Successfully Copied

घरपालुवामा किर्नाको उपचार 

गर्मी सुरु भएपछि किर्ना र उपियाँको प्रकोप बढेर जान्छ । घरपालुवालाई गर्मीमा लाग्ने छालाका रोगहरू तथा केही प्राणघातक रोगका प्रमुख कारक तत्व नै किर्ना र उपियाँ हुन् । कहिलेकाहीँ घरपालुवाका लागि यी घातक हुनसक्छन् ।

गर्मी सुरु भएपछि हाम्रा घरपालुवालाई किर्ना र उपियाँले आक्रमण गर्न थाल्छन् । घरपालुवामा किर्ना र उपियाँबाट धेरै किसिमका प्राणघातक रोग लाग्न सक्छन् । किर्ना र उपियाँले निम्त्याउने रोगहरूमध्ये इक्यानिस, एनाप्लाज्मा, बेबेसियोसिस तथा टिक पक्षघात प्रमुख हुन् । यिनले घरपालुवामा छालासम्बन्धी धेरै किसिमका रोग पनि निम्त्याउँछन् ।

कुन समयमा घातक ?

हाम्रो देशमा गर्मी सुरु भएपछि किर्ना र उपियाँको प्रकोप बढेर जान्छ । घरपालुवालाई गर्मीमा लाग्ने छालाका रोगहरू तथा केही प्राणघातक रोगका प्रमुख कारक तत्व नै किर्ना र उपियाँ हुन् । कहिलेकाहीँ घरपालुवाका लागि यी घातक हुनसक्छन् ।

घरपालुवामा किर्ना र उपियाँको प्रकोप भइसकेपछि कतिपय मानिसले यसलाई हातले टिपेर फाल्छन्, जुन सही होइन । यसो गर्दा समस्या झनै जटिल बन्न सक्छ । एउटा किर्नाले दश दिनमा करिब हजारौं अण्डा पार्छ । त्यसैगरी एउटा उपियाँले एकदिनमै करिब पचास वटा अण्डा पार्छ । यी अण्डालाई हामीले नाङ्गो आँखाले हेर्न सक्दैनौं । तसर्थ यस्ता समस्या भएको अवस्थामा नजिकको पशुचिकित्सकको सल्लाहबमोजिम रोकथामका उपयुक्त उपाय अपनाउनुपर्छ । 

कस्ता रोगहरू ? 

किर्नाले घरपालुवामा इक्यानिस, एनाप्लाज्मा, बेबेसियोसिस् जस्ता रोग लाग्छन् । किर्नाको टोकाइबाट घरपालुवालाई पक्षघातसम्म हुनसक्छ । खासगरी यो रोगको कारण घरपालुवाको तौल घट्ने, खाना नखाने, शरीरमा रगतको कमी हुने, लिभर र किड्नीमा खराबी देखिन सक्छ । सही समयमा रोगको पहिचान र सही उपचार नहुँदा घरपालुवा मर्न सक्छन् । 

रोकथामका उपाय 

अहिले घरपालुवालाई किर्ना र उपियाँबाट जोगाउन विभिन्न किसिमका औषधि बजारमा उपलब्ध छन् । त्यसमा खुवाउने औषधिदेखि शरीरमा एक ठाउँमा लगाउने औषधिसम्म प्रयोग गर्न सकिन्छ । किर्ना र उपियाँका लागि एउटा चक्की खुवाउँदा तीन महिनासम्म घरपालुवालाई जोगाउन सकिन्छ । त्यस्तै, किर्ना र उपियाँबाट घरपालुवालाई जोगाउन बजारमा विभिन्न किसिमका साबुन, स्याम्पु, स्प्रे पनि उपलब्ध छन् । पशुचिकित्सकको सल्लाहअनुसार मात्र आफ्नो घरपालुवाको शारीरिक तौल, बनावट, जात तथा केशको किसिमअनुसारको औषधि प्रयोग गर्नु उचित हुन्छ ।

किर्ना र उपियाँको उचित व्यवस्थापन गरी घरपालुवालाई सुरक्षित राख्न सकिन्छ । केही किर्ना र उपियाँले मानिसको स्वास्थ्यमा पनि प्रतिकूल असर पार्न सक्ने हुनाले सुरक्षित रहन आवश्यक छ । 

(पशुचिकित्सक यादव एडभान्स्ड पेट हस्पिटलमा आबद्ध छन्)

 Image