Successfully Copied

नेपाली ब्रान्ड फैलाउने विदुषी 

शिक्षा पहिलो सर्त हो । त्यसपछि धैर्य, आफ्नो सपनामाथिको विश्वास र दृढताका साथै रिस्क लिन सक्ने क्षमता महिलामा हुनुपर्छ।

मार्केटिङ र ब्रान्डिङ विषय अध्ययन गरेकी विदुषी राणा सानैदेखि पढाइमा अब्बल थिइन् । १६ वर्षमै विवाह भएकाले दुई सन्तान हुर्काउन उनले कुमारी बैंकको जागिर छाड्नुपर्‍यो । त्यसपछि १० वर्षजति घरमै बसिन् । ससुराको निधनपछि ४० वर्षअघि स्थापना गरिएको ‘गोल्ड स्टार जुत्ता’कम्पनीको जिम्मेवारी उनका श्रीमान्को काँधमा आएकाले विदुषीले पाँच वर्षयता ब्रान्डिङ्ग एण्ड मार्केटिङ्ग निर्देशकका रुपमा सघाउँदै आएकी छन् । उनले कम्पनीलाई नयाँ स्वरूपमा मार्केटिङ र ब्रान्डिङ गरिरहेकी छन् । उनकै कारण कम्पनीमा पछिल्लो समय प्रत्यक्ष रूपमा तीन हजारले रोजगारी पाएका छन् । त्यस्तै, नेपालभर ७५ वटा आधिकारिक शोरुम छन् भने भूटान, कतार, बहराइन, अस्ट्रेलिया, जापान, अमेरिकालगायतका देशमा यसको अथोराइज्ड शोरुम खुलेका छन् । पछिल्लो समय युवापुस्तामाझ कम्पनीको उत्पादन लोकप्रिय भएको दाबी विदुषीको छ । उनले भनिन्, ‘स्वदेशी उत्पादनमा युवाको मन बस्यो भने ठूलो धनराशि विदेश जाँदैन जसले राष्ट्रको आर्थिक सबलीकरणमा टेवा पुर्‍याउँछ ।’

अहिले केमा व्यस्त हुनुहुन्छ ?

कम्पनीको मार्केटिङ–ब्रान्डिङमै मेरो बढी समय बितिरहेको छ । 

नेपाली व्यावसायिक क्षेत्रमा महिलाको स्थान र अवस्था कस्तो छ ?

पछिल्लो समय धेरै दिदीबहिनी व्यवसायमा अगाडि बढिरहेकोमा मलाई खुसी लागेको छ । छोरीले पनि पढ्नुपर्छ भन्ने चेतना आइसकेको छ । यसले शिक्षा अनिवार्य बनाइदिएको छ । परिवार, श्रीमान्, समाजबाट महिलाले सहयोग पाउँदैछन् । 

व्यावसायिक क्षेत्रमा महिलाहरूलाई सहभागी गराउन के गर्नुपर्ला ?

शिक्षा पहिलो सर्त हो । त्यसपछि धैर्य, आफ्नो सपनामाथिको विश्वास र दृढताका साथै रिस्क लिन सक्ने क्षमता महिलामा हुनुपर्छ, महिलाहरूलाई सहभागी गराउन धेरै समय लाग्दैन । 

व्यवसायमा महिलालाई नीति–निर्माण तहसम्म पुर्‍याउन के आवश्यक देख्नुहुन्छ ?

श्रीमान् र परिवारबाट सहयोग जरुरी कुरा हो । त्यसपछि राज्यको कानुन महिलामैत्री हुनुपर्छ । राज्यले महिलालाई प्राथमिकतामा राख्नुपर्छ । 

व्यवसायमा आउन चाहने न्युकमरलाई के भन्न चाहनुहुन्छ ?

कडा परिश्रम, आफैंमा विश्वास र आत्मविश्वास, एकपटक असफल हुँदा पनि हार नमान्ने क्षमता आवश्यक छ, कतिपटक लडिन्छ फेरि उठ्न सक्छु भन्ने आँट चाहिन्छ अर्थात् फेरि उठ्ने शक्ति मुख्य कुरा हो । यति भयो भने सफल भइन्छ । 

महिलाका लागि शिक्षा, आरक्षण वा आर्थिक सशक्तीकरणमध्ये कुन मूल कुरा हो ?

शिक्षाविनाको आर्थिक सशक्तीकरण म सम्भव देख्दिन । यी तीन कुरा एक–अर्कामा परिपूरक हुन् । 

नारी हुनुको गर्व केमा छ ? नारीलाई कसरी परिभाषित गर्नुहुन्छ ?

मलाई थुप्रै कुरामा नारी हुनुको गर्व छ । हामीमा धैर्य, सहनशीलता, शक्ति, कडा परिश्रम गर्ने क्षमता छ । नारीको परिभाषा दिनुपर्दा अहिले यो सान्दर्भिक हुन्छ कि हुँदैन तर मेरी हजुरआमा भन्नुहुन्थ्यो–‘नारी भनेका श्रीमान्, छोराछोरी, परिवार, आफ्नो पेसा–व्यवसाय हरेक ठाउँमा आइपर्ने चुनौतीमा पहाड बनेर उभिन सक्ने हुनुपर्छ । कपासले पानी सोसेजस्तै नारीले हरेक दुःख र अप्ठ्यारो अवस्थामा पनि विजय हासिल गर्न सक्ने हुनुपर्छ ।’ तसर्थ नारीलाई परिभाषित गर्नु चानचुने कुरा होइन । 

नारी मुद्दालाई मूलधारमा ल्याई उनीहरूलाई निर्णायक तहमा पुर्‍याउन आवश्यक तत्व के हो जस्तो लाग्छ ?

पछिल्लो समय नेपाली महिला हरेक क्षेत्रमा अघि बढ्दैछन् । पहिले–पहिलेका दिनहरू फर्केर हेर्दा आज सन्तोषको सास फेर्न पाएझैं लाग्छ । अझै आत्मविश्वासी भएर आफ्नो अधिकारबारे बोल्ने र अभिने हुन सक्नुपर्छ । 

फुर्सदको समय कसरी बित्छ ?

त्यति फुर्सदै हुँदैन । यदि त्यस्तो समय पाइहाले अटो बायोग्राफी पढ्छु । ट्राभल गर्न मन पर्छ । परिवारसँग रमाउन पाउँदा खुसी लाग्छ । 

समय व्यवस्थापन कसरी गर्नुहुन्छ ?

जीवनमा केही गर्नुछ भने समय व्यवस्थापन मुख्य साँचो हो । म प्राथमिकताका आधारमा कार्य विभाजन गरी त्यसैमा केन्द्रित हुन्छु । 

आगामी योजनाबारे बताइदिनुस् न ?

कम्पनीलाई नेपालमा नम्बर–वान ब्रान्ड बनाएर विश्वकै कुना–कुनामा पुर्‍याउने योजना छ । 

पाठकका लागि केही सन्देश छ कि ?

नेपाली ब्रान्डलाई माया गरौं, आफू र आफ्नो राष्ट्रियतामा गर्वका साथ बाँचौं । 

मोडल ः विदुषी राणा

तस्बिर ः महेश प्रधान

पहिरन ः कोमो स्टुडियो, लालदरबार

मेकअप एण्ड हेयर ः श्रद्धा थापा मास्के, एक्जिबिट स्टुडियो पानीपोखरी

लोकेसन ः कोमो स्टुडियो, लालदरबार

 Image