्य समस्या बढिरहेका छन् । यसको मूल कारण आधुनिक खानपान र जीवनशैली नै हो । यसमा परिवर्तन नगरेसम्म जति धेरै धनराशि खर्च गरे पनि यी समस्याबाट निदान पाउन मुश्किल छ । खानपानको डिसअर्डरले मानिसलाई ‘मेटाबोलिजम सिन्ड्रोम’ हुन्छ । यसको उपचार पद्धति भनेको शरीरमा इन्सुलिन, लेप्टिन र ग्रहलिनजस्ता हर्मोन र खानपानबीच तालमेल मिलाउन सक्नु नै हो । सरल भाषामा भन्नुपर्दा प्रोटिन, बोसो तथा कार्बोहाइड्रेट र हर्मोनबीचको अन्योन्याश्रित सम्बन्धबारे सबैले बुझ्न जरुरी छ ।

अर्को कुरा धेरैजना स्लिम बन्ने चाहनाले क्लिनिक धाइरहेका हुन्छन् । स्लिम होइन स्वस्थ बन्ने सोच सबैले राख्न आवश्यक छ । किनभने मानिस स्वस्थ भएपछि शरीरले आफै अनावश्यक बोसो घटाउने वा अन्य विकारहरू निष्कासन गर्ने गर्छ । मानव शरीरले त्यसै पनि अनावश्यक भार थेग्न सक्दैन । तसर्थ भोक लागेको बेलामा शरीरलाई आवश्यक पर्ने खानेकुरा मिलाएर खानुपर्छ । यसले शरीरलाई स्वस्थ मात्रै बनाउँदैन रोगका कारण विभिन्न औषधि सेवनबाट पनि छुटकारा दिलाउन सक्छ । 

आधुनिक खानपानको उपभोग र आधुनिक जीवनशैलीका कारण हामी आफैंले समस्या निम्त्याइरहेका छौं । थाइल्यान्ड घुम्न जान परे महिना दिनअघि के खाने, कहाँ बस्ने, कहाँ घुम्ने भनेर इन्टरनेटमा चहार्दै सूचना बटुल्नेहरू पनि धेरै भेटिन्छन् । तर, चिकित्सकले लेखिदिएको औषधि हामी एकपटक इन्टरनेट सर्च नगरी कुनै जानकारी नै नलिई विश्वासका भरमा सेवन गर्छौं । यसको साइड इफेक्ट्ससम्म ख्याल गर्दैनौं । तसर्थ अब हामी आफ्नो शरीर र स्वास्थ्यबारे जाग्नुपर्छ । 

एक अध्ययनअनुसार ७० प्रतिशत मानिसले दूध पचाउन नसके पनि त्यसको सेवन गरिरहेका हुन्छन् । दूध पचाउने क्षमता १० वर्षभन्दामुनिका बालबालिकामा बढी हुन्छ । दही भने सबैका लागि लाभदायक छ । चिसा पेय पदार्थ (कोल्ड ड्रिंक्स), मदिराजन्य पेय तथा भात मासुसँग खान नहुने खाद्य वस्तु हुन् । त्यस्तै, बजारमा पाइने प्रशोधित तेल, रिफाइन गरिएको चिनी र प्रशोधित कार्बोहाइड्रेड शरीरका लागि शत्रु हुन् । यी पदार्थबाट हामी टाढै बस्नुपर्छ ।

 खानामा धेरैको मानसिकता ‘सी डाइड’ (देखेको कुरा खाइहाल्ने) छ । अझ कतिपयले अर्काले खाएको देखेर प्रभावित भई वा टिभीमा जे देख्यो त्यो खाइहाल्छन् । यस्तो स्वभाव आफैंमा हानिकारक छ । मेरो विचारमा हामीले खाएको प्रोटिनजन्य खाद्यपदार्थबाटै शरीरले आवश्यक चिनी पाइरहेकाले कार्बोहाइड्रेडको आवश्यकता छैन । 

खाना

भोक लागेपछि मात्रै खाना खानुपर्छ । खानामा एक बाउल हरियो सलाद, अण्डा र चीजबाट बनाइएको अम्लेट, माछा मासु, चीज, ओखरलगायतका ड्राइफ्रुट्स सय ग्रामजति खान सकिन्छ । खानाका लागि समयान्तर आवश्यक छ । छिटो–छिटो खानु हुँदैन । 

डा. दिलजान मंसुर (कर्ट)

 

निद्रा

मान्छे एक महिना अन्न वा अरू कुनै चीज नखाए पनि बाँच्न सक्छ तर सात दिन सुतेन भने बाँच्न कठिन हुन्छ । तसर्थ मानिसका लागि निद्रा अत्यन्तै महत्वपूर्ण छ । दैनिक कम्तीमा पनि आठदेखि १० घण्टा सुत्नुपर्छ ।

तनाव कम गर्ने

तनाव कम गर्न योगा, मेडिटेसन गर्न सकिन्छ । संगीतले पनि तनावलाई कम गर्छ । त्यसैले संगीत पनि सुन्न सकिन्छ । 

घाममा बस्ने

शरीरलाई आवश्यक भिटामिन ‘डी’ का लागि घाम जस्तो अर्को उत्तम स्रोत छैन । तसर्थ दैनिक एक घण्टा घाममा बस्दा शरीर बलियो हुन्छ ।

व्यायाम

स्याँ–स्याँ हुने गरी व्यायाम गर्ने ताकि मुटुको समेत एक्सरसाइज होस् जसका लागि साइकिलिङ, स्विमिङ, रनिङ गर्न सकिन्छ । 

प्रशस्त आराम

खाना खाएको कम्तीमा दुई घण्टापछि मात्रै सुत्नुपर्छ । सुत्ने कोठामा मोबाइल, टिभीलगायतका कुनै पनि विद्युतीय उपकरण राख्नु हुँदैन । मोबाइल आफूसँग राख्नैपरे स्विच अफ गर्नुपर्छ, त्यो पनि सुत्नुभन्दा दुई घण्टाअगाडि । डिभाइसले मस्तिष्कमा बन्ने मेलाटोनिन (सुत्ने अर्थात् निद्रा लाग्ने हर्मोन) लाई कम गरिदिन्छ । मोबाइल अफ गरेर यसको बत्ती निभेको दुई घण्टासम्म पनि हाम्रो मस्तिष्कभित्रको बत्ती बलिरहन्छ । जसले अनिद्रा, छटपटी ल्याउँछ । 

(लेखक एफडीएच क्लिनिकका संचालक हुन्)

 Image