Successfully Copied

एकै थलोमा कलाकार

अन्तर्राष्ट्रिय कला महोत्सव ‘काठमाडौं ट्रिएनाले २०७८’ यतिबेला राजधानीमा चलिरहेको छ । महोत्सवमा ४० देशका १३० भन्दा बढी कलाकार ३०० भन्दा बढी सिर्जना लिएर सहभागी भएका छन् ।

अन्तर्राष्ट्रिय कला महोत्सव ‘काठमाडौं ट्रिएनाले २०७८’ यतिबेला राजधानीमा चलिरहेको छ । महोत्सवमा ४० देशका १३० भन्दा बढी कलाकार ३०० भन्दा बढी सिर्जना लिएर सहभागी भएका छन् । कलाकृति बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरी, नेपाल आर्ट काउन्सिल, ललितपुरस्थित पाटन संग्रहालय, बहादुर शाह बैठक, बौद्धस्थित तारागाउँ संग्रहालयमा अवलोकन गर्न सकिन्छ । 

सन् २००९ मा सुरु भएको महोत्सवको यो चौथो संस्करण हो । महोत्सवमा चित्रकला, मूर्तिकला, प्रतिस्थापन कला, फोटोग्राफी, चलचित्र आदि समेटिएका छन् । महोत्सवमा मुख्यगरी सहर र सहरीकरणमा आधारित कलाकृतिहरू राखिएका छन् । आर्ट काउन्सिलमा बेल्जियमका कलाकार फ्रान्सिस आलिसको भिडियो ‘विरोधाभासको अभ्यास १’, कलाकार वीरेन्द्रप्रताप सिंहका ‘सहरका चित्रहरू’, शिलासा राजभण्डारीको हजुरआमाप्रति समर्पित प्रतिस्थापन कला, रोमानियाका कलाकार सिप्रियन मुरेसानको ‘शीर्षकविहीन’ लगायतका कला प्रदर्शन भइरहेका छन् । महोत्सव दक्षिणपूर्व एसियादेखि ल्याटिन अमेरिकासम्म बहसमा रहेको सीमान्तकृत समुदाय र तिनका इतिहास, संस्कृति, औपनिवेशिकता, परम्पराका पक्षहरूमा केन्द्रित छ । 

रोमानिया, फ्रान्स, अस्ट्रेलिया, ताइवान, रसिया, ग्वाटेमाला, इटाली, जर्मनी, चीन, अफगानिस्तान, भियतनामलगायतका कलाकारहरूको कलालाई प्रदर्शनीमा नियाल्न सकिन्छ । 

क्यरुटोरियल टिममा निर्देशक हङकङस्थित पारा साइटका कला निर्देशक कस्मिन कोस्टिनास र सह–क्यरुटरद्वय हितमान गुरूङ र शिलासा रहेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सिद्धार्थ आर्ट फाउन्डेसनको सहकार्यमा फागुन तेस्रो सातादेखि उक्त महोत्सव भइरहेको हो । 

प्रदर्शनी ‘कला यहाँ रमाउँछ’ नाराका साथ चैत २७ गतेसम्म चल्नेछ । 

 Image