Successfully Copied

आशा थपलिया, सञ्चारकर्मी

पोखरीमा पौडिने बानी परेको मानिस एकैपटक समुद्रमा डुबुल्की लगाउँदा कस्तो हुन्छ होला, सुरुमा त्यस्तै अनुभव भयो ।

भारतीय राजधानी नयाँ दिल्लीमा एक दशकसम्म रहेर नेपाली संचारमाध्यमका लागि पत्रकारिता गर्ने आशा थपलियासँग गरिएको संवाद :

भारतमा पत्रकारिता गर्दाको अनुभव कस्तो रह्यो ?

पोखरीमा पौडिने बानी परेको मानिस एकैपटक समुद्रमा डुबुल्की लगाउँदा कस्तो हुन्छ होला, सुरुमा त्यस्तै अनुभव भयो । आर्थिक पत्रकारिताबाट नेपाल र भारत दुई मुलुकबीचको राजनीतिक, कूटनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिकलगायतका सबै विषयलाई एकै पटक हेर्नु र 

रिपोर्टिङ गर्नुपर्ने चुनौती थियो । सूचनामा पहुँच, नयाँ स्रोत बनाउनका लागि गर्नुपर्ने संघर्ष एकातिर, अर्कातिर भारतीय विदेश मन्त्रालयको सूचना प्रवाह गर्ने प्रणालीलाई बुझ्न पनि समय लाग्यो । समग्रमा भन्नुपर्दा एउटा पत्रकारका रूपमा नेपाललाई हेर्ने भारतको दृष्टिकोण बुझ्ने मौका पाइयो ।

नेपाल र भारतमा महिला पत्रकारको अवस्था समग्रमा कस्तो छ ?

दुवै देश पित्तृसत्तात्मक भएकाले महिला पत्रकारको अवस्थामा भने खासै फरक छैन । क्षेत्रफल तथा जनसंख्याका आधारमा तुलना गर्दा भारतमा विषयगत चुनौतीहरू बढी छन्, सँगसँगै गुणस्तरीय शिक्षाबाट लाभान्वित हुने अवसर छ त्यहाँ । तर, रिपोर्टिङ गर्दा र एउटा सञ्चारगृहभित्र प्रतिस्पर्धा त्यहाँ पनि कम छैन । भारत विशाल देश भएकाले छिनछिनमा इस्युहरूको प्राथमिकता परिवर्तन भइरहन्छ तुलनात्मक रूपमा । तर आक्रामक रूपमा आफ्ना हक–अधिकारका कुरा राख्न डराउँदैनन्–महिला पत्रकारहरू । 

नेपालको पत्रकारितालाई कसरी विश्लेषण गर्नुहुन्छ ?

नेपालको राजनीतिक परिवर्तनमा पत्रकारिताको महत्वपूर्ण योगदान छ । तर पनि मूलधारका पत्रपत्रिकाहरूको एजेन्डामा आमूल परिवर्तन आउन सकेन । त्यसका पछाडि सत्तामा रमाउने समूहको ठूलो भूमिका छ । सबै राजनीतिक पार्टीले सिद्धान्त र आदर्शका कुरा गर्छन् तर आमजनताका साझा समस्याको समाधान गर्न चाहँदैनन् । संचारगृह र सत्ताशक्तिको आडमा रमाउने यस्ता समूहबीच संघर्ष छ । त्यसैले प्रायः राजनीतिक समाचार नै ब्यानर समाचार बन्छन् । केही परिवर्तन त भएको छ तर यतिले मात्र पुग्दैन ।

नेपाली पत्रकारितामा महिलाहरू कसरी अघि बढेका हुन् ?

वास्तवमा पुरुष निर्णायक रहेको संचारगृहले प्राथमिकता दिएर नेपाली पत्रकारितामा महिला पत्रकारहरू अगाडि आएका होइनन् । उनीहरू आफ्नो सीप र क्षमता प्रमाणित गरी अवसर खोज्दै अघि बढेका हुन् (यसमा केही अपवाद हुन सक्छन्) । पछिल्लो समय निर्णायक तहमा पुगेका महिला पत्रकारहरू पनि छन् । तर निरन्तरता दिन सक्नु एउटा ठूलो चुनौती हो । भारतमा मूलधारका पत्रिकाका प्रधान सम्पादकमा पुरुषहरूकै बाहुल्यता छ । तर राजनीतिक, आर्थिक, कूटनीतिक, अन्तर्राष्ट्रिय बिटहरूमा नेतृत्व गरिरहेका महिलापत्रकारको संख्या भने उल्लेख्य छ ।

तपाईंको लेखनको कडी के हो ? के–कस्ता विषय उठान गर्न मन लाग्छ ?

फिचर राम्रो लेख्न सक्छु । विभिन्न क्षेत्रका महिलाको प्रगति र उनीहरूले बनाएका पहिचानको अन्तर्य लेख्न, सामाजिक विभेद तथा समस्याका बारेमा पनि आवाज उठाउन मन लाग्छ । सामाजिक कुरीतिका विषयमा पनि कलम चलाउन मन लाग्छ । 

खोजमूलक लेखनका लागि सामाजिक सञ्जाललाई कत्तिको उपयुक्त माध्यम मान्नुहुन्छ ?

सामाजिक सञ्जाललाई मात्र आधार बनाएर त पक्कै खोजमूलक पत्रकारिता गरिँदैन । यो त एउटा घटनाको आवरण मात्र हो तर सत्यसम्म पुग्ने काम भने सजिलो हुँदैन । खोजमूलक पत्रकारिता एउटा जटिल विधा हो । त्यसमा निकै चुनौतीको सामना गर्नुपर्ने हुन्छ ।

अहिले के गर्दै हुनुहुन्छ ?

कुनै संस्थासँग आबद्ध नहुन्जेल स्वतन्त्र रूपमा काम गरिरहेकी छु । भर्खरै किताब जात्रा, नयाँ दिल्ली संस्करणको संयोजकका रूपमा आबद्ध भएकी थिएँ । आमसञ्चारको दायराभित्रकै कुनै न कुनै विधासँग जोडिइरहेकी छु ।

नारी बौद्धिक हुनका लागि के–कस्ता कुरा सहयोगी हुन सक्छन् ?

नारी हुन् अथवा पुरुष, बौद्धिक हुनका लागि व्यक्तिको स्वविवेक नै सहयोगी हुने हो जस्तो लाग्छ । त्यसलाई तिखार्न व्यक्तिले आफ्नो शैक्षिक ज्ञानबाट थप सहयोग लिन सक्छन् । तर नारी सशक्तीकरणका लागि आर्थिक स्वतन्त्रता, गुणस्तरीय शिक्षा एवं प्रशिक्षणको पनि त्यत्तिकै आवश्यकता हुन्छ ।

 Image