Successfully Copied

नम्र नम्रता 

आगामी तयारी भनेको कसरी उत्कृष्ट प्रस्तुति दिने भन्ने नै हो । त्यसका लागि म आफूलाई मानसिक, शारीरिक र बौद्धिक रूपमा तम्तयार अवस्थामा रहने गरी आवश्यक कार्यहरू गरिरहेकी छु ।

‘मिस नेपाल २०२०’ की विजेता नम्रता श्रेष्ठ नम्र र शालीन छिन् । पहिले शिक्षण पेसामा आबद्ध उनले समाजशास्त्रमा स्नातकोत्तरसम्मको शिक्षा प्राप्त गरेकी छन् । ‘मिस वर्ल्ड’ प्रतिस्पर्धाका लागि अमेरिका पुगेकी उनी कोरोनाका कारण प्रतियोगिताको मिति सरेपछि २८ दिन बिताएर नेपाल फर्किइन् । तर, उनी यही मार्च १० मा पुनः सोही प्रतियोगिताका लागि अमेरिका प्रस्थानको तयारीमा छिन् । नम्रतासँग गरिएको कुराकानीको सम्पादित अंश :

‘मिस वर्ल्ड’ को तयारी अवस्थामा अमेरिका पुगेपछि त्यत्तिकै फर्किनुपर्दा कस्तो अनुभव भयो ?

मेरा लागि राम्रै भयो जस्तो मलाई लाग्छ । २८ दिनको अमेरिका बसाइमा हरेक देशका प्रतिस्पर्धीहरूसँग घुलमिल हुन पाइयो । छ–सात वटा फास्ट ट्रयाक इभेन्टमा सहभागी हुने अवसर जुर्‍यो । त्यसबाहेक अन्य थुप्रै कार्यक्रममा सहभागी भएँ । समग्रमा भन्नुपर्दा धेरै कुरा सिक्न पाएँ । 

आगामी तयारी कस्तो चल्दैछ ?

आगामी तयारी भनेको कसरी उत्कृष्ट प्रस्तुति दिने भन्ने नै हो । त्यसका लागि म आफूलाई मानसिक, शारीरिक र बौद्धिक रूपमा तम्तयार अवस्थामा रहने गरी आवश्यक कार्यहरू गरिरहेकी छु । उतिबेलाको तयारीले मात्र पुग्दैन । त्यसैले अबको तयारी फरक र अझ विशेष किसिमले भइरहेको छ । 

‘मिस नेपाल’ को ताज पहिरिएपछि तपाईंले गरेका उल्लेखनीय काम केही छन् कि ? 

विभिन्न सामाजिक अभियानमा जोडिने र सहभागिता जनाउने थुप्रै काम भए । मुख्य कुरा त मेरो ‘ब्युटी विथ पर्पस टाइटल’ का लागि धादिङको नीलकण्ठ नगरपालिकाको थोपल खोलामा झोलुंगे पुल निर्माण गर्न सफल भएँ । इन्द्रेणी पुल नाम दिइएको उक्त पुल गत भाइटीकाका दिन उद्घाटन भएको थियो । यो पुलले स्थानीयलाई निकै सहज बनाइदिएको छ । 

इतिहासको कुनै पात्रसँग भेटेर अन्तर्क्रिया गर्न पाए कसलाई भेट्न चाहनुहुन्थ्यो र किन ?

पृथ्वीनारायण शाहलाई । उहाँसँग भेटेर त्यो समयमा पनि कसरी नेपाल एकीकरणको सोच आयो र कसरी त्यसमा सफल हुनुभयो भनेर बुझ्ने जिज्ञासा छ । 

युवा भएर अहिले तपाईंले भोगिरहेको चुनौती के छ ?

विगतमा म शिक्षिका रहँदा त्यहाँ १५/२० वर्ष काम गरेका अनुभवी शिक्षक/शिक्षिका हुनुहुन्थ्यो । त्यतिबेला मैले अनुभव र नवीन सिर्जना अथवा भनौं आविष्कारबीचको द्वन्द्व महसुस गरें । म जस्ता अहिलेका थुप्रै युवा एक्सपेरियन्स र इनोभेसनबीचको दबाबमा छन् । एक्सपेरियन्सले इनोभेसनलाई दबाएजस्तो अनुभूति हुन्छ । 

केही समयअघि तपाईं विपश्यना गएको भिडियो र अन्तर्वार्ता भाइरल भएको थियो, तपाईं के कुराले विचलित हुनुहुन्थ्यो ? ध्यान समाधानको उपाय रहेछ ?

त्यहाँ ध्यानकै लागि मात्रै पनि जाने होइन रहेछ । प्रवचनलगायत त्यसभित्रका अन्य थुप्रै क्रियाकलापले मेरो इमोसन ब्यालेन्स गराएको महसुस गरें । ‘मिस वर्ल्ड’ मा गएर त्यसै फर्किनुपर्दा र पुनः प्रतियोगिताको समय नजिकिँदै गर्दा थोरै अत्तालिन थालेजस्तो भएको थियो । त्यसो त म पूर्णरूपमा डिप्रेसनमा गएर विपश्यना गएकी होइन । मेरो तहको विचलनलाई विपश्यनाले व्यवस्थापन गर्न सघायो । जे कुराका लागि गएकी थिएँ त्यो फलदायी भएको मैले महसुस गरें । मानसिक शान्ति र धैर्य मैले त्यहाँबाट सिकेका कुरा हुन् । 

नेपाली महिलाको चौतर्फी विकासका लागि के आवश्यक ठान्नुहुन्छ ?

महिलालाई आवश्यक सम्मान र उचित स्थानको जरुरी छ जस्तो लाग्छ । सम्मानको अधिकार दिइयो भने अन्य कुरा क्रमशः विकास हुँदै जान्छन् । 

तपाईंको आगामी योजना ?

‘मिस वर्ल्ड’ जित्ने । यो ताज अर्कोलाई हस्तान्तरण नगरेसम्म मैले जिम्मेवारी पूरा गर्नैपर्छ । यो दुई–तीन वर्षमा धेरै भागदौड र व्यस्तता बढ्यो । ताज हस्तान्तरणपछि केही समय शान्त बस्न मन छ । 

पाठकका लागि केही सुझाव र सन्देश छन् कि ?

हाम्रो पालामा कोरोनाका कारण ‘मिस नेपाल’ को तामझाम उति भएन । त्यही कारण होला धेरैलाई थाहा पनि भएन । जतिले थाहा पाउनुभयो माया, हौसला र प्रेरणा दिइराख्नुभएको छ । यही माया, हौसला र प्रेरणाले म विजेता भइसकें, मैले जितिसकें भन्ने महसुस हुन्छ । यसलाई निरन्तरता दिइरहने काम गर्नुपर्छ ।     

पहिरन : मनीष राई

मेकअप : ज्योति लिम्बू, ल्यासेस मेकअप स्टुडियो, लाजिम्पाट ।

तस्बिर : महेश प्रधान 

लोकेसन : वालनट बिस्ट्रो एन्ड ब्यांक्वेट, दोचा मार्ग, पानीपोखरी ।

 Image