साहसी सुबिना

लक्ष्मी भण्डारी

फाल्गुन ९, २०७८ पत्रकार तथा फिल्म मेकर सुबिना श्रेष्ठलाई उनको दृढता, आत्मविश्वास र कामप्रतिको लगनले अन्तर्राष्ट्रिय मञ्चमा अब्बल बनाएको छ । ‘काठमाण्डु पोस्ट’, ‘टाइम्स अफ इन्डिया’ हुंँदै अरबी मुलुक कतारको सरकारी सञ्चार माध्यम ‘अल–जजिरा’ टेलिभिजनमार्फत उनले विभिन्न देशका नसुनिएका कथाहरू विश्वभरिका मानिसको आँखा र कानसम्म पुर्‍याइदिइन् । 

हक्की स्वभावकी श्यामवदन श्रेष्ठ र सरकारी अफिसर सुन्दरमान श्रेष्ठले छोरी सुबिनालाई पोखरीको माछा होइन समुद्रको ह्वेल बनाउनुपर्छ भन्ने सोचका साथ हुर्काए । उनीहरूको घरको स्कुलिङ नै त्यस्तै थियो । हरेक कुरामा छोरी आफैं निर्णय लिन सक्षम छ भन्ने सोच परिवारमा थियो । सोहीअनुरूप सुबिनाको स्वभाव पनि बन्दै गयो । सुबिनाले ज्ञानोदय स्कुलबाट प्रवेशिका र बूढानीलकण्ठ स्कुलबाट ओ–लेभल उत्तीर्ण गरिन् । सुबिना आमाबुवा र भाइबहिनीसँगै पाटनस्थित मामाघरमा बस्थिन् । त्यहाँ धारामा पानी आउँदैनथ्यो, घैला बोकेर टाढा–टाढासम्म पानी लिन जान पर्थ्यो । मामाघरकी हजुरआमाले खाना पकाउन, लुगा धुन सिक्नुपर्छ भन्नेमा कर गर्थिन्, सुबिना भने लुकी–लुकी पुस्तकालय धाउँथिन्, ट्वाइलेटमा बसेर कथा र उपन्यास पढ्थिन् । झुलभित्र लुकेर सिंगो नोबेल सिध्याउँथिन् । बूढानीलकण्ठ स्कुलकी शिक्षिका उनकी आमा छोरीलाई शिक्षा र स्वतन्त्रता दिन सके संसार जित्छन् भन्ने पक्षधर थिइन् । परिणामतः उनले छोरीलाई कहिल्यै कुनै कुरामा रोकिनन् । त्यसैको गहिरो छाप अहिले सुबिनामा झल्किन्छ । 

बूढानीलकण्ठमा ‘ए’ लेभलको पढाइ सकेर सुबिना जेभियर्समा साइन्स पढ्न गइन् तर त्यतिले उनको मन भरिएन । १७ वर्षकै उमेरमा इडब्ल्युसी नामक अन्तर्राष्टिय संस्थामा दरखास्त दिइन्, त्यहाँ उनको नाम निस्कियो, छात्रवृत्तिमा अमेरिका पढ्न पुगिन् । त्यहाँ आइभी स्कुलअन्तर्गत ‘ए’ लेभल पूरा गरेर नेपाल फर्किइन् । नेपाल आएपछि समाजसेवामा लाग्छु भन्ने थियो तर उनलाई पढाइ नपुगेजस्तो लागिरहेको थियो । यही सिलसिलामा उनी ‘सोसल वर्क’ पढ्नका लागि भारतको मुम्बई पुगिन् । घरमा कसैलाई केही नभनी रात्रिबस चढेर एक्लै सुनौली पुगें । त्यहाँबाट रेलमा मुम्बई पुगेकी थिइन् । त्यहाँ पुग्दा उनलाई पढाइमै केन्द्रित हुन्छु भन्ने लागेको थियो । पत्रकारिता यात्रा सुरु हुनै लाग्दाको समय सम्झिँदै सुबिना भन्छिन्, ‘त्यहाँ मैले पोस्ट डक्टरेट गरिरहेका एक जना प्रोफेसरलाई भेटें । उनले बेचबिखनमा परेका चेलीहरूबारे शोध–अनुसन्धान गर्ने प्रोजेक्ट पाएका रहेछन् । मलाई नेपाली बोल्न जान्ने र केही गरौं भन्ने जुझारु देखेकाले उनले रिसर्च रिपोर्टिङका लागि तामटीपुरा रेडलाइट एरियामा पठाउने भए जहाँ सयौं नेपाली युवती नारकीय जीवन बिताइरहेका थिए, अधिकांश एचआइभी संक्रमित थिए । समाजभित्र नदेखिएका र नलेखिएका थुप्रै कथा रहेछन् जसलाई उजागर गर्नुपर्छ भन्ने लाग्यो । म भारत आउनुअघि केही समय रेडियो कान्तिपुरमा काम गरिसकेकी थिएँ । त्यही तमाटीपुराको रेड लाइट एरिया र त्यहाँका दिदीबहिनी मेरा लागि पत्रकारिताका प्रेरणा बने ।’

उतिबेला सुबिना २० वर्षकी थिइन् । अब पत्रकारिता नै गर्छु नसुनिएका आवाजलाई घर–घरसम्म पुर्‍याउँछु भन्ने हुटहुटी उनीभित्र हुन थाल्यो । उनले मुम्बईको प्रख्यात जेभियर इन्स्टिच्युट अफ कम्युनिकेसनमा रात्रि सिफ्टका लागि पोस्ट ग्रयाजुयट डिप्लोमा भर्ना भइन् । भारतीय चर्चित अखबार ‘टाइम्स अफ इन्डिया’ को सप्लिमेन्ट पेपरमा स्तम्भ लेख्न थालिन् । एकपटक घरेलु हिंसाका कारण जलनमा परेका महिलाको स्टोरी लिएर पत्रिकाको कार्यालयमा पुगिन् । त्यहाँका सम्पादकले यो राजनीतिक पत्रिका हो महिलाका आँसु र जलेको शरीर छाप्ने पत्रिका होइन भनेर उनको समाचार फालिदिए । त्यो दिनदेखि सुबिनालाई लाग्न थाल्यो, सत्ता, संयन्त्र, राजनीति वा सञ्चार हरेक क्षेत्रमा पुरुषकै मात्र वर्चश्व छ । ‘अब मैले मेरो मिसनका लागि अन्तर्राष्ट्रिय प्लेटफर्म नै रोज्नुपर्छ’ भन्ने महसुस भयो । तर उनलाई पहिला जग बलियो बनाउनुपर्छ भन्ने राम्रो हेक्का थियो । त्यसैले उनी भारतको पढाइ सकेर नेपाल फर्किएर ‘काठमाण्डु पोस्ट’ मा काम थालिन् । नेपालमा पनि उनले भारतमा जस्तै हरेक क्षेत्र र निकायमा पुरुषको वर्चश्व महसुस गरिन् । निर्णायक तहमा महिलाको न्यून सहभागिता, महिलाका समाचार प्राथमिकतामा नपारिनु लगायत महिलाप्रतिको सामाजिक सोचले उनलाई दिक्क बनाइरहेको थियो । उनी भन्छिन्, ‘त्यही बेला बीबीसीका लागि एउटा काम आयो जसमा अछाममा गएर कुपोषणबारे डकुमेन्ट्री बनाउनुपर्ने थियो । म अछाम पुगेर कहिल्यै बाहिर नआएका सूचनाको पोको बोकेर काठमाडौं फर्किएँ । त्यही कामको परिणामले मलाई बेलायत बोलाइयो ।’ 

सुबिनामा क्यामेरा ह्यालिङ, एडिटिङ, लेखन कला प्रशस्त थियो । रिपोर्टिङमा पोख्त थिइन् भने लेखन, स्टोरी टेलिङ र सम्पादनमा पनि उनको कौशलता उत्तिकै थियो । सन् २००७ को अन्त्यतिर ‘अल जजिरा’ को एउटा टिम नेपाल आएको थियो । कामकै सिलसिलामा उनको भेट उक्त टिमसँग भयो । उनलाई पीटीसी (क्यामेराको अगाडि प्रस्तुतीकरण) सक्छौ भनेर सोधियो । उनलाई कहिल्यै पनि क्यामेरा अगाडि पर्ने रहर र शोख भने थिएन । उनलाई उक्त टिमले एउटा समाचार बनाउने जिम्मा दियो । उनले उक्त कार्य सजिलै पूरा गरिन् । उनी सर्ट फिल्म र डकुमेन्ट्री बनाउनमा पनि पोख्त थिइन् । म्यानमारमा उनले डकुमेन्ट्रीका लागि प्रयास गरिरहेकी थिइन् । उताबाट कामका लागि म्यानमार आउने स्वीकृति प्राप्त भयो । उनले भनिन्, ‘म म्यानमार जानुभन्दा एक दिनअघि त्यहाँ चक्रवात आयो । र पनि म हिम्मत गरेर त्यहाँ पुगें । लाखौंले ज्यान गुमाएको त्यो नरगिस साइक्लोन मेरा लागि टर्निङ प्वाइन्ट बन्यो । अन्य विदेशीलाई कडाइ गरिएको म्यानमारमा नेपाली पासपोर्ट र नेपाली भाषाले मलाई सहज बनाइदियो । त्यहाँ मैले मेरो फिल्मका साथै ‘अल–जजिरा’ का लागि सयौं समाचार र भिडियो बनाएँ ।’ 

उनी म्यानमारमा रहँदा अल–जजिराकै अर्को तीन जनाको अफिसियल टिम त्यहाँ पुगिसकेको थियो, जसले उनलाई हतोत्साहित गर्न तिम्रो समाचार बज्दैन वा बजिहाले पनि हाम्रो भन्दा पछाडि बज्छ भन्थे । अल–जजिराको स्वतन्त्र पत्रकारका रूपमा काम गर्ने उनी भने अटल रहेर काममा अगाडि बढिरहिन्, दैनिक चारदेखि छ वटा समाचार पठाइरहिन् । उनको टिममा कोही थिएनन् । क्यामेरा, इडिटिङ, रिपोर्टिङमा एक्लै खट्थिन् । जब उनी कयौं दिनदेखि नउठाएर भुइँमा पल्टिरहेका सुकेका लाशमाथि टेकेर रिपोर्टिङ गर्न थालिन् तब दिनानुदिन उनीभित्र साहस बढ्दै गयो, डर हरायो अनि पत्रकारितामै जम्न र रम्न थालिन् ।

इमी अवार्ड विजेता सुबिना हावर्ड युनिभर्सिटीको निम्यान फेलो हुन् । त्यसबाहेक उनले फिल्म इन्डिपेन्डेन्टमा ग्लोबल मिडिया मेकर्स फेलोसीप प्राप्त गरेकी छिन् । उनको पहिलो फिचर डकुमेन्ट्री देवीले क्यान्स फिल्म फेस्टिभलमा उच्चस्थान पाएको थियो । साथै ढाका डक ल्याव र ह्विकर्समा सर्वोत्कृष्ट पुरस्कार प्राप्त गरेको थियो । न्यूयोर्क टाइम्स, द गार्जियन, द वायर, अफ्तोनब्लेडेट, द रेकर्ड तथा द रिपब्लिकालगायतका अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उनका लेख–रचना प्रकाशित हुने गरेका छन् । 

सञ्चार क्षेत्रलाई सत्ता र शक्तिले ठूलो प्रभाव पार्छ भन्ने बुझेकी सुबिना यस क्षेत्रमा महिलामाथि उठ्न सोच र सामाजिक परिवर्तन जरुरी रहेको बताउँछिन् । नेतृत्वमा बढीभन्दा बढी महिला आए नै न्युजरुमको संरचना परिवर्तन हुने उनको धारणा छ । अन्तर्राष्टिय सञ्चार माध्यममा काम गर्दा स्वतन्त्र भएर इस्यु सेलेक्सनको अधिकार उपयोग गर्न पाएको उनको अनुभवले बताउँछ । नयाँ विषयका दुईवटा डकुमेन्ट्रीमा काम गरिरहेकी उनी भन्छिन्, ‘छोरीको सफलतामा सर्वप्रथम अभिभावकको दरिलो विश्वास नै मुख्य कुरा हो । त्यसपछि शिक्षा, स्वतन्त्रता र आफूप्रतिको विश्वास अनि त्यसले जन्माउने आत्मविश्वास ।’ 

सुबिनाको रिपोर्टिङ स्थल : नेपाल, भारत, म्यानमार, बंगलादेश, श्रीलंका, मलेसिया, चीन । 

अवार्ड : कन्सेन्टा अवार्ड (आउटस्ट्यान्डिङ भिडियो जर्नालिजम अवार्ड), रोरी पिक अवार्ड (युद्धग्रस्त तथा जोखिम स्थानमा रिपोर्टिङ गरेवापत दिइने साहसी अवार्ड), डकएज न्युजिल्यान्ड अवार्ड, ग्लोबल मिडिया मेकर्स लस एञ्जलस, टिभी न्यूज स्टोरी अफ द इयर अवार्ड, सिल्भर मेडल (न्यूयोर्क फेस्टिभल्स इन्टरनेसनल टिभी एन्ड फिल्म अवार्ड आदि ।) 

अन्तर्राष्ट्रिय प्लेटफर्म : कोलम्बिया युनिभर्सिटीमा उनले नेपालका कमलरीबारे बनाइएको डकुमेन्ट्रीलाई उदाहरणीय मानेर पढाइन्छ । हेगमा समेत सुबिनाले बनाएका थुप्रै डकुमेन्ट्रीबारे बेलाबखत चर्चा चल्छ । 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>