Successfully Copied

जाडो छल्न कहाँ जाने ?

तराईको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज हो, बर्दिया । अहिले यहाँको मौसम सुख्खा एवं न्यानो हुन्छ । यतिबेला बर्दिया घुम्नका लाागि उपयुक्त हुन्छ ।

अहिले जाडो मौसम छ । दिनहुँ मौसमी तापमान घट्दो छ । यस्तो बेला घुमफिरका लागि कहाँ जाने ? सरल जवाफ हो, न्यानो ठाउँमा । जहाँ पारिलो घाममा बसेर आनन्दले दिन कटाउन सकियोस् । जस्तो कि, कोशीटप्पु, दोमुखा, सौराहा आदि । तराईमा यस्ता थुप्रै गन्तव्य छन् जहाँ घमाइला दिनहरूमा रमाइला पलहरू साट्न सकिन्छ । 

बर्दिया

तराईको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज हो, बर्दिया । अहिले यहाँको मौसम सुख्खा एवं न्यानो हुन्छ । यतिबेला बर्दिया घुम्नका लाागि उपयुक्त हुन्छ । बाघ हेर्नका लागि उपयुक्त यो निकुञ्ज ९ सय ६८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । निकुञ्जको माथिल्लो भाग सल्ला र तराईको धेरैजसो भाग सालको जंगलले ढाकेको छ भने बाँकी ठाउँमा घाँसेमैदान छ । पाटे बाघ, एक सिंगे गैंडा, घोडगधासहित ५६ प्रजातिका स्तनधारी वन्यजन्तु यहाँ बस्छन् । जलचरमा घडियाल गोही, मगर गोही एवं सोंस पाइन्छ । निकुञ्जको बबई उपत्यका अर्को आकर्षण हो । यहाँबाट सूर्योदय र सूर्यास्तको दृश्य पनि अवलोकन गर्न सकिन्छ । थारु समुदायको बसोबास रहेको यो क्षेत्रमा उनीहरूको संस्कृति र रहनसहन नजिकबाट नियाल्न सकिन्छ । 

कसरी पुग्ने ?

बर्दिया पुग्न धेरै गाह्रो छैन । नेपालगञ्जबाट करिब दुई घण्टा गाडीमा हिँडेपछि सहजै पुग्न सकिन्छ । अम्बासबाट १३ किलोमिटर दूरी छिचोलिसकेपछि बर्दिया पुगिन्छ । 

बाटुलीपोखरी

चितवनमा प्राकृतिक पोखरी थुप्रै छन् । तिनै पोखरी हेर्नका लागि बर्सेनि स्वदेश तथा विदेशबाट धेरै पर्यटक आउँछन् । बीसहजारी ताल, राइनो ताल, कमलपोखरी, टाइगर ताल, रानीपोखरी आदिले चितवनलाई थप आकर्षक बनाएका छन् । तीमध्ये बाटुलीपोखरी उचित प्रचार–प्रसार नहुँदा पर्यटकीय सम्भावना प्रशस्त भए पनि ओझेलमा परेको छ । 

करिब २० हेक्टर क्षेत्रफल ओगटेको यो पोखरीको सौन्दर्यले सबैलाई मोहित पार्छ । बाटुलीपोखरीमा डुंगा सयरदेखि सूर्योदय र सूर्यास्तको दृश्यावलोकन गर्न सकिन्छ । चराहरूको बासस्थान रहेको यो क्षेत्रमा विभिन्न प्रजातिका चरालाई नजिकबाट नियाल्न सकिन्छ । साथै जंगली जनावरहरू ओहोर–दोहोर गर्ने बाटो भएकाले जनावहरू पनि देख्न सकिन्छ । 

कसरी पुग्ने ?

भरतपुर महानगरपालिका–१३ मा अवस्थित बाटुलीपोखरी पुग्न सहज छ । काठमाडौंबाट ४ घण्टाको बसयात्राबाट त्यहाँ पुग्न सकिन्छ ।

कोशीटप्पु

‘अर्नाको राजधानी’ र ‘चराको स्वर्ग’ भनिने कोशीटप्पु घुम्नका लागि यो मौसम उपयुक्त मानिन्छ । यतिबेला कोशीटप्पुमा साइबेरिया, रुस, भारत, श्रीलंका, तिब्बतबाट विभिन्न प्रजातिका चराहरू घुम्न आइपुगेका छन् । चराहरू हेर्न चाहनेहरूका लागि यो मौसम निकै उपयोगी हुन सक्छ । यहाँ चराहरू मात्र नभई नेपालमै दुर्लभ मानिएका अर्ना र दुर्लभ डल्फिन पनि पाइन्छन् । कार्तिकदेखि फागुनसम्म अर्ना र चराको दृश्यावलोकनका लागि उपयुक्त मौसम मानिन्छ । 

अरुबेला एकदमै गर्मी हुने यो क्षेत्रमा अहिलेको मौसम ठिक्कको हुन्छ । कोशी नदीको तटमा अवस्थित यो क्षेत्र नेपालको पहिलो ठूलो रामसार क्षेत्र हो । सात नदी मिसिएको सप्तकोशीमा नौका विहारको आनन्द पनि लिन सकिन्छ । यहाँ एउटा टापु पनि छ, श्रीलंका टापु । नदीको बीचमा रहेको यो टापुमा तीन हजार परिवारको बसोबास छ । त्यसका साथै हात्तीमा चढेर गाउँ घुम्दै त्यहाँको रीतिरिवाज, संस्कृति, रहनसहनबारे हेर्न र बुझ्न सकिन्छ । 

कसरी पुग्ने ?

कोशीटप्पु विराटनगरबाट करिब ५० किलोमिटर उत्तर–पश्चिम र धरानबाट करिब ४० किलोमिटर पश्चिम–दक्षिणमा पर्छ । यहाँ पुग्न दुईवटा बाटा छन् । एउटा झुम्का र अर्को चतरा हुँदै कोशीटप्पु पुग्न सकिन्छ । यहाँ पुग्नका लागि यातायातको सुविधा सहज छ । हवाई यात्रामा विराटनगर विमानस्थल उत्रेर त्यहाँबाट गाडीमा कोशीटप्पु पुग्न सकिन्छ । अर्को मार्ग सप्तरी सदरमुकाम राजविराजसम्म हवाईजहाजमा यात्रा गरी त्यहाँबाट स्थानीय माइक्रोबस चढेर कोशीटप्पु पुग्न सकिन्छ । 

दोमुखा 

झापा जिल्लास्थित दोमुखामा यतिबेला घुम्नका लागि आउनेदेखि पिकनिक खानेसम्मको बाक्लो भीड देखिन्छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण यो ठाउँलाई वरिपरिबाट डाँडाकाँडाले घेरेर राखेका छन् । अविरल वग्ने माईखोलाले यसको सुन्दरता थप बढाइदिएको छ । नदीको किनारमा कृत्रिम उद्यान यहाँका थप आकर्षण हुन् । यहाँ बालबालिकालाई लक्षित गरी ‘चिल्ड्रेन पार्क’ समेत बनाइएको छ । दोमुखा फलफूल तथा कृषि उत्पादनका साथै धार्मिक हिसाबमा पनि प्रसिद्ध छ । यहाँ घुम्न आउने पर्यटकले वैष्णव देवीको दर्शन गर्न पाउँछन् । 

विशेषगरी यो ठाउँमा घुम्नका लागि यही मौसम उपयुक्त मानिन्छ । त्यहाँका आसपासका होटल एवं रेस्टुराँमा कनकाई नदीमा पाइने माछा, घोँगी, गँगटाको परिकारको स्वादसमेत चाख्न पाइन्छ । 

कसरी पुग्ने ?

झापाको शिवसताक्षी नगरपालिका–१० मा पर्ने दोमुखा पुग्न धेरै गाह्रो पर्दैन । पूर्व–पश्चिम राजमार्गमा पर्ने यो क्षेत्र पुग्नका लागि झापाको विर्तामोडसम्मको यात्रा गर्नुपर्छ । हवाईमार्गबाट जान चाहनुहुन्छ भने चन्द्रगढी एयरपोर्टबाट पुग्न सकिन्छ । 

 Image