Successfully Copied

स्पष्टवक्ता नम्रता

नम्रता श्रेष्ठ नेपाली चलचित्र क्षेत्रमा सम्भावना बोकेकी अभिनेतृ हुन् । दर्जनौं ‘र्‍याम्प शो’ मा मोडलिङ गर्दै चलचित्रमा प्रवेश गरेकी उनले ‘रुदाने’, ‘आस्था’, ‘गाँठो’, ‘जानी–नजानी’, ‘माछा–माछा’ आदि चलचित्रमा अभिनय गरिसकेकी छन् ।

नम्रता श्रेष्ठ नेपाली चलचित्र क्षेत्रमा सम्भावना बोकेकी अभिनेतृ हुन् । दर्जनौं ‘र्‍याम्प शो’ मा मोडलिङ गर्दै चलचित्रमा प्रवेश गरेकी उनले ‘रुदाने’, ‘आस्था’, ‘गाँठो’, ‘जानी–नजानी’, ‘माछा–माछा’ आदि चलचित्रमा अभिनय गरिसकेकी छन् । उनले दर्जनजति विज्ञापन र म्युजिक भिडियोमा समेत अभिनय कला पस्किसकेकी छन् । पर्सा–वीरगंजका रमेश र पूजा श्रेष्ठका चार छोरीमध्ये कान्छी नम्रता ‘सोसल वर्क’ विषयमा स्नातक हुन् । बाल्यकालदेखि नै बहुप्रतिभाकी धनी उनले स्कुले जीवनमै गायन, नृत्य, वादविवाद, वक्तृत्वकला आदि अतिरिक्त कृयाकलापमा सहभागी भएर थुप्रै पुरस्कार जितिसकेकी छन् । ‘स्कुल पढ्दाताका प्याजेन्टमा भाग लिएकी थिएँ, त्यहाँ भविष्यमा के बन्छ्यौ भन्ने प्रश्न सोधिएको थियो, मैले एअर होस्टेस बन्ने उत्तर दिएकी थिएँ, त्यो त पूरा हुन सकेन तर नेम–फेम कमाउने क्षेत्रमै स्थापित भएकी छु’ नम्रताले भनिन्, ‘विदेशमा रहेका मेरा तीन दिदी असाध्यै फेसनेवल हुनुहुन्छ, उहाँहरूबाट म निकै प्रभावित भई यो क्षेत्रमा आएकी हुँ । यसो त सात–आठ कक्षामा पढ्दा मैले हेर्ने फेसन टिभीमा मोडलहरूको कन्फिडेन्ट र प्रस्तुतीकरणले पनि यो क्षेत्रमा आउन सघायो ।’ बुवाको चाहना छोरी चिकित्सक बनोस् भन्ने थियो । नम्रता भने जीवनमा रमाइलो र खुसी लाग्ने काम गर्नुपर्छ भन्ने मान्यता बोकेकीले त्यता गइनन्, अभिनय क्षेत्रमै रमाउन थालिन् । उनी स्पष्टवक्ता हुन्, चित्त नबुझेको कुरामा बोलिहाल्ने उनको बानी छ । प्रस्तुत छ उनीसँग गरिएको संवादको सम्पादित अंश :

 

हाल के गर्दै हुनुहुन्छ ?

लकडाउनपछि दुईवटा म्युजिक भिडियोमा काम गरें । पछिल्ला दिनहरूमा म 

आफ्नो ‘फिजिकल फिटनेस’ मा बढी केन्द्रित छु । राम्रो आहार–विहार, सही तरिकाको व्यायाम, सकारात्मक र सिर्जनात्मक सोचद्वारा आफ्नो शरीर र दिमागलाई राम्रो बनाउने कसरतमै मेरा दिनहरू बित्दैछन् । 

ग्ल्यामर क्षेत्रलाई सम्मानित बनाउन के आवश्यक देख्नुहुन्छ ?

कुनै पनि क्षेत्र राम्रो र सम्मानित हुन त्यस क्षेत्रमा दक्ष, विज्ञ र सीप भएका मानिसको उपस्थिति हुनुपर्छ । यी कुरामा सम्झौता हुनुहुँदैन ।

चलचित्र क्षेत्रमा ‘न्युकमर’ लाई स्थापित हुन के गर्नुपर्छ ?

हरेक क्षेत्रमा राम्रा र नराम्रा व्यक्तिहरू हुन्छन् । एउटा व्यक्ति र उसको कामका कारण पूरै इन्डस्ट्रीलाई असर पार्न सक्छ । तर, यही क्षेत्रमा जम्नु छ भने आफू स्वयं अडान लिन सक्ने क्षमतावान् हुन जरुरी छ । साथै कामका लागि आवश्यक सीप, क्षमता र दक्षता लिएरै आउनुपर्छ । यति हुँदाहुँदै पनि चुनौती आए चुप लागेर वा सहेर बस्नु हुँदैन, आवाज उठाउन सक्नुपर्छ । 

तपाईंमा भएको कुन क्षमताले आज यहाँ हुनुहुन्छ ?

म जस्तोसुकै वातावरणमा पनि घुलमिल भएर काम गर्न सक्छु, कडा परिश्रम गर्न सक्छु । यस क्षेत्रका लागि चाहिने कला र क्षमता लिएर आएकी हुँ । कामप्रतिको पूर्ण जिम्मेवारी र दृढता ममा छ । 

तपाईं जस्तै केही गर्न चाहने युवाका लागि के सुझाव छ ?

अरुबाट प्रभावित हुनु नराम्रो कुरा होइन । म पनि कसैबाट प्रभावित भएरै अगाडि बढेकी हुँ । तर, त्यो प्रभावको गलत प्रयोग गर्नुभएन । आफूभित्रको क्षमता पहिल्याएर त्यसप्रतिको लगाव र प्यासन भयो भने युवाले चाहेमा हरेक कुरा सम्भव छ ।

‘नारी’ शब्दलाई कसरी व्याख्या गर्नुहुन्छ ?

कोमल तर एकदमै शक्तिशाली ।

नारी सशक्तीकरण र विकासका लागि के आवश्यक ठान्नुहुन्छ ?

शिक्षा र आर्थिक सशक्तीकरण अनि प्रशिक्षण मुख्य कुरा हुन् जस्तो लाग्छ । यसका लागि सरकार सहयोगी भइदिनुपर्छ । फेरि शिक्षा र प्रशिक्षण दिएर मात्र पुग्दैन उनीहरूलाई रोजगारी दिएर आर्थिक आम्दानीका लागि बाटो खोलिदिने काम पनि सरकारले नै गर्नुपर्छ ।

तपाईंका रुचिहरू के–के छन् ?

मलाई ‘वर्कआउट’ गर्न असाध्यै मनपर्छ । नाच्न, गाउन र यात्रा गर्न रमाइलो लाग्छ ।

पुगेकामध्ये सबैभन्दा मन परेको ठाउँ ?

नेदरल्यान्डको एम्सटर्ड्याम सहर ।

मनपर्ने को–स्टार ?

मैले जो–जोसँग काम गरें सबै सहज र सहयोगी हुनुहुन्छ । नाजिर हुसैन, दिव्यदेव, दयाहाङ, सौगात मल्ल दाइसँग काम गर्दा निकै मोटिभेटेड भएँ ।

आगामी योजना के छ ?

अब केही दिनमै दुईवटा चलचित्रका लागि सुटिङ सुरु हुन्छ । सन् २०१७ मा होल्ड भएको ‘रुदाने’ चलचित्रको केही प्रतिशत काम बाँकी नै छ । त्यसलाई सक्नुपर्ने छ । लामो समयदेखि बाहिर गएकी छैन । सन् २०२२ मा केही मुलुक एक्सप्लोर गर्ने योजना पनि छ ।

पाठकका लागि केही सन्देश छ कि ?

आफू खुसी भएर अरूलाई पनि खुसी बनाउन सक्दो प्रयास गरौं । आफ्नो इच्छालाई नमारी जे गर्दा खुसी लाग्छ त्यो गरेर खुसी हुनुहोस् भन्न चाहन्छु । 

पहिरन : सुष्मा श्रेष्ठ, वुमन्स प्लानेट घण्टाघर दरबारमार्ग

लोकेसन : ह्यात प्लेस काठमाडौं, ताहाचल

हेयर तथा मेकअप : रश्मि श्रेष्ठ, ग्लिटर्ज स्टुडियो टेकु

तस्बिर : महेश प्रधान

 Image