अस्तित्व

नारी संवाददाता

माघ ७, २०७८

रेखा यादव 

 

शारदा कोठाभित्र प्रवेश गर्छिन् जहाँ भास्कर पलङमा उत्तानो परी सुतिरहेका हुन्छन् । भास्करलाई सुतेको देखेपछि शारदा फर्कन खोज्दा पलङको डन्डामा ठोक्किन पुग्छिन् अनि भास्करका आँखा खुल्छन् । भास्कर, ‘शारदा किन फर्किएकी ?’

शारदा साडीको सप्को अगाडि ल्याउँदै भास्करतिर फर्किन्छिन् ।

शारदा, ‘होइन, हजुर । हजुर सुतिरहनुभएकोले निद्रा बिथोलिन्छ कि भनेर ?’

त्यत्तिकैमा भास्कर हातले संकेत गर्दै उनलाई आफू नजिक आउन अनुरोध गर्छन् ।

भास्कर, ‘आऊ शारदा, मेरो नजिक बस ।’

शारदा बिस्तारै अगाडि बढ्छिन् र भास्करको बायाँपट्टि पाउ (खुट्टा) नजिक बस्छिन् । 

भास्कर खोक्दै बिस्तारै बोल्छन्, ‘शारदा किन पाउमा बसेकी मेरो छेउमा बस ।’ शारदाको आँखाबाट आँसु झर्न थाल्छन् । उनले मसिनो स्वरमा भन्छिन्, ‘हजुरको पाउ नै मेरो स्वर्ग हो । म जीवनभर हजुरको चरणमा बस्न चाहन्छु ।’

भास्कर हल्का शिर उठाउँदै, ‘शारदा आऊ न फेरि बस्न पाउँला कि न पाउँला ?’

शारदा पलङको छेउमा राखेको स्टुल तान्दै भास्कर पल्टेको पलङको देब्रेपट्टि बस्छिन् । भास्कर शारदाको हात समाउँदै आफ्नो मुटुमाथि राख्छन् ।

भास्कर, ‘शारदा मलाई माफ गर ।’ यत्ति के भनेका थिए, शारदाका आँखाबाट आँसु झरे ।

भास्करका कुरा सुनेर शारदा छक्क परिन् । भास्करको आँसु पुछ्दै भावुक स्वरमा भनिन्, ‘के भो हजुर ? मबाट कुनै गल्ती त भएन ? किन यस्तो कुरा गर्नुभएको हो ?’

शारदा बोलिरहँदा भास्करका आँखाबाट आँसुका धारा बग्न थाले । भास्करले शारदाको हात समाएर भने,‘शारदा मलाई माफ गर । जीवनभर म केवल आफ्नै निम्ति बाँचें । आना आमाबुवाका निम्ति मात्र सोचें ।’

शारदा, ‘त्यसो होइन हजुर । हजुरले पनि मलाई माया गर्नुभएकै छ । मलाई त्यो भन्दा बढी अरु केही चाहिएको छैन । शारदाको गालामा प्रेमले स्पर्श गर्दै ‘शारदा ! म तिम्रो दोषी हुँ । तिमीमाथि मैले अन्याय गरेको छु । तिमी छोरी बन्यौ, तिमी दिदीबहिनी बन्यौ, तिमी श्रीमती बन्यौ, तिमी बुहारी बन्यौ र तिमी श्रीमती शारदा भास्कर त्रिपाठी पनि बन्यौ तर तिमीलाई शारदा शर्मा रहन दिइन । तिम्रो अस्तित्वमाथि प्रहार गरें, मलाई माफ गर ।’

शारदाले झुकेको शिरलाई उचाली भास्करको छातीमा राखिन् । भास्करको मुटु जोर–जोरले धड्किरहेको थियो । मानौं त्यो कोठामा अरू आवाज शून्य भएछ । केवल भास्करको मुटुको ढुकढुकी मात्र सुनिन्छ ।

भास्कर बोल्दै जाँदा शारदाका आँखामा अतीतका पानाहरू पल्टिन थाले । करिब २२ वर्षकी युवती, नीलो ट्रयाकसुट, सेतो जुत्ता लगाएकी, एक हातमा हक्की र अर्को हातमा ट्रफी लिई दौडँदै कोठाभित्र प्रवेश गरिन्, ‘बाबा... बाबा’

बाबा, ‘ओहो मेरी छोरी आयौ, ‘छोरी कोही अरु होइन शारदा हुन्छिन् । उनी बाबाकी बहादुर छोरी मात्र होइन जिल्लामै बहादुर थिइन् । 

शारदा, ‘लभ यु बाबा ।’ शारदाको निधारमा चुम्दै, ‘लभ यु छोरी, तिमीले गोल्ड मेडल पाएर आफ्नो पहिचान बनायौ । आफ्नो नाम संसारभरि फैलाएर हाम्रो शिर उचो बनायौ । अझै तिम्रो नाम फैलिएको देख्न पाऊँ ।’

शारदा खुसी हुँदै, ‘बाबा अब हाम्रो खेल स्टेट लेभलमा हुँदैछ । केही दिनमै फाराम खुल्दैछ ।’ त्यहीँ उनकी आमाको प्रवेश हुन्छ, ‘हुन्न... हुन्न, नानी । तिमीले स्नातकोत्तर (डिग्री) पास पनि गरिसक्यौ, मेडल पनि ल्याइसक्यौ, अब विवाह गर्ने बेला पनि भइसक्यो । तिमीले घर–गृहस्थीतिर ध्यान दिनुपर्छ ।’

शारदा, ‘आमा अहिले नाइँ । अहिले गेम खेल्नु छ । आफ्नो पहिचान बनाउनु छ, प्लिज आमा–बुवा केही त बोल्नुस् ।’ बाबा मौन हुन्छन्, केवल सुनिरहन्छन्, कुनै प्रतिक्रिया दिन्नन् ।

आमा, ‘छोरी बुझ हामी तिम्रा शत्रु होइनौं । तिम्रा लागि नै भनेका हौं । राम्रो घर, राम्रो वर छ, तिमीले राज्य गर्नेछौ । यसै पनि पराइ धनलाई धेरै दिन राख्न हुन्न छोरी । मान हाम्रो कुरा । तिमी विवाह गरेर पनि खेल्न सक्छ्यौ ।’

आमाको ढिपीका अगाडि कसैको केही चल्दैन । शारदासँग आमा–बुवाको कुरा मान्नुबाहेक कुनै विकल्प हुन्न । अन्ततः शारदाको लगनगाँठो इन्जिनियर भास्करसँग बाँधिन्छ । विवाहको केही दिनपछि विवाह दर्ता गराउन नयाँ जोडी जिल्ला प्रशासन कार्यालय पुग्छ । विवाह दर्ता फाराम भर्न लाग्दा शारदाले आफ्नो नाम शारदा शर्मा लेखिन् । भास्करले फाराम देखेपछि ‘शारदा तिमीले लेखेको गलत भयो, तिमी अब विवाहित हौ, ल्याऊ म तिम्रो फाराम भरिदिन्छु ।’ फाराममा शारदाको नाममा त्रिपाठी थप्छन् । शारदा शर्माको सट्टा शारदा भास्कर त्रिपाठी लेख्छन् । शारदा केही बोल्दिनन् तर उनको आँखाबाट आँसु झर्छन् । उनले आफ्ना सपना सिसाझैं टुक्रा–टुक्रा भएर भुइँमा खसेको देखिन् ।

स्याँ–स्याँ गरेको भास्करको आवाज शारदाको कानमा ठोक्किन्छ । शारदा झसङ्ग हुन्छिन् ।

भास्कर, ‘मलाई माफ गर म तिम्रो दोषी हुँ । म न तिम्रो प्रेमी बन्न सकें न तिम्रो पति । न त तिम्रो सच्चा साथी नै बन्न सकें । तिम्रो अस्तित्व नै नष्ट गरें पुरुषत्वको अहममा । शारदा रुँदै भास्करको छातीमा लतपतिन पुग्छिन् ।

शारदा, ‘त्यसो न भन्नुस्, म एउटी स्त्री हुँ जसको धर्म पतिको सेवा हो । स्त्रीको शिक्षाको प्रारम्भ नै सेवा, त्याग, बलिदानबाट हुन्छ । उच्च शिक्षा, समर्पण एवं त्याग नै हाम्रो जीवन हो । अब म ५० वर्षकी भएँ, पहिले बाबाकी छोरी, अहिले हजुरकी श्रीमती । सपना भनेको सपनै हो । कसैको साकार हुन्छ कसैको हुँदैन । तर पनि म खुसी छु । समय अघि बढ्दै गयो हक्कीको साटो डाडु–पन्यू, दुई चुल्ठी केश एउटा जुरोमा परिणत भयो । ट्रफीको सट्टा दुई छोरा र दुई छोरी छन् । मलाई माया गर्ने पति......।’ उनी निरन्तर बोलिरहन्छिन् । अचानक कोठाभित्र सुनसान हुन्छ । कुनै आवाज सुनिन्न । शारदा भास्करको अनुहारमा हेर्छिन् । भास्करको ढुकढुकीको कुनै आवाज हुँदैन । भास्करका आँखा एकदम शून्य र मुख खुला देखेर शारदा मौन हुन्छिन् । केवल उनका आँखाबाट आँसु बगिरहन्छन् ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>