Successfully Copied

दूबोमा सौन्दर्य  

दूबो रोप्न बलौटे माटो चाहिन्छ । चिम्ट्याइलो माटोमा दूबो फस्टाउँदैन । त्यस्तै पर्याप्त घाम लाग्ने ठाउँमा मात्र दूबो सप्रन्छ । ओझेल परेको ठाउँमा दूबो रोप्नुहुँदैन । 

भक्तपुर, गठ्ठाघरकी प्रनु आचार्यले घर निर्माण गर्दा सानो क्षेत्रफल बगैंचाको लागि छुट्याएकी छन् । उनी बगैंचाको बीचमा दूबो र वरिपरिको भागमा ढकमक्क फुल्ने फूल रोप्ने सोचमा छिन् । ‘यहाँ गाउँघरमा जस्तो फराकिलो र जताततै हरियाली देख्न सकिँदैन’ उनी भन्छिन्, ‘त्यसैले थोरै भए पनि बगैंचा बनाउने सोचमा छु । यसले मन आनन्दित बनाउँछ ।’ 
घरको सौन्दर्य बढाउन बगैंचाले महत्वपूर्ण भूमिका खेल्ने यशोदा लावर नर्सरीका संस्थापक राजन थापा बताउँछन् । उनका अनुसार दूबोले घरलाई सफा र हरियाली देखाउँछ, धूलो उड्न दिँदैन । स्वास्थ्यका दृष्टिकोणले पनि दूबो फाइदाजनक हुने उनको तर्क छ । बिहान घाम झुल्कनुअघि दूबोमा लागेको शीतमा खाली खुट्टा हिँड्दा मधुमेह तथा उच्च रक्तचापमा लाभ मिल्ने विभिन्न अध्ययनले देखाएको छ । 
नेपालमा जर्मनी, जापनिज र चाइनिज दूबो रोप्ने गरिन्छ । ‘यहाँको हावापानीमा दूबो उपयुक्त हुन्छ’ राजन भन्छन् । त्यसमा पनि जर्मनी दूबोको माग बढी हुन्छ । स्थानीय दूबो लहरिएर जाने र झाँगिने भएकाले विदेशबाट आयातीत दूबो नै रोजाइमा पर्ने उनको भनाइ छ । दूबोको बीउ छरेर उमार्न सकिन्छ । बीउ धेरै महँगो पर्ने र जोकोहीले उमार्न गाह्रो हुने भएकाले नर्सरीमा पाइने तयारी दूबोको बिरुवा सार्न सकिन्छ । जर्मनी र जापनिज दूबो ३५ देखि ४० हजार किलो पर्छ भने चाइनिज २५ देखि ३० हजार रुपैयाँमा पाइन्छ । 
दूबोको चौर घरको क्षेत्रफल र आवश्यकतानुसार जस्तोसुकै आकारमा पनि बनाउन सकिन्छ । पछिल्लो समय छतमा पनि बगैंचा बनाउने चलन छ । पर्याप्त ठाउँ नभएको अवस्थामा छतमा बगैंचा बनाउन सकिन्छ । यसका लागि दुईदेखि तीन इन्चसम्म माटो भए पुग्छ । 



उपयुक्त मौसम
दूबोको बिरुवा सार्न र बीउ छर्न फागुन–चैत महिना उपयुक्त मानिन्छ । मंसिर, पुस र माघमा बढी चिसो हुने भएकाले दूबो त्यति सप्रदैन । 

कसरी रोप्ने ?
दूबो रोप्न बलौटे माटो चाहिन्छ । चिम्ट्याइलो माटोमा दूबो फस्टाउँदैन । त्यस्तै पर्याप्त घाम लाग्ने ठाउँमा मात्र दूबो सप्रन्छ । ओझेल परेको ठाउँमा दूबो रोप्नुहुँदैन । 
दूबो रोप्न सबैभन्दा पहिले उपयुक्त ठाउँको छनोट गर्नुपर्छ । त्यसपछि खनेर सबैतिर एकै लेभलमा माटो मिलाउनुपर्छ । खाल्डाखुल्डी, तलमाथि भएको ठाउँमा बगैंचा राम्रो देखिँदैन । त्यस्तै, पानी जम्ने ठाउँमा दूबो मर्छ । माटो तयार पारिसकेपछि नर्सरीबाट ल्याएको दूबोको चपरा मिलाएर बिछ्याउनुपर्छ ।
 


हेरचाह 
‘दूबोलाई जोगाउन एकदमै गाह्रो हुने बुझाइ छ, जुन गलत हो’ राजन भन्छन् । उनका अनुसार दूबो कहिले रोप्ने, कसरी रोप्ने, कसरी हेरचाह गर्ने जस्ता कुराको सामान्य जानकारी भए यसलाई जुनसुकै मौसममा पनि जोगाउन सकिन्छ । उचित स्याहार–सुसार गर्न सकियो भने दूबो जोगाउन गाह्रो नहुने उनी बताउँछन् । दूबो रोपेपछि झार आउन दिनुहुँदैन । झार आउनासाथ उखेलिदिनुपर्छ । दूबो कतै बाक्लो कतै पातलो भएर आउँछ । यसलाई काटेर मिलाउनुपर्छ । वर्षमा दुईदेखि तीन पटक आवश्यकतानुसार काट्नुपर्छ । दूबोमा धेरै हिँड्नुहुँदैन । राम्रोसँग सरिसकेपछि मात्र हिँड्नुपर्छ । 
दूबो सारेपछि सेटिङ नभएसम्म दैनिक पानी हाल्नुपर्छ । त्यसपछि भने सातामा एकपटक पानी दिए पुग्छ । बेला–बेलामा मल हालिराख्नुपर्छ । दूबोलाई युरिया, डिएपी, पोटास राख्नुपर्छ । दूबोको उचित हेरचाह गर्न सके यसलाई वर्षौंसम्म जोगाएर राख्न सकिन्छ ।

 Image