Successfully Copied

कलाकारको ‘कनेक्टेड क्रिएटिभिटी’

प्रकृति र मानव जीवनसँग रमाउने कलाकार हुन्–सरिता डंगोल । उनका अधिकांश चित्रहरूमा यही दुई चरित्रको सजीव प्रस्तुति भेटिन्छ । यतिबेला उनले आफ्नो कुचीको माध्यमबाट सिर्जित चित्र ललितपुर चाकुपाटस्थित ‘क्लासिक ग्यालरी’ मा प्रदर्शनमा राखेकी छन् ।

प्रकृति र मानव जीवनसँग रमाउने कलाकार हुन्–सरिता डंगोल । उनका अधिकांश चित्रहरूमा यही दुई चरित्रको सजीव प्रस्तुति भेटिन्छ । यतिबेला उनले आफ्नो कुचीको माध्यमबाट सिर्जित चित्र ललितपुर चाकुपाटस्थित ‘क्लासिक ग्यालरी’ मा प्रदर्शनमा राखेकी छन् । त्यहाँ उनले खुर्सानी थिममा चित्र पस्केकी छन् । खुर्सानीले मानव संस्कृतिलाई कसरी प्रभाव पारिरहेको छ भन्ने विषयलाई गजब शैलीमा प्रदर्शनीमार्फत उनले देखाउन खोजेकी छन् । यसका सकारात्मक तथा नकारात्मक प्रभाव जनाउने चित्रहरू छन् । त्रिभुवन विश्वविद्यालयबाट ‘फाइन एण्ड आर्ट’ मा स्नातकोत्तर गरेकी सरिताले केही समयअघि मात्रै ‘क्लासिक ग्यालरी’ सञ्चालनमा ल्याएकी हुन् । त्यही ग्यालरीमा उनीसहित १० कलाकारले ‘कनेक्टेड क्रिएटिभिटी’ शीर्षकमा चित्रहरू प्रदर्शनी गरे । 

कोरोना महामारीका कारण लामो समयसम्म कलाकारहरू एक–अर्कामा कनेक्ट हुन सकेनन् । यसले कलाक्षेत्र शून्यजस्तै बन्यो । कलाकारहरू आफ्नो घर र स्टुडियोमै सीमित भए । यही कारण ग्यालरीले यो सामूहिक कला प्रदर्शनीको आयोजना गरेको सरिताको भनाइ छ । कलाकारहरू एक–अर्कामा कनेक्ट होऊन् र कला क्षेत्र थप चलायमान बनोस् भन्ने उद्देश्यका साथ सामूहिक कला प्रदर्शनी गरिएको उनले बताइन् । ‘हाम्रो उद्देश्य कलाकारहरू एक–अर्कामा कनेक्ट होऊन् भन्ने हो’ उनले भनिन् । सामूहिक प्रदर्शनीमा कलाकारहरूको आफ्नै भावना चित्रमा देखिन्छ । उनका अनुसार कलाकारहरूका व्यक्तिगत भावना समेटिएका छन् । उनले भनिन्, ‘कन्टेम्प्रोररी कलाकारहरूको आर्टमा आफ्नै भावना र विचार पोखिएका छन् ।’

कलाकार अनामिका गौतमले ‘ह्युमन साइकोलोजी’ थिममा चित्र कोरेकी छन् । लामो समयदेखि कलाकारितामा सक्रिय उनले जेन्डर बेसिस, सामाजिक, राजनीतिक विषय समेटेर बनाएको चित्र प्रदर्शनीमा समेटिएको थियो । प्रदर्शनीमा कलाकारहरूले प्रकृति, फिल्सिङलगायत थिममा चित्र प्रदर्शन गरे । प्रदर्शनीमा कलाकार राजन पन्तले राखेका चित्रहरूमा मधेश भूगोललाई समेटेका थिए । कन्टेम्प्रोररी आर्टिस्ट नारायण बोजूले प्रदर्शनीमा विभिन्न सामाजिक विषयसँग सम्बन्धित चित्रहरू राखेका थिए । 

प्रदर्शनीमा विनोद प्रधान, मुकेश श्रेष्ठ, प्रमिला बज्राचार्य, कुन्ती श्री थापा, संगीत महर्जन, सुनीता महर्जन, सुन्दर लामाका चित्रहरूसमेत राखिएको थियो । 

 Image