Successfully Copied

पाटनढोकामा ‘आमाको थैली’ 

ललितपुरकी चित्रकार सौरगंगा दर्शनधारीकी आमाले पटुकीमा थैली राख्थिन् । त्यो थैलीमा राखिएका चानचुने पैसाको आवाजले उनलाई बाल्यकालमा छुट्टै भाव दिन्थ्यो ।

ललितपुरकी चित्रकार सौरगंगा दर्शनधारीकी आमाले पटुकीमा थैली राख्थिन् । त्यो थैलीमा राखिएका चानचुने पैसाको आवाजले उनलाई बाल्यकालमा छुट्टै भाव दिन्थ्यो । त्यसो त पछिल्लो समय थैलीको चलन हराइसकेको छ । फेरि उनले पनि आमाको जस्तै थैली कहिल्यै बोकिनन् । त्यसैले नयाँ पिढीले थैली चिन्ने कुरै भएन । तर, थैलीप्रतिको आफ्नो गहिरो मनोभाव समेट्दै पुसको अन्तिम साता उनले ललितपुरस्थित पाटनढोकामा प्रिन्टमार्फत थैलीको शृंखला प्रदर्शनी गरिन् । त्यसको शीर्षक राखेकी थिइन्, ‘आमाको थैली’ । प्रदर्शनीमा उनले विभिन्न रंग र आकारका थैलीको चित्र प्रस्तुत गरेकी थिइन् । प्रिन्ट चित्रकला र पर्फमेन्स आर्टमा औधी रमाउने उनी थैलीसँगै मानव जीवनका कथाहरूको एउटा शृंखला पनि प्रदर्शनीमा प्रस्तुत गरेकी थिइन् । त्यसको शीर्षक भने उनले ‘अ साइकल अफ लाइफ’ राखेकी थिइन् । त्यसमा उनले मानव जीवनका विभिन्न आयामलाई पस्केकी थिइन् । कथा शृंखलामा उनले पाटन दरबारको परिदृश्यलाई समेटेकी रहिेछन् । पाटन आउने आगन्तुकहरू चलायमान भइरहने तर स्थानीय भौगोलिक अवस्था उस्तै रहने गरेको विषयवस्तुलाई आफूले चित्रमार्फत उतारेको बताइन् ।

यसअघि ‘सिद्धार्थ आर्ट ग्यालरी’ मा उनले दुईवटा एकल कला प्रदर्शनी गरिसकेकी छन् । साथै, ‘एसियन आर्ट बंगलादेश’ र ‘काठमाडौ अन्तर्राष्ट्रिय कला प्रदर्शनी’ लगायतमा उनले सहभागिता जनाइसकेकी छन् । विभिन्न अवार्ड प्राप्त गरेकी सौरगंगा बंगलादेशबाट ‘प्रिन्ट मेकिङमा’ स्नातकोत्तर हुन् । पछिल्लो समय ललितकला क्याम्पसमा अध्यापकका रूपमा समेत उनी सक्रिय छिन् ।

 Image