गर्भवती तथा सुत्केरीको हेरचाह

नारी संवाददाता

फाल्गुन १२, २०७८

प्रा. डा.सुमनराज ताम्राकार

 

विश्व जगत कोभिड महामारीले गाँज्न थालेको पनि दुई वर्ष भइसक्यो । गर्भवती एवं सुत्केरी अवस्थामा शरीरको प्रतिरक्षात्मक क्षमता तुलनात्मक रूपमा कम हुने भएकाले कोरोना संक्रमणको जोखिम समूहमा गर्भवतीहरूलाई पनि राखिएको छ । नेपालकै परिप्रेक्ष्यमा महामारीको दोस्रो लहरसम्म गर्भवती तथा सुत्केरी कोरोना संक्रमणबाट त्यति प्रभावित भएका थिएनन् । तर यो पटकको तेस्रो लहरको परिदृश्य भने फरक छ । 

पछिल्लो समय नेपालमा ‘ओमिक्रोन भेरिएन्ट’ को कोभिड संक्रमणको तेस्रो लहर चलिरहेको छ । यसपटक भने वनको डढेलोजस्तै कोभिड संक्रमणले गर्भवती र सुत्केरीलाई पनि बाँकी राखेन । यसपटक गर्भवती र सुत्केरी पनि कोभिड संक्रमित हुने दर उत्तिकै छ । हुन त अधिकांश महिलाले कोभिडविरुद्ध कम्तीमा दुई डोज खोप लगाइसकेका छन् । तर, अवस्था उस्तै छ । नेपालमा कोरोना संक्रमण भित्रिएको करिब छ सातापछि कोरोना संक्रमणकै कारण पहिलो मृत्यु सुत्केरीकै भएको घटना धेरैले बिर्सेका छैनन् । र, कोरोना महामारीकै बेला गर्भवती एवं सुत्केरीको हेरचाहमा लापरबाही गर्न नहुने रहेछ भन्ने शिक्षा पाए पनि अस्पताल वा स्वास्थ्य संस्थामा गई गर्भवती परीक्षण गराउने, संस्थागत सुत्केरी गराउने तथा सुत्केरीपछि परीक्षण गराउने तुलनात्मक रूपमा सहज भने छैन ।

यसपटक स्वास्थ्यकर्मीहरू नै कोरोना पोजिटिभ देखिने घटना उच्च भएकाले, सार्वजनिक यातायात सहज रूपमा नचल्नाले, एम्बुलेन्स सेवा पनि कष्टकर र महँगो हुनाले परिस्थिति बिस्तारै कष्टकर बनेको हो । यथास्थितिमा घरमै सुत्केरी हुने तथा अस्पताल वा स्वास्थ्य संस्थामा लाने क्रममा बाटैमा सुत्केरी हुने क्रम पनि बढ्दो छ ।

महिलाको ४० साताको गर्भ अवधिमा विश्व स्वास्थ्य संगठन तथा नेपाल सरकारले कम्तीमा चार पटक गर्भ स्वास्थ्य जाँच एवं संस्थागत सुत्केरीलाई जोड दिएको छ । अन्य बेला भन्दा कोरोना संक्रमणको महामारी फैलिरहेका बेला आफ्नो गर्भावस्था सबै ठीकठाक नै चलिरहेको छ भने पनि नियमित गर्भ जाँचका लागि कम्तीमा चार पटक अस्पताल वा स्वास्थ्य संस्थामा जानु आवश्यक छ । गर्भावस्थाको पहिलो त्रैमासिकमा महिनावारी रोकिनु, वाकवाकी लाग्नु, उल्टी हुनु, खान मन नलाग्नु, छिटो–छिटो पिसाब हुनु, ढाड–कम्मर अनि तल्लो पेट हल्का दुख्नु, आलस्य लाग्नु, स्तन भारी हुनु आदि सामान्य समस्याहरू हुनसक्ने भए पनि यसबेला तल्लो पेट निकै दुख्ने, योनिमार्गबाट रक्तस्राव हुने भए गर्भ खेर जान लागेको, पाठेघरभन्दा बाहिर नलीमा गर्भ रहेको वा सग्लो गर्भको ठाउँमा अंगुरको दाना जस्तो हुने बिग्रेको गर्भ (मोलार गर्भ) रहेको हुनसक्छ । त्यसैगरी गर्भावस्थाको सुरुतिर हल्का वाकवाकी लाग्ने तथा उल्टी हुने स्वाभाविक नै हो । तर तारन्तार उल्टी भइरहने भए अस्पताल जानुपर्ने हुन्छ ।

त्यसैगरी, गर्भावस्थाको दोस्रो त्रैमासिकमा (२० साता पछि) गर्भावस्थाकै कारण उच्च रक्तचाप, मधुमेह, रक्तअल्पतालगायतका मेडिकल समस्या देखा पर्न सक्छन् । त्यसैले घर नजिकको क्लिनिकमै भए पनि नियमित रक्तचाप जाँच गराइराख्नु राम्रो हुन्छ । त्यस्तै गर्भावस्थाको १८ देखि २२ सातामा गर्भे शिशुमा कुनै शारीरिक विकलाङ्ग छ/छैन निर्क्यौल गर्न अल्ट्रासाउन्ड गराउनैपर्ने हुन्छ । त्यसपछि गर्भावस्थाको २४ सातापछि गर्भकै कारण मधुमेह देखा परेको छ/छैन भनी ५० वा ७५ ग्राम ग्लुकोज खाएर रगत जँचाउनुपर्ने हुन्छ । त्यसैगरी, मुटु रोग, थाइराइड, दम, छारे रोग, बाथ रोगको औषधि खाइरहेको भए प्रसूति रोग विशेषज्ञको सल्लाहमा औषधिको मात्रा मिलाउनुपर्ने हुन्छ ।

गर्भको तेस्रो त्रैमासिकमा व्यथा नलागी पानीको थैलो फुट्ने, व्यथा लाग्ने, तल्लो पेट दुख्ने, सुत्केरी नहुँदै अधिक रक्तस्राव बग्ने समस्या भयो भने अस्पताल गइहाल्नुपर्ने हुन्छ । यसका अलावा गर्भे शिशु उल्टो, तेर्सो, गर्भे शिशुको वृद्धि खल्बलिएको छ, साल पाठेघरको तल्लो भागमा छ, यसअघि सिजेरियन वा औजार हाली डेलिभरी भएको थियो भने पनि अस्पतालमै डेलिभरी गराउनुपर्ने हुन्छ । कहिलेकाहीँ सुत्केरी हुने मिति नाघिसकेको अवस्थामा औषधिबाट व्यथा सुरु गराउनुपर्ने हुन्छ ।

पटक–पटकको कोरोना संक्रमणको लहर, लकडाउन होला कि भन्ने चिन्ताका कारण तथा नियमित गर्भ जाँचको अभावमा गर्भे शिशुको वृद्धि भने प्रभावित हुन सक्छ । हालसम्म कारण ठ्याक्कै खुट्याउन नसकिए पनि म कार्यरत अस्पतालमै पनि पछिल्लो छ–सात महिनामा गर्भवतीमा शिशु वरिपरि पानीको मात्रा कम हुने तथा सुत्केरी व्यथाको क्रममा गर्भे शिशुले पेटभित्रै दिसा गर्ने घटना बढी देखिएको छ । यी दुई कारणले सिजेरियनबाट डेलिभरी गराउनुपर्ने संख्या बढ्यो भने नवजात शिशुलाई आईसीयूमा राख्नुपर्ने घटना पनि बढेको पाइयो ।

सामान्य अवस्थामा गर्भावस्थाको ३८ सातातिर प्रसूति रोग विशेषज्ञ वा स्वास्थ्यकर्मीले बच्चा आउने बाटो जाँचिदिएका हुन्छन् । यी समस्याहरू देखा परे वा कोरोना संक्रमणका कारण आफ्नो गर्भे शिशुलाई कुनै खतरा छ कि भन्ने थाहा पाउन यसअघि आफूले नियमित गर्भ जाँच गराइरहेको प्रसूति रोग विशेषज्ञ वा स्वास्थ्यकर्मीसँग सामाजिक सञ्जाल वा फोनसम्पर्कबाट नियमित सरसल्लाह लिनु उपयुक्त हुन्छ ।

गर्भावस्थामा पिसाबको संक्रमण, टन्सिलको समस्या, दाँतको समस्या, निमोनिया, औलो, मेनिन्जाइटिस, टाइफाइडको समस्याले पनि उच्च ज्वरो आउन सक्छ । तर कोरोना संक्रमणको पछिल्लो भेरिएन्टले उच्च ज्वरो (१०० डिग्री फरेनहाइटभन्दा बढी) आउने, रुघाखोकी लाग्ने, जिउ दुख्ने, आलस्य हुने, खाना खान मन नलाग्ने, स्वाद हराउने, थकाइ महसुस हुने लक्षण देखापर्ने गरेका छन् । यसका अलावा कोरोना संक्रमणले आक्रान्त मुलुकबाट फर्किएका व्यक्तिको सम्पर्कमा आएका वा नेपालभित्रै पनि बढी केस देखिएका ठाउँका गर्भवती तथा सुत्केरी महिलाले शंका लाग्नेबित्तिकै स्वाब टेस्ट गराउनु राम्रो हुन्छ ।

कोरोना संक्रमणका कारण गर्भवती तथा उनको गर्भे शिशुमा पर्नसक्ने असरबारै यथेष्ट मात्रामा अध्ययन–अनुसन्धान भइसकेको छैन । तर पनि विश्व परिवेशका पछिल्ला अनुसन्धानका नतिजाअनुसार यो संक्रमण गर्भवतीबाट गर्भे शिशुमा खासै सरेको देखिँदैन । ‘एचआईभी भाइरस’ भन्दा पृथक् यो भाइरस गर्भवती तथा सुत्केरीको योनिरस एवं दूधमा पाइएको छैन । त्यसैले पनि सुत्केरी दौरान आमाबाट नवजात शिशुमा पनि यो संक्रमण सरेको देखिँदैन । संक्रमण नै भएको खण्डमा पनि आवश्यक सजगता अपनाएर, राम्रो खालको मास्क निरन्तर रूपमा लगाएर स्तनपान गराउन मिल्छ । स्तनपान गर्नुअघि राम्रोसँग साबुनपानीले हात धुने वा पटक–पटक स्यानिटाइजर प्रयोग गर्नुपर्छ ।

घरमै सुत्केरी गराउन मिल्छ/मिल्दैन थाहा पाउन सम्बन्धित स्वास्थ्यकर्मीको सल्लाह लिनुपर्छ । पाठेघरमा साल तल्लो भागमा छ, अघिल्लो पटक सिजेरियनबाट डेलिभरी भएको छ, व्यथाअगावै अधिक रगत बग्न थालेको छ, महिना नपुग्दै सुत्केरी हुन लागेको अवस्थामा घरमै सुत्केरी भए आमा तथा नवजात शिशुमा पर्न जाने असर निकै प्रतिकूल हुनसक्छ । महिना नपुग्दै जन्मेको नवजात शिशुको मृत्यु हुने सम्भावना बढी हुन्छ । त्यसैगरी, गर्भवती महिलामा उच्च रक्तचाप, मधुमेह, थाइराइड, मुटुको समस्या भएकाले स्वास्थ्य संस्थामा नै सुत्केरी गराउनुपर्छ ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>