Successfully Copied

२०७८ साल चैत महिनाको राशिफल

मेष दाम्पत्य जीवन सुमधुर हुँदाहुँदै पनि कहिलेकाहीँ एकार्कामा कुनै कुरालाई लिएर वैचारिक बहस हुनसक्छ । सकेसम्म आफूमा भएको अहंपनालाई हावी हुन नदिए कुनै पनि विवाद सकारात्मक भैदिन्छ । राम्रो सोचले गरेका कामहरूले पूर्णता पाउनेछन् ।

मेष

दाम्पत्य जीवन सुमधुर हुँदाहुँदै पनि कहिलेकाहीँ एकार्कामा कुनै कुरालाई लिएर वैचारिक बहस हुनसक्छ । सकेसम्म आफूमा भएको अहंपनालाई हावी हुन नदिए कुनै पनि विवाद सकारात्मक भैदिन्छ । राम्रो सोचले गरेका कामहरूले पूर्णता पाउनेछन् । कुनै कुराले गर्दा मनमा भएको तुष र शरीरमा भएको अल्छीपना हट्न जाँदा शरीर स्वस्थ हुनेछ भने मन पनि चराझैं स्वतन्त्र भई उड्नेछ । साथीसङ्गी एवं इष्टमित्रसित रमाइलो जमघट हुनेछ । 

वृष

कुनै विशेष कार्यका लागि यात्रा हुनसक्छ । धार्मिक क्रियाकलापप्रति रुचि बढ्नेछ । कसैकसैको घरमा कुनै धार्मिक कार्य हुनसक्छ । शारीरिक एवं मानसिक दुवै रूपले शरीर स्वस्थ रहनेछ । काम गर्ने पराक्रम बढ्नुका साथै मन पनि पुतली उडेझैं स्वतन्त्र रूपमा रमाउन खोज्नेछ । एकार्काको मनोभाव बुझेर काम गर्ने हुँदा दाम्पत्य जीवन सुमधुर रहनेछ । बैंक ब्यालेन्स बढ्नुका साथै सेयर कारोबार पनि उकालो लाग्नेछ । 

मिथुन

राम्रो महिना छ । प्रायः सबै काम अपेक्षित ढङ्गले पूरा हुँदै जानेछन् । कुनै विशेष काममा सफलता मिल्नेछ । कोरोना कहरका विविध समस्याका कारण रोकिएका कामहरूले क्रमशः गति लिँदै जानेछन् । शैक्षिक, न्यायिक, सामाजिक, साहित्यिक, साङ्गीतिक, कलात्मक एवं व्यापारिक क्रियाकलापमा संलग्न व्यक्तित्वहरूका लागि यो महिना शुभ साबित हुनेछ । कहिलेकाहीँ अनपेक्षित रूपमा तपाईंका कुनै–कुनै कुराले कसैको स्वाभिमानमा आँच आउन सक्ने हुँदा बोली र व्यवहारमा भने निकै सजग रहनुपर्ने अवस्था छ । 

कर्कट

पारिवारिक वातावरण सुखमय रहनेछ । कुनै नवीन ठाउँको भ्रमण गर्ने मौका मिल्नेछ । माइतीपक्षसित समय यापन गर्ने अवसर मिल्नेछ । भाउजू, बुहारी, नन्द, आमाजू एवं सासूसितको सम्बन्धमा मधुरता बढ्नेछ । कसैकसैको घरमा असल सन्तानको जन्म हुनेछ । परिवारका सबै सदस्यले तपाईंको सुख–दुःख विचार गरी काम गर्ने प्रयास गर्नेछन् । कसैकसैको यो महिनामा नयाँ गृहप्रवेश हुनेछ भने कसैको घर भाडामा लाग्ने, वा घरको जग राख्ने काम हुनेछ । 

सिंह

कहिलेकाहीँ काम गर्दा मनले दोधारपनको सामना गर्नुपरे तापनि योजनानुरूप सबै काम मिल्दै जानेछन् । पारिवारिक सुख मिल्नुका साथै छोराछोरीबाट पनि अपेक्षित सहयोग मिल्नेछ । मनमा भएको डर र तनाव आफैं हटेर जानेछ । खुट्टा तान्ने व्यक्तिहरू पनि तपाईंको प्रशंसाको निमित्त अगाडि बढ्नेछन् । तपाईंको धैर्य, सहनशीलता र कामप्रतिको लगाव देख्दा सबैजना चकित हुनेछन् । दाम्पत्य जीवनमा कहिलेकाहीँ तार्किक बहस भए पनि निचोडमा समझदारीमा कुरा टुङ्गिनेछ । 

कन्या

पारिवारिक वातावरण सुखमय रहनेछ । सबै जनाले एकार्काको मनोभाव बुझेर रोकटोकविना आ–आफ्नो काम फत्ते गर्ने प्रयास गर्नेछन् । कुनै कामका लागि कतैको यात्रा हुनसक्छ । आफ्ना मान्यजन एवं अभिभावकसँग भेटघाट हुनेछ । सन्तान सुखका निमित्त कहिलेकाहीँ कुनै–कुनै कुरामा सम्झौता गर्दै उनीहरूको इच्छा र आवश्यकता बुझ्दै तिनकै ढङ्गमा बुझाउन सके अनावश्यक तनावबाट बच्न सकिन्छ । तार्किक कुराबाहेकका कुरामा सकेसम्म कम बोल्नु नै राम्रो हुनेछ । 

तुला

बहुप्रतीक्षित कार्यमा सफलता मिल्नेछ । आ–आफ्नो कार्यक्षेत्रमा उन्नति एवं प्रगति हुनेछ । कुनै कारणले रोकिएका कामहरूले क्रमशः गति लिँदै जानेछन् । दाम्पत्य जीवनमा जोडीबाट अपेक्षित सहयोग, सद्भाव एवं समझदारी कायम रहनेछ । मनमा भएको तनाव हट्न जाँदा तन–मन दुवै चङ्गा रहनेछन् । तपाईंको प्रगतिमा रिस गर्ने एवं खोइरो खन्नेहरू आफैं तर्किदै जानेछन् र परेको बेलामा आवश्यक सहयोग गर्न तम्सिनेछन् । प्रियजनसित भेटघाट एवं कुराकानी गर्ने समय निस्कनेछ । 

वृश्चिक

 काम गर्ने उत्साह बढ्नेछ । पारिवारिक वातावरण सुखमय रहनेछ । तपाईंको प्रभुत्व बढ्नुका साथै योजनाबमोजिम कामहरूले गति लिन थाल्नेछन् । शुभचिन्तकहरूबाट कुनै न कुनै माध्यमबाट काममा सहयोग पाइनेछ । समयको राम्रो व्यवस्थापन गर्न सकेमा आफ्नो कार्यक्षेत्रको जिम्मेवारी सजिलै पूरा गर्न सकिनेछ । व्यक्तिगत खुसीका निमित्त कतै घुमघाम हुनसक्छ । महिनाको उत्तरार्द्धमा नयाँ एवं पुराना साथीसङ्गीसित जमघट हुनसक्छ । कतैबाट आकस्मिक उपहार मिल्नसक्छ । 

धनु

पारिवारिक सुख मिल्नुका साथै दाम्पत्य जीवनमा समझदारी कायम रहनेछ । काम गर्दा अपजस आउनसक्ने भएको हुँदा आफ्नो कार्यक्षेत्रमा एवं घरायसी काम गर्दा सतर्क रहनुपर्ने बेला छ । मौसमी परिवर्तनका कारण आकस्मिक स्वास्थ्य समस्या हुनसक्ने भएकाले सकेसम्म अर्ग्यानिक खानेकुराहरू खानु नै उपयुक्त हुनेछ । सानातिना बाधाहरू आकस्मिक रूपले आउनसक्छन् । सकेसम्म आफ्ना निर्धारित र प्रमुख कार्यहरूबाहेक अरु कुरामा नअल्मलिएमा सम्भावित तनावबाट मुक्त भइनेछ । 

मकर

मनमा भएको तनाव हटी शरीर स्वस्थ रहनेछ । साथै मन पनि चङ्गाझैं उड्नेछ । पारिवारिक भेटघाट हुनेछ । आर्थिक पक्ष सबल रहनुका साथै व्यापारिक क्षेत्र पनि सन्तोषजनक रहनेछ । मनै आनन्दित हुने कुनै खबर सुन्न पाइएला । व्यक्तिगत वा कार्यालयीय कामले कतैको भ्रमण हुनसक्छ । आफ्नै इच्छा एवं योजनानुसार समय बिताउने अवसर जुर्नेछ । घरमा कुनै सामानको फेरबदल हुनसक्छ । दाम्पत्य जीवनमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ । सन्तान सुख पाइनेछ ।

कुम्भ

काम गर्दा सानातिना आकस्मिक समस्या आउनसक्छन् । धैर्य र शान्त रही रिसलाई व्यवस्थापन गर्दै काम गर्न सकेमा क्रमशः कामले पूर्णता लिनेछ । महिनाको उत्तरार्द्ध तपाईं अनुकूल रहनेछ । व्यक्तिगत कार्यका लागि समय निस्कनेछ । घरमा कतिपय सामग्रीमा हेरफेर हुनसक्छ । पारिवाकि भेटघाट हुनेछ । कुनै पार्टी वा समारोहमा सहभागी हुने मौका मिल्नेछ । रक्तचापमा घटबढ, टाउको एवं आँखा दुख्ने समस्या हुनसक्ने भएकाले मौसम परिवर्तनको ख्याल गर्दै खानपानमा सजग रहनुहोला । 

मीन

व्यक्तिगत वा कार्यालयीय कामले कतैको यात्रा हुनसक्छ । कसैकसैको यो महिनामा वैदेशिक यात्रा गर्ने अवसर जुर्नेछ । सहयोगी हातहरू पछि हट्नसक्ने हुँदा कसैबाट कुनै कुराको अपेक्षा नराखी आफ्नो काम आफैंले गर्दा मनलाई सान्त्वना मिल्नेछ । व्यस्तता र कामको चापले गर्दा टाउको एवं आँखा दुख्ने समस्या हुनसक्छ । अनपेक्षित अपजस पाइने सम्भावना भएकाले मन चञ्चल र अशान्त भएका बेला अत्यावश्यक कामकुरा बाहेकका कुरामा चासो नदिनु नै लाभप्रद हुनेछ । 

 Image