Successfully Copied

चोकचोकमा स्तम्भ

पर्यटकीयस्थल भेंडेटार चोकबाट पूर्वतर्फ सय मिटर दूरीमा शंखको ठूलो स्तम्भछ । त्यसलाई शंखेश्वर मन्दिर भनिन्छ । धरानबाट उकालिँदै गर्दा डाँडामा सेतो रंगको शंख देख्न सकिन्छ । शंखले महाभारत पहाडको पौराणिक पक्षसँग समेत महत्व राख्ने स्थानीयको दाबी छ ।

पर्यटकीय दृष्टिले अग्रणी जिल्ला धनकुटामा आगन्तुकको स्वागत गर्ने शैली फेरिएको छ । दैनिकजसो वाह्य तथा आन्तरिक पर्यटक भित्रिने त्यहाँ स्वागत लेखिएका ठूला गेट र होडिङबोर्ड कमै छन् । तर, चोकैपिच्छे स्थान विशेष पहिचान दिलाउने स्तम्भ बनाएर पर्यटक आकर्षण गर्ने होडबाजी छ । त्यहाँ बनाइएका स्तम्भले आगन्तुकहरूलाई एउटा चोकबाट अर्को चोकमा जानधेरै सजिलो भएको छ। धनकुटा प्रवेश गर्ने दक्षिणी नाका भेंडेटारदेखि उत्तरतर्फको सिधुवासम्म स्तम्भहरू छन्, स्तम्भहरूले सेल्फी खिच्नेलाई लोभ्याउँछन् । 

पूर्वको प्रमुख पर्यटकीय केन्द्र धनकुटाको भेंडेटारमा शंख, हिलेमा तोङ्बा, सिधुवा बजारमा काउली, तेह्रथुमको वसन्तपुरमा गुराँस, लसुनेमा लसुन, म्याङलुङमा बिरालो, संक्रान्ति बजारमा फाल्गुनन्दको स्तम्भ र संखुवासभाको मूढेशनिश्चरे बजारमा यलम्बरको स्तम्भ बनाइएका छन । 

भेंडेटारको शंखेश्वर 

पर्यटकीयस्थल भेंडेटार चोकबाट पूर्वतर्फ सय मिटर दूरीमा शंखको ठूलो स्तम्भछ । त्यसलाई शंखेश्वर मन्दिर भनिन्छ । धरानबाट उकालिँदै गर्दा डाँडामा सेतो रंगको शंख देख्न सकिन्छ । शंखले महाभारत पहाडको पौराणिक पक्षसँग समेत महत्व राख्ने स्थानीयको दाबी छ । धार्मिक पर्यटनको दृष्टिले कलाकार रोजन राईको परिकल्पनामा ०७० मा शंखेश्वर मन्दिर निर्माण भएको हो । ४९ फिट अग्लो शंखको आकारको मन्दिर भारतको गुजराँतपछिको अग्लो भएको स्थानीय विष्णुराज श्रेष्ठको दाबी छ । शंखेश्वर मन्दिरमा दैनिक सयौं पर्यटकले पूजा गरी तस्बिर खिच्छन् ।

एभोकाडो पार्क

झट्ट नियाल्दा काटेर खान तयार पारिएको फल राखिएको भान हुन्छ । धनकुटा नगरपालिका–छस्थित एभोकाडो पार्कमा एभोकाडोकै आकर्षक स्तम्भ सजाइएको छ । उसो त धनकुटा नगरपालिकाले नगरलाई एभोकाडोको राजधानी घोषणा गर्दै एभोकाडो फेस्टिवल पनि गर्दै आएको छ । पछिल्लो समय एभोकाडो खेतीमा धनकुटाका कृषकको विशेष सहभागिता देखेर धनकुटा नगरपालिकाले पार्क निर्माण गरी यसको स्तम्भ राखेको नगरप्रमुख चिन्तन तामाङ बताउँछन् । नगरका कृषकले वार्षिक सात करोडभन्दा बढीको आम्दानी हात पार्ने महत्वाकांक्षी योजनासहित एभोकाडोको प्रचार थालिएको हो । एभोकाडो पार्क क्षेत्रमा ‘फ्रि वाइफाइ’ व्यवस्था गरिएसँगै पर्यटकको आकर्षण बढ्दै गएको छ । जिल्ला बाहिरबाट पुग्ने जोकोहीको प्राथमिकतामा एभोकाडो पार्क पनि रहेको छ । 

हिलेको तोङ्बा

वरिपरि हरियालीसँगै क्षणभरमा बादलुको घुम्टोभित्र लुकामारी गर्ने हिलेलाई बजारको चोकमा रहेको तोङ्बाको सालिकले थप सौन्दर्य प्रदान गरेको छ । बाह्रै महिना चिसो हुने हिलेलाई सुन्दर वातावरणले पर्यटकको मन लोभ्याउनु सामान्य हो । अझ यहाँको चिसोपनलाई न्यानो पार्ने मौलिक पेय पदार्थ तोङ्बालाई सायद कसैले भुल्लान् । हिलेको तोङ्बा र सुकुटीले यति प्रसिद्धि पाइसकेको छ कि, त्यहाँ पुग्ने अधिकांशको रोजाइमा यो पर्छ । त्यसैले हिलेको मौलिकपन एवं परम्परा झल्काउने उद्देश्यले स्थानीय युवाले तोङ्बाको आकर्षक भाँडोको स्तम्भ बनाएका हुन् । हिले समुद्र सतहबाट करिब १९ सय मिटरको उचाइमा छ । अझ कलात्मक तारघेराभित्र सजाइएको २२ फिट अग्लो र चार मिटर गोलाइको तोङ्बाको स्तम्भले त्यहाँ पुग्ने जोकोहीलाई लोभ्याउने गरेको वाणिज्य संघका पूर्वअध्यक्ष उमेश घिमिरेको भनाइ छ । कोदोबाट बनाइएको स्वादिलो तोङ्बाले चर्चित धनकुटाको हिले बजारमा स्थानीय युवाको समूहले नौ लाख रुपैयाँ लागतमा स्तम्भ निर्माण गरेको हो । हिले बसपार्कमा निर्माण गरिएको २२ फिट अग्लो कलात्मक तोङ्बा हिले बजारमा पहिलोपटक आउनेका लागि आकर्षण लाग्ने र तस्बिर खिच्नेको भीड नै लाग्ने गरेको छ ।

खोकुको सुन्तला

मुलुकमै स्वादिष्ट सुन्तलाका रूपमा परिचित धनकुटाको खोकुमा सुन्तलाको आकर्षक स्तम्भ बनाइएको छ । सुन्तलाको स्तम्भ एवं पार्कले त्यहाँ पुग्ने आन्तरिक तथा वाह्य पर्यटकको ध्यान तान्ने गरेको गाउँपालिका अध्यक्ष मनोज राईको भनाइ छ । सहिदभूमि गाउँपालिकाको मुकामका रूपमा रहेको पिप्लेमा उक्त पार्क छ । 

हात्तीखर्कमा हात्ती

धनकुटाको छथर जोरपाटी गाउँपालिकाको हात्तीखर्कमा नामअनुसारको हात्तीको स्तम्भ रहेको छ । तीन वर्ष पहिले निर्माण गरिएको स्तम्भ पहाड धरातलमा नपाइने प्रसिद्ध जनावर हात्तीलाई सजीवझैं लाग्छ । कुनै बेला हात्ती बस्ने ठाउँका रूपमा रहेकाले उक्त स्थानलाई हात्तीखर्क भनिएको स्थानीय भीम खेवा लिम्बूको भनाइ छ । हात्तीखर्कमा रहेको हात्तीको स्तम्भ अवलोकन गर्न विभिन्न ठाउँबाट सर्वसाधारण पुग्छन् । 

सिधुवाको काउली

धनकुटाकै छथर जोरपाटी गाउँपालिकालाई कृषिको पकेट क्षेत्रका रूपमा चिनाउन सिधुवा बजारको मुख्य चोकमा काउलीको स्तम्भ निर्माण गरिएको छ। स्थानीय सिंहदेवी युथ क्लबको अगुवाइमा करिब सात लाख रुपैयाँको लागतमा काउलीको स्तम्भ निर्माण गरिएको हो । यो स्तम्भ करिब छ फिट गोलाइ र पाँच दशमलव पाँच फिट उचाइको छ । सिधुवा बजारमा तरकारी त्यसमा पनि काउलीको खपत बढी हुने र काउलीको संकलनका साथै निकासी हुने मुख्य बजारका रूपमा पहिचान बनाएकाले काउलीको स्तम्भ बनाइएको कृषि अभियन्ता मेघेन्द्र गुरुङ बताउँछन् ।

महालक्ष्मीको रुद्राक्ष

धनकुटाको महालक्ष्मी नगरपालिकाको मुकाम जितपुर बजारमा रुद्राक्षको आकर्षक स्तम्भ निर्माण गरिएको छ । महालक्ष्मी नगर रुद्राक्ष उत्पादन तथा कारोवारको दृष्टिले अग्रणी रहेकाले प्रतीकका रूपमा रुद्राक्ष स्तम्भ निर्माण गरिएको नगर प्रमुख पर्शुराम नेपालको तर्क छ । त्यहाँ पुग्ने पर्यटकले स्तम्भमा तस्बिर खिच्छन् । 

 Image