Successfully Copied

छुटाउनै नहुने खाद्यवस्तु 

हामीले छुटाउनै नहुने खाद्यवस्तुहरू मेथी, कागती, बिमिरो र पुदिना (बाँवरीको पात) हुन् । यी खाद्यवस्तुमा पाइने पोषण र खनिज तत्वहरूले मानव स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छन् ।

हामीले छुटाउनै नहुने खाद्यवस्तुहरू मेथी, कागती, बिमिरो र पुदिना (बाँवरीको पात) हुन् । यी खाद्यवस्तुमा पाइने पोषण र खनिज तत्वहरूले मानव स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छन् । स्वस्थ जीवन जिउन सघाउँछन् । त्यसैले यी खाद्यवस्तुको नियमित सेवनबाट चुक्नु हुँदैन । 

मेथी 

मेथीको साग र बीउ दुवै प्रयोग गर्न सकिन्छ । उमारेको मेथीको टुसाबाट विभिन्न परिकार बन्छन् । मेथीका टुसा, लसुन, अदुवा, बदाम, नुन–कागती हालेर सलाद बनाउन सकिन्छ । आलु, केराउमा र मेथीको टुसा हालेर अचार बनाउन सकिन्छ । मेथी भिजाएर बिहान–बिहान खाँदा स्वास्थ्यमा राम्रो प्रभाव पर्छ । दाल–तरकारी खाँदा मेथीको प्रयोगले स्वाद बढ्छ । मेथीमा लौह तत्व हुन्छ । रेसादार तत्व पनि हुन्छ । यसले कब्जियत कम गर्न पाचन प्रणालीमा सहयोग गर्छ । त्यसैले स्वास्थ्यका लागि धेरै फाइदाजनक हुन्छ । यो हरियो तरकारीका रूपमा पनि प्रयोग गरिन्छ । मेथीका दानामा सूक्ष्म मात्रामा, क्याल्सियम, म्याग्नेसियम, पोटासियम, जिंक, लौहतत्व, फोलिक, एसिडजस्ता खनिज र थोरै मात्रामा भिटामिन ‘ए’, ‘बी’, र ‘सी’ पनि हुन्छ । 

छालाको सुख्खापन हटाउन पनि मेथीको प्रयोग गरिन्छ । मेथीका दाना भिजाई पिसेर लेदो अनुहारमा लगाउँदा छाला सफा हुन्छ । मेथीको सेवनले रगतमा हुने चिनीको मात्रा कम गर्न सहयोग गर्ने भएकाले यो मधुमेहका रोगीहरूलाई फाइदाजनक हुन्छ । 

 

कागती 

नियमित रूपमा कागतीलाई चिया, सर्बत, दाल आदिमा मिलाएर खान सकिन्छ । कागतीमा भएको भिटामिन ‘सी’ ले रोग प्रतिरोधात्मक शक्ति बढाउँछ । त्यसैले हाम्रा पुर्खाले गर्मी सुरु हुने अक्षय तृतीयामा कागतीको सर्बत र जौको सातु खाने चलन चलाएको हुनुपर्छ । 

गर्मीमा कागतीसँग सातु खाँदा विभिन्न खाले पेटको रोगबाट बच्न सकिन्छ । ‘लु’ नलागोस् भनेर पनि कागती–पानी पिउने चलन छ । प्याकेटमा पाइने महँगो र हानिकारिक फलफूलको रस पिउनुको साटो कागतीको रस पिउने बानी बसाले स्वास्थ्य र पैसा दुवै बचत हुन्छ । 

कागती चिया ‘लेमन टी’ भनेर पाँचतारे होटलमा १५० रुपैयाँमा बेच्दा खुसीसाथ खान्छौं । तर त्यही कागती चिया ‘लेमन टी’ घरमा पिउँदैनौं । पाहुनालाई दिन हच्किन्छौं । 

जब हामीले कागती प्रयोग गर्छौं तीमध्ये अधिकांशले बोक्रा फालेको देखिन्छ । तर, त्यो बोक्रामा रेसादार पदार्थ, भिटामिन ‘सी’ र क्याल्सियम पनि पाइन्छ । रस निकालिसकेको कागतीको बोक्रालाई साना–साना टुक्रा पारी सलादमा राखी खान सकिन्छ । यसलाई चियाजस्तै उमालेर पनि खान सकिन्छ । 

मधुमेह रोगीले समेत यो भिटामिन ‘सी’ बाट फाइदा लिन सक्छन् । मिचिगन विश्वविद्यालयका अनुसन्धानकर्ता डा.मार्क मोयाडका अनुसार रगतमा भिटामिन ‘सी’ को उच्च मात्रा हुनुको अर्थ समग्र स्वास्थ्य राम्रो हुनु हो । 

बिहान खाली पेटमा कागती पानी पिएमा शरीरबाट विषालु पदार्थ निस्किन्छ । यसले खाना पचाउन मद्दत गर्छ । तर, कागती पानी महसँग खाँदा बोसो काटिएर तौल घट्छ भन्ने भ्रम हो । 

रुघाखोकीका लागि कागती पानी पिउँदा जाडोको बेलामा घाँटी दुखेको कम हुन्छ । कागतीको रस मनतातो पानीमा हालेर खान दिने चलन हाम्रो छ । कागती पानी पिएपछि सादा पानीले एकपटक कुल्ला गरेमा कागतीको अमिलोले दाँतमा असर गर्दैन । 

गर्भवतीलाई वाकवाक लाग्दा कागती खाने सल्लाह दिइन्छ । कागतीको बोक्राको तीतो स्वाद मन नपरेमा सुकिसकेको बोक्रालाई सिसाभित्र नुनमा चोबली घाममा सुकाई अचार बनाएर पनि खान सकिन्छ । 

नेपालमा गरिएको एक अनुसन्धानअनुसार कागतीको रसले हैजाका कीटाणु वृद्धि हुन रोक्छ । तर, खुमलटारस्थित नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजीबाट गरिएको यो अनुसन्धानको व्यावहारिक प्रयोग भएन । साधारण मानिसको जानकारीका लागि यो अनुसन्धानको रिपोर्ट बाहिर आएन । गर्मीको बेला कागतीको प्रयोग उचित हुन्छ भनेर अनुसन्धान गर्नेले कतै बोलेनन् ।

 

बिमिरो 

प्रायः बिमिरो बोटबाट आफैं झर्दैन । यो हत्तपत्त कुहिँदैन र गल्दैन, कीराले पनि यसलाई खाँदैन । त्यसैले दीर्घायु कामनाका रूपमा यो फल प्रयोग गरिएको होला । म्ह पूजा तथा भाइटीकामा बिमिरोको प्रयोग गरिन्छ । 

नेपालमा बिमिरो फलका रूपमा खाइँदैन तर युरोप र अमेरिकातिर भने यो स्वादिष्ट फलका रूपमा खाइन्छ । कोरोना महामारीका बेला प्रतिरोधी क्षमता बढाउँछ भनेर भिटामिन ‘सी’ क्याप्सुल बिक्री धेरै भए । तर, बिमिरोका रस र बोक्रालाई पनि प्रयोग गर्न सकिन्छ भन्ने विचारै गरिएन । बिमिरोमा भिटामिन ‘सी’ पर्याप्त हुने भएकाले चियामा कागतीजस्तै हालेर खान सकिन्छ । यसमा भएको भिटामिन ‘सी’ र बोक्रामा रहेको रेसादार पदार्थ आदिले रोगसँग लड्ने शक्ति दिन्छ । कब्जियत कम गर्न पनि सहयोगी मानिन्छ । साथै हातगोडा फुटेमा यसको रस ग्लिसिरिन वा तेलमा मिलाएर प्रयोग गर्न सकिन्छ । यसमा सूक्ष्म मात्रामा क्याल्सियम, आइरन, जिंक, पोटासियमलगायत अन्य थुप्रै तत्व पाइन्छन् ।

 

पुदिनाको पात 

बाँबरी वा पुदिनाको पातको महत्व विदेशमा धेरै छ । यसले स्वास्थ्य राम्रो गर्छ भन्ने कुरा थाहा नपाएर धेरैले महत्व दिएका छैनन् । तर, औषधिका रूपमा त्यही पुदिना बजारमा आउँदा जति पनि पैसा तिर्छौं । भारतमा उत्पादन गरिएका ‘पुदिनहरा’ क्याप्सुल नेपाली बजारमा प्रशस्तै बिक्री हुन्छन् । बाँबरी नखानेले ‘पुदिनहरा’ चाहिँ खान्छन् । गर्मीको बेला पुदिनाका पात राखी बनाएको सर्बतमा बिरेनुन र कागती हालेर सेवन गर्दा स्वादिलो र लाभदायी हुन्छ । बाँबरी र कागतीको टुक्रा पानीमा १०–१२ घण्टा भिजाएर पनि खान सकिन्छ । बाँबरी उमालेर चियाजस्तै बनाएर पनि खान सकिन्छ, जुन तरिकाले खाए पनि यसले स्वास्थ्यलाई फाइदा पुग्छ । 

 Image