विभेदविरुद्ध लड्दै हरिकला

नारी संवाददाता

पुस २, २०७८ छोटो कपाल, प्रायः सर्ट/टप्स पाइन्ट पहिरन, कम बोल्ने र बढी सुन्ने ब्यक्तित्व हो पत्रकार हरिकला अधिकारीको । कामले आफूलाई अब्बल बनाउनु पर्दछ भन्ने सोच राख्ने उनी गोरखापत्रको इतिहासमा उच्च तहमा पुग्ने पहिलो पत्रकार महिला हुन् । कार्यरतमध्ये वरिष्ठतम र तह ११ का एक मात्र पत्रकार उनलाई प्रधान सम्पादकको जिम्मेवारी नदिएपछि उनी अदालत धाइरहेकी छन् । हरिकलाले पत्रकारिता गरेको ३५ बर्ष पुरा भएको छ । गोरखापत्रमा २०४६ सालमा उपसम्पादक (७ औं तह ) करारमा प्रवेश गरेकी उनी ११ तहको प्रबन्ध सम्पादकसम्म भइन् । विनियमावली अनुसार नै गोरखापत्रको प्रधान सम्पादक हुन पाउने उनको निर्दिष्ट हक भने अझै पूरा भएको छैन । उनै हरिकलालाई यो अंकको नारीमा पत्रकार महिलाको संघर्षको स्तम्भमा समेटिएको छ । 

पत्रकारिता र अध्ययन 

चितवनको पटिहानीमा जन्मेकी हरिकला अधिकारी सानैदेखि पढ्नमा रुचि राख्थिन् । घरमा भएका ‘आउट अफ कोर्स’ पुस्तकहरू पढ्ने बानी थियो । माध्यमिक तहमा उनी राम्रो बिद्यार्थीको रूपमा परिचित थिइन् । हरिकला नेपाल प्रेस इन्स्टिच्युटको पहिलोब्याचको प्रशिक्षार्थी हुन् । इन्स्टिच्युटबाट १० महिने तालीम लिँदै गर्दा उनले राजधानी साप्ताहिकबाट पत्रकारिताको अभ्यास सुरु गरिन् । इन्टर्नसिपमै उनले मातृभूमि साप्ताहिकमा ‘आकृति’ नामले महिला स्तम्भ लेख्ने काम पाइन् । त्यसपश्चात् उनले गोरखापत्रमा ‘जनआवाज’, ‘संवाद’, ‘समकोण’ जस्ता स्तम्भहरूमा फरक तरिकाले कलम चलाइन् । उनले आफूलाई छापा माध्यममा मात्रै सीमित राखिनन् । गोरखापत्रका अलावा उनले रेडियो कार्यक्रमहरूको निर्माण, स्क्रृप्ट लेखन, सम्पादन, प्रशिक्षण र परामर्श गरिन् । हिंसा, विभेद, शोषण र उत्पीडनका विषयमा उनले कलम चलाइरहिन् । चितवनबाट हाइस्कुलको पढाइ सकेर काठमाडौं आएपछि उनले पद्मकन्या कलेजमा नेपाली, अर्थशास्त्र र गृहविज्ञान विषय पढिन् । उनले नेपाली फङ्सनल पेपरमा पत्रकारिता लिने भनेपछि १० जनाको समूह बनाएर पहिलो पटक पत्रकारिताको पढाइ सुरु भएको थियो । उनले त्रि.वि. बाट नेपालीमा ‘सम्पादकीय सङ्कथनमा प्रतिनिधित्व’ शीर्षकमा विद्यावारिधि पनि गरिसकेकी छन् । 

महिला भएर चुनौती 

महिला भएकै कारण पत्रकारिताका काममा थुपै बाधाहरू उनले झेल्नु पर्‍यो । रात्री डेस्कमा काम गर्ने उनको चाहनालाई पनि सुरुमा ‘महिला हुनु’ लाई नै बाधक ठहर्‍याइयो । सुरक्षाको प्रश्न उठाइयो र डेढ वर्षसम्म रोकियो । दैनिक अखबारमा रातको ड्युटि नै निर्णायक ड्युटि हो । यसैले आफ्नो सुरक्षाको जिम्मा आफैँ लिन्छु भनेर काम गर्न थालिन् । कार्यालयमा विभेदकारी तगाराहरू पनि तेर्स्याइन्थे । तिनलाई पार गर्दै उनले रातिको ड्युटिलाई नै १० वर्षसम्म निरन्तरता दिइन् ।

गोरखापत्रमा फिचर सम्पादनबाट उनको काम सुरु भएको थियो । त्यसपछि उनले साँझको लिंकमा, रिपोर्टिङमा, दिवा समाचार डेस्कमा र रात्री समाचार डेस्कमा काम गर्दै अघि बढिन् । २०४६ सालको जनआन्दोलन होस् या २०५२ मा सुरु भएको जनयुद्ध र शाही प्रतिगमन कालमा उनले थुप्रै चुनौती सामना गर्दैर् पत्रकारिता गरिरहिन् । कर्फ्युको बेलामा रातिको ड्युटि सकेपछि उनी कहिले प्रहरीको सहारा लिँदै घर पुग्थिन् त कहिले संस्थानकै चालकलाई ‘परे म पनि पर्छु’ भन्दै पहिले सहकर्मीहरूलाई घर छोडेर मात्रै आफू घर फर्किन्थिन् । जनयुद्धको समयमा बन्द, हड्ताल, बम, कर्फ्यु र एकाध सहकर्मीले नै अनाहकका थोपरेका किचलोका थुप्रै अनुभव बटुलेकी छन् । उनले जनयुद्धको बेलामा रोल्पादेखि रुकुमसम्मको स्थलगत भ्रमण गरी रिपोर्टिङ पनि गरिन् ।

समाचारले शिक्षा क्षेत्रमा हलचल 

उनको एक खोजी रिपोर्टिङले भने शिक्षा क्षेत्रमा ठुलो हलचल ल्याइदियो । प्राथमिक शिक्षा परियोजनाले विदेशी दातृसंस्थासंग गरेको सम्झौतालाई गुपचुप राखेर कार्यान्वयन नगरेको अवस्थालाई उनले बाहिर ल्याएकी थिइन् । त्यसबेला तत्कालीन शिक्षा आयोगका प्रमुखदेखि संलग्न शिक्षाविद्सग सोधपुछ गर्दा उनीहरूले प्रश्नलाई हल्का रुपमा लिए । तर, उनले तथ्यसहित समाचार लेखिन् । त्यसपछि भने शिक्षामन्त्रीले परियोजना प्रमुखलाई नै हटाएछन् । शिक्षा बिटमा लेख्ने एक जना वरिष्ठले उनलाई भने ‘ए बैनी समाचार त लेख्ने तर यसरी प्रमुखको जागीर नै उडाउने गरी किन लेखेको ?’ समाचारमा उनको बाइलाइन थिएन । यसले गर्दा उनलाई धेरै ठूलो जोखिम भएन । यो समाचार उनको पत्रकारिताको जीवनमा एउटा अविस्मरणीय घटना हुन पुग्यो । 

भाषा र डिजाइनमा एकरुपता अभियान

कार्यालयमा उनी ‘मार्साप’ को रुपमा परिचित थिइन् । गोरखापत्रमा किशोर नेपाल महाप्रबन्धक र प्रधान सम्पादक हुदा पहिलो पृष्ठको भाषा र डिजाइनमा एकरुपता ल्याउने कुरा उठ्यो । पहिलो पटक रात्री समूहमा एकल संयोजकको भूमिकामा काम गर्न हरिकला अघि सरिन् । केही वरिष्ठहरू हच्किए । केहीले वहानावाजी पनि गरे । रात्री डेस्कमा महिलाले काम गर्ने होइन भन्ने प्रधान सम्पादक किशोर नेपालले नै हरिकलालाई एकल संयोजक बनाएर रात्री डेस्कमा पठाए । यो गोरखापत्रको इतिहासमा ‘ब्ल्याक एण्ड ह्वाइट’ को अन्तिम र रंगिन युगको पहिलो चरणमा भएको उनले बताइन् । 

प्रधान सम्पादक बन्न नपाउँदा 

नियमपूर्वक प्रबन्ध सम्पादक बनेकी उनी गोरखापत्रको प्रधान सम्पादकको निर्विकल्प उम्मेदवार र दावेदार थिइन् तर उनीमाथि सुरुदेखि नै जालझेल भयो । वरिष्ठतम कर्मचारीका हैसियतमा निमित्त भई दुई पटकसम्म महाप्रबन्धकको जिम्मेवारी लिने वाध्यता आइलाग्यो । नियमानुसार सम्हालिदिइन् पनि । तर कुनै पनि व्यवस्थापकले उनलाई सम्पादकीय नेतृत्वमा पदस्थापन नगरेर अपमानसमेत गरेको उनको भोगाइ छ । २०७७ साल साउन १६ गते प्रधान सम्पादक हुन पाउने अन्तिम मौका थियो, त्यसमा पनि जालझेल भयो । कार्यकारी अध्यक्षले उनलाई निमित्त महाप्रबन्धकमा नियुक्ति दिन खोजे तर उनले पत्र नै बुझिनन् । उनी भन्छिन् ‘गोरखापत्र संस्थान ऐनको दफा नै अपहरण गरी अनधिकृत व्यक्तिबाट काटिएको पत्र मैले कसरी बुझ्ने ?’ आफुलाई तेस्रोपटक महाप्रबन्धकको जिम्मेवारी दिने काम गैरकानुनी तवरले भएको उनको ठम्याइ छ । त्यसलाई बदर गराउन उनी अदालत गइन् । आफूलाई गोरखापत्रको प्रधान सम्पादकमा नियुक्ति दिने परमादेश माग गर्दै रिट हालिन् । उनको मुद्दामा छिटो फैसला गर्ने भन्दै इजलासले २०७७ मंसिर ८ गतेका लागि सुनुवाइको मिति तोके पनि हालसम्म सुनुवाइ भएको छैन । आफूमाथि तत्कालीन ब्यवस्थापन प्रमुखले निकृष्ट तहको जालझेल र अपमान गरेकाले उनी सो मुद्दा फिर्ता लिने मनस्थितिमा देखिन्नन् । ११ तहमा ४ वर्ष पुरा भएको कारण गत चैत ११ देखि उनी कार्यालय भने गएकी छैनन् । उनलाई प्रबन्ध सम्पादकबाट अवकाश पनि दिइएको छैन । विनियमको परिपालना निमित्त उनले मन्त्रालयमा निवेदन पनि दिएकी रहिछन् । उनी आफूलाई महिला भएकै कारण व्यवस्थापनले विभेद गरी बहिष्करणमा पार्दै प्रधान सम्पादन नै हुन नदिएको ठान्छिन् । आफूलाई जस्तो कसैलाई नहोस् भनी न्यायिक निरूपणको प्रतीक्षामा छिन् । 

( प्रकृति दाहालसँगको कुराकानीमा आधारित )

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>