साहित्यको रिटर्न  छिट्टै हुँदैन

उपासना घिमिरे

जेष्ठ २, २०७९ स्याङ्जाको अर्मादी खोला, झरल्याङदीमा ५० वर्षअघि रजनी ढकालको जन्म भएको हो । बुवा गाउँकै विद्यालयमा प्रधानाध्यापक भएकाले उनले पढ्ने राम्रो वातावरण पाइन् । त्यहीँबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेकी उनले मानवशास्त्रमा एमए र नेपाली विषयमा विद्यावारिधि (पीएचडी) गरेकी छन् । छ/सात वटा समालोचनाका पुस्तक प्रकाशित गरिसकेकी रजनीका कविता, निबन्ध, उपन्यास र गीत संग्रहका १४ वटा पुस्तक प्रकाशित भइसकेका छन् । उनी नेपाल विद्याभूषण ‘क’, पद्मकन्या स्वर्णपदक, क्षेत्रीय प्रतिभा पुरस्कार, जसराज किराँती प्रतिभालगायतका पुरस्कारबाट सम्मानित भइसकेकी छन् । त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर र एमफिलका विद्यार्थीलाई नेपाली विषय पढाउँदै आएकी ढकालसँग साहित्य र जीवनका बारेमा गरिएको कुराकानीको सम्पादित अंश :

तपाईं साहित्यमा प्रतिबद्ध भएर लाग्नुभएको छ । लेखक बन्ने सपना सानैदेखिको हो कि ? कसरी यो क्षेत्रप्रति आकर्षित हुनुभयो ?

साहित्य पढ्ने रुचि सानैदेखिको हो । चार/पाँच कक्षा पढ्दाताकै गौरी, मुनामदन पढेर आमालाई सुनाउँथें । साहित्य लेखन भने ५० को दशकमा सुरु भयो । नेपाली साहित्यमा एमए गर्दा साथीभाइ, गुरु एवं अग्रजबाट प्रेरणा मिल्यो । प्रवेशिका परीक्षापछि काठमाडौं आएँ । यहाँ आउनु मेरो जीवनको ठूलो टर्निङ पोइन्ट बन्यो । साँघुरो ठाउँमा देख्नै नजानेको सपना यो सहरमा धेरै देखें, सिकें । स्नातकमा मेरो ऐच्छिक विषय नेपाली र अर्थशास्त्र थियो । समाज, जीवन बुझेपछिको पढाइ अलिकति फरक भयो । गहिराइमा गएर पढ्ने रुचि झनै बढ्यो । साहित्यिक साथीहरू पनि थिए, यसले गर्दा साहित्यमा मेरो रुचि बढ्यो । 

पहिलो रचना प्रकाशित हुँदा कस्तो महसुस भयो ?

पहिलो पटक पत्रिकामा एउटा जीवनसम्बन्धी कविता छापिएको थियो । लेखेपछि छापिँदोरहेछ भनेर गर्व महसुस भयो । त्यसपछि निबन्ध, यात्रा निबन्ध लेखें, ती छापिए । साहित्यिक कार्यक्रममा साथीसँग हिँड्ने, लेख्ने गर्दा एक किसिमको प्रेरणा प्राप्त भयो । पद्मकन्यामा सबैभन्दा बढी नम्बर ल्याएर एमए पास गरें । पढाइ सकिनासाथ पढाउन बोलाइयो । पढाउन जाँदा एवं साहित्य पढ्दा साहित्यप्रति झनै रुचि बढ्यो । 

लेखनमा कस्ता घटना वा परिस्थितिले प्रेरित गर्छ ?

समाजमा हेपिएका, दुःख पाएका वा असहाय मानिसका अवस्थाका बारेमा जब सुन्छु, आफैंमा पनि त्यस्तो कुरा आउँछ, अलिकति विद्रोही रूपमा प्रस्तुत हुन मन लाग्छ । समाजका त्यस्ता वर्गप्रति चेतना निर्माण गर्ने काम हो साहित्य भनेर पनि लेख्न मन लाग्छ । तल्लो वर्ग, जो सीमान्तकृत छन्, उनीहरूको आवाजलाई साहित्यले बोल्नुपर्छ भन्ने लाग्छ । तिनीहरूको संवेदना पढ्दा, सुन्दा वा देख्दा मलाई लेख्न मन लाग्छ । 

प्राध्यापन गर्न सजिलो कि लेख्न ?

दुवै चुनौतीपूर्ण छन् । दुवैमा उत्तिकै तयारी, अपडेट हुनुपर्छ । पढाउने काम रमाइलो लाग्छ । कोठामा बसेर एकोहोरो लेखिरहँदा कहिलेकाहीँ दिक्क लाग्नसक्छ । तर पनि कहिलेकाहीँ नयाँ ज्ञानका कुराहरू सिक्दै म यो निर्माण गर्दैछु, केही सिक्दै र केही कुरा दिँदैछु भनेर पनि यो काम गरिरहन मन लाग्छ । दुवै पाटा एक–अर्काका परिपूरक छन् । पेसागत उन्नतिका लागि पनि फाइदा हुन्छ । 

उपन्यास, कविता लेख्नभन्दा समालोचना गर्न गाह्रो हुन्छ ?

दुवै फरक खालका कला हुन् । कविताको राम्रो मर्मज्ञ नभैकन समालोचना गर्न सकिँदैन । बिम्ब, भाव विचार के हो ? के भन्न खोजिराको छ त्यो कुरा समालोचकले बुझ्नु जरुरी छ । 

समालोचना गर्न कत्तिको गाह्रो छ ? समालोचना गर्ने मानिस कम हुनुको कारण के हो ?

छ/सात वटा पुस्तकको समालोचना गरिसकेकी छु । अरुले लेखिसकेका विषय वा रचनालाई अध्ययन गरी कस्ता खालका छन् भनेर मूल्यांकन गर्ने काम समालोचना हो । समालोचना गर्ने महिला पुरुष कम हुनुको कारण अरुले लेखिसकेको विषयलाई अध्ययन गरेर कस्तो छ भनेर पर्गेल्दा सिद्धान्तको आधारमा गर्नुपर्छ । त्यसका लागि सिद्धान्त बुझेर एप्लाई गर्नुपर्ने हुन्छ । मूल्यांकन गर्दा लेखकलाई बाटो देखाउनुपर्छ । यसो गर्दा लेखकका कमी–कमजोरी पनि औंल्याउनुपर्‍यो । यसले कहिलेकाहीँ आलोचना आउने, आँखाको तारो बनिने, अप्रिय भइने अवस्था पनि आउँछ । कतिले मेरो लेख्दिएन भनेर गुनासो पनि गर्छन् । 

उत्कृष्ट साहित्यकार कसरी बन्ने, लेखनमा सबैभन्दा असजिलो पक्ष ?

निरन्तरको साधना र अभ्यासले नै यो सम्भव हुन्छ । लेख्नका लागि पुस्तक र समाजको उत्तिकै अध्ययन गर्नुपर्छ । यात्रा पनि आवश्यक हुन्छ । यसैगरी नेपाली र विश्व साहित्यका राम्रा लेखन कृति पढ्नुपर्छ । कला जति साधना गर्‍यो उति खारिन्छ । राम्रो लेखक बनाउँछ । असजिलो पक्ष पनि निरन्तर लाग्नु नै हो । साहित्यको रिटर्न छिट्टै हुँदैन । लेखकको सबैभन्दा ठूलो कमाइ, उपलब्धि समाज र पाठकमाझ परिचित हुनु र अनुशरण गरिदिनु हो । 

पुरुषका तुलनामा महिला साहित्यकार कमै छन् । यसको कारण के हुनसक्छ ?

पहिले–पहिले महिलालाई पठनपाठनको अवस्था थिएन । एउटै उमेरका भए पनि बुवाआमामा आमाले कहिल्यै स्कुल जान पाउनुभएन । महिलालाई पहिलेदेखि नै पछाडि पारियो, पढाइएन । जबसम्म शिक्षा हुँदैन, चेतना तह माथि उठ्दैन । उनीहरूलाई नयाँ कुरा गर्न, नयाँ क्षेत्रमा जान गाह्रो हुन्छ । हरेक क्षेत्रमा महिला कम छन्, साहित्यमा पनि कम हुने नै भए ।

कस्ता पुस्तक पढ्न रुचि लाग्छ ?

सिर्जनाका पुस्तक पढ्न मन लाग्छ । मैले विश्वविद्यालयमा पढाउने हुँदा विश्व साहित्यमा आएका नयाँ सिद्धान्तका पुस्तक पढ्न मन लाग्छ । 

महिलालाई कसरी अगाडि बढाउन सकिन्छ ?

महिलाले अघि बढ्छु, गर्न सक्छु वा गर्छु भन्ने आत्मविश्वासको निर्माण आफैले गर्नुपर्छ । आफ्ना लागि अरूले गर्देलान् भनेर बस्नुहुँदैन । ममा पनि आफ्नो पहिचान होस्, केही गरौं भन्ने थियो । मातृत्व भन्ने कुरो यस्तो रहेछ कि कहीँ पनि ‘गिभ अप’ गर्न मिल्दैन र सकिँदैन पनि । जस्तोसुकै चुनौतीमा पनि मातृत्वमा उत्तिकै खरो उत्रिन मन लाग्ने अनि आफ्नो करिअरमा पनि गर्छु नै भन्ने लाग्ने हुनुपर्छ । दुवैतिर उत्तिकै सन्तुलन बनाएर लैजाने क्रममा स्वास्थ्यमा कहिलेकाहीँ गाह्रो भए पनि बीचमै छोडौं जस्तो त लागेन । 

भावी योजना के छ ?

प्राध्यापनका साथै लेखनमै लागिरहनेछु । 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>