Successfully Copied

रंगहरूबाट छाला जोगाउने उपाय 

रंग र रसायनको प्रभावले छाला चिलाउने, रातो डाबर आउने, कमिलाले टोकेजस्तो सुम्ला उठ्ने, मसिना एकनासका छपक्क बिबिराहरू आउने, पानी फोका उठ्ने, कत्ला पर्ने आदि भिन्न–भिन्न लक्षण देखिन सक्छन् ।

स्मृति श्रेष्ठ

 

खेलिने रंगले छालामा पार्ने असर

होलीमा एकभन्दा बढी रंग प्रयोग गरिन्छ । कहिलेकाहीँ मेटालिक रंगहरू पनि प्रयोग गरिन्छ । यी रंगहरू प्रयोग गरेकै दिन अधिकांशमा एलर्जी देखापर्छ भने कहिलेकाहीँ ४८ घन्टापछि पनि सुरु हुन सक्छ । रंग र रसायनको प्रभावले छाला चिलाउने, रातो डाबर आउने, कमिलाले टोकेजस्तो सुम्ला उठ्ने, मसिना एकनासका छपक्क बिबिराहरू आउने, पानी फोका उठ्ने, कत्ला पर्ने आदि भिन्न–भिन्न लक्षण देखिन सक्छन् । कतिपयमा बिबिरा आउने र नङ फुल्ने पनि हुन सक्छ । 

होलीको रंगमा मिसिएका मेटालिक तत्वको एलर्जी भने केही दिनपछि पनि यही क्रमले देखिन सक्छ । अनुहार, हात, हत्केला, शरीर (ढाड) र केशमा प्रायः एलर्जी देखिन सक्छ भने कहिलेकाहीँ शरीरभरि यो फैलिन सक्छ । रंगबाट आँखा जोगाउनुपर्छ । एलर्जी देखिए तत्कालै चिकित्सकको सल्लाह लिनुपर्छ ।

छाला र केशको हेरचाह 

होली खेल्नुअघि र पछि छालाको विशेष स्याहार गर्नुपर्छ । 

होली खेल्नुअघि गरिने स्याहार 

- छाला सुख्खा वा कक्रक्क हुन नदिन नियमित रूपमा मोस्चराइजर लाएर छाला मुलायम र सुरक्षित राख्नुपर्छ ।

- घामबाट जोगिनुपर्छ । घामबाट जोगिन सके त्यसबाट छालामा पर्ने नकारात्मक असरबाट बच्न सकिन्छ ।

- तीन–चार दिनअघि रेटिनोल, स्यलिसाइलिक एसिड वा अन्य स्क्रब लगाउनुहुँदैन । सतह बिगार्ने र एक्सफोलियट गर्ने विधिहरू प्रयोग गर्नुहुँदैन । 

- फेसियल गर्नुहुँदैन । 

- केश नरम बनाउन नुहाउनुभन्दा १५–३० मिनेटअघि रेसाहरूमा मात्र नरिवल वा बदामको तेल र नुहाइसकेपछि कन्डिसनर लगाउनुपर्छ । 

- नङ छोटा र सफा राख्नुपर्छ । 

- होलीमा विशेष ध्यान पुर्‍याउनुपर्ने 

- प्रशस्त मात्रामा पानी पिउनुपर्छ । 

- मोस्चराइजर र सनस्क्रिन क्रिम लगाउनुपर्छ । 

- सनस्क्रिन लगाउँदा पानीले नमेटिने (वाटरप्रुफ सनस्क्रिन एसपीएफ ५०) प्रयोग गर्नुपर्छ । 

- शरीरमा मोस्चराइजर वा नरिवलको तेल लगाउनुपर्छ ।

- केश र केशको छालामा नरिवलको तेल लगाउनुपर्छ । तेल लगाएपछि रंगले छाला र केशमा बिगार गर्न सक्दैन । तर धेरै डन्डिफोर वा एलर्जी आउने समस्या छ भने तेल लगाउनु हुँदैन । कसैलाई निधार, घाँटी वा मुखवरिपरि कालो हुने समस्या भए पनि तेल लगाउनुहुँदैन । 

- नङमा तेल वा भ्यासलिन लगाउँदा रंग वा पानी नङमा पस्न पाउँदैन । 

 - अनुहार घामबाट जोगाउन टोपी वा ह्याट लगाउन सकिन्छ । 

- खुकुलो र शीतल हुने पहिरन लगाउनुपर्छ । पसिना र टाइट पहिरनका कारण शरीरमा घमौरा वा एलर्जी आउन सक्छन् । 

- होली खेलेपछि जेन्टल क्लिन्जरले मुख र शरीर पखाल्नुपर्छ । रंग उतार्नका लागि स्क्रब वा माड्ने काम गर्न हुँदैन । तैलीय क्लिन्जरको प्रयोग गर्दा रंग राम्रोसँग पखालिन्छ । धेरै रंग लागेको भए पहिले तेलले पुछ्दा पनि हुन्छ । 

- नुहाउँदा मनतातो वा चिसो पानी प्रयोग गनुपर्छ । धेरै तातोपानीले छालाको तेल नाश गर्छ र एलर्जी पनि बढाउन सक्छ । नुहाएपछि मोस्चराइजर लगाउनुपर्छ । घाममा बस्नुहुँदैन । 

एलर्जी भए के गर्ने ?

- धेरै एलर्जी देखापरे छालाका चिकित्सकसँग परामर्श लिनुपर्छ । 

- कम मात्रामा एलर्जी सुरु भएको थाहा भए रंगयुक्त पहिरन परिवर्तन गर्नुपर्छ । नरिवलको तेल लगाएर नुहाउनुपर्छ । 

- नचिलाउने, एलर्जीको औषधि सेवन गर्नुपर्छ । त्यसको केही समयमा पनि ठीक नभए चिकित्सकको परामर्श लिन सकिन्छ ।

अन्त्यमा वर्ष दिनमा एकपटक आउने होली संयमित भएर प्राकृतिक रंगले खेले चाडपर्वको वास्तविक मज्जा लिन सकिन्छ । 

(श्रेष्ठ अनोभा स्किन एन्ड हेयर क्लिनिककी मेडिकल डाइरेक्टर हुन् ।)

 

 Image