आमाको माया 

नारी संवाददाता

माघ २८, २०७८

दीपेन्द्र दोङ तामाङ

 

इन्चोन एयरपोर्टबाट उडेको जहाजभन्दा तीव्र गतिमा रोजी श्रेष्ठको मन उडिरहेको थियो । यसो त उनको मन पहिले नै उडेर नेपाल पुगिसकेको थियो । आमा न परिन् आफ्नो मुटुको टुक्राजस्ती छोरीका लागि पाँच वर्षसम्म हृदयमा जमाएर राखेको वात्सल्यप्रेमको बाँध फुटाउन उनी आतुर थिइन् । उनले छोरी रोहितालाई दुई वर्ष एक महिनाकी हुँदा नै छोडेर गएकी थिइन् । विदेशमा हुँदा फोटो र कहिलेकाहीँ मेसेन्जरमा लाइभ कलमा देखे पनि छोरीलाई अँगालोमा बेरेर चुम्न आमा मन व्यग्र थियो । 

‘अब हाम्रा दुःखका दिन गए छोरी । तिम्री आमाले पाँच वर्षमा अनेक हन्डर खाएर भए पनि कम्तीमा काठमाडौंमा सन्तोषप्रद जिन्दगी बिताउन सक्ने भएर फर्किंदै छे’ रोजीले आफ्नो काखमा लुटपुटिन आएकी छोरीलाई सुम्सुम्याउँदै भनिन् ।

छोरीले आमाको आँखामा आँखा जुधाउँदै सोधिन्, ‘आमा धन ठूलो कि मन ?’

छोरीको यो अप्रत्यासित र बेप्रसंगको प्रश्नले रोजी अलमलमा परिन् । के उत्तर दिने भन्ने सोंचमा डुब्दै थिइन् उनी । त्यहीबेला उनलाई कसैले आवाज दिएर घच्घच्यायो । उनी झसंग भइन् । एयर होस्टेजले लन्च कन्फर्म गर्न उठाएकी रहिछन् । आफूसँगैको सीटमा बसेका नेपाली यात्रुले मोबाइलमा अशोक दर्जीको ‘धनविनाको मन ठूलो कि मनविनाको धन’ भन्ने गीत सुनिरहेका रहेछन् । एयरपोड कानमा लगाएको भए पनि ‘भोलुम’ ठूलो भएकाले बाहिरै सुनिएको थियो । 

आफ्नो तर्कना थाहा पाएर रोजी आफैं मुसुक्क हाँसिन् । एयर होस्टेजलाई भेज खानाको अर्डर गरिन् । विमान गन्तव्यतर्फ अघि बढिरहेको थियो । रोजी भने फेरि अतीततर्फ फर्किन् । 

रोजी त्यसदिन निकै कठोर निर्णय गर्न बाध्य भएकी थिइन् । उनले करिब तीन रातको तर्क–वितर्कपछि श्रीमान् हिमाल बस्नेतसँग सम्बन्धविच्छेद गर्ने निर्णय गरेकी थिइन् । दुई वर्ष अफेयर्स अनि झन्डै एक वर्ष लिभिङ टुगेदर बसेर हिमालसँग विवाह गरेकी रोजीले अन्तर्जातीय विवाहका कारण यसै पनि ठूलो संघर्ष गर्नुपरेको थियो । त्यसमाथि हिमालको आफ्नै साथी नीलिमासँग अफेयर्स छ भन्ने थाहा पाएपछि 

रोजीले अब भने सम्झौता भन्ने शब्द नै बिर्सिन् । जीवनभरलाई मनले रोजेको साथीले नै धोका दिएपछि रोजीलाई उसको सम्पत्ति माटोसरह थियो । त्यसैले स्वाभिमानी उनले छोरी आफैंसँग राख्ने तर श्रीमान्बाट कुनै अंश या सम्पत्ति दाबी नगर्ने सहमतिमा नै ल्याप्चे लगाएकी थिइन् । 

आफ्नो यस निर्णयमा उनी निकै खुसी थिइन् । नहोऊन् पनि कसरी ? आफ्नो कलेजोको टुक्रा छोरी उनीसँगै रहने भएपछि । 

विस्तारै दिन बित्दै गए । रोजीलाई अब आफ्नोभन्दा पनि छोरीको भविष्यको चिन्ता बढी लाग्न थाल्यो । छोरी ठूली भएपछि उनको पालनपोषणलाई लिएर भोलि आफूमाथि प्रश्न नगरून् भन्नेमा सचेत थिइन् रोजी । तर बोर्डिङ स्कुलको प्राइमरी टिचरको जागिरले उनलाई कहाँ विश्वस्त बनाउन सक्थ्यो र ?

‘ओइ, रोजी π ‘कोरियाले इपिएस भिसामा नेपाली कामदार लैजाने भएछ नि । अलिअलि खेती गर्न जाने पुग्छ रे । तलब न्यूनतम डेढ लाख रुपैयाँ हुन्छ रे । तँ त ट्यालेन्ट छेस्, ट्राइ गर्ने कि ?’

एकदिन छेमाले सुनाइदिएको यही खबर पछ्याउँदै दक्षिण कोरिया पुगेकी 

रोजीले त्यहाँ पाँच वर्ष कसरी बिताइन् ? छोरीको भविष्यका लागि दुःख गर्छु भनेर त्यहाँ गएकी उनले दुःख भए पनि मन लगाएरै आफ्नो काम गरिन् । 

रोजीले कोरियामा भोगेको तीतो अनुभव उतै छोडेर आएकी थिइन् । साथमा थियो त केवल उनले गरेको अनुभव र उनले पसिनालाई रूपान्तरण गरेर आर्जन गरेको केही लाख रुपैयाँ । 

होइन यो प्लेन पनि आज किन ढिला उडेझैं लाग्दैछ मलाई ? रोजीले फेरि आफैंसँग प्रश्न गरिन् । 

‘विचरी छोरी अघि नै छेमासँग एयरपोर्ट आएर मेरो प्लेन कुरिरहेकी होली । आमा भएर मैले छोरीलाई कुराइबाहेक आजसम्म केही दिन सकेकी छैन । मलाई माफ गर सानी । अब म तँलाई मेरो काख र आँखाबाट एकपल पनि ओझेल हुन दिन्न ।’

उनले दुवै आँखामा टिल्पिलाएको आँसु टिस्यु पेपरले पुछिन् । अनि गह्रुंगो भएर भरिएको छातीभित्रको सास बाहिर निकालिन् । वरिपरि कसैले हेरिरहेको छ कि भनेर नजर डुलाइन् उनले । तर सबैजना आ–आफ्नै सुरमा थिए । 

अपरान्ह ३ ः १५ बजे रोजी सवार थाई एयरवेजले त्रिभुवन विमानस्थलको ग्राउन्ड छोयो । रोजीले भने पाँच वर्षपछि बल्ल आफू जन्मिएको जमिनमा पाइला टेक्दै थिइन् । असनमा जन्मिएर नक्सालमा हुर्केकी रोजीलाई खै किन हो किन काठमाडौं बेग्लै लागिरहेको थियो, पहिले भन्दा अझ सुन्दर र आफ्नो लागिरहेको थियो । 

अद्यागमनका सबै प्रोसेसहरू पूरा गरेर बाहिर निस्कन रोजीलाई ४५ मिनेट लाग्यो । लगेज ब्याग राखेको ह्वील ट्रे गुडाउँदै बाहिर निस्कदा उनको नजर भने बाहिर उभिएका मान्छेहरूको भीडमा डुलिरहेको थियो । बाहिर विमानका यात्रुहरूका आफन्तहरूको लाम थियो । त्यही भीडमा रोजीको नजर टक्क अडियो । उनले बहिनी निशालाई ठम्याइहालिन्, सँगै ठूला दाजु शंकर पनि । उनीहरूको बीचमा गोरी र हिस्सी परेकी सानी रोहिमा आइसक्रिम खाँदै थिइन् । वर्षौंपछि छोरीलाई देख्न पाउँदा रोजीको वात्सल्य आइसक्रिमझैं पग्लियो । भरिएका आँखा नपुछेरै उनी दौडिएर छोरी भएको ठाउँमा पुगिन् । उनी छोरीलाई अँगालोमा बेरेर पाँच वर्षदेखि साँचेर राखेको माया चुम्बनको माध्यमबाट पोखाउन चाहन्थिन् । तर....

तर एक्कासि नौलो मान्छेले आफूलाई अंगालोमा बेर्दै काखमा बोकेर चुम्बन दिन खोज्दा रोजिमाले असहज महसुस गरिन् । उनी तत्काल छेमाकै काखमा गइन् र मुन्टो बटारेर अर्कै दिशामा हेर्न थालिन् । छोरी आफूसँग आउन नमानेको देखेर रोजीलाई अलिकति अनौठो र अलि बढी दुःख लाग्यो । धेरै प्रयास गर्दा पनि छोरी उनीसँग आउन मानिनन् । 

‘किन के भयो रोहिमा ? ममीसँग जान किन नमानेको ? जाऊ ममीसँग, ममीले नानुका लागि के के ल्याइदिनुभएको छ’ छेमा निशाले रोहिमालाई सम्झाउँदै भनिन् । 

रोहिमाले छेमालाई अझ कसिलोसँग समातिन् र भनिन्– ‘नाइँ...ऊ मेरो ममी होइन । भिडियोमा बोल्ने कोरिया दिदी हो ।’

छोरी रोहिमाको जवाफ सुनेर रोजीले टेकिरहेको जमिन अचानक बेस्सरी हल्लियो । 

dongdeependra@gmail.com

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>