Successfully Copied

लेदरमा नेपाली ब्रान्ड

कुनै समय नेपाली उत्पादनलाई ग्राहकहरूले विश्वास गर्न नसके पनि पछिल्लो समय नेपाली उत्पादनप्रति विश्वास बढ्दै गएको ‘द ह्युमन फिट’ का अपरेसन म्यानेजर बिक्की ब्रजाचार्यले बताए ।

जाडो मौसममा छाला (लेदर) को पहिरनको माग बढी हुन्छ । यसले शरीर न्यानो राख्नुका साथै, स्मार्ट लुक्स पनि दिन्छ । काठमाडौं मैतीदेवीस्थित ‘राइनो लेदर्स’ कारखानामा आजभोलि अर्कै रौनक छ । कोही लेदरका सामान बनाउन कोही लुगाको अर्डर लिन त कोही ग्राहकहरूसँग कुरा गर्नर् उत्तिकै व्यस्त देखिन्छन् । कटिङ, सिलाइ बुनाइदेखि डिजाइन दिने काममा व्यस्त देखिन्छन् कालिगढहरू । एकपछि अर्को ग्राहक आउने/जाने भइरहन्छ । लेदरका ज्याकेट/कोट खोज्दै ग्राहकहरू त्यहाँ पुग्छन् । भौतिक र भर्चुअल दुवै रूपमा ग्राहकहरूको अर्डर आउने गरेको कम्पनीले जनाएको छ । बजारमा चलेका र इन्टरनेटमा देखेका आधारमा डिजाइनको अर्डर गर्दै ग्राहक ‘राइनो लेदर्स’ मा पुग्छन् । लेदर महिला–पुरुष दुवैको रोजाइमा पर्ने भएकाले पनि अर्डर बढी आउने गरेको कम्पनीकी ब्रान्ड म्यानेजर एलिसा शाहले बताइन् । उनका अनुसार लेदर दुवै वर्गले उत्तिकै रुचाउँछन् । कम्पनीले ६ वर्षयता लेदरका पहिरन बिक्री गर्दै आएको छ । पछिल्लो समय लेदरको बजार बढ्दै गएको उनले बताइन् । लेदरले व्यक्तित्वलाई फेसनेबल र स्मार्ट देखाउने भएकाले पनि सबैको रोजाइमा लेदर रहेको उनको भनाइ छ । सदाबहार उत्पादन गर्ने भए पनि जाडो सुरु भएलगत्तै नेपाली बजारमा लेदर बढी बिक्री हुने एलिसा बताउँछिन् । 

नेपाली बजारलाई लक्षित गर्दै उपयुक्त मूल्यमा लेदर सामग्री उपलब्ध गराइरहेको कम्पनीको दाबी छ । सामान्यतया नेपालीको रोजाइमा पर्ने लेदरको मूल्य १० हजारदेखि २० हजार रुपैयाँसम्म पर्छ । लेदरका दुई शोरुम मैतीदेवी र दरबारमार्गमा सञ्चालित छन् । एलिसा भन्छिन्, ‘अमेरिका, क्यानाडा र जापानलगायतका देशहरूमा पनि नेपाली ब्रान्ड निर्यात भइरहेको छ ।’ विशेषगरी कम्पनीले सिप लेदर, गोट लेदर र बफ लेदर उत्पादन गर्छ । नेपाली बजारमा भने ज्याकेटका लागि सिप लेदर नै बढी चलेको उनले बताइन् । यो लेदर नरम र स्मार्ट भएकाले पनि धेरैको रोजाइमा परेको छ । अलिकति रफ टप देखिन रुचाउनेले भने बफ लेदर अर्डर गर्छन् । बफ लेदर खस्रो हुने भएकाले पनि रफटपमा राम्रो डिजाइन देखिने उनको भनाइ छ । कम्पनीले लेदर ज्याकेट कोटका अलावा प्यान्ट, स्कर्ट, ब्रिफकेस, डायरीलगायतका सामानहरू उत्पादन गर्दै आएको छ । 

कुनै समय नेपाली उत्पादनलाई ग्राहकहरूले विश्वास गर्न नसके पनि पछिल्लो समय नेपाली उत्पादनप्रति विश्वास बढ्दै गएको ‘द ह्युमन फिट’ का अपरेसन म्यानेजर बिक्की ब्रजाचार्यले बताए । ४० वर्षदेखि छालाका सामान उत्पादन गर्दै आएको कम्पनीले पछिल्लो समय लेदरका ज्याकेटहरू उत्पादन गर्दै आएको छ । बुवाले सुरु गरेको व्यवसाय नै बिक्कीको पारिवारिक व्यवसाय बनेको छ । नयाँ पुस्ताले नयाँ ट्रेन्डअनुसार लेदर ज्याकेटहरूको व्यापार सुरु गरेको हो । यसले व्यापारलाई थप उचाइमा पुर्‍याएको छ । लेदरमा ज्याकेट सँगसँगै कम्पनीले ब्याग, पर्स, बेल्ट उत्पादन गर्दै आएको छ । ज्याकेटमा सिप लेदर बढी प्रयोग हुन्छ भने ब्याग, बेल्ट बनाउनका लागि भने गोट लेदर नै आवश्यक हुन्छ । उनले भने, ‘सिप लेदर नरम र लगाउन सजिलो हुने भएकाले यो ज्याकेट बनाउन प्रयोग हुन्छ भने ब्याग र बेल्टका लागि कडा छाला चाहिने भएकाले यसमा बाख्राको छाला बढी प्रयोग हुन्छ ।’ कम्पनीले विभिन्न सामानउत्पादन गर्दै आएपनि ज्याकेट र ब्यागको भने माग बढी आउने गरेको जनायो । स्वदेशी बजार सँगसँगै कम्पनीले विदेशी बजारमा पनि आफ्ना सामानहरू बिस्तार गरेको छ । बिक्कीका अनुसार कम्पनीको उत्पादनमध्ये ६० प्रतिशत ज्याकेट र ४० प्रतिशत ब्यागको माग बजारमा छ । ज्याकेटको मूल्य पाँच हजारदेखि १४ हजार रुपैयाँसम्म छ । ज्याकेट, कोट, बाइकर ज्याकेट आदि सामानहरू ग्राहकहरूले रुचाएका छन् । बजारमा चलेको डिजाइन बनाइदिन ग्राहकहरूको माग बढी रहेको उनले बताए । लेदरको डिजाइनमा धेरै फरक नहुने उनले जनाए । वर्षौंसम्म पनि डिजाइन चल्ने र टिकाउ हुने भएकाले ग्राहकहरूले लेदर बढी रुचाएको उनको भनाइ छ । लेदरका पहिरनहरू टिकाउ हुने भएकाले पनि ग्राहकहरूले यसमा लगानी गर्न कञ्जुस्याइँ गर्दैनन् । कम्पनीले ग्राहकहरूलाई वारेन्टी पनि दिन्छ । ग्राहकहरूलाई निश्चित ग्यारेन्टी दिँदै रिपेयरको काम पनि कम्पनीले दिने हुँदा ग्राहकहरूलाई लेदरप्रति विश्वास बढ्दै गएको बिक्कीले बताए । ग्राहकहरूको विश्वास जित्दै जमल र क्षेत्रपाटीमा शोरुम सञ्चालन गरिरहेको कम्पनीले पोखरामा आउटलेटसमेत खोलिसकेको छ । आउटलेट खोल्दै विदेशमा समेत बिस्तार गर्ने लक्ष्य कम्पनीको रहेको उनको भनाइ छ । 

लेदर ज्याकेटप्रति विशेषगरी युवावर्गको आकर्षण बढ्दै गएको छ । युवालाई लक्षित गरी लेदर ज्याकेट उत्पादन गर्दै आएको कम्पनी हो–‘ल्याटिडो’ । सात वर्षदेखि यो कम्पनीले पनि लेदरका ज्याकेटहरूको बजार बिस्तार गर्दै आएको छ । परिवारबाट सुरु गरिएको यो व्यवसाय संचालन भएको ३० वर्ष भइसकेको कम्पनीका संचालक आशिष शाहले बताए । उनका अनुसार कम्पनीले पुरानो छालाका सामानमा नयाँ रूप दिनका लागि ज्याकेटको उत्पादन थालेको हो । ‘ल्याटिडो’ ले लेदरका ज्याकेटमा मात्रै आफूलाई केन्द्रित नगरी युवायुवती दुवैलाई लक्षित गर्दै नेपाली साइजका ज्याकेटहरू उत्पादन गरिरहेको छ । विशेषगरी बाइकर ज्याकेट, लङ ज्याकेट, उत्पादन गरेको उनले जनाए । झम्सिखेलमा शोरुम रहेको कम्पनीले २५ जना कालिगढसहित चोभारमा फ्याक्ट्री सञ्चालन गरेको छ । कम्पनीले उत्पादन गरेको ज्याकेटको मूल्य १५ हजारदेखि सुरु हुने गरेको छ । कम्पनीका उत्पादनमध्ये कालो/खैरो रंगको माग बढी हुने गरेको आशिषले बताए । जाडोलाई लक्षित गर्दै ग्राहकहरू न्यानोका लागि भित्र फर राख्न अडरसमेत दिने गरेका छन् । लेदर फर खोल्न र राख्न दुवै सुविधा हुने भएकाले सदाबहार लगाउन मिल्ने उनको भनाइ छ । 

जनशक्तिदेखि कच्चापदार्थको अभाव 

नेपालमा लेदर उद्यम सञ्चालन गर्न धेरै चुनौती भएको एलिसा बताउँछिन् । उनले कम्पनीमा भारतीय कालिगढलाई ल्याएर उद्यम सञ्चालन गरेकी छन् । नेपालमा जनशक्तिको अभाव रहेको उनको भनाइ छ । उनले भनिन्, ‘नेपालमा उद्यम सञ्चालन गर्न कालिगढदेखि जनशक्तिको अभाव छ ।’ पहिलेको समयमा डिजाइनरको समेत अभाव थियो पछिल्लो समय भने कलेजहरूका विद्यार्थीहरूका कारण डिजाइनमा केही सहज भएको उनले बताइन् । जनशक्तिसँगै नेपालमा कच्चापदार्थ उत्पादन नहुने भएकाले समस्या भएको उनको भनाइ छ । उनले कच्चापदार्थ चीन, भारतलगायत विभिन्न देशबाट आयात गर्छन् । कच्चापदार्थसँगै कालिगढ पनि विदेशबाट मगाउनुपर्ने भएकाले नेपाली बजारलाई लेदरका सामान महँगो हुने उनले बताए । ‘उद्यमको मुख्य चुनौती भनेकै स्वदेशमा लेदरका लागि कच्चापदार्थदेखि कालिगढको अभाव नै हो,’ उनले भने । ल्याटिडोले भने डिजाइन ग्राहकले दिएकै आधारमा पहिरन उत्पादन गर्छ । क्षमता र ज्ञान भएका फेसन डिजाइनर अभाव रहेको आशिषले बताए । उनले भने,‘नेपालमा लेदरको डिजाइन गर्ने सक्षम डिजाइनरको अभाव छ ।’

 

ओरिजिनल लेदर कसरी चिन्ने ?

बजारमा अहिले विभिन्न प्रकारका लेदरका उत्पादनहरू पाइन्छन् । विशेषगरी पछिल्लो समय बजारमा शुद्ध लेदर र अर्को मिसावट लेदर रेग्जिन लेदरहरू पाइन्छन् । एलिसाका अनुसार लेदरलाई फक्स, सिन्थेटिक भनेर नक्कली लेदरहरू बजारमा छ्याप्छ्याप्ती पाइन्छन् । यी लेदरजस्तै कपडा हालेर बनाइएका हुन्छन् । बजारमा दुई हजार रुपैयाँदेखिका लेदरका ज्याकेटहरू बिक्री भइरहेका छन् । उनका अनुसार शुद्ध लेदरबाहिर खस्रो र भित्र नरम हुन्छ । यो जनावरको छाला भएकाले यसको गन्ध पनि फरक हुन्छ । नक्कली लेदर रेग्जिन भने बाहिर चिल्लो हुन्छ । यसमा जनावरको छालाको कुनै पनि गन्ध आउँदैन । मूल्यका आधारमा पनि सक्कली र नक्कली थाहा पाउन सकिन्छ । 

लेदरपारखीहरूले भने सक्कली र नक्कली सहजै छुट्याउन सक्छन् । 

 Image