बगानले फेरियो जीवन

नारी संवाददाता

चैत्र ६, २०७८ सिन्धुपाल्चोक भोटेचौरस्थित तामाङ गाउँकी ५३ वर्षीया सुकुमाया तामाङको दिनचर्या हिजोआज फेरिएको छ । केही वर्षअघिसम्म उनी घाँस–दाउरा र वस्तुपालनमा व्यस्त थिइन् । न सुकिलो लाउन पाउने, न मीठो खान नै, न त हातमा कहिल्यै दुई–चार पैसा हुने । तर, ‘एभरेस्ट टी स्टेट’ ले सयौं रोपनी चिया बगानमा प्रशोधन फ्याक्ट्री सुरु गरेपछि सुकुमायाजस्ता धेरै स्थानीय महिलाको आर्थिक स्तर उकालो लागेको छ । उनी भन्छिन्, ‘जीवनमा धेरै दुःख थियो । चिया बगानमा काम गर्न थालेयता आम्दानी बढेको छ । जीवन पनि सहज बनेको छ ।’ यसैगरी, चिया बगानकी शम्भु खतिवडा भन्छिन्, ‘गाउँमा किसानीबाहेक आम्दानीको अर्को स्रोत थिएन । परिवार पाल्नै धौ–धौ थियो । अहिले त्यस्तो छैन । दुई–चार पैसा आम्दानी पनि भएकै छ ।’ बगानमा सुविधाका कारण पछिल्लो समय उनका छोरा र नातिनीले पनि काम गरिरहेका छन् ।’

७० प्रतिशत महिला कामदार रहेको यो बगानमा छ वर्षदेखि ‘एभरेस्ट ह्वाइट’, ‘एभरेस्ट गोल्ड’, ‘एभरेस्ट वुलुङ’, ‘एभरेस्ट ग्रिन’, ‘एभरेस्ट ह्यान्डरोललगायतका ब्रान्डमा चिया उत्पादन भइरहेको छ । पछिल्लो दिनमा अर्थोडक्स चियासमेत आफूहरूले उत्पादन गरिरहेको बगानका अध्यक्ष मोहन मिक्की गिरीले बताए । 

धनकुटा हिलेकी ३२ वर्षीया सन्ध्या राईले पनि यो चिया बगानमा काम गर्न थालेको धेरै भइसक्यो । अर्थोडक्स चिया उत्पादन गर्ने काम सिक्न यहाँ आएकी उनलाई यसैमा मोह बढ्यो । ‘यहाँ आएपछि मेरो क्षमतामा थप निखार आएको छ’ उनी भन्छिन्, ‘पुरुषको वर्चश्व रहेको टी मेकिङमा म एक अब्बल टी मेकर बन्न चाहन्छु जसलाई एभरेस्टले सहयोग गरेको छ ।’ अर्की कामदार २१ वर्षीया मोना गुरुङका अनुसार यो चिया बगानबाट धेरै महिलाको अवस्था र जीवनस्तर बदलिदिएको छ । हातमा पैसा आउन थालेपछि यहाँका महिलामा निर्णायक क्षमतामा समेत वृद्धि भएको छ । 

ब्रान्डका ब्रान्डिङ एन्ड प्रमोसनल म्यानेजर अजिज श्रेष्ठ भन्छन्, ‘हामी गुणस्तरमा कुनै सम्झौता गर्दैनौं । हामीकहाँ हरेक वर्ष आइएसओ टेस्ट आउँछ । माटो, मल, बीउलगायत हरेका कुराको गुणस्तर नापजाँच हुन्छ ।’ उनका अनुसार चियाको उमेर भनेको सय वर्ष हो । 

भोटेचौरको यो चिया बगान भने नयाँ हो । यहाँका कलिला र कलकलाउँदा पालुवाबाट निस्किने चियाको गुणस्तर नै भिन्न हुने उनको अनुभव छ । ४० प्रतिशत चिया टिप्दा आठ हजार किलो चिया निस्किने उनको भनाइ छ । यो बगानले आगामी वर्ष ३०–३५ हजार किलो चिया उत्पादन गर्ने लक्ष्य राखेको छ । आफ्नै फ्याक्ट्री भएकाले चिया प्रशोधन र उत्पादनमा कुनै समस्या नरहेको पनि अजिजले बताए । बगानकै कारण धेरैले रोजगारी पाइरहेका हुँदा वरपरका तामाङ गाउँ, जैसीगाउँ, गुरुङगाउँका बासिन्दा आर्थिक सशक्तीकरणतर्फ लम्किरहेको उनको दाबी छ । 

 

के हो अर्थोडक्स चिया ?

परम्परागत तरिकाबाट प्रोसेसिङ गरी उत्पादन गरिने चियालाई ‘अर्थोडक्स चिया’ भनिन्छ । सामान्यतया यो चिया पत्रैपत्र भएको हुन्छ । चियाको बोटबाट कलिला मुना टिपेपछि सुकाइन्छ । त्यसपछि यसलाई रोलिङ गरी मेसिनद्वारा अक्सिडेसन गरिन्छ र पुनः अस्ताउँदो घाममा सुकाइन्छ । उत्पादनको आवश्यकतानुसार यसलाई विभिन्न साइज र सेपमा रोल गरिन्छ । ‘लुज लिफ’ द्वारा उत्पादन गरिने यो चिया ह्वाइट, ग्रिन, उलङ, ब्ल्याकमा समेत उत्पादन गर्न सकिन्छ । चियाले दाँत बिगार्छ भन्ने भनाइ छ तर ‘अर्थोडक्स चिया’ दाँतका लागि पनि लाभदायक छ । यो चियाले शरीरको तौल घटाउन पनि सहयोग गर्ने दाबी कम्पनीको छ । कम्पनीका अनुसार यसको सेवनले अल्जाइमर, पार्किसन्स र मुटु रोगको जोखिमबाट बच्न सघाउँछ । 

 

मोहन मिक्की गिरी

अध्यक्ष, एभरेस्ट टी स्टेट

चिया बगान सुरु गर्नुको उद्देश्य स्थानीय जनतालाई रोजगारी, नेपाली उत्पादनलाई विश्व बजारसम्म पुर्‍याउनु र पर्यटन प्रवर्द्धन गर्नु हो । छिट्टै हामी सुविधासम्पन्न रिसोर्ट सुरुवात गरी भोटेचौरलाई पर्यटकीय गन्तव्य बनाउँदैछौं । पछिल्लो समय चिया बगान मात्रै हुँदा कतिपयले रोजगारी पाइरहेका छन् । होटल खुलेपछि दोब्बरले जागिर पाउँछन् । चिया बगान भ्रमणका लागि ‘इको फ्रेन्डली’ होस् भनेर हामी ‘हर्स राइडिङ’ पनि राख्दैछौं । बगानभित्र डिजेल–पेट्रोल गाडी गुडाउँदा वातावरण बिग्रिने भएकाले पनि हामीले यो सोचको विकास गरेका हौं । बगानबाट उत्पादित चिया स्वदेशमा मात्रै होइन अमेरिका, अस्ट्रेलिया, युरोपजस्ता विदेशी मुलुकमा पनि पुर्‍याएका छौं । नेपालमा पनि उच्च गुणस्तरीय उत्पादन हुन्छ भन्ने सन्देश पुर्‍याइरहेका छौं । विश्व बजारमा नेपाललाई चिनाउने काम गर्नु हाम्रो प्रमुख उद्देश्य हो । मुख्य कुरा त आफ्नै मुलुकका चियापारखीहरूका लागि स्वस्थ र गुणस्तरीय चिया ख्वाउने भन्ने हाम्रो ध्येय हो । 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>