Successfully Copied

कृष्णाको स्वर–मोहनी 

उमेरले ८० वर्ष नाघिसकेकी कृष्णा ताम्राकारको रेडियोमा बोल्ने जाँगर उस्तै छ । रेडियो कार्यक्रममा व्यस्तताका कारण उमेर बढेको फिटिक्कै उनले महसुस गरिनन् । उनको स्वर ‘आँखादान’ र ‘वन कार्यक्रम’ अझै पनि रेडियोबाट सुन्न सकिन्छ । उनी बिहानै लाइभ कार्यक्रम सञ्चालन गर्न त कहिले रेकर्डिङ गर्न स्टुडियो

उमेरले ८० वर्ष नाघिसकेकी कृष्णा ताम्राकारको रेडियोमा बोल्ने जाँगर उस्तै छ । रेडियो कार्यक्रममा व्यस्तताका कारण उमेर बढेको फिटिक्कै उनले महसुस गरिनन् । उनको स्वर ‘आँखादान’ र ‘वन कार्यक्रम’ अझै पनि रेडियोबाट सुन्न सकिन्छ । उनी बिहानै लाइभ कार्यक्रम सञ्चालन गर्न त कहिले रेकर्डिङ गर्न स्टुडियो पुग्छिन् । उनले इमेज एफएममार्फत रेकर्डिङ, लाइभ दुवै कार्यक्रम सञ्चालन गरिरहेकी छन् । क्यान्सर लागेर किमो लिँदै गर्दा पनि उनले निरन्तर कार्यक्रम सञ्चालन गरिरहिन् । रेडियो मोहले उनले क्यान्सरलाई पनि जितिसकेकी छन् । रेडियो नेपालमा ३१ वर्ष ६ महिना काम गरी रिटायर्ड भएको पनि उनको २९ वर्ष पुगिसकेको छ । ‘रेडियोको मोहले नै होला क्यान्सरलाई पनि जितें, चाहेर पनि छोड्न सक्दिन’ उनले भनिन् । 

रेडियो नेपालमा उनको लगातार ३१ वर्ष स्वर गुञ्जिरह्यो । समाचारवाचिकाका रूपमा रेडियो नेपाल प्रवेश गरेकी उनले ‘रसरंग’, ‘हाजिरी जवाफ’, ‘वन मेरो जीवन’ ‘लुम्बिनी’ जस्ता कार्यक्रम सञ्चालन गरिन् । ०१८ मा उनी रेडियो नेपाल प्रवेश गरेकी थिइन् । ७५ जनाको प्रतिस्पर्धामा भ्वाइस टेस्टमा उनी प्रथम भइन् । त्यतिबेला उनको तलब १२५ रुपैंयाँ थियो । उनले नेपाल एयरलाइसेन्सको १७५ रुपैंयाँको जागिर छाडेर रेडियोमा प्रवेश गरेकी थिइन् । आफ्नो रुचिको काम भएकाले ५० रुपैंयाँ कम तलबमै उनले रेडियोको जागिर रोजेकी हुन् । उनी सुरुमा रेडियोमा हिन्दी समाचारवाचिकाका रूपमा प्रवेश गरिन् । हिन्दीमा राम्रो वक्ताका रूपमा आफ्नो छवि बनाइन् । १२ वर्षको उमेरमा तुलसीमेहर श्रेष्ठले उनलाई भारतको गान्धी आश्रम बर्दामा लगेका थिए । बर्दामै उनले हिन्दी र मराठी भाषा सिकिन् । उनलाई हिन्दी भाषाको प्रस्ट उच्चारणले ब्रोडकास्टर हुनुपर्ने सुझाव दिन्थे । भाषा सिक्न उनलाई अल इन्डिया रेडियोले थप सहयोग गर्‍यो । उनी सानैदेखि अल इन्डिया रेडियो सुन्थिन् । उनलाई भने ब्रोडकास्टर शब्द नै थाहा थिएन । भन्छिन्, ‘आश्रममै रहँदा हिन्दी राम्रो भएकाले ब्रोडकास्टर हुनुपर्छ भन्थे तर मलाई ब्रोडकास्टर भनेकै थाहा थिएन, तर पछि यसैलाई करियर बनाएँ ।’ ०२१ मा राजा महेन्द्रले भारतसँगको खटपटलगत्तै हिन्दी सेवा बन्द गरिदिएपछि उनी नेपाली समाचार पढ्न थालिन् । 

रेडियो नेपालमा उनी करारमा प्रवेश गरेकी थिइन् । पछि लोकसेवामार्फत अधिकृतका रूपमा जागिर सुरु गरिन् । उनले रेडियोको काम गर्दा दुई छोरी जन्मिसकेका थिए । उनी आमा भएपछि सञ्चारकर्मीका रूपमा परिचय बनाएकी हुन् । परिवारको सहयोगले उनलाई काम गर्न भने सहज थियो । रेडियो समाचारमा उनको स्वरमा लठ्ठिने देशभरि धेरै प्रशंसक थिए । उनलाई प्रशंसकहरूले बोराका बोरा चिठी पठाउँथे । उनलाई लेखेका चिठी कति जलाइए, कति फालिए उनलाई हेक्का भएन । फ्यानहरूले विवाह गर्ने प्रस्तावदेखि टिकट च्यातेर लानेसम्म गर्थे । 

रेडियोमा काम गर्न उनलाई त्यति सहज भने थिएन । महिला भएकै कारणले सहयोग कमै पाउने गरेको उनले बताइन् । रेडियोमा समाचारका लागि बिहानै पुग्थिन् । हाजिरीजवाफ भने राति ९ बजेसम्मै सञ्चालन गर्नुपर्थ्यो । तलबबाहेक अन्य सुविधा केही थिएन । रेडियोमा उनको कहिल्यै बढुवा भएन । उनी भन्छिन्, ‘चाकरी गर्न नसकिएकाले बढुवा रोकियो जस्तो लाग्छ ।’ 

देशमा सम्मान नपाए पनि उनले राष्ट्रसंघीय वातावरण कार्यक्रम (युनेप) अन्तर्गत ‘ग्लोबल रोल अनर अवार्ड’ पाइन् । संसारका पाँच सय महिलामा उनी छनोट भएकी थिइन् । नेपालकी स्वरकी धनीका रूपमा पुरस्कार लिन उनी बेल्जियम पुगेकी थिइन् । रेडियोमा उनले धेरै कार्यक्रम सञ्चालन गरिन्, धेरैसँग अन्तर्वार्ता पनि लिइन् । तर योगी नरहरिनाथको अन्तर्वार्ता भने उनी कहिल्यै बिर्सन नसक्ने बताउँछिन् । नयाँ शिक्षा नीतिका बारेमा अन्तर्वार्ता लिन उनी पशुपति पुगेकी थिइन् । योगीले आँखा चिम्म गरेर निरन्तर दुई घण्टा बोलिरहे । तर उनको स्पुल आधा घण्टाको मात्रै थियो । उनले तीव्र गतिमा बोलिरहेका योगीलाई पुग्यो पनि भन्न सकिनन् । उनी त्यो पल सम्झदै भन्छिन्, ‘मेरो उनको स्पुल आधा घण्टाको मात्रै थियो तर योगीले दुई घण्टापछि पो पुग्यो भनेर सोधे ।’ उनी रेडियोमा समय मिलाउन सक्ने वक्ता पनि थिइन् । उनले समाचार पढ्दा एक सेकेन्ड पनि बढी समय नलिएको बताइन् । उनले भनिन्, ‘दिउँसो साढे २ बजेको समाचार वाचन गर्दा सकियो भन्नासाथ सेकेन्ड सुई ठ्याक्कै १२ मा हुन्थ्यो,एक सेकेन्ड पनि बढी समय लिँदैनथिन् ।’

नेपाली भाषामा शुद्धाशुद्धिदेखि उच्चारणमा समेत उनी प्रस्ट छन् । उनी जर्मन, डनिस, फुयान्टजस्ता भाषामा पोख्त छन् । धेरै भाषा आउँदा पनि उनको बोलीमा कहिल्यै भाषा मिसिएको हुँदैन । उनी भन्छिन्, ‘धेरै भाषा बोल्छु तर कहिल्यै मिक्स गरेर बोल्दिन ।’ अहिलेको पुस्तामा भने शुद्धाशुद्धि हराउँदै गएको उनले देखेकी छन् । भाषा सिक्ने कौतूहलता पनि हुनुपर्ने उनको भनाइ छ । समाचार लेख्दा होस् वा पढ्दा भाषामा ध्यान दिन अहिलेको पुस्तालाई उनी सुझाव दिन्छिन् ।

 Image