वातावरणमैत्री ‘लुङ्दर’ र खादा

विद्या राई

वैशाख २१, २०७९

बौद्ध धर्मावलम्बी तीर्थधाम, हिमाल तथा पर्यटकीय स्थलहरूमा हावाको वेगसँगै फरफराउने रंगीचंगी झण्डाले जोकसैलाई मनमुग्ध बनाउँछ । बजारमा सहजै पाइने यस्ता प्लास्टिक र पोलिस्टरबाट बनेको ‘लुङ्दर’ र खादा सजिलै नष्ट हुँदैन । नकुहिने भएकाले डढाएर नष्ट गर्दा निस्कने प्रदूषित धूवाँले वातावरण र स्वास्थ्यमा क्षति पु¥याउने विभिन्न अध्ययनले देखाएका छन् । बौद्ध आङडोल्मा शेर्पाले भने वातावरणमैत्री (बायोडिग्रेवल) ‘लुङ्दर’ र खादा उत्पादनको बाटो पहिल्याएकी छन् ।

डोल्माले जान्दैदेखि नकुहिने फोहोर पदार्थ सकभर प्रयोग गर्नुु्हँुदैन भन्ने आमाबाट सिकिन् । कुहिने पदार्थलाई जमिनमा गाडेर कम्पोस्ट बनाइहाल्थिन् । उनको परिवारले आधा दशकअघिदेखि नै कटनको कपडामा मन्त्रहरू छापेर आवश्यक साइजका खादा र लुङ्दर प्रयोग गर्न थालेका थियो । यस्तो खादा र लुङ्दर आफन्त, साथीभाइ तथा विदेशी साथीभाइहरूले मन पराउन थालेका थिए । यसलाई बौद्ध धर्म अनुयायीहरूको माझमा फैलाउनुपर्छ भन्ने सोच बनाइन् ।

कोरोना महामारीले देशको आर्थिक, सामाजिक, पर्यटकीय लगायत सबै क्षेत्रमा असर पनि बौद्ध धर्मावलम्बीहरूका धार्मिक गतिविधि भने रोकिएनन् । बौद्ध धर्मावलम्बीहरूलाई नभै नहुने खादा र लुङ्दर पनि स्वदेशमै उत्पादन गर्न सके यहीँ अर्थाेपार्जनको सम्भावना उनले देखिन् । बौद्ध धर्मावलम्बीका गुरुहरूसँग भेटेर सल्लाह मागिन् । धार्मिक आस्था र अभ्यासलाई तोडमोड नगरीकन ‘डिस्पोट’ हुने कपडा प्रयोग गरेर लुङ्दर र खादा बनाउने उनको प्रयासलाई सबैले प्रशंसा गरे । अहिले उनले गुम्बाहरूसँग सहकार्य गरेर काम गर्दैछिन् ।  

प्रेसमा लगेर बौद्ध धर्मका मन्त्रहरू ‘स्किन प्रिन्ट’ गर्छिन् । मागअनुसारका आवश्यक साइजका खादा र लुङ्दर उत्पादन हुन्छन् । उनले ठूलो उद्योग खोलेकी होइनन् । टोलका गृहिणीहरूले लुगा सिलाउने कलमा खादा र लुङ्दरलाई तयारी गर्छन् । डोल्माले उनीहरूलाई ज्याला तिर्छिन् । यसमार्फत टोलका आठ जना गृहिणीले घरैमा रोजगारी हुने अवसर पाएका छन् । सानो लगानीमा घरैमा बसेर बनाउन सकिने हुँदा स्वदेशमा रोजगारी पनि सिर्जना होस् भन्ने उनको अर्काे लक्ष्य रहेको छ ।

बजारमा पाइने लुङ्दर र खादाको पृष्ठभूमि रंगीन हुन्छ । उनले बनाउँदै आएको लुङ्दर र खादामा सेतो पृष्ठभूमि हुन्छ । मन्त्रहरू मात्रै सेतो, नीलो, रातो, हरियो र पहेंलो रंगमा प्रिन्ट गरिएको हुन्छ । पााच÷छ पटक धुँदा खादाको रंग उड्छ । यसलाई टालोका रूपमा प्रयोग गर्न सकिन्छ । खादा र लुङ्दरलाई खाल्डो खनेर पुर्दा पाँच महिनामा कुहिन्छ । उनको यो प्रयासलाई अनुशरण गर्ने हो भने पर्यटकीय तथा धार्मिक स्थलहरूमा हुने ‘नन–बायोडिग्रेबल’ फोहोर कटौतीमा सघाउ पुग्ने उनको भनाइ छ ।

बौद्ध धर्म÷सम्प्रदायमा शुभपर्व तथा कार्यको स्वागतका लागि मालाका रूपमा खादाको प्रयोग गरिन्छ । घर तथा परिवारमा सुख, शान्ति तथा समृद्धिका लागि लुङ्दर र दर्जु लगाउने पुरानै चलन भएको बौद्ध धर्मगुरु पूर्वा लामा बताउँछन् । ‘गौतम बुद्धको पालादेखि नै लुङ्दरको प्रयोग हुँदै आएको शास्त्रमा उल्लेख गरिएको छ’ उनी भन्छन् । ‘स्वर्गका राजा इन्द्र युद्धमा हारेपछि फेरि जित्नका लागि गौतम बुद्धले मन्त्रहरू छापेर लुङ्दर बनाएर पठाएपछि युद्ध जितेको कुरा बौद्ध धर्ममा पाइन्छ ।’

बौद्ध धर्मअनुसार लामो डोरी वा धागोमा टाँगिएका स–साना चारपाटे झण्डालाई लुङ्दर÷लुङ्दा भनिन्छ भने लामो बाँस वा काठमा बाँधेर झुन्ड्याइने ठाडो झण्डालाई दर्जुका रूपमा चिनिन्छ । यसले विभिन्न बाधा–अड्चनहरूसमेत घरपरिवारमा आउन नदिने विश्वास रहँदै आएको छ । खादा, लुङ्दर र दर्जुको प्रयोग गरिने प्रत्येक रंग र अक्षरमा धर्मविधानअनुसारको अर्थ र धार्मिक आस्था यसलाई प्रयोग गरिने अन्य वस्तुका रूपमा दाँज्न नमिल्ने लामाको बुझाइ छ । सेतो, रातो, नीलो, पहेँलो र हरियो रंगमा पञ्चतत्व, अष्टमंगलजस्ता मानव सृष्टि र कल्याणको धार्मिक तथा सांस्कृतिक पक्ष जोडिएको हुन्छ । बौद्ध परम्पराअनुसार लुङ्दर, खादा बनाउँदा जस्तोसुकै कच्चापदार्थ प्रयोग गरे पनि यसको मूल्य र मर्मलाई मास्नु हुँदैन । अर्का बौद्ध धर्मगुरु लामा गोसेरको भनाइमा लुङ्दर र दाज्र्यो÷दर्जु घरको शोभाको लागि सजाइने वस्तु मात्र होइन । उनी भन्छन्, ‘हावामा जति लुङ्दर, दर्जु हल्लियो त्यति नै त्यहा“ छापिएका मन्त्रहरूले बाधा र नराम्रा कुरा पर लैजाने र मानिसलाई सुख–शान्ति मिल्ने कुरा हाम्रो छ्योइ (शास्त्र) मा लेखिएको छ ।’

‘ह्वाइट’ गुम्बा, फर्पिङ, नमोबुद्ध, दामन, बौद्ध स्तुपा, खोटाङको हलेसी, नाम्चे, फ्रान्सका दुईवटा गुम्बामा डोल्माले उत्पादन गरेका लुङ्दर लगाइएको छ । हिमाल आरोहणमा जाने आरोहीहरू, पर्वतीय गतिविधिमा संलग्न व्यक्तिहरू र चिनेजानेका मानिसहरूले उनले उत्पादन गरेका खादा र लुङ्दर प्रयोग गरिरहेका छन् । ‘बौद्धमा लगाएपछि मान्छेहरूले खोजी–खोजी बुझ्न, किन्न आउन थालेका छन्,’ उनले भनिन् । यो अभियानलाई व्यावसायिक रूपमा अघि बढाउन उत्पला क्राफ्ट स्थापना गरेकी छन् । यसको इन्स्टाग्राम आइडीबाट अर्डर लिन्छिन् । बौद्धमा कोरु स्टोर तथा कर्म कफीको पुल्चोक र बौद्ध शाखाबाट किन्न पनि सकिन्छ । जनवरी र फेब्रुअरीमा दुई हजार थान जति लुङ्दर बिक्री भए । महिनामा औसत चार सय थान खादा बिक्री हुन्छन् । नौ मिटरको एक लहर लुङ्दरको होलसेल मूल्य ४५० पर्छ भने खुद्रा मूल्य  ५५० पर्छ । दुई मिटर लामो खादाको होलसेल मूल्य  १९० तथा खुद्रा मूल्य  २५० पर्छ । अर्डरअनुसारका साइजका बनाउँदा मूल्य थपघट हुने बताइन् । स्वदेशमा मात्रै होइन, उनले उत्पादन गरेका लुङ्दर र खादा अमेरिकाको न्यूयोर्क, जर्मनी र फ्रान्समा पनि निर्यात भैरहेका छन् । उनी भन्छिन्, ‘लुङ्दर र खादा बौद्ध तीर्थस्थल र पर्यटकीय स्थलमा बढी प्रयोग हुने भएकाले गाउँ–गाउँतिरै विस्तार गर्ने सोच छ, ठूलो फ्याक्ट्री पनि खोल्नु नपर्ने भएको हिसाबले गाउँमा रोजगारी पनि सिर्जना हुन्छ, काठमाडौंमै लगिराख्नुपरेन ।’ यसका लागि नबिल बैकसँग सहकार्य गर्दैछिन् । ‘दुई–चार वटा बैंकमा मैले ऋण लिन खोजें, धितो के राख्ने भनेर सोधें, मसँग त्यो छैन नि त, जोखिम मोल्दैनौं भने तर नबिलले मलाई दियो र मेरो सोचलाई विस्तार गर्छु भन्नुभएको छ,’ उनले सुनाइन् ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले शेर्पाको ‘रोल मोडेल’ कार्यलाई दूरदराजका महिलाहरूको आर्थिक सशक्तीकरणसित जोड्ने बताए । ‘उहाँको बायोडिग्रेबल उत्पादन हाम्रो दिगो बंैकिङको सोचसँग मिलेको छ, व्यवसाय दर्ता गर्न नसक्ने, फ्याक्ट्री खोल्न नसक्ने, बैंकमा धितो राख्न नसक्ने तर आयआर्जन गर्न चाहनेलाई ऋण उपलब्ध गराउँछौं,’ उनले भने ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>