Successfully Copied

काइँयोमा बिम्बात्मक सिर्जना

काइँयोलाई समस्या समाधानको प्रतीक मान्छिन्, चित्रकार सविता डंगोल । यसो मान्नुको उनको आफ्नै तर्क छ । उनी भन्छिन्, ‘काइँयोले जसरी लट्टा फुकाउँछ, त्यसरी नै जीवनमा समस्याको समाधान गर्न सकिन्छ ।’

काइँयोलाई समस्या समाधानको प्रतीक मान्छिन्, चित्रकार सविता डंगोल । यसो मान्नुको उनको आफ्नै तर्क छ । उनी भन्छिन्, ‘काइँयोले जसरी लट्टा फुकाउँछ, त्यसरी नै जीवनमा समस्याको समाधान गर्न सकिन्छ ।’ त्यसैले उनी आफ्नो चित्रमा बिम्बमार्फत जीवनका उल्झनहरू फुकाउन काइँयो प्रयोग गर्छिन् । 

वैशाख दोस्रो साता उनले बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा नौ वटा काइँया प्रदर्शनीमा राखिन् । प्रदर्शनीमा राखिएका उनका चित्रमा महिला–पुरुषको जोडीमा समायोजन देखाउन काइँयोलाई बिम्बात्मक प्रयोग गरेको देखियो । यति मात्र होइन, काइँयोसँगको आफ्नो निकटतालाई क्यानभासबाहिर ‘इन्स्टलेसन आर्ट’ मार्फत काठको काइँयोमा गजबको कला भरेकी थिइन् । 

उनले प्रदर्शनीको शीर्षक ‘इन्क्लिनेसन अफ् सोल्स’ राखेकी थिइन् । उनको एउटा सिर्जनामा काइँयोसँगै रुखमा महिला र पुरुषको बिम्बसहित प्रकृतिको अस्तित्वबारे बेजोड सन्देश सम्प्रेषण गरेको आभास पाइन्थ्यो । यो चित्रबारे उनको भनाइ थियो, ‘कोरोना महामारीको समयमा अक्सिजन र रुखको महत्व मैले राम्ररी बुझें । हो, त्यही बुझाइलाई मैले रुख र मानव जीवन–संस्कृतिसँग जोडेकी हुँ ।’ उनले रुख र अक्सिजन भए मात्रै मानव जीवन सम्भव रहेको सशक्त सन्देश आफ्ना चित्रमार्फत संचार गर्न खोजेको प्रस्टै देखिन्थ्यो । 

सविताले आफ्नो चित्रमा केशलाई कलात्मक रूपमा प्रस्तुत गरेकी थिइन् । उनले केशलाई मस्तिष्कसँग जोडेर कोरेको आकृति समेत प्रदर्शनीमा राखिएको थियो । यसमा लामो केशमा विभिन्न बुट्टा भरेकी थिइन् । उनले ‘कस्मिक थट्स’ मा महिलाको मस्तिष्क र पुरुषको मस्तिष्कलाई दर्शाएकी थिइन् । पाँच वर्ष खर्चेर उनले बनाएका ३१ वटा चित्र प्रदर्शनीमा राखिएको थियो । सन् २०१३ मा ललितकला क्याम्पसबाट स्नातकोत्तर गरेकी उनको यो छैठौं एकल प्रदर्शनी थियो ।

 Image