Successfully Copied

सुनीता डंगोल, युवा नेतृ

राजनीति भनेको राज्य व्यवस्थापन गर्ने नीति र प्रणाली हो । यो फोहोरी खेल र व्यापार होइन, विशुद्ध समाजसेवा हो । मुलुकमा आमूल परिवर्तन र जनहितका काम गर्ने यो एउटा संयन्त्र पनि हो । 

ग्ल्यामर क्षेत्रमा सक्रिय तपाईंमा राजनीतिक रस कसरी प्रवेश गर्‍यो ?

यो आजको आजै तय भएको होइन । राजनीतिमा पहिले देखिकै रुचि हो । मुलुकमा परिवर्तन र समाजमा योगदान दिने ज्यावल नै राजनीति हो भन्ने मेरो बुझाइ थियो । यो सही समय हो भन्ने लागेर राजनीतिमा होमिएकी हुँ । 

तपाईंको बुझाइमा राजनीति के हो ?

राजनीति भनेको राज्य व्यवस्थापन गर्ने नीति र प्रणाली हो । यो फोहोरी खेल र व्यापार होइन, विशुद्ध समाजसेवा हो । मुलुकमा आमूल परिवर्तन र जनहितका काम गर्ने यो एउटा संयन्त्र पनि हो । 

तपाईंलाई युवाहरू राजनीतिमा आउनुपर्छ भन्ने किन लाग्छ ?

युवाको सोच र क्षमता जुझारु हुन्छ । हामी जति राजनीति फोहोरी खेल हो भनेर पाखा लाग्छौं त्यति नै दुःख पाउँछौं । राजनीतिले प्रणाली परिवर्तन गर्छ, मुलुकमा परिवर्तन ल्याउँछ । मुलुकको विकास यसैले तय गर्छ । युवाको जोश मात्र होइन अब विज्ञता पनि मुलुकका लागि लगानी हुनुपर्छ  । अग्रजको अनुभव र युवाको जोश, विज्ञता अनि शक्तिको संमिश्रणले पक्कै नयाँ बिहानी आउनेछ । 

तपाईंका प्रमुख एजेन्डा के–के हुन् ?

काठमाडौंलाई स्वच्छ, हराभरा र व्यवस्थित सहरका रूपमा विकास गर्ने मेरो पहिलो एजेन्डा हो । डिजिटल काठमाडौं बनाउने, ई–गभर्नेन्सद्वारा काम सम्भव बनाउने अर्को योजना हो । काठमाडौंलाई सांस्कृतिक सहरका रूपमा विकास गरी आन्तरिक पर्यटक आकर्षणका कार्यक्रम ल्याउने कुरा पनि प्राथमिकतामा छन् । ‘केएमसी एप’ मार्फत स्क्यान कोडहरू राख्ने र त्यसैबाट ऐतिहासिक र सांस्कृतिक स्थानबारे पूर्ण जानकारी मिल्ने आठ वटा रोडम्याप बनाएकी छु । 

तपाईंको भिजन र एजेन्डालाई कार्यान्वयन गर्न कस्तो कदम चाल्नुहुन्छ ?

गर्न सकिने काम मात्रै योजनाका रूपमा राखेकी छु । सपना मात्रै देखाएर जनतामा भ्रम फैलाउने योजना मेरो छैन । मैले आफ्ना एजेन्डाहरूलाई अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गरी तीन भागमा वर्गीकरण गरेकी छु । त्यसैले यी योजनाहरू पूरा गर्न सहज हुनेछ । 

नेपालको विकासका लागि आवश्यक प्रमुख तीन कुरा के–के हुन् ?

शिक्षा, स्वास्थ्य र मनस्थिति परिवर्तन । 

युवा सशक्तीकरण र विकासका लागि के आवश्यक ठान्नुहुन्छ ?

युवालाई स्वदेशमै बस्ने गरी रोजगार सिर्जना गर्न सक्नुपर्छ । रोजगारी दिइयो भने युवा सशक्त हुन्छन् । सशक्तीकरण धेरै हदसम्म अर्थसँग जोडिएको हुन्छ । त्यस्तै, युवा उद्यमशीलतामा जोड दिनुपर्छ । 

महिला नेतृत्वमा आउन मात्रै नभएर टिकिरहन के जरुरी छ भन्ने लाग्छ ?

देशभरकै स्थानीय तहमा ४१ दशमलव ३० प्रतिशत महिलाको संख्या छ । अब संख्यात्मक होइन गुणात्मक रूपमा नेतृत्वमा वृद्धि हुनुपर्छ, जसका लागि शिक्षा पहिलो सर्त हो । सोचमा परिवर्तन अर्को मूल आवश्यकता हो । 

महिला डेपुटीमै कहिलेसम्म रहिरहने हो ?

राजनीतिमा यो मेरो पहिलो खुड्किलो हो । यसपटक मलाई पदभन्दा पनि उद्देश्य पूरा गर्नुपर्छ भन्ने लाग्यो । मेरो लक्ष्य भनेको छोटो बाटो होइन, यो लामो यात्राको सुरुवात हो । युवालाई विश्वास गर्ने परम्परा बस्दैछ । यसलाई सकारात्मक रूपमा लिनुपर्छ । 

आगामी योजना के छ ?

राजनीतिलाई लामो यात्राका रूपमा लिएर अगाडि बढ्नेछु अनि राष्ट्र र जनताको सेवा गर्नेछु । 

 Image