आयुर्वेदमा महिला क्रेज  

प्रकृति दाहाल

चैत्र ९, २०७८  तीन वर्षअघि देशमा कोरोना महामारी जसरी फैलिएको थियो त्यसैगरी फैलियो आयुर्वेद औषधि । यसमा पनि गुर्जोले त देशव्यापी चर्चा नै पायो । रोगप्रतिरोधक क्षमता बढाउन संक्रमितहरूले विभिन्न औषधि प्रयोग गर्न थाले । आइसोलेसन वार्डहरूमा पनि आयुर्वेद औषधि चलाउन थालियो । आइसोलेसनमा योग, ध्यान र जडीबुटीको प्रयोग गर्ने पहिलो जिल्ला थियो, स्याङ्जा । जसको नेतृत्व गरेकी थिइन्–जिल्ला स्वास्थ्य केन्द्रकी प्रमुख डाक्टर सुभद्रा कार्कीले । पहिलो लहरबाटै आयुर्वेदको सुरुवात गरेकी उनले दोस्रो–तेस्रो लहरमा पनि प्रयोग गर्न सुझाव दिइरहिन् । ज्वरो, सुख्खाखोकीजस्ता समस्या हुनेहरूका लागि उनले जडीबुटी प्रयोग गरिन् । कोरोनाको पहिलो लहर सुरु हुँदा उनी आठौं तह (उपसचिव) भएर स्याङ्जा पुगेकी थिइन् । जिल्लास्तरको अस्पतालमा उनका सामु थुप्रै समस्या थिए । पूर्वाधार र जनशक्तिको अभाव थियो । यी सबैको व्यवस्थापन गर्दै उनले सेवा सुचारु गरिरहिन् । आठ वर्षयता उनी सरकारी सेवा दिइरहेकी छन् । 

पोखरामा उच्च शिक्षा अध्ययनका क्रममा जब उनको भेट नेपाली शिक्षक रामुप्रसाद सुवेदीसँग भयो । तब उनको आयुर्वेदप्रति आकर्षण बढ्दै गयो । तिनै गुरुद्वारा उनलाई आयुर्वेद संस्कृतिबारे जानकारी प्राप्त भयो । उनले दिएको पुस्तकको अध्ययनले आयुर्वेदबारे उनको धारणा फराकिलो बनाइदियो । राम्रो अंक ल्याएर उच्च शिक्षा पूरा गरेकी उनी आयुर्वेदको अध्ययनको बाटो खोज्दै काठमाडौं पुगिन् । त्यसबेला आयुर्वेदको न राम्रो पढाइ न त स्कोप नै तर उनलाई आयुर्वेद शिक्षाले तानिरह्यो । आयुर्वेद चिकित्सकलाई त्यसबेला डाक्टरका रूपमा हेरिँदैनथ्यो । उनले भनिन्, ‘आयुर्वेद पढ्छु भन्दा सबै हाँस्थे, खिसी गर्थे तर मैले पढ्ने आँट गरें’ । उनी आँट र साहस बटुल्दै त्रिभुवन विश्वविद्यालयअन्तर्गतको चिकित्साशास्त्र अध्ययन संस्थानको कीर्तिपुरस्थित आयुर्वेद क्याम्पसमा ब्याचलर अफ आयुर्वेदिक मेडिसिन एन्ड सर्जरी (बीएएमएस) मा भर्ना भइन् । आयुर्वेदमा जब उनलाई संस्कृत पढ्नुपर्‍यो तब पढाइमा असहज महसुस भयो । हिन्दी र अंग्रेजी अनुवादले केही सहज त बनाइदियो तर मूल ग्रन्थ बुझ्न गाह्रो थियो । उनले भनिन्, ‘अंग्रेजी पृष्ठभूमि भएकाले संस्कृत बुझ्न निकै गाह्रो थियो तर पनि हिन्दी–अंग्रेजी अनुवादले सहज बनाइदियो ।’

आयुर्वेद पढछु भन्दा सबै हाँस्थे, खिसी गर्थे तर मैले पढ्ने आँट गरें । मेरो अंग्रेजी पृष्ठभूमि भएकाले संस्कृत बुझ्न निकै ग्राहो भयो । हिन्दी–अंग्रेजी अनुवादले भने सजह बनाइदियो ।

– सुभद्रा कार्की

उनी पढ्दै गइन्, मेहनत गर्दै गइन् ०७० मा ब्याचलर सक्नासाथ लोक सेवामा नाम निकाली मेडिकल चिकित्सकका रूपमा काम गर्न थालिन् । कास्कीमा रहेको गण्डकी अञ्चल आयुर्वेद औषधालयमा कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेसँगै उनी सरकारी सेवामा प्रवेश गरेकी हुन् । सरकारी सेवामा आबद्ध भएको तीन वर्षपछि उनले भारतीय दूतावासबाट प्राप्त हुने छात्रवृत्तिमार्फत राजस्थानस्थित नेसनल इन्स्टिच्युट अफ आयुर्वेद, जयपुरमा स्नातकोत्तर (एमडी) पढ्ने अवसर पाइन् । उनी आयुर्वेदतर्फ नेपालमा आठौं स्त्री रोग विशेषज्ञ बन्न पुगिन् । उनी आयुर्वेद सरकारी सेवासँगै विभिन्न भ्रमात्मक विज्ञापन फ्रि जोनको अभियानमा लागेकी छन् । उनले भनिन्, ‘आयुर्वेदसम्बन्धी थुप्रै भ्रमात्मक विज्ञापन आउने गरेका छन् यसलाई चिर्न आवश्यक छ ।’ आयुर्वेद मानिसको जीवनयापनसँग जोडिएको विषय हो । उनले भनिन्, ‘आयुर्वेद चिकित्सा मानिसको जीवनसँग जोडिएको विषय हो जसले निरोगी बनाउन सहयोग गर्छ ।’ उनी आयुर्वेदमा सरकारी संरचना नियाल्दा उनी खुसी छैनन् । एउटा जिल्लालाई एक आयुर्वेद चिकित्सक दरबन्दीले थेग्न नसक्ने उनले बताइन् । उनले भनिन्–‘समय र अनुसन्धानसँगै आयुर्वेदका लागि सरकारी संरचना पनि परिवर्तन हुन आवश्यक छ ।’ उनी चिकित्सकसँगै लेखनमा पनि रुचि राख्छिन् । उनको गर्भसम्बन्धी ज्ञान भएको ‘गर्भसंस्कार’ पुस्तक विमोचनको पर्खाइमा छ । 

बुवाआमाले आयुर्वेदमा करियर र स्कोप छ भनेर विश्वास गर्नुहुन्थेन ।     पढ्दै गर्दा यसमा के अवसर छ, भविष्य कति सुरक्षित छ भन्ने कुराबारे   म  अन्यौलमा  थिएँ ।

– सरिता बजगाईं

तनहुँमा जन्मेकी सरिता बजगाईंको बाल्यकाल काठमाडौंमै बित्यो । बुवा सरकारी सेवामा थिए । प्रवेशिका परीक्षापछि उनलाई सेवाभावको भावनाले उत्प्रेरित बनायो । सेवा गर्ने करिअरमा उनलाई खुबै मन लागेको थियो । बुवाले उनलाई चाटर्ड एकाउन्टेन्ट बनाउन चाहन्थे । उनको इच्छा र रहर भने स्वास्थ्य क्षेत्रमा काम गर्ने थियो । उनी सानै हुँदा उनका हजुरबुवा आयुर्वेद क्षेत्रमा थिए । बिरामी हुँदा आयुर्वेद औषधि उनले खान्थिन् । त्यतिबेलादेखि नै आयुर्वेदप्रति उनको मोह बढेको थियो । उनले भनिन्, ‘बुबाआमाले आयुर्वेदमा करिअर र स्कोप छ भने भनेर विश्वास गर्नुहुन्थेन ।’ त्यसबेला नेपालमा एउटामात्र कलेज थियो, त्रिभुवन विश्वविद्यालयस्थित कीर्तिपुर आयुर्वेद क्याम्पस । आइएस्सी पढेकाले त्यहाँ भर्ना भई बीएएमएस पढ्न थालिन् । पढ्दै गर्दा के अवसर छ, यसमा भविष्य कति सुरक्षित छ उनलाई थाहा थिएन । यसप्रकारको अन्योलमै उनले सन् २०१० मा ब्याचलर सकिन् । ब्याचलर सकेर उनले एक वर्ष नरदेवी आयुर्वेद अस्पतालमा काम गरिन् । त्यसपछि राम्रो अवसरको खोजीमा लागिन् । लोकसेवामार्फत उनी सरकारी सेवामा लागिन् । करारमा उनले सिन्धुपाल्चोकमा एक वर्ष काम गरिन् । लोकसेवा पास गरेर पहिलो स्थायी कर्मचारीका रूपमा नरदेवी आयुर्वेदमा पाँच वर्ष काम गरिन् । जब लोकसेवा खुल्यो बच्चा जन्मेको एक महिना मात्रै भएको थियो । बच्चा हुर्काउँदै लोकसेवा पढ्न उनलाई निकै गाह्रो थियो । उनले भनिन्, ‘करिअर र बच्चा हुर्काउन समस्या त थियो नै, बच्चा हेर्दै पढ्ने गर्थें ।’ त्यसबेला उनले कति अवस्थामा बच्चा बिर्सने र कति अवस्थामा पढाइ बिर्सन्थिन् । बच्चा, जागिर घरको जिम्मेवारी सम्हाल्दा उनको पढाइ केही पछाडि धकेलियो । परिवार सम्हाल्ने र बच्चा हुर्काउने जिम्मेवारी सम्हाल्दा–सम्हाल्दै महिलाहरूले केही समय रोकिन बाध्य हुने उनको अनुभव छ । महिलाहरूलाई काम र बच्चा रोज्नुपर्ने अवस्था धेरैपटक आउने उनी बताउँछिन् । उनी पढाइका लागि केही समय रोकिइन् । बाध्यताले रोकिएको पढाइ रहरले पुनः सुरु गरिन् । इच्छाशक्ति भए केही कुरा रोकिँदैन भनेझैं उनले पुनः नौ वर्षपछि अध्ययन जारी राखिन् । उनी हाल काया चिकित्सामा कीर्तिपुर क्याम्पसमा एमडी गरिरहेकी छन् । काया चिकित्सकलाई इन्टरनल मेडिसिनका रूपमा पनि बुझ्ने गरिन्छ । काम, पढाइ, करियर र घरपरिवार सम्हाल्दै हिँड्नु छ, उनलाई । पहिलेको समयमा महिलाको सन्दर्भमा केही सुधार भए पनि समस्या अझै रहेको उनले बताइन् । पुरुषप्रधान समाजमा महिलाका इस्युहरू सम्बोधन नहुने उनी बताउँछिन् । नीति निर्माणको क्षेत्रमा महिलाको संख्या कम हुने कारणले पनि महिलाहरूको विषयलाई सम्बोधन नहुने उनले बताइन् । यसले गर्दा महिलाहरूको विषयलाई थप उजागर गर्न नसकिएको उनको धारणा छ । 

आयुर्वेदलाई कसरी जीवनशैलीमा परिवर्तन गर्न सकिन्छ भनेर आरोग्य नेपाल  स्थापना गरेका छौं । यो नेपालका लागि नयाँ कन्सेप्ट हो । 

– बिहानी सन्ज्याल

‘तिमी ठूलो भएपछि के बन्ने नानी ?’ यो प्रश्न सुन्न नपाउँदै बिहानी सन्ज्यालको मुखबाट निस्कन्थ्यो–डाक्टर । कालिकोटस्थित एउटा गाउँमा जन्मिएकी उनको बाल्यकालदेखि नै डाक्टर बन्ने सपना थियो, यसमा उनको बुवाको रहर पनि मिसिएको थियो । बुवा शिक्षक थिए । दुर्गममा बसेर छोराछोरीको शिक्षा पूरा हुँदैन भनेर उनी टीकापुर झरेका थिए । पढाइमा अब्बल उनले विद्यालयस्तरको पढाइ टीकापुरबाट र नेपालगञ्जबाट प्रविणता प्रमाणपत्र तहको शिक्षा पूरा गरिन् । नर्स बन्ने उद्देश्यका साथ नर्सिङ लाइसेन्सको परीक्षा दिइन् । नर्सिङ पास गरे पनि उनलाई डाक्टर नै बन्ने रहर थियो । कैलाली, टीकापुर, नेपालगञ्ज हुँदै उनी डाक्टर बन्ने सपना र जागिर खाने सोचले ०६९ मा काठमाडौं आइन् । उनले शिक्षण अस्पताल महाराजगन्जमा नर्सका रूपमा काम गरिन् । त्यहाँ काम गर्दा उनी बिरामीको चापले आत्तिन्थिन् । मिर्गौला (नेफ्रो) वार्डमा प्रायः मृगौलाका बिरामीको उपचारमा खटिन्थिन् उनी । बिरामीको पीडासँगै बग्थिन् पनि । उनलाई लाग्थ्यो–अस्पताल छ, औषधि, सबथोक हुँदाहुँदै पनि उनलाई बिरामीको संख्या कसरी बढिरहेको छ ? बिरामीको कार्ड हेर्दा कम्तीमा १० वटा औषधि खाएको उनले पाउँथिन् । बिरामीहरू औषधिले पेट भरियो भन्दै उनीसम्म आइपुग्थे । नर्सको भूमिका निभाइरहँदा उनले आफूलाई सानो महसुस गर्न थालिन् । चिकित्सा क्षेत्रमा आफू रहँदा पनि केही गर्न नसकेको उनलाई बोध भयो । बिरामीले खाएको औषधिले उनलाई उकुसमुकुस हुन थाल्यो । यसको समाधान के हुन्छ –उनी खोज्दै थिइन् । त्यतिबेलै, उनका बुवाले आयुर्वेद उपचार विधि सिकाए र त्यसमा डाक्टरको पनि पढाइ हुन्छ भनेर जानकारी गराए । उनका लागि शब्द र पढाइ नै नौलो थियो । यसमा थप जान्ने जिज्ञासा भने बढ्दै गयो । उनको यही जिज्ञासा र हुटहुटीले आयुर्वेद शिक्षण अस्पताल कीर्तिपुरमा भर्ना भएर पाँच वर्षमा ब्याचलर पूरा गरिन् । ब्याचलर सकेपछि उनलाई अवसरले खोज्न थाले । उनले प्राइभेट क्लिनिकहरूमा आयुर्वेद चिकित्सकका रूपमा काम गर्न थालिन् । अवसरले उनलाई पछ्याइरह्यो । उनले कलेजमा पढाउन थालिन् । उनको पढाइ र कामलाई विवाहपछि अझ सहज र बलियो बनाइदियो । एउटै क्षेत्रका जीवनसाथीको सहयोगमा आरोग्य नेपाल स्थापना गर्न सफल भइन् । ‘आयुर्वेदलाई कसरी जीवनशैलीमा परिवर्तन गर्न सकिन्छ भनेर आरोग्य नेपाल स्थापना गरेका हौं,’ उनले भनिन्, ‘यो नेपालका लागि नयाँ कन्सेप्ट हो ’ उनलाई आयुर्वेदमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ बन्नु थियो । यसका लागि छात्रवृत्ति प्राप्त गरिन् । उनी हाल जयपुरस्थित नेसनल इन्स्टिच्युट आयुर्वेदमा अध्ययनरत छिन् । विज्ञ बनेर नेपाल फर्किने तयारीमा रहेकी उनी मानिसको जीवनयापन आयुर्वेदमार्फत सुधार्न लागिपर्ने, अग्रसर हुने योजनामा छन् ।

 

गाउँ–गाउँमा पुग्दा थुप्रै महिलामा पाठेघरको समस्या, योनिबाट पानी बग्ने समस्या देखेंपछि म स्त्री रोग विशेषज्ञ बन्नुपर्छ भन्ने लाग्यो । किनभने अझै पनि महिलाहरू पुरुषसँग खुलेर बोल्न नसक्ने भएकाले महिलाबाटै रोगको उपचार गराउन चाहन्छन् । 

– सविना खड्का

यसैगरी, आइएस्सी सकेर चितवनबाट सविना खड्का काठमाडौं आइन् । के पढ्ने, के गर्ने, खोज्ने क्रममा उनले आयुर्वेदको ब्याचलरबारे जानकारी पाइन् । यो विषय लुकेको विषय भएकाले उनलाई थप जान्नु आवश्यक थियो । आयुर्वेद पढेर पनि चिकित्सक बन्न पाइन्छ भन्ने निस्कर्षमा उनी यता तानिएकी हुन् । नेपालमा परम्परागत रूपमा जडीबुटीमा पनि केही गर्न सकिन्छ भन्ने उनलाई भयो । यस विषयमा उनलाई भन्दा पनि बुवाको झुकाव थियो । आयुर्वेद भनेको उनलाई आफ्नो मौलिकता जस्तो लाग्यो । नरदेवी अस्पतालमा छ महिना र कीर्तिपुर अस्पतालमा उनले छ महिना प्रशिक्षार्थी (इन्टर्न) का रूपमा काम गरिन् । हाल उनी लाँकुरीभन्ज्याङस्थित आरोग्य नेपालमा मेडिकल अफिसरका रूपमा कार्यरत छन् । योग, आयुर्वेद, काउन्सिलिङ उनले हेरिरहेकी छन् । जब उनी गाउँ–गाउँ पुगिन् तब थुप्रै महिलाको पाठेघरको समस्या, योनिबाट पानी बग्ने समस्या देखिन् । त्यसपछि उनलाई अब स्त्री रोग विशेषज्ञ बन्नुपर्छ भन्ने लाग्यो । अझै पनि महिलाहरू पुरुषहरूसँग खुलेर बोल्न नसक्ने भएकाले महिलाबाटै रोगको उपचार गराउन चाहन्छन् । यी समस्याका लागि आयुर्वेदको प्रभावकारी र राम्रो नतिजा आएको र भविष्यमा केही राम्रो गर्न सकिने उनलाई विश्वास छ । आयुर्वेदको क्षेत्रमा भर्खरका त्यसमाथि पनि महिला डाक्टरहरूलाई अझै पनि विश्वास गर्न नसकिने अवस्था रहेको उनी बताउँछिन् । महिलाहरूले धेरै प्रश्नको सामना गर्नुपर्ने उनको भनाइ छ । महिला डाक्टरलाई बिरामीहरूले समेत डाक्टरका रूपमा नहेर्ने उनको अनुभव छ । 

प्रज्ञा पन्थीलाई डाक्टर बन्ने रहरले नै आर्युर्वेदिक डाक्टर बनायो । दुई वर्षअगाडि ब्याचलर सकेर हाल उनी नरदेवी आयुर्वेदिक अस्पतालमा काम गरिरहेकी छन् । आइएस्सी सकेपछि उनले शिक्षा मन्त्रालयको छात्रवृत्तिमा ब्याचलर पढ्ने अवसर पाइन् । 

सरकारको छात्रवृत्तिमा पढेपछि दुई वर्ष अनिवार्य सरकारी संस्थामा काम गर्नुपर्ने हुन्छ । सोही नियमानुसार उनी पहिलोपटक रामेछाप जिल्ला पुगिन् । दुई वर्ष रामेछाप र ललितपुरमा बिताइन् । जनमानसमा आयुर्वेदिक जडीबुटीमा मात्रै सीमित छ भन्ने आममानिसको बुझाइ चिर्न उनी सफल भएकी छिन् । उनले भनिन्, ‘आयुर्वेद भनेको जडीबुटीमा सीमित छैन त्यो भ्रम हो । जडीबुटी भनेको आर्युर्वेदको एउटा पाटो हो ।’ 

अहिलेको सन्दर्भमा निको नहुने रोग, नसर्ने रोगहरू मानिसको जीवनशैलीमा आएको परिवर्तन त्यसमा आयुर्वेदको प्रभावकारिता उनले देखेकी छन् । आयुर्वेदमा पाका व्यक्तिहरूमात्र उपचार गराउन आउँथे तर पछिल्लो समय युवावर्ग पनि आयुर्वेदप्रति आकर्षित हुन थालेको उनले बताइन् । अस्पतालमा हाडजोर्नी, पेटसम्बन्धी, पायल्स, बाँझोपनका समस्या हुने बिरामी बढी आउने गरेका छन् । पछिल्लो समय आयुर्वेदसम्बन्धी जनचेतना पनि बढ्दै गएको उनले बताइन् । आयुर्वेद उपचारलाई थप सशक्त बनाउन सरकारी स्तरबाटै प्रोत्साहन गर्नुपर्ने उनको धारणा छ । 

‘आयुर्वेद भनेको जडीबुटीमा सीमित छैन त्यो भ्रम हो । जडीबुटी भनेको आयुर्वेदको एउटा पाटो हो ।’ 

– प्रज्ञा पन्थी

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>