सुप्रियाका हिंसा बोल्ने चित्र

नारी संवाददाता

माघ ५, २०७८ नेपाली समाजमा महिलामाथि विभेद र हिंसा कायमै छ । १६ वर्षीया सुप्रिया पाण्डेले यसैलाई विषयवस्तु बनाई क्यानभासमा उतारेकी छन् । त्यसले उनलाई महिलाविरुद्ध हुने हिंसाबारे थप गहिराइमा पुग्न सजिलो भयो । यसो त यसअघि उनी आमा र हजुरआमाबाट महिलाहरूको अवस्थाबारे थाहा पाउँथिन् । हजुरआमाका कथामा पनि महिला हिंसा नै जोडिएका हुन्थे । कथा सुनेर उनलाई महिलाहरूले आफ्नो जीवन राम्रोसँग बिताउन पाएका छैनन् भन्ने लाग्यो । उनले पहिलो चित्र गर्भवतीको बनाइन् । त्यो चित्रमा पेटभित्र हुर्किरहेको शिशुसँगै उनको भाव पनि व्यक्त गरिएको छ । चित्रमा आमा र शिशुको मनोभाव मात्रै देखाएकी छैनन् समाजमा महिलाविरुद्ध हुने हिंसा र विभेदको सजीव चित्रण गरेकी छन् । दाइजो प्रथादेखि भ्रूण हत्यासम्मको विषयलाई उनी बडो मार्मिक शैलीका साथ चित्रमा प्रकट भएकी छन् । यसैगरी, गृहिणीका नाममा महिलालाई घरमै सीमित राख्ने पितृसत्तात्मक समाजविरुद्ध पनि उनका चित्रले खबरदारी गरिरहेको महसुस हुन्छ । उनले चित्रहरूमार्फत महिला विभेद र हिंसाविरुद्ध आवाज उठाएकी छन् । 

लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान चलिरहँदा उनले ‘महिला हिंसा भ्रूणदेखि घाटसम्म’ शीर्षक दिई तीन दिने प्रदर्शनी गरिन् । प्रदर्शनीमा ३० वटा चित्र राखेकी थिइन् । उनले यी चित्रहरू कहिले बनाइन् भनेर बुझ्न तीन वर्षअघिको भूकम्पको समयलाई सम्झनुपर्ने हुन्छ । भूकम्पको समयमा विद्यालय बन्द भएपछि उनले ब्रस चलाउन थालिन् । उनले भनिन्, ‘भूकम्पका कारण विद्यालय बन्द थियो, सोही समयदेखि नै चित्र बनाउन थालें ।’ भूकम्पको समयमा उनले फरक अनुभव गरिन् । चित्रप्रति उनको रुचि भने सानैदेखि हो । चित्रमा उनको रुचि बुझेर बुवा रवीन्द्र पाण्डेले उनलाई हौसला दिइरहे । परिवारको सहयोगले पनि आफूलाई चित्र कोर्न सहज भएको सुप्रियाको भनाइ छ । सुरुमा उनी प्रकृतिप्रति आकर्षित थिइन् । प्रकृतिलाई थिम बनाएर उनले थुप्रै चित्र बनाइन् । समय बदलिँदै गयो उनले समाजका विषयवस्तु बुझ्दै गइन् । उनले भनिन्–‘म आफै पनि विभेद सहन सक्दिन । त्यसैले पेन्टिङमार्फत नै विभेदविरुद्ध बोलेकी छु ।’ चित्रहरूमा उनले डार्क कलर बढी प्रयोग गरेकी छन् । उक्त रंग प्रयोग गर्नुको कारण खुलाउँदै उनले भनिन्, ‘समाजमा महिलामाथिको हिंसा समाजको कालो पक्ष हो, त्यसकारण पनि डार्क रंग प्रयोग गरेकी हुँ ।’

प्रदर्शनीमा राखिएका ३० मध्ये २८ चित्र बिक्री भए । पाँच हजारदेखि २० हजारसम्मका चित्रहरू बिक्री हुँदा उनी उत्साहित छन् । पेन्टिङबाट उठेको पैसा कर्णालीका बालबालिकालाई आर्ट सामग्री र कला प्रशिक्षणमा खर्चिने उनको योजना छ । उनले भनिन्, ‘कर्णालीका बालबालिकाहरू कलाबाट टाढा छन् । अतः मैले केही सहयोग गर्न खोजेकी हुँ ।’

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>