पढाइ विज्ञान, प्रशिक्षणले पत्रकारिता 

प्रकृति दाहाल

जेष्ठ ४, २०७९ २०५७ को दसैंताका भक्तपुरको लोकन्थलीस्थित काली मन्दिरको गजुर हल्लिएको हल्लाखल्ला मच्चिएको थियो । घरनजिकै भएकाले रामकला खड्काले हल्लालाई पछ्याउँदै मन्दिरको गजुर हेर्न पुगिन् । त्यहाँ पुग्दा उनलाई पनि गजुर हल्लिएको महसुस भयो । तत्काल उनले समाचार लेखिन् । भोलिपल्ट उक्त समाचार कान्तिपुर राष्ट्रिय दैनिकमा बाइलाइनसहित छापियो । समाचारले उनको क्रेज ह्वात्तै बढ्यो । उनी उत्साहित भइन् । साथीभाइ एवं घरपरिवारले पनि उनलाई लेख्नमा हौसला दिन थाले । त्यसबेला उनी कान्तिपुरमा इन्टर्न गर्दै थिइन् । नेपाल प्रेस इन्स्टिच्युटको १० महिने प्रशिक्षणका क्रममा इन्टर्न गर्न उनी कान्तिपुर पुगेकी थिइन् । 

रामकला पढाइमा अब्बल थिइन् । वर्ष २०५१ को प्रवेशिका परीक्षामा उनी भक्तपुर जिल्लाकी टपर छात्रा हुन् । त्यसैले उनले कलेजमा विज्ञान विषय लिएर पढिन् । विज्ञान संकायमा बढी मेहनत गर्नुपर्ने र खर्चिलो हुने मान्यता त्यसताका धेरैको थियो । तर, विज्ञान पढ्ने विद्यार्थीको सामाजिक प्रतिष्ठा उच्च थियो । त्रिचन्द्र कलेजमा बिएस्सी पढ्दा उनले नेपाल प्रेस इन्स्टिच्युटमा पत्रकारिता तालिमबारे जानकारी पाइन् । खाली समयको सदुपयोग गर्न उनी त्यहाँबाट प्रशिक्षण लिने सोच बनाइन् । पढाइ विज्ञान तर काम भने पत्रकारिता । दुई फरक क्षेत्रलाई समान रूपमा तालमेल गर्दै उनी अगाडि बढिरहिन् । कताकता उनलाई असहज पनि भइरहन्थ्यो । उनले भनिन्, ‘पढाइको विषय एउटा, कार्य क्षेत्र फरक भएकाले मलाई केही असहज महसुस हुन्थ्यो ।’ घरपरिवारबाट उनलाई असहयोग थिएन, इच्छानुसार काममा अगाडि बढिरहिन् । वनस्पतिशास्त्रमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर सक्दै गर्दा उनले पत्रकारिताको लय समाइसकेकी थिइन् । उनलाई पत्रकारिता पेसाले तानिसकेको थियो । उनका समाचार, फिचर, विचारहरू छापिने शृंखला सुरु भइसकेको थियो । पत्रिकामा बाइलाइन आइरहँदा धेरैले उनलाई प्रशंसा गर्थे । प्रशंसा सुनेर उनी मख्ख पर्थिन् । उनलाई लाग्यो काम त राम्रो गरिरहेकी छु । प्रशंसा बटुल्दै उनलाई पत्रकारितामा करिअरकै रूपमा अघि बढ्नु थियो । यसै क्रममा उनलाई ‘परदेशी’ म्यागजिनमा काम गर्ने अफर जुट्यो । ‘परदेशी’ परदेशसम्मै पुग्थ्यो । उक्त म्यागजिनमा उनले फिचरहरू लेख्न थालिन् । उनलाई लेखन कला पनि निखार्नु थियो । लेखनबाट उनलाई आम्दानी हुन थाल्यो । नाम र दाम दुवै हुने भएकाले व्यावसायिक पत्रकारितामा होमिइन् । 

लेख, रचनामार्फत उनी पत्रकारितामा उदाइन् । साइन्सको एकेडेमिक पढाइले भन्दा पनि उनलाई पत्रकारिताको लेखाइमा रस बस्दै जान थाल्यो । ‘पार्ट टाइम’ काम गरेकी उनी पूर्णकालीन व्यावसायिक पत्रकारितामा प्रवेश गर्ने सोच बनाइन् । सोही क्रममा ‘अन्नपूर्ण पोस्ट’ का लागि खुलेको विज्ञापनमा उनले आवेदन दिइन् । उनले ‘ट्रेनी असिस्टेन्ट’का रूपमा २००२ मा उक्त पत्रिकामा काम गर्न थालिन् । उनलाई दैनिक रिपोटिङ गर्न त अभ्यास थिएन तर गर्ने रुचि भने धेरै थियो । उक्त दैनिक पत्रिकाले एक दिनमा दुई/तीनवटा समाचार ल्याउन भन्थ्यो । तर, नेपाली लेखाइमा भने एकदमै कमजोर थिइन् । नेपालीमा काम गर्छु, लेख्छु भनेर उनले कहिल्यै सोचेकी थिइनन् । लेखनमा उनले धेरै मेहनत गर्नुपर्‍यो । उनले भनिन्, ‘म सानैदेखि नेपालीमा कमजोर थिएँ, त्यसकारण पनि भाषा र लेखाइमा धेरै मेहनत गर्नुपर्‍यो ।’

उनले ‘हार्ड न्युज’ भन्दा पनि फिचरहरू बढी लेख्न थालिन् । फिचरमा पनि उनी नयाँपन खोजिरहन्थिन् । घरपायकको काम भएकाले उनलाई केही समस्या थिएन । ‘अन्नपूर्ण पोस्ट’ मा उनी हाल प्रदेश प्रमुख संयोजकको जिम्मेवारी निर्वाह गरिरहेकी छन् । उनले बालबालिकाहरूका लागि प्रकाशित हुने‘अंकुर’ मा दुई वर्ष सम्पादकको जिम्मेवारी पनि निर्वाह गरिसकेकी छन् । कोभिड महामारीका कारण ‘अंकुर’ बन्द भयो । उनले भनिन्, ‘अंकुरबन्द भएपनि सम्पादकको मेरो अनुभवले मलाई थप निखार ल्याइ दियो ।’ 

त्यसपछि उनले कहिले महिलाका विषयमा त कहिले सामाजिक विषयमा कलम चलाइरहिन् । समाचारमार्फत धेरैलाई सहयोग गरेकी छन् । सहयोग जुटाएको एउटा समाचार भने उनी कहिल्यै भुल्दिनन् । उनको समाचारको कारण बालआश्रममा ५० हजार जुटाइदिइन् । उनलाई त्यो समाचारले आनन्दित बनायो । उनले भनिन्, ‘आफूले लेखेको समाचारका कारण सकारात्मक प्रभाव पार्दा खुसी र आनन्द लाग्दो रैछ ।’ धेरै महिलाले पत्रकारितामा निरन्तरता दिन सकेका छ्रैनन् । तर, रामकलाले दुई सन्तान र घरपरिवारको जिम्मेवारी सम्हाल्दै पत्रकारिता गरेको दुई दशक पुगिसकेको छ । निरन्तरता दिन सक्नुमा घरपरिवारको सहयोग महत्वपूर्ण रहेको उनले बताइन् । ‘महिलाहरूलाई घरपरिवारको सहयोग भएमा हरेक काममा निरन्तरता दिन सक्छन्, मैले परिवारको सहयोगले नै कामलाई निरन्तरता दिन सकेकी छु’उनले भनिन् ।

पत्रकारिताको सुरुवातीको समय र दुई दशक कामको अनुभवमा उनले थुप्रै परिवर्तन देखेकी छन् । पछिल्लो समय डिजिटल माध्यमका कारणले पत्रिकामा धेरै चुनौती थपिँदै गएको उनी बताउँछिन् । बढ्दो प्रविधिको विकासले पनि मिडियाहरूमा चुनौती थपिएको उनले बताइन् । पत्रकारहरू पनि समय र प्रविधिसँगै अघि बढ्न सके सफलता हासिल गर्न सकिने उनको भनाइ छ । उनले भनिन्, ‘पत्रकारिता पेसा एउटा चुनौतीपूर्ण पेसा हो, जसमा पत्रकारले हरेक दिन नयाँ–नयाँ कुराहरू खोजिरहनुर्छ ।’सुरुवाती समयमा कम महिला देखेकी उनी पछिल्लो समय पत्रकारितामा महिलाको संख्या बढ्दै गएकोमा खुसी व्यक्त गर्छिन् । उनका अनुसार महिलाहरू संख्यात्मक रूपमा मात्र होइन गुणात्मक रूपमा पनि अगाडि बढेका छन् । महिला पत्रकारहरूको हकहितका लागि खोलिएको ‘क्रियाशील महिला पत्रकार समाज’ की उनी उपाध्यक्ष हुन् । 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>