Successfully Copied

झांगिएको प्रेम 

रंगकर्मी तथा निर्देशक आकांक्षा कार्की र कलाकार सुदाम सिकेलाई विवाहप्रति उत्ति रुचि थिएन । विवाह र प्रेमलाई फरक–फरक तरिकाले बुझेको यो जोडीलाई प्रेममय जीवन सँगै बिताउन विवाह नै गर्नुपर्छ जस्तो लाग्दैन ।

रंगकर्मी तथा निर्देशक आकांक्षा कार्की र कलाकार सुदाम सिकेलाई विवाहप्रति उत्ति रुचि थिएन । विवाह र प्रेमलाई फरक–फरक तरिकाले बुझेको यो जोडीलाई प्रेममय जीवन सँगै बिताउन विवाह नै गर्नुपर्छ जस्तो लाग्दैन । तर, यी दुवैले कोरोना देखिनु दुई महिनाअघि विवाह गरे । आकांक्षा भन्छिन्, ‘परिवार, आफन्त र समाजको खुसीका लागि हामीले विवाह गर्नैपर्ने भयो, नत्र त हामी प्रेमी–प्रेमिका मात्रै भएर लिभिङ रिलेसनसीपमा रहने चाहना थियो ।’ सुदामको पनि विवाह एक संस्था हो र प्रेम कुनै संस्था होइन भन्ने बुझाइ छ । उनी भन्छन्, ‘हाम्रो संस्कार र समाजले विवाह महिलालाई नियन्त्रणमा राख्ने कसी बनाइदिएको छ । मेरो हुर्काइ–बढाइसँगै मस्तिष्कमा त्यही छाप पर्दै गयो । यसर्थ पनि मलाई विवाहप्रति रुचि नभएको हो, अर्को कुरा म आफै पनि कसैको नियन्त्रणमा बस्न नचाहने मान्छे हुँ । र, अरूलाई पनि बाँधेर राख्न मन नपराउने भएकाले पनि यो संस्थाप्रतिको मेरो आकर्षण कम भएको हुनसक्छ ।’

१२ वर्षअघि काठमाडौंमा भारतको ‘नेसनल स्कुल अफ ड्रामा’ का प्रशिक्षकहरू आएर नाट्य कार्यशाला गरेका थिए । दुवैजना उक्त कार्यशालामा छानिएका थिए । उनीहरूको पहिलो भेट त्यहीँ भएको हो । भारतमा पढिरहेकी आकांक्षा त्यसलगत्तै उतै फर्किहालिन् । ‘उता गएपछि खासै वास्ता भएन । कहिलेकाहीँ हालखबर सोध्नेबाहेक विशेष कुराकानी हुँदैनथ्यो’ भर्खरै प्रेम अंकुराउन थालेको क्षण स्मरण गर्दै आकांक्षा भन्छिन्, ‘सन् २०१७ मा म नेपाल फर्केपछि पुनः एउटै काममा आबद्ध हुने अवसर जुर्‍यो । सुदामका नाटकहरू हेर्ने मौका पाएँ । उसभित्र मैले अभिनयको विशेष कला र क्षमता देखें । तर धेरैले उसलाई मुडी, घमण्डी भन्दा रहेछन् । वास्तवमा ऊ त्यस्तो मान्छे होइन । यो मान्छेलाई बुझिदिने, सुनिदिने मान्छेको खाँचो छ जस्तो महसुस हुन थाल्यो, त्यस्तो मान्छेको साथ पाए यो ठूलो सम्भावना बोकेको केटा हो र एकदिन सफल हुन्छ जस्तो लाग्यो । म पनि कला क्षेत्रमै भएकाले कलाकारिता बुझ्ने मान्छेले मेरो कामलाई पनि बुझ्छ जस्तो लाग्यो । अनि माया लाग्न थाल्यो ।’ सुदामलाई भने दुईबीचको हुर्काइ–बढाइ, पढाइ, पारिवारिक प्रतिष्ठालगायतका कुरामा ठूलो भिन्नता भएकाले यो सम्बन्ध अगाडि बढ्न सक्दैन भन्ने लागेको थियो । यिनै कारणले पनि उनी उति बढी प्रेम दर्शाउँदैनथे । यही भिन्नताले आफूहरूको प्रेम गन्तब्यमा पुग्दैन कि भन्ने शंका र त्रास पैदा भएको उनीहरू बताउँछन् । अर्कातर्फ सामाजिक लेखाजोखाको त्रासमा परेको सम्बन्धलाई आकांक्षाको सुदामप्रतिको अभिभावकत्व, प्रेम र आफ्नोपनले अझैं मलजल गर्दै लगेको थियो । सुदाम भन्छन्, ‘हामीले आफ्नो सम्बन्धबारे परिवारलाई सुनाउँदा हामीले शंका गरेको दुईबीचको भिन्नता समाप्त भयो । अब पालो थियो विवाह नगरी सँगै बस्ने विषय । यो कुरामा पनि क्रान्ति गर्दा समाजबाटै बहिस्कृत भइने पो हो कि भन्ने लाग्यो । अफेयर भएको साढे दुई वर्षपछि परिवार, आफन्त र समाजको खुसीका लागि विवाह गर्‍यौं ।’ अहिले त्यो विवाह सम्झिँदा अलि जिद्दी गरेर खर्च कम गर्ने वातावरण बनाउन सकिएन भन्ने आकांक्षालाई लाग्छ । हुन पनि उनीहरूको विवाह भव्यरूपमा सम्पन्न भएको थियो । डा. अरुणा कार्की र आर्मी अफिसर सन्तोष कार्कीको लाडप्यारले छोरी आकांक्षालाई उतिबेलादेखि नै कोमल स्वभावको बनाएको थियो । त्यसैको परिणाम मन नलाग्दा नलाग्दै पनि उनले उक्त विवाहको तामझामलाई नकार्न सकिनन् । विवाहअघि अत्यन्त्र स्वतन्त्र जिन्दगी बिताउँदै आएका आकांक्षा–सुदाम दुवैमा आत्मनिर्भरता र स्वाभिमानको भोक छ । विवाहपछि यी दुवै घरायसी व्यवहार र जिम्मेवारीका लागि तयार थिएनन् ।

 धादिङका राजाराम र मममाया छत्कुलीले छोरा सुदामलाई १५ वर्षकै उमेरदेखि स्वतन्त्र छोडिदिए । काठमाडौंमा संघर्ष गर्दागर्दै सुदामभित्र आत्मनिर्भरताले जरा गाड्यो । ‘टलकजंग भर्सेस टुल्के’, ‘रेड मनसुन’, ‘होस्टल रिर्टन्स’ लगायतका आठवठा ठूला चलचित्र र दुई दर्जन बढी रंगमञ्चका नाटकमा उनले आफ्नो माझिएको कला यसै प्रस्तुत गरेका होइनन् । उनी भन्छन्, ‘म मान्छेको स्वतन्त्रता र इच्छालाई सम्मान गर्छु । हाम्रो सामाजिक मान्यता र परम्पराअनुसार विवाहपछि एउटा पुरुषले नारीलाई आफ्नो स्वामित्वभित्र राख्न खोज्छ । ऊ मेरो मात्रै हो भन्ने सोच पलाउँछ । तसर्थ हाम्रो समाजमा पुरुषले जहिले आफूभन्दा कम पढेकी, कम उमेरकी, कम कमाउने महिला खोज्छ ताकि उसलाई आफ्नो नियन्त्रणभित्र राख्न सकियोस्, वर्चश्व जमाउन सहज होस् । त्यसैले पनि मलाई विवाह नामक संस्था मन परेन । तर हामी दुवै जना आत्मनिर्भर भएकाले यी सबै कुरादेखि आफूलाई अलग राख्ने प्रयास गरेका छौं । अरुको कुरासँग हामीलाई मतलब छैन ।’ बाल्यकालदेखि नै आफ्नो काम आफैं गर्दै हुर्किएका सुदाम विवाहपछि पनि खाना पकाउने, भाँडा माझ्ने, लुगा धुनेदेखि सरसफाइसम्मका घरायसी काम सबै आफैं गर्छन् । आकांक्षामा पनि श्रीमान्ले कमाएर मलाई पाल्नुपर्छ भन्ने सोच छैन । उनी आफू पनि मनग्य कमाउँछिन् । सुदामले प्रशस्त स्वतन्त्रता दिएको बताउँदै आकांक्षा भन्छिन्, ‘सुरु–सुरुमा कतै जाँदा एक कल फोन नगर्ने, कहिलेकाहीँ त मलाई शंका लाग्थ्यो, यो मान्छेले मलाई प्रेम नै गर्दैन कि क्या हो भनेर तर, ऊसँग बस्दै, बुझ्दै र संवाद गर्दै जाँदा उसलाई अत्यन्त स्वाभिमानी र विश्वासिलो पाएँ । उसले मलाई कहिल्यै आफ्नो नियन्त्रणमा राख्न चाहेन, विवाहित भएर पनि म सिन्दूर–पोते, टीका लाउँदिन, जतिबेला घर फर्के पनि कुनै प्रश्न आउँदैन । त्यसैले हाम्रो सम्बन्धलाई थप बलियो बनाएको छ ।’ 

आकांक्षालाई कहिलेकाहीँ शब्दद्वारा प्रेम प्रस्तुत गरिदिए हुने जस्तो लाग्छ भने सुदामलाई प्रेम भनेको भन्ने कुरा होइन गर्ने कुरा भएजस्तो लाग्छ । अहिले उनीहरू एक–अर्काको यो बुझाइ सिक्दै–सिकाउँदै अघि बढिरहेका छन् । सुदामलाई दाम्पत्य यात्रा एक साहसिक र रमाइलो अनुभव भइरहेको छ । उनी भन्छन्, ‘म कामले थाकेर घर फर्किंदा त्यहाँ घर हुनु, दुःख–सुख बाँड्नु, एकले अर्काको भावनाको सम्मान र कदर गर्दै अघि बढ्नु नै दाम्पत्य जीवनको सुन्दर पक्ष रहेछ ।’ वैवाहिक जीवनलाई बलियो बनाउने सूत्र बताउंँदै आकांक्षा थप्छिन्, ‘पारदर्शिता, बहिर्मुखी स्वभाव, सम्बन्ध समान छ/छैन भनेर बेला–बेला गरिने जाँच, समानता र एक–अर्काप्रतिको सम्मान तथा विश्वासले सम्बन्ध अझ प्रगाढ हुन्छ जस्तो मलाई लाग्छ ।’ 

आकांक्षाबारे सुदाम

बलियो पक्ष– आत्मविश्वासी, आत्मनिर्भर ।

कमजोरी– नाइँ भन्न नसक्ने, चाहिने भन्दा दानी स्वभाव ।

कहाँसम्म पुगेको हेर्ने इच्छा छ ?– ऊ आफ्नो खुसीको गन्तव्यसम्म पुगेको हेर्न चाहन्छु ।

मेरो मनपर्ने कुरा– हरेक कामलाई सम्मान गर्ने स्वभाव मन पर्छ । 

आकांक्षालाई मन परेको फिल्म\ ड्रामा– कपूर एण्ड सन्स, म्यारिज स्टोरी र पात्रहरूमा डल्स हाउसको नोरा ।

सुदामबारे आकांक्षा

बलियो पक्ष– अरुलाई सुन्न सक्ने शक्ति ।

कमजोरी– आफ्नो क्षमताप्रतिको विश्वासमा कमी, क्षणिक सपना देख्ने बानी । 

आकर्षक पक्ष– इमान्दार र अत्यन्तै स्वाभिमानी ।

खुबी– सिर्जनात्मक र विशेष कल्पनाशीलता भएको मान्छे ।

सुधार्नुपर्ने कुरा– आफ्नो सीप र क्षमताप्रतिको आत्मविश्वास बढाउनुपर्छ । 

सुदाम कहाँसम्म पुगेको हेर्ने रहर छ ? – ऊ अत्यन्तै क्षमतावान्, अकल्पनीय अभिनय कला बोकेको मान्छे हो । अभिनयमा ‘रि–डिस्कभर’ भएको हेर्ने मन छ । अब्बल कलाकारको दर्जा पाएको देख्ने इच्छा छ । 

 Image